गभर्नर नियुक्तिमा देउवालाई झुलाइरहेका ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग जनाएको प्रतिवद्धता कार्यान्वयन हुन्थ्यो भने वैशाख २५ गते राष्ट्र बैंकले गभर्नर पाउने थियो । वैशाख २१ गते प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका देउवालाई २५ गते गभर्नर नियुक्त गर्ने वचन दिएका थिए । गभर्नर काङ्ग्रेसकै भागमा परेको छ । राष्ट्र बैंकको नेतृत्व लिनका लागि सिफारिस समितिबाट […]

May 19, 2025 - 16:48
 0
गभर्नर नियुक्तिमा देउवालाई झुलाइरहेका ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग जनाएको प्रतिवद्धता कार्यान्वयन हुन्थ्यो भने वैशाख २५ गते राष्ट्र बैंकले गभर्नर पाउने थियो । वैशाख २१ गते प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका देउवालाई २५ गते गभर्नर नियुक्त गर्ने वचन दिएका थिए ।

गभर्नर काङ्ग्रेसकै भागमा परेको छ । राष्ट्र बैंकको नेतृत्व लिनका लागि सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा पनि दिइसके । तर, प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिमा काङ्ग्रेस सभापति देउवालाई निरन्तर झुलाउँदै आएका छन् ।

काङ्ग्रेस सभापति देउवाले वैशाख ४ मा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए । वैशाख ४ मा आफ्नो नाम सिफारिस भएसँगै भट्टले वैशाख ५ गते राजीनामा दिएका थिए । कार्यवाहक गभर्नर निलम ढुंगानाले राजीनामा स्वीकृत गरिनन् । गभर्नरले मात्रै कार्यकारीको राजीनामा स्वीकृत गर्नसक्ने प्रावधान रहेकाले आफूले स्वीकृत नगर्ने अडान उनले कायमै राखेपछि भट्टलाई गभर्नर बनाउने देउवाको योजना साकार भएन ।

वैशाख २५ मा गभर्नर नियुक्त हुन नसकेपछि ओली-देउवाबीच त्यही दिन बालुवाटारमा भेट भयो । उक्त बैठकमा तीन विकल्पमा छलफल भएको थियो । पहिलो, भट्टलाई नियुक्ति गर्दा कुनै कानुनी अड्चन नआउने सुनिश्चित गर्ने । त्यसपछि, कार्यवाहक गभर्नर नयाँ नियुक्त गर्दै राजीनामा स्वीकृत गराउने । तेस्रो त्यो संभव नरहेको खण्डमा काङ्ग्रेसले नयाँ नाम प्रस्ताव गर्ने ।

काङ्ग्रेस-एमाले गठबन्धन पहिलो र दोस्रो विकल्प छोडेर तेस्रो विकल्पमा प्रवेश गर्‍यो । आफू गभर्नर हुने संभावना नदेखेपछि भट्ट  एकसाता अघि अमेरिका उडे । यता, गभर्नर सिफारिस समिति सदस्य रहेका पौडेलको नाम आएसँगै उनले समितिबाट वैशाख २८ गते राजीनामा दिए । गभर्नर सिफारिस समितिको बैठक हालसम्म एकपटक पनि बस्न सकेको छैन ।

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक तय थियो । गभर्नर नियुक्तिका लागि सिफारिस समितिले नाम सिफारिस गर्नुपर्थ्यो । सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठकक राखेनन् । त्यसबाहेकका खास एजेण्डा नभएपछि सोमबार मन्त्रिपरिषद्को बैठक स्थगित हुनपुग्यो । ‘मन्त्रिपरिषद् बैठकका लागि गभर्नर नियुक्ति मात्रै प्रमुख एजेण्डा थियो । अर्थमन्त्री बजेट निर्माणमा व्यस्त हुँदा सिफारिस समिति बस्न सकेन,’ एमालेका एक मन्त्रीले भने ।

मन्त्रिपरिषद् बैठक नबसेपछि काङ्ग्रेस सभापति देउवाले ओलीलाई भेट्न खोजेका थिए । आज दिउँसभर प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा व्यस्त थिए । साँझ भेटको समय मागेका देउवालाई उनले अस्वस्थताका कारण आज आराम गर्ने खबर पठाए । ‘प्रधानमन्त्रीले काङ्ग्रेस सभापतिलाई अस्वस्थ रहेकाले आराम गर्ने खबर गर्नुभयो,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने ।

प्रधानमन्त्री ओली रूघाले ग्रसित रहेको ती सदस्यले बताए । बालुवाटारमा बिहान युरोपेली युनियनका प्रतिनिधिहरूसँग भेट गर्दा प्रधानमन्त्री ओलीले मास्क लगाएका थिए । दिउँसोको दौडधूप कार्यक्रमबाट फर्किँदा उनलाई रूघाले थप च्यापेको ती सदस्यले बताए ।

झुलाएको भन्दै रूष्ट छ काङ्ग्रेस

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले झुलाएको भन्दै काङ्ग्रेसका ठूलो पंक्तिले असन्तुष्टि व्यक्त गरिरहेको छ । नेताहरूले संसद्‌देखि आफ्नो संसदीय दलको बैठकसम्म प्रधानमन्त्रीले नियुक्तिमा गरेको विलम्बप्रति चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका काङ्ग्रेसका प्रवक्ता प्रकाशरण महत गभर्नर नियुक्तिमा प्रधानमन्त्रीले झुलाएर अनुचित काम गरेको बताउँछन् । ‘संवेदनशीलताका हिसाबले गभर्नर पद एकै मिनेट पनि खाली राखिनु हुँदैन । काङ्ग्रेसले आफ्नो तर्फबाट नाम दिइसकेको अवस्थामा नियुक्तिलाई प्राथामिकता नदिएर पटक-पटक झुलाउने काम उचित छैन,’ उनले भने ।

काङ्ग्रेस सांसद रामहरि खतिवडाले प्रधामन्त्रीले काङ्ग्रेसलाई अलमल्याएको बताए । भट्टको राजीनामा स्वीकृत नहुनुको पछि प्रधानमन्त्रीकै हात हुनसक्ने उनको मत छ । ‘निलम ढुंगानाको पछाडि कोही न कोही त छ । विना कुनै ढाडस उहाँले राजीनामा स्वीकृत गर्न नमान्ने कुरा हुन्छ ? कामुको मात्रै चाहानाले राजीनामा अड्किएको होइन । नियत नै राखेर काङ्ग्रेसलाई झुलाइएको हो,’ उनले भने ।

काङ्ग्रेस सांसदहरूले प्रधानमन्त्री ओलीलाई विश्वास नगर्न पनि शनिबारको संसदीय दलको बैठकमा देउवाको ध्यानाकर्षण पनि गराएका थिए । सांसद हृदयराम थानी र सरिता प्रसाईंले प्रधानमन्त्री ओलीलाई विश्वास नगर्न देउवाको ध्यानाकर्षण गराएका हुन् । सांसद थानीले प्रधानमन्त्री ओलीले काङ्ग्रेससँग ख्यालठट्टा गरिरहेको भन्दै यसप्रति गम्भीर बन्न देउवालाई सचेत गराएका  थिए । ‘कामु गभर्नरले राजीनामा स्वीकृत नगर्नुमा केही न केही त छ । प्रधानमन्त्रीले धेरै ख्यालठट्टा गरिरहनुभएको छ । यो ख्यालठट्टाप्रति काङ्ग्रेस गम्भीर बन्नुपर्‍यो,’ उनको भनाइ छ ।

यस्तै, सांसद प्रसाईंले प्रधानमन्त्रीले काङ्ग्रेसलाई धोका दिनसक्ने भन्ने भन्दै सचेत रहन देउवाको ध्यानाकर्षण गराइन् । ‘प्रधानमन्त्रीले गभर्नर नियुक्तिमा धेरै मजाक गर्नुभयो । उहाँको कार्यले हाम्रै दललाई पनि अप्ठ्यारोमा पारिरहेको छ । उहाँले धोका दिन सक्नेबारे समयमै  ख्याल गरौँ,’ उनको भनाइ छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा बहालवाल गभर्नरको पद रिक्त हुनुभन्दा एक महिना अगावै गभर्नरको पदमा नियुक्त गरी सार्वजनिक सूचना जारी गर्नुपर्ने उल्लेख छ । ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिनाअघि नै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना  सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ,’ ऐनको दफा २५ मा उल्लेख छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी चैत २४ मा अवकाश प्राप्त भएका थिए । उनको अवकाशको एक महिना अगावै नियुक्ति हुनुपर्ने भए पनि सरकारले ऐनको उल्लंघन गरेको हो । बजेट ल्याउने समय नजिकिँदै जाँदा पनि गभर्नर नियुक्ति गर्न नसकेको भन्दै सरकारको आलोचना चर्किँदै गएको छ । सत्ता साझेदारसमेत रूष्ट बनिरहेको समयमा प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिलाई प्राथामिकता दिइरहेका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register