बागमती तरेर ५४ वर्षपछि कोशी फर्किएको बाघ

काठमाडौँ । ‘फत्तेपुरमा बाघ देखियो उद्धारको लागी मान्छे पठाइदिनु पर्‍यो’ सोमबार बिहान साढे छ बजेतिर कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) रामदेव चौधरीलाई कसैले फोन गर्‍यो । धेरै पटक चितुवालाई बाघ ठानेर स्थानीयहरूले बोलाउथे । यसपटक पिन चौधरीलाई त्यस्तै लाग्यो । चौधरीलाई ‘बाघ देखियो’ भन्दा सुरुमा त्यति आश्चर्य लागेन । किनकि, कोशी नदीको […]

Mar 4, 2025 - 13:08
 0
बागमती तरेर ५४ वर्षपछि कोशी फर्किएको बाघ

काठमाडौँ । ‘फत्तेपुरमा बाघ देखियो उद्धारको लागी मान्छे पठाइदिनु पर्‍यो’ सोमबार बिहान साढे छ बजेतिर कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) रामदेव चौधरीलाई कसैले फोन गर्‍यो ।

धेरै पटक चितुवालाई बाघ ठानेर स्थानीयहरूले बोलाउथे । यसपटक पिन चौधरीलाई त्यस्तै लाग्यो । चौधरीलाई ‘बाघ देखियो’ भन्दा सुरुमा त्यति आश्चर्य लागेन । किनकि, कोशी नदीको किनारमा अवस्थित फत्तेपुरमा बाघ नदेखिएको कयौँ वर्ष भइसक्यो ।  फोन गर्नेले बाघ नै हो भनेपछि चौधरीले सुनिश्चित गर्न खोजे । फोनकर्तालाई उनले भने, ‘बाघै हो ? फोटो पठाउनु त ।’

केही बेरमै चौधरीलाई टाढैबाट खिचिएको एउटा फोटो आयो । लगत्तै भिडियो क्लिप्स पनि आयो । भिडियोबाट चौधरीले प्रस्टै ठम्याए , ‘रोयल बङ्गाल टाइगर’ अर्थात् पाटे बाघ ।’

पाटे बाघ नै हो भन्ने यकिन भएपछि चौधरीले सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल बस्तीमा  प्राविधिक सहितको टोली पठाए । संरक्षण अधिकृत मिथिलेश महतो सहितको राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको टोली बाघको उद्धारमा  फत्तेपुर खटियो ।

उद्धारमा खटिएका महतोले भने ‘आरक्षबाट बाघ उद्धार टोली पुग्दा दुई जना स्थानीयलाई बाघले घाइते बनाइसकेको थियो । बाघ पनि सामान्य घाइते जस्तो देखिन्थ्यो ।’

वार्डेन चौधरीका अनुसार पाटे बाघलाई अहिले कोशीटप्पु वन्यजन्तु आरक्षको उद्धार केन्द्रमा राखिएको छ । चौधरी भन्छन्, ‘हामीले उद्धार गरेको बाघ वयस्क भइसकेको पोथी हो ।’

उनका अनुसार कोशीटप्पु क्षेत्रमा बाघ भेटिनु नौलो विषय हो । उनी भन्छन्, ‘यो(कोशी टप्पु) बाघ हुने क्षेत्र होइन । त्यसैले अब यसलाई कता छोड्ने भन्ने विषयमा विभागका प्राविधिकहरूको सल्लाहपछि निर्णय हुन्छ ।’

बागमती तरेको बाघ 

बाघ पौडिन सिपालु हुन्छन् । पौडिन सिपालु भए पनि बाघ आफ्‌नो क्षेत्रभन्दा बाहिर विरलै जाने गर्छन् ।अनुसन्धान दस्तावेजअनुसार बागमती नदी तरेर बाघ पूर्व नलागेको निकै वर्ष भइसक्यो। चौधरी सुनाउँछन्, ‘हामीलाई त बागमती पूर्व बाघ पाइँदैन भनेर पढाइँदै आएको थियो । सुरुमा त पत्यारै लागेको थिएन नि बाघ भन्दा ।’

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको रौतहट जिल्लाका जङ्गलहरूमा सन् २०२१ मा चार वटा बाघ देखा परेका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष र जुलोजिकल सोसाइटी अफ लन्डनले गरेको अध्ययन अनुसार रौतहट क्षेत्रमा बाघ देखा पर्नु अनौठो घटना थियो ।

रौतहट र सर्लाही छुट्याउने बागमती नदीसम्म बेला बेला बाघ देखा परे पनि बागमती पारी भने बाघ देखिएको थिएन । लामो समय संरक्षण क्षेत्रमा काम गरेका कोशी टप्पु आरक्षका वार्डेन चौधरीको अनुभव जस्तै  बागमती पूर्व बाघ देखिनु संरक्षणकर्मीहरूका लागि पनि आश्चचर्यजनक हो । चौधरी मात्र हैन, नेपालमा बाघमाथि गरिएका विभिन्न अध्ययनहरूले पनि बागमती पूर्व पाटेबाघ देखा नपरेको उल्लेख गरेका छन् ।

केही समयअघिको अध्ययनले उदपुरको त्रिजुगा वन बाघको वासस्थानका लागि उपयुक्त सुझाएको थियो । त्रिजुगा जङ्गल बाघका लागी उपयुक्त भनिएपनि  बागमती पूर्व बाघको उपस्थिति नरहेको अध्ययन प्रतिवेदनमै उल्लेख  छ ।

‘त्रिजुगा वनमा बाघको लागि वासस्थान मूल्याङ्कन’ प्रतिवेदनमा भनिएको छ ‘ऐतिहासिक रूपमा, बाघहरू नेपालका तराईका जङ्गलभरि फैलिएका थिए । तर, १९८७ देखि १९९७ सम्म गरिएको सर्वेक्षणमा चितवन–पर्सा, बर्दिया, शुक्लाफाँटामा बाघ देखिए पनि बागमती नदीको पूर्वतर्फ भने बाघको उपस्थिति रिपोर्ट गरिएको थिएन ।’

हुनतः पूर्वी नेपालको पहाडी जिल्ला इलामको सन्दुकपुरमा २०७७ मा बाघ भेटिएको थियो । ७००–८०० मिटरको उचाइ सम्म देखिने पाटेबाघ समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा देखा परेको थियो । यो सबैभन्दा उचाइमा बाघ देखिएको रेकर्ड थियो ।

तर, इलाममा देखिएको बाघ पूर्वी तराईको पर्सा–रौतहटको जङ्गलबाट गएको भने थिएन। संरक्षणकर्मीहरूले भारत वा भुटानको संरक्षण क्षेत्रबाट आएको बाघ इलाममा देखिएको आकलन गरेका थिए ।

सन्दकपुरको उक्त वनक्षेत्र भारतको पश्चिम बङ्गालको सिंघलीला राष्ट्रिय निकुञ्जसँग जोडिन्छ । सिंघलीला भारतको बाघ पाइने महानन्द वन्यजन्तु आरक्षसँग नजिक छ । सिक्किमको नेउरा भ्याली राष्ट्रिय निकुञ्ज र भुटानको संरक्षित क्षेत्रबाट समेत जनावरहरूको बसाइँसराइ इलामको सन्दुकपुरसम्म हुने गरेको अनुमान संरक्षणकर्मीहरूको छ ।

पर्सामा बाघको सङ्ख्या बढ्दाको परिणाम 

सुदूर पूर्वी जिल्ला इलाममा भारतीय भूमिबाट आएको बाघको मुभमेन्ट देखिएको थियो । कोशीको नजिकमा बाघ पाइने क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज हो । सप्तरीको फत्तेपुरमा सोमबार देखिएको बाघ पर्साबाट बागमती  तरेर कोशीसम्म  पुगेको अनुमान संरक्षणकर्मीहरूको छ ।

सन् २००९ मा पर्सामा जम्मा ४ वटा बाघ रेकर्ड गरिएकोमा २०२२ सम्म आइपुग्दा बाघको सङ्ख्या  ४१ वटा पुगेको रेकर्ड थियो ।

पर्सामा बाघको सङ्ख्या बढ्दै गएकाले नयाँ क्षेत्र खोज्दै कोशी सम्म पुगेको हुन सक्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिस्ट इकोलोजिस्ट हरिभद्र आचार्यले बताए । ‘बागमती नदीको आसपास सम्म बाघ देखिएकै हो । त्यही बाघ सप्तरी सम्म आयो होला भन्ने प्रारम्भिक अनुमान हाम्रो हो’ आचार्य भन्छन्, ‘त्यसैले चुरे फेदी हुँदै सप्तरीसम्म बाघ पुगेको जस्तो देखिन्छ ।’

सङ्ख्या बढ्दै गएपछि बाघ नयाँ ठाउँ खोज्दै हिँडिरहेको बताउँछन् आचार्य । ‘बाघले ३–४ वटा सम्म बच्चा जन्माउँछ । बच्चा बढेपछि उसले आफ्नो क्षेत्र खोज्छ । आहार र सुरक्षा भेट्यो भने नयाँ ठाउँमा आफ्नो इलाका बनाउँछ’ आचार्यले बताए । कोशी क्षेत्र बाघका लागि उपयुक्त वासस्थान रहेको वन्यजन्तु जानकार डा. हेमसागर बराल बताउँछन् । ‘पर्सामा बाघको सङ्ख्या बढेकाले नयाँ ठाउँ खोज्दै बाघ कोशी नजिकसम्म पुग्यो । बाघ देखिएको क्षेत्र अत्यधिक जैविक विविधता भएको क्षेत्र हो,’ बराल भन्छन्, ‘कोशी आसपास क्षेत्रमा बाघका लागि उपयुक्त मौसम पनि छ ।’

विभागका वरिष्ठ इकोलोजिस्ट आचार्यका अनुसार बाघलाई एक वर्षमा ५० वटा सिकार भए पुग्छ । आचार्य भन्छन्, ‘बाघको आहारको लागी समेत कोशी उपयुक्त नै देखिन्छ ।’

कोशीटप्पु वन्यजन्तु आरक्षमा अरू सिकारी जनावर छैनन् । कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तारको उद्देश्यले सन् २०१७ मा प्रारम्भिक वातावरण परीक्षण गरिएको थियो ।  त्यस प्रतिवेदनले  १९७० को दशकपछि  कोशीमा बाघ नरहेको देखाउँछ । त्यस प्रतिवेदनले भनेको छ,’ १९७० को दशकअघि भने कोशी बाघको घर थियो ।’

वि.स‌ं. २०११ मा कोशी सम्झौता भयो । त्यसपछि बाँध निर्माणका लागि आवश्यक सामाग्री ओसार्न कोशी क्षेत्रमा रेल कुद्न थाल्यो । यस क्रममा बाघको वासस्थान मासिदै गएपछि कोशी क्षेत्रमा बाघ देखिन छाडेको स्थानीहरू बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register