स्ववियु चुनावले आफ्नो औचित्य पुष्टि गरोस्

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि क्याम्पसहरूमा धमाधम तयारी भइरहेको छ । चुनावी मिति नजिकिएसँगै उम्मेदवारले विद्यार्थी सम्झिन थालेका छन् । अरू बेला ओझेलमा पर्ने र चुनावमा अधिक सक्रियता देखाउने नेताप्रति आजित छन्, आम विद्यार्थी । विद्यार्थीको हकहित, विश्वविद्यालय सुधार र राष्ट्रिय मुद्दामा सक्रियताभन्दा दलीय स्वार्थमा अघि बढ्ने प्रचलन विद्यार्थी सङ्गठनमा मौलाएको […]

Mar 13, 2025 - 09:59
 0
स्ववियु चुनावले आफ्नो औचित्य पुष्टि गरोस्

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि क्याम्पसहरूमा धमाधम तयारी भइरहेको छ । चुनावी मिति नजिकिएसँगै उम्मेदवारले विद्यार्थी सम्झिन थालेका छन् । अरू बेला ओझेलमा पर्ने र चुनावमा अधिक सक्रियता देखाउने नेताप्रति आजित छन्, आम विद्यार्थी । विद्यार्थीको हकहित, विश्वविद्यालय सुधार र राष्ट्रिय मुद्दामा सक्रियताभन्दा दलीय स्वार्थमा अघि बढ्ने प्रचलन विद्यार्थी सङ्गठनमा मौलाएको छ । यसले गर्दा इतिहासको गौरवशाली सङ्गठनप्रति वर्तमानमा चरम निराशा पैदा भइरहेको छ ।

विद्यार्थीको तागतबारे हाम्रो आफ्नै गौरव छ । त्यसअघि हालसालै बङ्गलादेशमा विद्यार्थीले चलाएको अभियान र त्यसले सत्तामा ल्याएको फेरबदलबारे कुरा गरौँ । सन् २०२४ को कोटा सुधार माग गर्दै थालिएको आन्दोलनले शेख हसिना नेतृत्वको सरकारको अन्त्य भयो र उनले देश नै छोडेर भाग्नुपर्‍यो । विद्यार्थीको नेतृत्वमा विभेदपूर्ण आरक्षण व्यवस्थाविरुद्ध सुरु भएको विरोध प्रदर्शन एक हप्तामा नै ठूलो देशव्यापी आन्दोलनमा परिणत भयो । राजनीतिक विचारधाराबाट माथि उठेर उनीहरूले तानाशाही सरकारविरुद्ध साहस, प्रतिबद्धता, र इमान्दारीका साथ एक भएर यो आन्दोलनको नेतृत्व गरे र सफल पनि भए ।

उक्त आन्दोलनमा कुनै विद्यार्थी सङ्गठन थिएनन्, तर आम विद्यार्थीको सहभागिता थियो, जहाँ कुनै राजनीतिक स्वार्थ थिएन । यस आन्दोलनमा विद्यार्थीको सहभागितालाई अत्यन्तै महत्त्वका साथ हेरिएको थियो । विश्व इतिहासलाई खोतल्ने हो भने युरोपियन क्रान्तिकारी विद्यार्थी आन्दोलन १९औं शताब्दीको विश्व हल्लाउने आन्दोलन थियो । झनै सन् १८४८ को जर्मन र रसियन क्रान्तिकारी विद्यार्थीको राजनीतिक चेतनामा युगौँसम्म आन्दोलनको अगुवाइ गर्ने दूरदृष्टि थियो ।

विद्यार्थी आन्दोलनको विगत हेर्दा मूलत: राजनीतिक परिवर्तन यसको मुख्य उद्देश्य थियो । शैक्षिक सुधारको कुरा भए पनि यो सधैँ दोस्रो प्राथमिकतामा पर्‍यो  । २००४ सालमा तीन धारा पाठशालामा संस्कृत पढ्ने विद्यार्थीले चलाएको ‘जयतु संस्कृतम्’ आन्दोलनमा आधुनिक पाठ्क्रमसमेत हुनुपर्ने भन्ने समेतका शैक्षिकजस्ता देखिए पनि अन्तर्यमा उद्देश्य भने राजनीतिक नै थिए ।  विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनलाई कुनै समय राजनीतिक क्रान्तिको अब्बल संस्थाका रुपमा लिइन्थ्यो ।

पञ्चायती शासनका बेला दलमाथि प्रतिबन्ध हुँदा त्यति बेलाको सरकारविरुद्ध आवाज उठाउने काम स्ववियुले नै गरेका थिए । पञ्चायती शासन पन्छाउन स्ववियुले खेलेको त्यो महत्त्वपूर्ण भूमिकालाई नकार्न सकिन्न । तर, विडम्बना त्यही स्ववियु अहिले अराजकता र दलतन्त्रको भुमरीमा फसेको छ । शैक्षिक सुधार र विद्यार्थीको हक हितका लागि प्रश्न उठाउनेभन्दा विश्वविद्यालयमा तालाबन्दीदेखि नियुक्तिमा भागबन्डा तथा ठेक्कामा हिस्सेदारी खोज्ने प्रवृत्तिले स्ववियुको विरासतमा खोट लागेको छ ।

त्रिविले आफू मातहतका क्याम्पसमा हरेक दुई/दुई वर्षमा फाल्गुन १४ गते स्ववियु निर्वाचन गराउँदै आएको थियो । तर, २०६५ साल यता नियमित हुन सकेको छैन । २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन त्यसपछि एकै पटक आठ वर्षमा विसं.२०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला नौ वटा आङ्गिक क्याम्पस निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । त्रिविले आगामी चैत ५ मा देशभरका क्याम्पसमा एकसाथ स्ववियु पदाधिकारी चयन गर्न निर्वाचन समय तालिका घोषणा गरिसकेको छ  ।

आखिरमा स्ववियुको औचित्य चाहिँ के ? पछिल्लो कार्य नियाल्दा विश्वविद्यालयका पदाधिकारी चयन, क्याम्पस–विभागका प्रमुख नियुक्ति, कलेजका सम्बन्धन, भर्नालगायत गतिविधिमा विद्यार्थी नेताले नै बार्गेनिङ गरेको आरोप लाग्दै आएको छ  । विद्यार्थी सङ्गठनका नाममा दलको झन्डा बोकेर मुख्य एजेन्डालाई लात हानेर स्ववियु भनेको स्वतन्त्र हुनुपर्छ भनेर विभिन्न चिया अड्डामा नेताहरूले चियासङ्गै गफ पिटिरहेको पाइन्छ । स्ववियु निर्वाचन जितिसकेपछि विद्यार्थीको हक हितमा भन्दा पार्टीको आदेशमा चल्ने विद्यार्थी युनियनलाई यसको औचित्यमाथि प्रश्नको झटारो आउनु स्वाभाविक हो ।

अहिले स्ववियु आफैँले उठाएको मुद्दाबाट किनारा लाग्दै गएको मात्र होइन, विद्यार्थीको आँखाबाट ओझेल पर्दै गएका छन् । भरिभराउ हुने त्रिविका ६२ आङ्गिक क्याम्पस रित्तिदै जाँदा स्ववियुको आवश्यकता र औचित्यमाथि प्रश्न उठेको छ । विद्यार्थीको मुद्दाबाट विमुख हुँदै दलको छत्र र छायाबाट माथि उठ्न नसकेका सङ्घसङ्गठनले यसको उपादेयता पनि पुष्टि गर्न सकेका छैनन् । शैक्षिक सुधारका विषयमा आवाज उठाउनुभन्दा विश्वविद्यालयको पठन पाठन अवरुद्ध पार्ने, पदाधिकारीको भाग खोज्नेजस्ता गैर शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठनका ध्यान मोडिएको पाइन्छ ।

स्ववियु हिजो जुन लडाइँ लडेर आएको हो त्यसलाई विरासतको रुपमा लिनुपर्छ । तर, समयको बदलावमा अबको स्ववियु हिजोको भन्दा अझै प्रभावकारी हुनुपर्ने आवश्यकता छ । देशको शिक्षा प्रणाली, क्याम्पसमा हुने छात्रवृत्तिको नाममा धाँधली, भ्रष्ट्राचार, सुस्त प्रशासनमाथि त आवाज उठाउन आवश्यक देखिन्छ नै अबको बाटो भनेको देशको राजनीतिक, आर्थिक सामाजिक सुधार, राजनीतिक अस्थिरता, नेतागिरी, नातावादकृपावादमाथि स्ववियुले खबरदारी गर्नु पर्ने देखिन्छ ।

परीक्षा लिएको १ वर्ष बितिसक्दा पनि नतिजा ननिकाल्नु त्रिभुवन विश्वविद्यालयको दीर्घ रोग नै बनिसकेको छ । यो विषयमा कुनै पनि सङ्गठनले बोलेका छैनन् । विश्वविद्यालयको ढुकुटीबाट तलब भत्ता लिएर निजी क्याम्पस खोली उच्च शिक्षामा व्यापारिकरण गर्नेविरुद्ध पनि आवाज सुनिएको छैन । शिक्षकको लापरबाहीले शैक्षिक स्तर दिन प्रतिदिन ओरालो लागेको विषयमा कुनै सङ्गठनलाई चासो देखिदैन । 

विश्वविद्यालय मातहतका क्याम्पसमा अध्ययन गर्ने कति दलित विद्यार्थी उत्पीडनमा छन्, महिला विद्यार्थीका लागि महिनावारी भएको बेला स्यानिटरी प्याड र आकस्मिक स्वास्थ्य सेवा छ कि छैन, आर्थिक कमजोरीका कारण कति विद्यार्थी अध्ययनबाट बाहिरिएका छन् ? यी सवाल कुनै विद्यार्थी सङ्गठनको भागमा परेको देखिँदैन ।

विद्यार्थी सङ्गठन राजनीतिक दलसँग आवद्ध देखिएका कारण उनीहरूले राजनीतिक मुद्दाहरूको मात्र पैरवी गर्छन्, शैक्षिक बहसका विषय, विश्वविद्यालय सुधार गर्ने, पढ्ने पढाउने कुरा नियमित गराउने जस्ता बहस विद्यार्थी सङ्गठनबाट अत्यन्तै न्यून हुने गरेका छन् । आफ्नो दल सत्तामा हुँदा मुख बाँधेर बस्ने अनि अन्य दल सत्तामा हुँदा हामीलाई जवाफदेही चाहियो तिम्रो सरकार भनेर आन्दोलन गरेर विद्यार्थी सङ्गठनको औचित्य खोज्नु न्यायपूर्ण देखिँदैन ।

गत फाल्गुन ४ गतेका दिन भारतको ओडिसा राज्यमा २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भयो । यस प्रकरणमा कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) भुवनेश्वरका दुई कर्मचारीले आफ्नो शैक्षिक संस्थाको खर्च नेपालको बजेटभन्दा धेरै रहेको भनेर धमास देखाए । नेपाली विद्यार्थीलाई होस्टेल छोड्न दबाब दिइयो । 

उक्त घटनालाई लिएर भारतको अखिल भारतीय विद्यार्थी परिषद्ले सक्रियता देखायो । न्याय माग्ने विद्यार्थीको आह्वानलाई दबाउन विश्वविद्यालय प्रशासनले गरेको कार्य अत्यन्त निन्दनीय भएको भन्दै परिषद् आन्दोलनमा उत्रिएर विश्वविद्यालयलाई खबरदारी गरेको थियो ।

नेपालमा पनि विभिन्न विद्यार्थी सङ्गठनले यस घटनालाई गम्भिरतापूर्ण रुपमा लिएका थिए । यसरी हेर्दा स्ववियुले एक क्याम्पसका लागि मात्र नभई देश विदेशमा आम नेपाली विद्यार्थीमाथि भएका हिंसालाई पनि समेटेर खबरदारी गरेका ताजा खबर आउने गर्छन । यी खबरदारी स्ववियु चाहिँदैन र यसको औचित्य नरहेको भन्नेका लागि एक दरिलो उदाहरण बनेको छ । यस्ता थुप्रै घटना छन् जहाँ स्ववियुले आफ्नो महत्त्वपूर्ण कदम चालेको र खबरदारी गरेको छ ।

अबको स्ववियु दलतन्त्रको पछि होइन विद्यार्थीको हक हितमा अघि बढ्न सक्नु पर्छ । देशको शिक्षा प्रणाली सुधार गर्न सबैभन्दा पहिले त्यहाँको शैक्षिक वातावरण सुधार गर्न आवश्यक हुन्छ । यी आवश्यकता हेरेर क्याम्पस प्रशासनलाई जवाफदेही बनाउन घेराउ गर्नु पर्ने देखिन्छ । स्ववियुले क्याम्पस प्रशासनको जवाफदेहिता खोजेर मात्र हुँदैन आफ्नो औचित्य जीवित राख्न आफू पनि जवाफदेही बन्नु पर्ने हुन्छ । निर्वाचित भएका पदाधिकारीले आफ्नो व्यक्तिगत साथै राजनीतिक क्षेत्रमा मात्रै समर्पित भएर निर्णय गरेको देखिन्छ । यस्ता कार्यले विद्यार्थीबीच हुने समस्याको उचित सम्बोधन गर्न सक्दैन । 

स्ववियुले विश्वविद्यालयको सुधार गर्न निरन्तर आवाज उठाउनु पर्छ । आज देशका युवा र विद्यार्थीले नेपालको विश्वविद्यालय ठिक छैन, सुस्त छ, गुणस्तरहीन छ, सीपमुलक पाठ्यक्रम छैन, धमाधम बेरोजगार जन्माइरहेको छ भन्ने कुरालाई विशेष कारण बनाइ धमाधम देश छाडिरहेका छन् ।

हुन पनि हो प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति राख्नुको पछाडि कुनै कारण नै छैन, यो सीधै राजनीतिक पासो हो जुन पासोले त्रिविलाई अल्झाइरहेको छ । विश्वविद्यालय भित्र हुने कर्मचारीतन्त्रका कारण आम विद्यार्थी ढिला सुस्तीको चपेटामा परेका छन् । यी विषयलाई ध्यानाकर्षण गर्दै अबको स्ववियु अघि बढ्नु पर्छ ।

स्ववियुको नेतृत्व गर्नेहरू नै भोलि गएर देशको राजनीति सम्हाल्ने हुन् । गगन थापा, रामकुमारी झाँक्री, योगेश भट्टराई जस्ता अहिलेका युवा नेताहरू विद्यार्थी आन्दोलनबाट आएका हुन् । स्ववियुले जति राम्रो नेतृत्व जन्माउँछ, देशले पनि भोलि त्यति नै राम्रो वा इमानदार नेतृत्व पाउने छ भनेर बुझ्न सकिन्छ । दल केन्द्रित होइन अब स्ववियुले विद्यार्थी केन्द्रित एजेन्डा बोकेर आम विद्यार्थीको जीवनमा आउने समस्याको लडाइँ लड्न सके मात्र स्ववियु चुनाव गर्नुको औचित्य देखिन्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register