लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डा स्वर्णिम वाग्लेले नेपाली जनताले प्रतिक्षा गरेको परिवर्तन र सुधारको नेतृत्व गर्न आफूहरु सक्षम रहेको दावी गरेका छन्। पार्टीको प्रवास सम्पर्क विभाग बेलायतको पहिलो अधिवेशनलाई सम्बोधन गर्न बेलायत आएका उनले लन्डनमा नेपालीलिंकसंगको संवादमा वि.सं. २०८४ को आम निर्वाचनको तयारीमा रास्वपा अब संगठन बिस्तार र पार्टी निर्माणमा केन्द्रित भइरहेको […]

Apr 28, 2025 - 07:19
 0
लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डा स्वर्णिम वाग्लेले नेपाली जनताले प्रतिक्षा गरेको परिवर्तन र सुधारको नेतृत्व गर्न आफूहरु सक्षम रहेको दावी गरेका छन्।

पार्टीको प्रवास सम्पर्क विभाग बेलायतको पहिलो अधिवेशनलाई सम्बोधन गर्न बेलायत आएका उनले लन्डनमा नेपालीलिंकसंगको संवादमा वि.सं. २०८४ को आम निर्वाचनको तयारीमा रास्वपा अब संगठन बिस्तार र पार्टी निर्माणमा केन्द्रित भइरहेको बताए।

‘८४ मा बहुमत नै ल्याउने गरी हामी पार्टीको अभियान अगाडि बढाउँदैछौं। कसैगरी बहुमत नै आएनछ भनेपनि कमसेकम सबैभन्दा ठूलो पार्टी बन्छौं भन्नेमा ढुक्क छौं’, उनले भने ।

स्थापनाको केही महिनामै ठूलो जनमतका साथ चौंथो पार्टी बनेको रास्वपासंग तर्सिएर ठूला दलहरु अत्तालिएको दावी डा वाग्लेको छ।

‘पार्टीका संस्थापक सभापतिलाई फसाउन सके यो पार्टी नै सकिन्छ भन्ने ठानेर ठूला दलहरुले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेका हुन्’, उनले भने, ‘तर यो उनीहरुको महाभ्रम हो। हामीप्रति आम जनताको सहानुभूति बढ्दै गएको छ र हामी रास्वपालाई झन् झन् व्यापक र बलियो बनाउँदै गइरहेका छौं ।’

सभापति लामिछाने आफूमाथि लगाइएका प्रतिशोधपूर्ण झुट्टा मुद्धाहरुविरुद्ध विधिसम्मत ढंगले कानूनी लडाई लड्दै जान दृढ रहेको वाग्लेले बताए।
‘धेरै जटिल अवस्थाहरुमा पनि विवेक नगुमाएको हाम्रो न्यायालयले उहाँलाई पक्कै न्याय दिन्छ भन्नेमा हामीलाई ठूलो विश्वास छ’, उनले भने।


संस्थापक सभापतिका रुपमा रास्वपामा रवि लामिछानेको हैसियत कहिल्यै विस्थापित नहुने तर उनको अनुपस्थितिमा पनि पार्टी हाँक्न सक्ने नेतृत्व तयार भइसकेको डा वाग्लेको भनाइ छ। रास्वपामा नेतृत्वको सवालमा अहिलेसम्म कुनै विवाद नआएको दावी गर्दै उनले थपे, ‘डीपीजीलाई कार्यवहाक सभापतिको प्रस्ताव गर्ने नै म हुँ।हामीबीच नेतृत्वबारे उच्च तहको समझदारी छ।हुँदै नभएको विवादको भ्रामक हल्ला विरोधीहरुले चलाएका हुन्।’

कांग्रेस, एमाले र माओवादीसहितका ठूला दलले देशमा दलीयकरण र अक्षम्य तहको भष्ट्राचार गरेको तथा उनीहरुकै कारण अब देशमा केही गर्न सकिन्न भन्ने निराशा फैलिएको आरोप डा वाग्लेले लगाए।

नेपाल अफगानिस्तानपछि एशियाकै गरीव राष्ट्र बनेको सन्दर्भ जोड्दै उनले अब आर्थिक एजेण्डामा केन्द्रित हुनुको विकल्प नरहेको बताए।
‘हामीसंग धेरै समय छैन। भूराजनीति पेचिलो बन्दैछ। जलवायु परिवर्तनजस्ता ग्लोबल समस्यादेखि आन्तरिक रुपमा बसाइसराइ, शहरीकरणजस्ता कयौं मुद्धा छन्’, उनी भन्छन्, ‘अबको ५-१० वर्षमै नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा पुर्याउन जुन खालको आर्थिक पुनर्संरचना, लगानीको माहोल, डायस्पोरासंगको सहकार्यजस्ता थुप्रै आधारहरु आवश्यक पर्छन्, त्यहि क्षेत्रमा काम गर्ने मेरो चाहना छ।’

गैरआवासीय नेपालीहरुको विषयमा पार्टीको प्रस्तावनामै उल्लेख गरेर स्पष्ट प्रतिवद्धता गर्ने रास्वपा नै एक मात्र पार्टी रहेको भन्दै डा वाग्लेले राजनीतिकबाहेकका अरु सबै अधिकारसहितको एनआरएनए नागरिकता संविधानमै व्यवस्था भइसकेका कारण तत्काल कार्यान्वयन हुनुपर्ने बताए।

डा वाग्लेले सोमबार रास्वपा प्रवास सम्पर्क विभाग यूकेको पहिलो अधिवेशनलाई सम्बोधन गर्दैछन्। त्यसअघि आइतबार उनले लन्डनमा बेलायतका हाइली स्किल्ड नेपालीहरुको संस्था ‘सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स’ संग अन्तरक्रिया गरेका छन्।
शुक्रबार लन्डन आइपुगेका वाग्ले मंगलबार नेपाल फर्किंदैछन्।

हेरौं डा वाग्लेसंगको नेपालीलिंकको भिडियो संवाद:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register