बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ

लन्डन- बेलायतमा नेपाली संघसंस्था ३५० हाराहारी छन् भनिन्छ । राजनीतिक, धार्मिक, सामाजिकदेखि व्यवसायिक, च्यारिटेबल अनि जातीय संघसंस्थाका आ-आफ्नै स्वार्थ छन्, उद्देश्य छन् । ति सयौं संघसंस्थामाझ एउटा अनुकरणीय च्यारिटी संस्थामा स्थापित छ बेक्सली नेपलिज कम्युनिटी (बीएनसी) । सन् २००८ मा स्थापना भएको हो बीएनसी र केशबहादुर गुरुङ यसको संस्थापक अध्यक्ष हुन् । शुरुमा थोरै नेपाली […]

Mar 15, 2025 - 12:52
 0
बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ


लन्डन- बेलायतमा नेपाली संघसंस्था ३५० हाराहारी छन् भनिन्छ । राजनीतिक, धार्मिक, सामाजिकदेखि व्यवसायिक, च्यारिटेबल अनि जातीय संघसंस्थाका आ-आफ्नै स्वार्थ छन्, उद्देश्य छन् । ति सयौं संघसंस्थामाझ एउटा अनुकरणीय च्यारिटी संस्थामा स्थापित छ बेक्सली नेपलिज कम्युनिटी (बीएनसी) ।

सन् २००८ मा स्थापना भएको हो बीएनसी र केशबहादुर गुरुङ यसको संस्थापक अध्यक्ष हुन् । शुरुमा थोरै नेपाली सहभागिता र गतिविधिबाट आफ्नो यात्रा आरम्भ गरेको सोसाइटी थप वृहत बन्दै गएपछि सन् २०१६ मा कम्पनी हाउसमा दर्ता भयो । यसको प्रभावकारिता र नेपाली जनसंख्या समेत अरु बढेपछि सन् २०२० बाट च्यारिटी कमिशनमा दर्ता भएको छ बीएनसी ।

‘संस्था स्थापनाको मुख्य उद्देश्य आपसी भेटघाट, नेपाली कला संस्कृति प्रवर्धन, सदस्यहरुको कल्याणकारी र हकहित नै थियो । पछि संस्था ठूलो बन्दै गयो । नेपाली बढे, गतिविधि बढेपछि कम्पनी हाउस र च्यारिटीमा दर्ता गरयौं’, कम्युनिटीका अध्यक्ष डा. हरिश ज्ञवालीले प्रष्टयाए ।

बेलायतमा नेपाली संस्कृति प्रवर्धनदेखि पुस्तान्तरण, नयाँ पुस्ताको सशक्तिकरण, समाजका सदस्यहरुको कल्याणमा केन्द्रित गतिविधि गरिरहेको छ कम्युनिटी ।

संस्थाको गतिविधि मुख्य गरि तीन प्रमुख विद्यामा विभक्त छन् । सांस्कृतिक, शैक्षिक तथा युवा सशक्तिकरण र सदस्यहरुका लागि सोसल वेलबिइङ एण्ड फिटनेशमा संस्थाले प्राथमिकता दिइरहेको अध्यक्ष डा. ज्ञवालीले जनाए ।

कम्युनिटीले सांस्कृतिक गतिविधिमा तीज, दशैं, तिहार (भैलो), वार्षिक भेटघाट, होली र जातीय संस्था नभएपनि तमुहरुको प्रमुख पर्व ल्होसार पनि मनाउने गरेको छ ।

बीएनसीको विगत ६ वर्षदेखि स्कुल अफ ल्याङ्वेज एण्ड कल्चर चालु छ । प्रत्येक शनिबार डेढ घण्टाको नेपाली कक्षा हुन्छ । भाषासंगै कला संस्कृति पनि सिकाउने संस्थाको उद्देश्य हो । नेपाली कक्षामा प्राइमरी र सेकेन्डरी लेभलका झण्डै ३० जनासम्म विद्यार्थी पढ्न आउंछन् । शनिबार बालबालिकाका लागि फुटबल पनि हुन्छ ।

संस्थाले वार्षिक रुपमा विश्वविद्यालय र कलेज पढ्ने विद्यार्थीका लागि बीएनसी युथ डे पनि गर्दै आएको छ । युथ डे करिअर, कम्युनिटीमा इन्टिग्रेसन, नेटवर्किङका लागि परिकल्पना गरिएको ज्ञवालीले बताए ।

संस्थाको सोसल वेलबिइङ र फिटनेश पनि लोकप्रिय बनिरहेको छ । अध्यक्ष ज्ञवालीका अनुसार संस्थाको सातामा ५ वटा इभेन्ट हुन्छ जसमा जुम्बा, फिटनेश, योगा, वाक र रनिङ छन् । आफूलाई मात्र नभएर संस्थाले वर्षको एकपटक डेन्सन पार्कमा गरिने पार्क रनमा नेपाली ब्रिटिश कम्युनिटीलाई लक्षित गरेर प्रायोजन समेत गर्ने गरेको छ ।

संस्थाले आफ्ना सदस्यहरुका लागि हरेक साता वेलबिइङ सेसन समेत गर्दै आएको छ ।

संस्थाले सोसल वेलबिइङ र फिटनेशका लागि अहिलेसम्म ४० हजार पाउण्ड स्पोन्सर पाइसकेको छ । संस्थालाई नेशनल लोट्री, टिएफएल, आस्डा फाउण्डेशन, टेस्को आदिले स्पोन्सर दिने गरेको ज्ञवालीले बताए ।

संस्थाले प्रभावकारी कार्य गरेवापत सन् २०२२ मा लन्डन बरो अफ बेक्सलीबाट सिभिक आउटस्याण्डिङ अचिभमेन्ट अवार्ड प्राप्त गर्न सफल भएको छ । यसले बरोबाटै सन् २०२३ मा हेल्दी कम्युनिटी अवार्ड र सक्सेसफुल कम्युनिटी अवार्ड पनि पाएको थियो ।

अरु भन्दा पृथक छ यो संस्था । यसमा प्रोजेक्ट बेस्ड लिडरसीप हुन्छ । नेतृत्वमा रहेका सबैले जिम्मेवारी पाउंछन् र त्यो दायित्व पूरा गर्नै पर्छ। कम्युनिटीमा कसैले नयां घर किन्यो भने घरैमा गएर सम्मान गर्ने गर्छ । मर्दा पर्दा घरैमा गएर सान्त्वना दिने पनि गरिन्छ । संस्थाले सीडकप, वेलिङ, बेक्सलीहिथ, बार्नर्स, बेलभिडियर, एरिथका एरिया कोअर्डिनेटर छुट्याएर आफ्नो काम थप प्रभावकारी र अनुकरणीय बनाएको छ ।

कसरी युनिक छ यो संस्था ? जवाफमा अध्यक्ष डा. ज्ञवालीले भने, कल्चर, एजुकेसन तथा इम्पावरमेन्ट र सोसल वेलबिइङ तीनै पक्षलाई सन्तुलन गरिरहेका छौं । संस्थाका सदस्यहरुको वेलबिइङ मूल प्राथमिकता छन् भने सात वटा प्रोजेक्ट हरेक साता रन भइरहेको छ ।

संस्थाको लिडरसिपमा सबैलाई मिलाएर लैजान र निर्णय गर्न सक्ने खालको क्षमता छ । यो संस्थामा राजनीतिक प्रभाव हुंदैन । वेवसाइटमा सबैकुरा पारदर्शी छ । संस्थामा अढाइ सय बढी घरधुरी दर्ता भएका छन् भने करिब डेढ सय घरधुरी संस्थामा दर्ता नभएपनि आवद्ध रहेको ज्ञवालीले जनाए ।

संस्थाले भविष्यमा कम्युनिटी सेन्टर लिने योजना बनाएको छ । ‘अहिले भइरहेका गतिविधिलाई निरन्तरता दिने, अरु संस्थासंग पनि हातेमालो र सहकार्य गर्दै जाने, डोनर अर्गनाइजेसन र स्थानीय संघसंस्थासंग पनि सहकार्य गर्ने हाम्रो भावी योजना छ’, ज्ञवाली भन्छन् ।

नयां पुस्तालाई पनि सहभागी गराएर भविष्यमा नेतृत्व उनीहरुमै हस्तान्तरण गर्ने सोच रहेको ज्ञवालीले बताए ।

नेतृत्वमा छन् बौद्धिक व्यक्तित्व डा. ज्ञवाली

बेक्सली नेपलिज कम्युनिटीमा सदस्यका रुपमा सन् २०१७ मा आवद्ध भए ज्ञवाली । ०१८ मा महासचिव, २०२१ मा वरिष्ठ उपाध्यक्ष र २०२३ बाट अध्यक्षको भूमिकामा छन् उनी ।

गुल्मीमा जन्मिएर कपिलवस्तुमा हुर्किए ज्ञवाली । नेपालमा व्यवसाय समेत गर्थे उनी । काठमाडौं गौशालामा केयर बोर्डिङ स्कुल थियो उनको । नेपालमा बीएस्सी गरेपछि सन् २००७ मा एमबीए अध्ययनका लागि बेलायत आएका हुन् डा. ज्ञवाली । उनले आफ्नो पढाइ सकेपछि सन् २००९ देखि कलेज पढाउन थाले । अहिलेसम्म झण्डै ७ वटा युनिभर्सिटीमा पढाएको अनुभव उनीसंग छ । हाल रेभन्सबर्न युनिभर्सिटीमा असोसिएट प्रोफेसर छन् उनी ।

सन् २०२० मा लिडरसीपमा विद्यावारिधि (पिएचडी) गरेका उनले बेलायतका ब्रेडफोर्डसायर, कोभेन्ट्री, गोल्डस्मिथ लगायत युनिभर्सिटीमा अध्यापन गराइसकेका छन् ।

हेरौं डा. ज्ञवालीसंग नेपालीलिंकको च्यारिटी भिडियो संवाद: 

तस्विरमा हेरौं संस्थाका गतिवधि:

संस्थाको नेतृत्व विगतदेखि वर्तमानसम्म

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register