गणतन्त्रको रक्षामा प्रचण्ड प्रतिबद्ध, संसद्‌मा सुनाए सरकारमाथि आरोपका फेहरिस्त

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका बेथितिका कारण व्यवस्थाप्रति जनताको मोह भङ्ग हुने क्रम बढेको बताएका छन् । संसद्‌मा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभङ्ग बढाएको छ,’ उनले भने । सरकारको गलत क्रियाकलापविरुद्ध र लोकतन्त्रको रक्षा र […]

Mar 11, 2025 - 08:54
 0
गणतन्त्रको रक्षामा प्रचण्ड प्रतिबद्ध, संसद्‌मा सुनाए सरकारमाथि आरोपका फेहरिस्त

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका बेथितिका कारण व्यवस्थाप्रति जनताको मोह भङ्ग हुने क्रम बढेको बताएका छन् ।

संसद्‌मा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभङ्ग बढाएको छ,’ उनले भने ।

सरकारको गलत क्रियाकलापविरुद्ध र लोकतन्त्रको रक्षा र प्रतिगामी षड्यन्त्रविरुद्ध जुध्नुपर्ने बेला आएको उनले बताएका छन् । ‘इतिहासका विभिन्न कालखण्डका गौरवपूर्ण बलिदानबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ । जनताको बलिदानपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोसिस गरिँदैछ । सरकारका गलत क्रियाकलापविरुद्ध लोकतन्त्रको लडाइँ लड्नुपर्ने भएको छ । अर्कोतिर प्रतिगामी षड्यन्त्रविरुद्ध जुध्नुपर्ने छ,’ उनले भने ।

मुलुकमा आठ महिना अघिसम्म असन्तोष नभएको भन्दै उनले सकारकै कारणले नागरिकमा असन्तोष बढेको आरोप लगाए ।

राजसंस्थाप्रतिको समर्थनमा बाह्य चलखेल 

प्रचण्डले राजसंस्थाप्रतिको समर्थनमा बाह्य चलखेल पनि रहेको आरोप लगाएका छन् । सडकबाटै राजसंस्था पुन:स्थापनाको प्रतिगमनका लागि सङ्गठित प्रयासमा बाह्य चलखेल पनि रहेको उनले बताएका हुन् ।

‘यसमा देशभित्र र बाहिरका चलखेल पनि छन् । तर यी चलखेल त हिजो पनि थिए, अस्ति पनि थिए । आज अचानक ती शक्तिहरूको मनोबल किन यति धेरै बढ्यो त ? राजवादीहरूको यो चहलपहलका पछाडि प्रतिगमनको सङ्गठित प्रयास छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि छ,’ प्रचण्डले भने ।

सत्तामा रहेकाहरूले गरेका प्रदर्शन सनक, कुण्ठा र शासकीय अत्याचार र व्यभिचारले उनीहरूको मनोबल बढाएको प्रचण्डले बताए ।

लोकतन्त्र प्रचण्डको जति ज्ञानेन्द्रको पनि हो

प्रचण्डले व्यक्तिका रूपमा लोकतन्त्र ज्ञानेन्द्रका लागि पनि उत्तिकै रहेको बताए । लोकतन्त्रभित्रै आफ्नो स्थान खोज्ने कदम गलत नहुने भन्दै उनले षड्यन्त्रको बाटो नरोज्न राजवादीहरूलाई आग्रह गरे । लोकतन्त्र नमानेर षड्यन्त्रतर्फ लागेकामा फेरि अर्को क्रान्ति हुने प्रचण्डको चेतावनी छ ।

‘राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, माओवादीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको हो । तर, लोकतन्त्र नमानेर षड्यन्त्रको बाटो रोजियो भने क्रान्तिले फेरि एक पटक आफ्नो शक्ति देखाउने छ,’ उनको चुनौती छ ।

राजसंस्थाको वकालत अन्तर्राष्ट्रिय जगतमा पनि भइरहेको भन्दै उनले लोकतान्त्रिक विधिबाट आफ्नो ठाउँ खोज्न उनले राजावादीलाई सुझाएका छन् । ‘ एक सय ६ वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन् । फ्रान्समा अन्तिम राजतन्त्र सकिएको एक सय ७५ वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरू अस्तित्वमा छन् । सर्बिया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीको ससानो उपस्थिति देखिन्छ । राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, माओवादीलाई आपत्ति छैन,’ उनले भने ।

लोकतन्त्रलाई बाह्य र आन्तरिक चुनौती

प्रचण्डले लोकतन्त्रलाई बाह्य र आन्तरिक चुनौती उत्तिकै रहेको बताए । प्रतिगमनकारीबाट भन्दा सत्तासीनबाटै लोकतन्त्रलाई खतरा रहेको प्रचण्डले बताए । लोकतन्त्रलाई जति ठूलो बाहिरी चुनौती अहिले प्रतिगमनकारीबाट छ, सत्तासीन साथीहरूको सनक र कुशासनले व्यवस्थाभित्रबाटै लोकतन्त्रलाई त्यो भन्दा बढी चुनौती दिइरहेको छ । विडम्बना नै भन्नुपर्छ, सरकारका अपराधहरुको हिसाब आज जनता लोकतन्त्रसँग माग्दै छ,’ उनले भने ।

सरकारी कुशासन र प्रतिगमन दुवैसँग एकसाथ लड्न आफ्नो दल सक्षम र प्रतिबद्ध रहेको उनले बताए । सत्तारूढ दलले लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरेको उनले बताए । संसद् प्रतिपक्षको रहेको अन्तर्राष्ट्रिय मान्यता सरकारले खण्डित गरेको उनले बताए ।

सरकारले दण्डहीनतालाई प्रोत्साहन गर्दा र गणतन्त्रमा राजर्षि ठाँट देखाउँदा लोकतन्त्रप्रति नागरिकको भरोसा कमजोर भएको प्रचण्डले बताए । ‘कसैको तस्बिर छापिएका टिसर्ट लगाएकै कारण तपाईँहरूले नागरिकलाई नियन्त्रणमा लिनुभयो । लोकतन्त्रमा सरकारले राख्छ त्यस्तो हक ? हिजो राजामहाराजाझैँ पूरै सडक खाली गरेर सवारी चलाउने सनक चढ्छ प्रधानमन्त्रीलाई । लोकतन्त्रले के यो राजर्षि ठाँट स्वीकार गर्छ ? सत्तारुढ पार्टीका कार्यकर्ताले आमनागरिक त परको कुरा, बर्दीधारीलाई नै आक्रमण गर्छन् तर तिनलाई कारबाही हुँदैन । यस्तो दण्डहीनताले लोकतन्त्रप्रति जनताको भरोसा बढाउँछ कि वितृष्णा ?’ प्रचण्डको प्रश्न छ ।

सरकारको गतिविधिले लोकतन्त्रमा मैलो थुपारेको प्रचण्डको आरोप छ । ‘ पछिल्ला आठ महिनामा तपाईँहरूले लोकतन्त्रलाई गङ्गा नदी बनाइदिनुभयो । एक अर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी काण्ड धुनुभयो, तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा । गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरूको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो के देखियो? लोकतन्त्र’प्रचण्डले भने ।

सरकार कुशासनमा उद्धत हुँदा जनतामा निराशा

सरकार कुशासनमा उद्धत हुँदै बलमिच्याइँ पूर्वक अघि बढेकाले जनतामा निराशा बढेको प्रचण्डले आरोप लगाएका छैन । जनताका रचनात्मक खबरदारीलाई कुनै भाउ नदिँदा जनता फेरि सडकमा उर्लिएको उनले बताए । एकातिर सङ्ख्याको अहङ्कार, अर्कातिर शक्तिको दुरुपयोग । प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आयो,’ उनले भने ।

सरकार कुशासन र स्वार्थ समूहको भरिया भएर उभिँदा जनतामा आक्रोश बढेको उनले बताए ।’ व्यापारीहरूसँग बक्यौता उठाउन खोज्यो, जथाभाबी लाइसेन्स बेच्न दिएन भनेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको कोपभाजनमा पर्नुभएको छ । प्रतिगमनकारीहरू नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली यस्तो भएपछि लोकतन्त्र जोखिममा हुँदैन?’ प्रचण्डको प्रश्न छ ।

नागरिकका प्रदर्शनलाई उपेक्षा गर्न नहुने उनले बताए । सकारले नागरिकका आक्रोश हल गर्नुपर्ने उनले बताए । ‘सरकारलाई मेरो चेतावनीपूर्ण आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नोस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नोस् । तपाईहरुको अनावश्यक सनक र दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो यो । त्यसको थप मूल्य तिर्न यो देश तयार छैन,’ उनले भने ।

गणतन्त्रको रक्षाका लागि माओवादी प्रतिबद्ध

प्रचण्डले गणतन्त्रको रक्षाका लागि माओवादी प्रतिबद्ध रहेको बताएका छन् । वर्तमान लोकतन्त्र तत्कालीन सात राजनीतिक दल  र माओवादीबिच सहकार्यको परिणाम रहेकाले कुनै पनि प्रतिगमनलाई सफल हुन नदिइने उनले बताए । 

संविधानको अभिन्न अङ्ग बनेको शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता म हो । त्यसका अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले जीवनका अन्तिम क्षणमा मेरो हात समातेर ‘लोकतन्त्र तपाईँको जिम्मा है’ भनेको सुन्ने साथीहरू यही संसद्मा पनि हुनुहुन्छ । उहाँलाई दिएको वचनलाई साक्षी राखेर म यो संसद्लाई विश्वास दिलाउँछु, प्रतिगमन सफल हुन दिइनेछैन,’ प्रचण्डले भने ।

काङ्ग्रेस र एमालेभित्र पनि इमानदार कार्यकर्ता पङ्क्ति प्रतिगमनको विपक्षमा रहेको उनले बताए ।  अब सच्चिनु र सुध्रिनुमै सबैको भलो रहेको प्रचण्डले बताए । आफ्नो मन्तव्य अन्त्य गर्दै प्रचण्डले भने,’प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा मेरो के प्रतिबद्धता छ भने गणतन्त्र र व्यवस्थाको रक्षा हामी गर्छौँ । तपाईँहरू जो जसले बाटो बिराउनुभएको अब सच्चिनु र सुध्रिनुमै सबैको भलो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register