प्रधानमन्त्री ओलीलाई विद्या भण्डारीका तीन राजनीतिक सुझाव

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री समेत रहेका  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तीन राजनीतिक सुझाव दिएकी छिन् । राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीलाई पार्टी र मुलुकको परिस्थिति सुदृढ बनाउने सन्दर्भमा तीन सुझाव दिएकी हुन् । आन्तरिक लोकतान्त्रिकरण बलियो बनाउन एमालेभित्र निषेधको राजनीति मौलाएको गुनासो बढिरहेको सन्दर्भमा भण्डारीले पार्टीभित्रको आन्तरिक […]

Mar 3, 2025 - 13:42
 0
प्रधानमन्त्री ओलीलाई विद्या भण्डारीका तीन राजनीतिक सुझाव

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री समेत रहेका  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तीन राजनीतिक सुझाव दिएकी छिन् । राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीलाई पार्टी र मुलुकको परिस्थिति सुदृढ बनाउने सन्दर्भमा तीन सुझाव दिएकी हुन् ।

आन्तरिक लोकतान्त्रिकरण बलियो बनाउन

एमालेभित्र निषेधको राजनीति मौलाएको गुनासो बढिरहेको सन्दर्भमा भण्डारीले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिकरण बलियो बनाउन अध्यक्ष ओलीलाई सुझाव दिएकी छिन् । पछिल्लो पटक एमालेमा नेतृत्वको आलोचना निषेधदेखि आलोचना गर्नेहरूलाई पार्टीबाटै निष्कासन र निलम्बनसम्मका कदम चालिएका थिए । एमाले नेता भीम रावलको साधारण सदस्यता समेत खोसिएको थियो भने केन्द्रीय सदस्य विन्दा पाण्डे र उषाकिरण तिम्सिना निलम्बनमा परेका छन् । भण्डारीले एमाले नेतृत्वले  लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्ने बताएकी छिन्  ।  ‘नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिकरण गर्न पार्टीलाई सुदृढ बनाउन उहाँले आगामी दिनमा पनि योगदान गर्नुनैहुनेछ,’ भण्डारीले भनेकी छिन् ।

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन

पूर्व राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पुन भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएकी छिन् । २०७५ साल जेठ दिनमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । दुई दलबिचको एकता दिगो हुन सकेन । आन्तरिक कलहका कारण पार्टीको विषय अदालतसम्म पुग्यो । २०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेजको आदेश दिएसँगै दुई दल पूर्ववत् अवस्थामा फर्किएका थिए । भण्डारीले अध्यक्ष ओलीले त्यस बेला कम्युनिस्ट एकताको लागि निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिएकी छिन् । ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सराहना गर्दछु,’ भण्डारीले भनिन्, ‘भविष्यमा समेत यस किसिमका रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठुलो योगदान पुग्ने नै छ ।’

बहुदलीय प्रतिस्पर्धालाई प्राथमिकतामा दिन

नेपाली काङ्ग्रेस र एमालेबिचको गठबन्धन सरकार बने देखिनै सत्ता गठबन्धनले बहुदलीय प्रतिस्पर्धालाई निषेध गर्न खोजेको आरोप खेप्दै आएको छ । एमाले महासचिव शङ्कर पोखरेलले साना दलका कारण राजनीतिक स्थायित्व प्रभावित भएको भन्दै दुई दलीय ध्रुवीकरण आवश्यकता भएको अभिव्यक्ति दिँदै आएका छन् । नेपालको संविधानले समेत दुई मान्यताबीचको राजनीतिक ध्रुवीकरणलाई अपरिहार्य मानेको तर्क उनले गर्दै आएका छन् । माघ ७ मा उनले भनेका थिए, ‘समान सोच र समान लक्ष्य राख्नेहरूको एउटै पार्टी हुनु पर्दछ भन्ने मान्यता राख्ने हो भने स्वाभाविक रूपमा नेपालको संविधानले दुई मान्यताका बीचको राजनीतिक ध्रुवीकरणलाई अपरिहार्य मान्दछ।’

सरकारले थ्रेसहोल्डको प्रतिशत  बढाउने तयारी गरेपछि साना राजनीतिक दलले सत्तारूढ गठबन्धन साना दललाई निषेध गर्दै बहुदलीय लोकतन्त्रलाई कमजोर बनाउन लागेको आरोप लगाउँदै आएका छन् । यस्तो सन्दर्भमा पूर्व राष्ट्रपति भण्डारीले  एमाले नेतृत्वलाई बहुदलीय प्रतिस्पर्धालाई प्राथमिकता दिन सुझाव दिएकी हुन् ।  जस्तोसुकै राजनीतिक परिस्थितिमा पनि एमाले बहुदलीय लोकतन्त्र र प्रतिस्पर्धाबाट विमुख हुन नहुने भण्डारीको भनाइ छ । ‘बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन सक्दैन,’  उनले भनेकी छिन् ।

पूर्व राष्ट्रपति भण्डारीले ओली कुशल रणनीतिकार भएको बताइन् । ओलीको प्रशंसा गर्दै भण्डारीले भनिन्,’प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञ तथा मुलुकको सामाजिक आर्थिक समृद्धिका स्वप्नद्रष्टा तथा कुशल नेतृत्वकर्ता मध्ये एक हुनुहुन्छ ।’

ओलीको प्रभावकारी कार्यक्षमता र अनुभवको उपयोग मुलुकले गर्नुपर्ने भण्डारीको मत छ । उनले जनताको बहुदलीय जनवादको प्रभावकारी कार्यान्वयनको पहलकदमीमा ओलीको भूमिकाको प्रशंसा गरेकी छिन् । भण्डारीले ओलीको साहित्यिक प्रतिभाको थप प्रस्फुटनको शुभकामना पनि व्यक्त गरिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register