‘आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुन्छ’

पाँचथर, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुने बताउनुभएको छ । देशका ५७ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइसकेको जानकारी दिँदै मन्त्री पौडेलले मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन गर्न छुट्टै नीति बनाइरहेको बताउनुभयो । पाँचथरको फालेलुङ गाउँपालिकामा निर्माण भएको पाँच शय्याको आधारभूत अस्पतालको शनिबार [...] The post ‘आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुन्छ’ appeared first on Jhapa Online.

Mar 2, 2025 - 05:44
 0
‘आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुन्छ’

पाँचथर, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुने बताउनुभएको छ ।

देशका ५७ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइसकेको जानकारी दिँदै मन्त्री पौडेलले मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन गर्न छुट्टै नीति बनाइरहेको बताउनुभयो । पाँचथरको फालेलुङ गाउँपालिकामा निर्माण भएको पाँच शय्याको आधारभूत अस्पतालको शनिबार उद्घाटन गर्दै मन्त्री पौडेलले नयाँ नीतिबमोजिम आधारभूत अस्पताल सञ्चालन हुने बताउनुभयो ।

सबै आधारभूत अस्पतालमा जनशक्ति र उपकरणको अभाव रहेको बताउँदै मन्त्री पौडेलले यसका लागि विशेष व्यवस्था गरेर जनशक्ति र उपकरणको प्रबन्ध सरकारले गर्ने बताउनुभयो । यसका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेको उहाँको भनाइ छ । “यहाँ जनशक्ति तीनै तहका सरकारबाट व्यवस्था गर्नुपर्छ”, मन्त्री पौडेलले भन्नुभयो, “सङ्घीय सरकारले चिकित्सक पठाउँछ । बाँकी स्वास्थ्यकर्मी प्रदेश र स्थानीय सरकारले व्यवस्था गरेर अस्पताल सञ्चालन हुन्छ ।”

पूर्वाधार निर्माण भएपछि अस्पताल चल्नु अनिवार्य रहेको बताउँदै मन्त्री पौडेलले आधारभूत अस्पताललाई उपचारात्मक क्षेत्रका अतिरिक्त निरोधात्मक क्षेत्रमा पनि काम गर्ने अस्पतालका रूपमा विकास गरिने बताउनुभयो । “रोग लाग्न नदिनका लागि चेतना अभिवृद्धिका काम यी अस्पतालले गर्नुपर्छ भन्ने सोच बनाइएको हो”, मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य चौकीहरूले प्राथमिक उपचार उपलब्ध गराउने, आधारभूत अस्पतालहरूले निरोधात्मक क्षेत्रमा काम गर्ने, जिल्ला, प्रदेश र सङ्घका अस्पतालले विशिष्टीकृत सेवा उपलब्ध गराउनेगरी सरकारले स्वास्थ्य संस्थाको वर्गीकरण गरेर अघि बढ्ने तयारी गरेको छ ।”

शनिबार नै मन्त्री पौडेलले फालेलुङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुभयो । नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले धेरै सरोकार जोडिएको स्थानीय तहले नागरिकका काम छिटो, छरितो र कम शुल्कमा गर्नुपर्ने बताउनुभयो । सडक, विद्युत्जस्ता सेवा विस्तार भए पनि बसाइँ सर्ने क्रम रोक्न नसक्दा गाउँको चमक हराएको आफूले पाएको मन्त्री पौडेलको भनाइ छ । उहाँले बजारबाट सामग्री गाउँ ल्याउने तर गाउँबाट कुनै उत्पादन बजारतर्फ नजाने अवस्थाले बसाइँसराइ बढिरहेको बताउनुभयो । “पाँच शय्याको अस्पताल सुरु हुँदा चिकित्सक पठाइदिनुहोस् भनेर सङ्घको मन्त्रीलाई भन्नुपर्ने अवस्था आर्थिक पक्ष कमजोर भएकाले हो”, मन्त्री पौडेलले भन्नुभयो, “अब यही प्रणालीभित्र आत्मनिर्भरताको विकास गर्नुपर्छ । यसका लागि कृषिमा धेरै लगानी गर्नुपर्छ ।”

फालेलुङ गाउँपालिका वडा नं ३ नाम्लुवामा रु ११ करोड ४३ लाखको लागतमा आधारभूत अस्पताल निर्माण भएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिनुभयो । अस्पताल स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम निर्माण भएको हो । यस्तै, रु पाँच करोड २८ लाखको लागतमा गाउँपालिकाको चारतले प्रशासकीय भवन निर्माण भएको हो । विसं २०७७ असोजमा निर्माण सुरु भई गत जेठमा निर्माण सम्पन्न भएको भवनबाट सेवा प्रवाह सुरु भइसकेको गाउँपालिका अध्यक्ष थाम्सुहाङले बताउनुभयो ।

The post ‘आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुन्छ’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register