पहिचान जोगाउँदै बनाउन सकिन्छ पाथीभरा केबलकार

काठमाडौं । चन्द्र ढकाल रेमिट्यान्स कम्पनीको कामको सिलसिलामा मलेसियामा थिए । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको गेन्टिगं आइल्याण्डको पर्यटकीय आकर्षण थियो, त्यहाँ चल्ने केबलकार । छिटो, छरितो वातावरणमैत्री र विश्वस्तरीय त्यो केबलकारले ढकाललाई लोभ्यायो । उनलाई लाग्यो, “हाम्रो नेपालको पहाडी क्षेत्रमा त केबलकार सबैभन्दा उपयुक्त यातायातको साधन हुनेरहेछ ।” मलेसियाबाट नेपाल फर्केको केही वर्षपछि उनले […]

Feb 21, 2025 - 12:23
 0
पहिचान जोगाउँदै बनाउन सकिन्छ पाथीभरा केबलकार

काठमाडौं । चन्द्र ढकाल रेमिट्यान्स कम्पनीको कामको सिलसिलामा मलेसियामा थिए । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको गेन्टिगं आइल्याण्डको पर्यटकीय आकर्षण थियो, त्यहाँ चल्ने केबलकार । छिटो, छरितो वातावरणमैत्री र विश्वस्तरीय त्यो केबलकारले ढकाललाई लोभ्यायो ।

उनलाई लाग्यो, “हाम्रो नेपालको पहाडी क्षेत्रमा त केबलकार सबैभन्दा उपयुक्त यातायातको साधन हुनेरहेछ ।”

मलेसियाबाट नेपाल फर्केको केही वर्षपछि उनले राजधानी काठमाडौं नजिकै चन्द्रागिरी डाँडामा त्यस्तै केबलकार बनाए । “कुनै समय वर्षमा एक हजार मान्छे पनि मुस्किलले पुग्ने चन्द्रागिरीमा आजभोलि लाखौं मान्छे जान्छन्,” केबलकारले चन्द्रागिरीमा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेको सुनाउँदै ढकाल भन्छन् ।

चन्द्रागिरीको केबलकारले राम्रो प्रतिक्रिया पाएपछि ढकालले सातै प्रदेशमा केबलकार बनाउने सोच बनाए । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित केबलकारले स्थानीयस्तरमै रोजगारी दिन्छ । ढकालको लगानी रहेको बुटवल र गैँडाकोटमा सञ्चालित केबलकारमा ७० प्रतिशतभन्दा बढी स्थानीयले नै रोजगार पाएका छन् ।

“प्राविधिक काम पनि हामीले स्थानीयलाई सिकाउने गरेका छौँ,” ढकाल भन्छन्, “तालिम दिएरै भएपनि स्थानीयलाई रोजगार दिने गरेका छौँ ।”

सातै प्रदेशमा केबलकार बनाउने योजनाअन्तर्गत ढकाल पूर्वी पहाड पुगे । ताप्लेजुङको पाथीभरामा यति समूहले केबलकार निर्माण गर्ने अनुमति लिएको थियो । तर, यतिले आफूसँग केबलकारको अनुभव नभएको भन्दै चन्द्र ढकाललाई गुहार्‍यो । तीन स्थानमा केबलकार बनाइसकेका ढकालले पनि सातै प्रदेशमा केबलकार बनाउने आफ्नो योजनाअनुसार पाथीभरामा केबलकार बनाउने सुर कसे ।

सबै सरकारी प्रक्रिया पूरा गरेर केबलकारको बेस स्टेशन (काफ्लेपाटी) बनाउने बेला अचानक आन्दोलन भयो । ‘केबलकार चाहिँदैन’ भन्दै ढुङ्गामुढा नै भयो । माघ १२ मा प्रहरीले चलाएको गोली लागेर मान्छेहरू घाइतेसमेत भए ।

केबलकारको विरोध हुन थालेपछि ढकाल अच्चमित भए ।  “सार्वजनिक सुनुवाइमा तीन सय मान्छे उपस्थित थिए । त्यहाँ केही विरोध भएको थिएन,” उनी भन्छन् ।

संसाभर पूर्वाधार विकास गर्ने, रोजगारी सिर्जना गर्ने निजी क्षेत्र नै हो । तर, नेपालमा भने निजी क्षेत्रले एकपछि अर्को सास्ती खेप्नुपर्छ भन्ने सबैभन्दा पछिल्लो उदाहरण आफैँ हुँ भन्ने लागेको छ, ढकाललाई ।

“पूर्वाधार बनाउने मुख्य प्राइभेट सेक्टर हो । देशभित्रै रोजगारी सिर्जना गर्ने प्राईभेट सेक्टर हो । तर, अब यही सेक्टरलाई काम गर्न दिँदैनन्,” ढकालको गुनासो छ ।

त्यसो भए कसले काम गर्न दिँदैन निजी क्षेत्रलाई ?

यो प्रश्नको जवाफ व्यक्तिपिच्छे फरक–फरक हुनसक्छ । तर, ती सबै जवाफमा एउटा कुरा भने समान हुन्छ, ‘राजनीति’ । आईएमई ग्रुपले लगानी गर्न लागेको पाथीभरा केबलकारको विरोध गर्न पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो काठमाडौंदेखि पाथीभरा पुगेका छन् । ढकाल यो नै विकासमाथि हुने राजनीतिको एक उदाहरण भएको ठान्छन् ।

“राजनीतिक दलले मतका लागि अनेक अभ्यास गर्छन् । तर, विकास, रोजागरी र राष्ट्रिय पुँजी बढ्ने विषयमा अत्तो थाप्ने यो अभ्यासले एकदिन नेताहरुलाई गाह्रो पार्छ,” ढकालको भनाइ छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्ने फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन केबलकार निर्माणको पक्षमा छन् । त्यहीँका केही स्थानीयबासिन्दाले त केबलकार निर्माण हुनुपर्छ भनेर र्‍याली पनि निकालेका छन् । मेयर मादेन भन्छन्, “हामीलाई केबलकार चाहिएको छ । तर, ताप्लेजुङ बाहिरका मान्छेहरू यहाँ आएर ‘नो केबलकार’ भन्दै आन्दोलन गर्छन् । हामीलाई के विकास चाहिएको छ त्यो हामी निर्धारण गर्छौँ ।”

बेलायत, हङकङ, सिङ्गापुरजस्ता विकसित देशका कोठामा बसेर सामाजिक सञ्जालमा, ‘नो केबलकार’ अभियान चलाइएको बताउँछन्, मेयर मादेन ।

“तपाईंहरू सुविधा सम्पन्न ठाउँमा बसेर यहाँ हुन लागेको विकासको विरोध गर्न मिल्दैन । आफूचाहिँ विश्वस्तरीय सुविधा लिने, अनि हामीलाई भने ढुङ्गे युगमै राख्न खोज्ने ?,” नो केबलकार अभियान चलाउनेहरूसँग मादेनको प्रश्न छ ।

केबलकार बनेपछि संस्कृति मासिने चिन्ता

केबलकार निर्माण भएमा त्यस क्षेत्रको आस्था र संस्कृति मासिने चिन्ता विभिन्न पक्षबाट व्यक्त भइरहेको छ । साथै, पाथीभरालाई मुकुम्लुङ भन्नुपर्ने आवाज पनि सँगै उठिरहेको छ ।

पाथीभरामा २.७४ किलोमिटर लामो केबलकार बनाउने गरी ढकालको कम्पनीले अनुमति पाएको छ । यसको बेस स्टेशन काफ्लेपाटीमा हुनेछ । पाथीभरा मन्दिरभन्दा करिब ७ सय मिटर वरै केबलकारको स्टेशन हुन्छ । त्यो स्टेशनमा शौचालय, टिकट काउन्टर हुनेछ ।

“त्यहाँमाथि एउटा मेडिकल सेन्टर हुन्छ, लेक लागेमा, बिरामी भएमा उपचारका लागि,” ढकाल प्रष्ट्याउँछन्, “मान्छेहरू मैले त्यहाँमाथि सबै खाने भए भनिरहेका छन् । माथि मन्दिर भएको ठाउँभन्दा ७ सय मिटर वरै हुने हो, स्टेशन । त्यहाँ तातो चिसो पानीसहितको शौचालय र मेडिकल सेन्टरबाहेक अरू केही निर्माण हुँदैन ।”

सामाजिक सञ्जालमा हल्ला फैलाए जसरी पाथीभरा मन्दिर क्षेत्रमा होटल वा अरू कुनै संरचना बनाउने योजना नरहेको ढकालको भनाइ छ ।

“आस्था, संस्कृति केबलकारले कसरी मास्छ ?,” ढकाल भन्छन्, “बरु केबलकारले पाथीभरा क्षेत्रमा आउने मान्छेहरुको सङ्ख्या बढाउने र यसले आस्था र संस्कृति मासिने नभइ झनै फैलिन्छ ।”

केबलकार मान्छेको आस्थाको बिन्दुसम्म पुग्न सहज बनाउने माध्यम हो भन्ने ढकालको तर्क छ । “यो सबै नेपालीको आस्थाको कुरा हो । त्यो आस्था भएन भने केबलकार कसरी चल्छ त ?,” ढकालको भनाइ छ, “त्यसैले केबलकार वातावरणमैत्री, धर्म र आस्था फैलाउने माध्यम हो ।”

मुकुम्लुङ सङ्घर्ष समिति र किराँत याक्थुङ चुम्लुङलगायत सङ्घर्षरत सङ्घ संस्थाले राखेका मागमध्येको एउटा पाथीभरालाई ‘मुकुम्लुङ’ भनिनुपर्छ भन्ने पनि हो । ढकाल पाथीभरा केबलकार कम्पनीको नाममा मुकुम्लुङ जोड्न तयार छन् । आफूले कम्पनीको बोर्डबाट नै मुकुम्लुङ जोड्ने निर्णय गरिसकेको उनको भनाइ छ ।

“पाथीभरा मुकुम्लुङ नाम राखेर यसको विज्ञापन हुन्छ । भारतीय पर्यटकहरूलाई भित्र्याउन सीमा क्षेत्रदेखि नै हामी विज्ञापन गर्छौँ,” उनको तर्क छ, “यसले अन्ततः धर्म, संस्कृति आस्था मासिदैँन, बरु प्रचार हुन्छ ।”

स्थानीयको रोजिरोटीको सवाल

केबलकार निर्माण भएसँगै स्थानीयको पेशा व्यवसायमा दख्खल पुग्ने चिन्ता पनि धेरै सरोकारवाला निकायबाट उठिरहेको छ । धेरै स्थानीयले मन्दिरको दर्शनका लागि आउने पर्यटक र उनका भारी बोकेर पनि जीविकोपार्जन गरिरहेका छन् । केबलकार निर्माण भएसँगै उनीहरूको रोजगारी गुम्नसक्ने तर्फ पनि धेरैको ध्यान गएको छ ।

ढकाल भने केबलकार बनेपछि भारी बोक्नुपर्ने स्थानीयका लागि विभिन्न खालका रोजगारी सृजना हुने बताउँछन् ।

“केबलकारका कुल कर्मचारीमध्ये ८० प्रतिशत स्थानीय नै राख्ने योजना छ । टिकटमा २ प्रतिशत मूल्य बढी लिने र त्यो रकम स्थानीय क्षेत्रलाई दिने भनेका छौँ,” उनी भन्छन्, “हामीले अन्यत्र पनि स्थानीय क्षेत्रलाई यसरी सहयोग गरेका छौं । पाथीभरामा पनि त्यही गर्छौँ ।” उनले यससँगै सामाजिक उत्तरदायित्वअन्तर्गत पनि कम्पनीले खर्च गर्ने बताए ।

साथै, भारी बोकेर जीविकोपार्जन गर्नेका लागि यसले नयाँ अवसर दिलाउने ढकालको तर्क छ । “त्यहाँ अहिले मान्छेहरू तलदेखि माथिसम्म भारी बोक्छन्, मान्छे बोक्छन् । त्यसरी भारिया काम गरिरहेका मान्छेका सन्तानले पनि भोली त्यही काम गर्नुपर्छ भन्ने छ त ?” ढकाल प्रश्न गर्छन् ।

केबलकार कम्पनीले दिने रोजगारीसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि स्थानीयहरू स्वरोजगार हुने उनको भनाइ छ ।

केबलकार बनेपछि पैदलयात्राको रुटमा भारी बोक्ने र व्यवसाय गर्नेहरूलाई ढकालले पहिलो प्राथमिकतामा राख्ने बताए । “मैले विगतमा भोगेको जस्तो अभाव अहिले पनि नेपाली समाजले भोगिरहेको छ । त्यो अभाव थोरै भए पनि कम गरौँ, मान्छेहरु रोजगार होउन भन्ने मेरो चाहाना हो,” उनको भनाइ छ ।

ढकालले पाथीभरा केबलकारमा १० प्रतिशत सेयर स्थानीयको हुने र स्थानीयहरू ‘प्रमोटर’ का रूपमा आउन चाहे स्वागत गर्न तयार रहेको बताए ।

पाथीभराप्रति आफ्नो आस्था भएकै कारण ७५ वर्षभन्दा माथिका मान्छेलाई केबलकारामा निःशुल्क यात्रा गराउने योजना रहेको उनको भनाइ छ । “केबलकारको यात्रामा ७५ वर्ष माथिका व्यक्तिलाई निःशुल्क र फरक क्षमता भएका र स्थानीयलाई ५० देखि ७५ प्रतिशत छुट हुन्छ,” ढकाल भन्छन् ।

अहिले हिँडेरै जानुपर्ने दुःखले पाथीभरा जान नसकेका पर्यटकको सङ्ख्या केबलकार बनेपछि बढ्ने ढकालको अनुमान छ । “यातायातको सुविधा सहज भएपछि मान्छेहरु धेरै आउँछन् । त्यसको फाइदा मैले मात्र होइन स्थानीयले पनि उत्तिकै पाउनेछन्,” ढकालको भनाइ छ ।

ट्रेक रुट र जङ्गल मासिने चिन्ता

पाथीभरा क्षेत्र मन्दिर मात्रै होइन, पछिल्लो समय ‘ट्रेक’ का लागि पनि उत्तिकै रुचाइने ठाउँ हो । सरोकारवाला पक्षहरूले केबलकार बनेपछि पाथीभरासम्म पुग्ने ‘ट्रेक रुट’ नै मासिने हो कि भन्ने चिन्ता व्यक्त गरिरहेका छन् ।

ढकाल केबलकारले मासिने होइन, झनै व्यवस्थित हुने दाबी गर्छन् । “चन्द्रागिरीमा ट्रेक रुट थिएन । हामीले केबलकार बनाएपछि व्यवस्थित ट्रेक रुट बनायौँ । आजभोलि हजारौँ मान्छे त्यस क्षेत्रमा ट्रेक गर्छन्,” ढकाल भन्छन्, “केबलकार बनाउँदैमा ट्रेक रुट मासिदैँन । हामी नै ट्रेक यात्रा गर्ने रुट थप व्यवस्थित बनाउने काम गर्छौँ । जहाँ काम गरिएको छ, त्यहाँ गरेका पनि छौँ ।”

पाथीभरा क्षेत्रमा केबलकार बनेपछि जङ्गल मासिने चिन्ता पनि उत्तिकै छ । ढकाल रुख काटिने र त्यसका लागि नियम अनुसारको दायित्व पूरा गर्ने बताउँछन् ।

केबलकारको रुटमा सरकारी नियमअनुसार १ रुख काटेमा १० रुख रोप्नुपर्छ । केबलकार रुट क्षेत्रमा रहेका २१ सय रुख र ३६ सय लाथ्रा काटिनेछ । ढकाल ‘एक रुख काटेमा २५ वटा रुख रोप्ने र पाँच वर्षसम्म ती रुख हुर्काएपछि सरकारलाई हस्तान्तरण गर्ने’ ढकाल बताउँछन् ।

लगानीकर्तालाई त्रास

पाथीभरामा केबलकार बनाउन खोजिरहेका ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत हुन् । ढकालले केबलकारबाहेक पनि धेरै क्षेत्रमा लगानी गरेका छन् ।

त्यसैमध्येको अर्को उद्योग हो, कागज कारखाना । ढकालले नेपालमै ‘ए फोर’ साइजको कागज उत्पादन गर्ने उद्योग सुरु गरेका छन् । विदेशबाट आयात हुने यस्तो कागजको आयात विस्थापन गर्ने उद्देश्यसहित आफूले नेपाली कच्चा पदार्थबाटै यस्तो कागज उत्पादन गर्ने उद्योग सुरु गरेको उनको भनाइ छ ।

यस्तै, विदेशबाट आयात हुने सिमेन्ट बोर्डको आयात प्रतिस्थापन गर्ने योजनासहित ढकालले सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग पनि सुरु गरेका छन् ।

वित्तीय संस्थादेखि उत्पादन उद्योगमा लगानी गरिरहेका ढकाल पाथीभरामा केबलकार बनाउन मुलुकको अर्थतन्त्र र संस्कृतिमा घाटा पुर्‍याउने नभएर फाइदा पुर्‍याउने उद्देश्य नै प्रमुख रहेको बताउँछन् ।

“देशभित्र उद्योग, व्यवसाय स्थापना गरेर मान्छेलाई रोजगारी दिने र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने उद्देश्यबाहेक कुनै सपना छैन,”उनी भन्छन् । तर, पाथीभरा केबलकारमा सिर्जित अवरोधले नेपालमा लगानीको वातावारणबारे राम्रो सन्देश जाँदैन कि भन्ने चिन्ता गर्छन्, ढकाल ।

“सरकारले लगानी आर्कषित गर्न भनेर वर्षैपिच्छे लगानी सम्मेलन गर्छ । तर, उद्योग वाणिज्य सङ्घको अध्यक्षकै प्रोजेक्टमा राजनीति हुन्छ, प्रोजेक्ट रोकिन्छ भने यसले लगानीकर्तामा राम्रो सन्देश त पक्कै जाँदैन,” ढकाल चिन्ता जाहेर गर्छन्, “नेपालभित्रकै र बाहिरका लगानीकर्ताका लागि यस्ता गतिविधि रेड सिग्नल हुन् ।”

पाथीभरामा केबलकार निर्माण र यसको विरोधका विभिन्न कारण छन् । ढकालले यसलाई विशुद्ध लगानीका हिसाबले मात्रै हेरे भने त्यसले समाधान पाउँदैन । त्यसका लागि सरोकारवाला विभिन्न पक्षका कुरा पनि उनले सुन्नुपर्छ ।

पाथीभरामा केबलकार बनाउने विषय कोशीको पहिचान आन्दोलनसँग पनि जोडिएको जानकारहरूको बुझाइ छ । त्यहाँको पहिचानसँगै विकास र पूर्वाधारकाउ पनि उत्तिकै आवश्यकता पर्छ । विकास, पूर्वाधार बेगर पहिचान मात्रै बोकेर ढुङ्गे युगमा फर्किन कसैले पनि खोजेको पक्कै होइन् । तसर्थ, राजनीतिक विषय राजनीतिक तरिकाले नै टुङ्गो लगाउनुपर्छ । राजनीतिक विषय बोकेर पूर्वाधार, विकासमा अवरोध गर्दा समाज नै पछि पर्छ ।

अर्कोतिर राजनीतिक दलहरूले राष्ट्रिय पुँजी, उद्यम र रोजगारीको रटान लगाइरहेका हुन्छन् । तर, राष्ट्रिय पुँजी, उद्यम र रोजगारी सिर्जना गर्ने परियोजनामा बाधा पुर्‍याउन तीनै दलहरु अगाडि सर्छन् । राजनीतिक दलको यस्तो प्रवृतिले उनीहरूलाई नै हानी हुन्छ । आवश्यकताको पहिचान गरी पहिचान जोगाउँदै विकासलाई अगाडि बढाउनुपर्ने आवश्यक्ता सबैले बोध गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register