महाकुम्भको सफलतापछि मोदी–योगीको छवि

योगीलाई बारम्बार पार्टीको भावी नेता वा भावी प्रधानमन्त्रीको रुपमा चर्चा गरिन्छ । महाकुम्भ मेलाको सफल व्यवस्थापनले योगीका सम्भावनालाई बढाएको विश्लेषण गरिँदैछ ।

Mar 1, 2025 - 08:58
 0
महाकुम्भको सफलतापछि मोदी–योगीको छवि

काठमाडौं । १४४ वर्षको लामो अन्तरालमा आयोजन हुने भनिएको प्रयागराजको महाकुम्भ मेला सम्पन्न भएको छ । जनवरी १३ सोमबार, पौष पूर्णिमामा सुरु भएको महाकुम्भ ४५औं दिनमा फेब्रुअरी २६ गते बुधबार महाशिवरात्रिको अमृत स्नानसँगै सम्पन्न भएको हो ।

महाकुम्भ विश्वकै सबैभन्दा ठूलो धार्मिक मेला हो । सन् २०१७ मा युनेस्कोले यसलाई ‘अभौतिक सांस्कृतिक विश्व सम्पदा सूची’मा सूचीकृत गरेको थियो । महाकुम्भका विविध आयाम र आकर्षणले साँच्चै यसलाई दुर्लभ र अद्वितीय बनाउँछ ।

सन् २०१३ को कुम्भ मेलामा यस अघिकै धेरै १२ करोड मानिस सहभागी भएको भनिएको थियो । यसपटक व्यवस्थापनले ५५ करोडभन्दा धेरै मानिसले गङ्गा, यमुना र सरस्वती नदीको त्रिवेणी सङ्गममा डुबुल्की लगाएको दाबी गरेको छ । तर, यो आँकडामा कतिपयले प्रश्न पनि उठाएका छन् । यकिन गर्न सम्भव नभए पनि प्रयागराजमा करोडौँ मानिसले स्नान गरेका छन् । 

महाकुम्भ मेला व्यवस्थापन भारत र उत्तर प्रदेश दुवै सरकारका लागि निक्कै ठूलो चुनौती मानिएको थियो । मुख्यमन्त्री योगी आदित्य नाथले आफैँ मेलाको नियमित निगरानी र निर्देशन गरे । प्रधानमन्त्री नरेन्द्र मोदीका लागि महाकुम्भको कुशल व्यवस्थापन दैनिक सरोकारको विषय थियो ।

भाजपाको ‘डबल इन्जिन सरकार’ ले महाकुम्भलाई आस्था, महत्वाकाङ्क्षा र राजनीतिक भविष्यसँग जोडेका थिए ।

कुम्भमेलाको सफल आयोजन र व्यवस्थापन दुवै नेताका लागि ठूलो राजनीति लाभको विषय हो । भारतीय जनता पार्टीको चरित्र नै यस्तो छ कि हिन्दु मिथक र संस्कृतिसँग यो अभिन्नरूपमा जोडिएको छ । संसारमा धार्मिक तथा सांस्कृतिक राष्ट्रवादमा विश्वास गर्ने अरु पनि राजनीतिक दल र समूह नभएका हैनन् । 

भाजपा यसर्थ मौलिक छ कि यो हिन्दु राष्ट्रवादमा विश्वास गर्ने मात्र हैन, संसारकै सबैभन्दा ठूलो राजनीतिक दल पनि हो । सङ्घमा मोदीको तेस्रो र प्रदेश योगीको दोस्रो कार्यकालमा भाजपा सरकार चलिरहेको बेला १४४ वर्षपछि महाकुम्भ आयो । यस्तो संयोग सायद भाजपाका लागि अवसर थियो । सन् २०२३ यता भारत चीनलाई उछिन्दै संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश समेत बनेको छ । भारतीय जनसङ्ख्याको करिब ८० प्रतिशत धार्मिक तथा सांस्कृतिक हिसाबले हिन्दुत्वसँग जोडिएको छ ।

महाकुम्भ मेलाको यथोचित व्यवस्थापन गर्दा ठूलो जनसङ्ख्या हिस्साको थप सहानुभूति जित्न भाजपालाई मौका मिल्थ्यो । मेलामा हुने अव्यवस्था र लापरवाहीले भारतीय मतदाताले आफ्नो आस्थाको अपहेलना भएको ठान्न र असन्तुष्ट हुन सक्दथे

जनवरी २९ मा भएको भागदौडमा ३० जनाको मृत्यु र ६० भन्दा बढी घाइते भएको अपवादलाई छोड्ने हो भने महाकुम्भ व्यवस्थापनमा बिरलै खोट देखिए । निःसन्देह यो घटना आफैँमा दुखद थियो तर, विगतमा कुम्भमेलामा भएका दुर्घटनाका इतिहाससँग तुलना गर्दा धेरै ठूलो भने होइन ।

कुम्भमा हुने अव्यवस्था र भागदौडबाट सयौँ मानिसको मृत्यु भएका इतिहास छन् ।

धर्मसंस्कृतिको महत्त्व र आन्तरिक राजनीतिको प्रश्न आफ्नै ठाउँमा छँदै थियो । अन्तर्राष्ट्रिय छविको दृष्टिले समेत मेलाको सफल आयोजन भारतका लागि धेरै महत्त्वपूर्ण थियो । मेलाको व्यवस्थापनमा हुने कमजोरीले भारत देशकै छवि बिग्रन सक्थ्यो ।

प्रधानमन्त्री मोदी अहिले आफ्नो राजनीतिक जीवनको उत्तरार्धतिर छन् । आगामी सेप्टेम्बरमा उनी उमेरले ७५ वर्ष पूरा हुनेछन । ७५ वर्षपछि सक्रिय राजनीतिबाट निवृत्त हुने र मार्गदर्शक मण्डलको सदस्य बन्ने भारतीय जनता पार्टीको स्थापित परम्परा हो ।

यदि मोदी यो नियमको अपवाद नै भए भने पनि सायद चालु संसद् र तेस्रो प्रधानमन्त्रीत्व कार्यकाल उनको राजनीतिक जीवनको अन्तिम हुन सक्दछ ।

मोदीमाथिका वैचारिक आलोचना र राजनीतिक असन्तुष्टि आफ्नो ठाउँमा होलान् तर, देशको इतिहासमा उनी एक दुर्लभ राजनीतिज्ञ र पण्डित जवाहरलाल नेहरूपछि लामो समय पदमा रहने प्रधानमन्त्री हुने निश्चितजस्तो देखिएको छ ।

मुख्यमन्त्री योगी पनि भाजपा र देशको भावी नेतृत्वका लागि दाबेदार मानिदै आएका नेता हुन् । ५२ वर्षीय योगी उत्तर प्रदेशको मुख्यमन्त्रीमा दोस्रो कार्यकालमा छन् । उमेरको दृष्टिले पनि उनीसँग अझै असीमित सम्भावना छ । भनिन्छ– महाकुम्भ मेलाको कुशल व्यवस्थापनले आम जनतामाझ योगीको छवि राम्रो भएको छ ।

राजनीतिमा होमिनुअगाडि योगी गोरखनाथ मठका मठाधीश थिए । धर्म, सम्प्रदाय र राजनीतिबीचको सन्तुलन उनले राम्रै बुझेको हुनु पर्दछ । उनले एक सन्यासीको शासन बढी पवित्र, निष्पक्ष र तटस्थ हुन सक्दछ भनेर सिद्ध गर्नु छ । हिन्दु मात्र हैन, हिन्दी भाषी क्षेत्रमा योगीको लोकप्रियता अन्य भाजपा नेताको तुलनामा धेरै भएको मानिन्छ ।

‘हिन्दी भाषी प्रदेश वा क्षेत्र’ भारतीय राजनीतिमा आफैँमा शक्तिशाली हुन्छ । यही कारण हो कि योगीलाई बारम्बार पार्टीको भावी नेता वा भावी प्रधानमन्त्रीको रुपमा चर्चा गरिन्छ । महाकुम्भ मेलाको सफल व्यवस्थापनले योगीका सम्भावनालाई बढाएको विश्लेषण गरिदैछ ।

महाकुम्भ १२ वर्षको १२औं चक्रमा आउने एक दुर्लभ मेला हो । यस अघि यो उन्नाइसौँ शताब्दीमा सन् १८८१ मा आयोजन भएको थियो । बीसौँ शताब्दीभर महाकुम्भ भएन । अर्को महाकुम्भ सन् २१६९ मा हुनेछ ।

पूर्ण कुम्भ १२ वर्षमा र महाकुम्भ १२ पूर्णकुम्भ वर्षमा आयोजना हुने अवधारणा समुद्र मन्थनको किम्वदन्तीसँग जोडिएर बनेको हो । समुद्र मन्थन एक लोकप्रिय हिन्दु मिथक हो ।

कथाअनुसार समुन्द्र मन्थन गर्दा निस्केको अमृत लिएर भाग्दै गर्दा देवराज इन्द्रको छोरा जयन्तलाई दैत्यराज बलीको सिपाही स्वरभानुबाट अमृत घडा खोसेर स्वर्ग पुग्न १२ दिन लागेको थियो ।

स्वर्ग लोकको १ दिन बराबर पृथ्वीलोकको १ वर्ष हुन्छ भन्ने मान्यतामा १२ वर्षको अवधारणा बनेको हो । प्रयागराज मेलाको अवधि सूर्य, चन्द्र र बृहस्पति ग्रहको ज्योतिषीय स्थान गणनामा आधारित हुन्छ । त्यतिखेर प्रयागराज कुम्भ मेला लाग्दछ जब सूर्य र चन्द्र मकर राशि र बृहस्पति ग्रह वृषभ राशिमा हुन्छ ।

गङ्गा, यमुना र सरस्वती तीन नदीको सङ्गम स्थललाई ‘प्रयागराज’ भनिन्छ । हिन्दु विश्‍वासअनुसार यो त्यो स्थान हो जहाँ सृष्‍टिकर्ता ब्रह्माले धर्तीको पहिलो यज्ञ गरेका थिए । प्रयागराजको अर्थ, सृष्टिको पहिलो यज्ञ भएको स्थान र तीर्थमध्येको सर्वश्रेष्ठ तीर्थ हो ।

सन् १५७५ मा मुगल सम्राट अकबर यहाँ पुगेका थिए । उनले यो ठाउँको नाम परिवर्तन गरी ‘इलाहावाद’ राखे । सम्राट अकबरले हिन्दुको ‘इश’ र र मुस्लिमको ‘अल्लाह’ दुवैका देवताको ‘बास’ भएको ठाउँ भन्ने अर्थमा ‘इलाहावाद’ नाम राखेको इतिहासकारको दाबी छ ।

जब सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उदय भयो सन् २०१८ अक्टोबर १६ बाट पुनश्च: इलाहावादको साटो प्रयागराज भन्न थालियो ।

प्रयागराज तीन नदी गङ्गा, यमुना र सरस्वतीको त्रिवेणी हो । तर, रोचक कुरा के छ भने त्यहाँ गङ्गा र यमुना मात्र मिसिएको देखिन्छ । सरस्वती नदी भने देखिँदैनन् । तर, हिन्दुहरू सरस्वती नदी भित्रभित्रै बग्दै आएर त्रिवेणीमा मिसिन्छन् भन्ने विश्वास गर्दछन् ।

सरस्वती मिथकीय नदी हुन् वा कुनैबेला अस्तित्वमा थिइन् भन्ने अझै यकिन गर्न सकिएको छैन । प्राचीन हिन्दु ग्रन्थहरूमा गङ्गा र यमुनाकै जस्तो सरस्वती नदीको पनि ठूलो चर्चा, प्रशंसा र महिमा छ । भगवान कृष्णले काशी र द्वारकाबीचको यात्रा सरस्वती नदी हुँदै नौकाबाट गर्दथे भन्ने वर्णन छ ।

सरस्वती नदी लुप्त हुनुको कारणबारे धार्मिक विश्वास र भौगर्भिक परिवर्तन दुवै प्रकारका तर्क छन् । सरस्वती नदी मारवाड र सौराष्ट्रबाट प्रवाहित हुँदै प्रयागराजमा आएर मिसिन्थिन् । धार्मिक विश्‍वासअनुसार जब सौराष्ट्र क्षेत्रमा पाप, अनाचार, दुराचार फैलियो उनमा वैराग्य पलायो र उनी प्रयागराजमा आएर गुप्त भइन ।

अर्को तर्कअनुसार राजस्थानको थार मरुभूमि क्षेत्रमा भौगर्भिक परिवर्तन अघि एक हराभरा, वनजङ्गल र कृषियोग्य जमिन भएको बाक्लो आवादी भूभाग थियो । राजस्थानमा ठूलो भौगर्भिक विस्फोटपछि पहाडहरू उठे र भित्रको बलौटो माटो सतहमा आएर मरुभूमि बन्यो । यही प्रक्रियामा सरस्वती नदी भित्र दबिन र भूमिगत जलसतहमा सीमित भइन ।

प्रयागराजमा सरस्वती नदीको भौतिक अस्तित्व होस् वा नहोस्– भाजपा समर्थकलाई कुनै फरक पर्दैन । सांस्कृतिक राष्ट्रवादको राजनीतिक आधार आस्था हो । आस्थाको भौतिक प्रमाण हुनु पर्दछ भन्ने छैन । तर, आस्थाको राजनीति सधैँ फलदायी हुन्छ भन्ने छैन । गत चुनावमा अयोध्या निर्वाचन क्षेत्र भाजपाका लागि त्यस्तै एउटा गतिलो पाठ थियो । दशकौँको सङ्घर्षपछि अयोध्यामा राम मन्दिर बन्यो तर, भाजपा उम्मेदवार भने हारे ।

महाकुम्भ मेलाको सफल व्यवस्थापनले मोदी–योगी दुवै नेताको राजनीतिक आधार र वैधता अवश्य विस्तार गर्दछ । कुम्भमेलाको सफल व्यवस्थापनबाट भाजपाको मातृसङ्गठन राष्ट्रिय स्वयंसेवक सङ्घ अवश्य खुशी भएको हुनु पर्दछ । तर, राजनीतिमा यति मात्रै पर्याप्त भने हैन ।

केन्द्रीय गृहमन्त्री अमित शाह अहिलेसम्मको बुझाइमा प्रधानमन्त्री मोदीको उत्तराधिकारका रुपमा प्रथम दाबेदार हुन् । मोदीजस्तै शाह गुजराती हुनु । मोदीशाह जोडी गुजरात शासनकालमै निर्मित थियो, जो दिल्लीको सत्तामा पनि अविच्छिन्न छ ।

महाकुभ्म मेलाको सफल आयोजनले मोदी र योगी दुवैलाई उजिल्याएको छ । तर, यो प्रकाश योगीलाई मोदीको उत्तराधिकार बनाउन पर्याप्त हो वा हैन, यसै भन्न सकिँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register