पलेँटीमा गुन्जिँदै कालीप्रसाद र आभास

काठमाडौँ, १४ चैत- हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक अग्रज पुस्ताका गीतकार कालीप्रसाद रिजाल र अनुज पुस्ताका सृजनाकर्मी आभासबीच सहकार्य हुने भएको छ । कालीप्रसाद रिजालका नयाँ गीतमा आभास आफ्नो धून र स्वरसहित मार्च २८ र २९ मा पलेँटीमा प्रस्तुत हुँदैछन् । लामो समयपछि आफू […]

Mar 27, 2025 - 13:18
 0
पलेँटीमा गुन्जिँदै कालीप्रसाद र आभास

काठमाडौँ, १४ चैत- हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक अग्रज पुस्ताका गीतकार कालीप्रसाद रिजाल र अनुज पुस्ताका सृजनाकर्मी आभासबीच सहकार्य हुने भएको छ । कालीप्रसाद रिजालका नयाँ गीतमा आभास आफ्नो धून र स्वरसहित मार्च २८ र २९ मा पलेँटीमा प्रस्तुत हुँदैछन् ।

लामो समयपछि आफू गीतकारका रुपमा विशेष श्रोताहरुबीच आउन लागेकामा आफू बच्चाझैँ रमाइरहेको रिजालले सुनाए । ‘नयाँ गीत लेखिरहेकै थिएँ तर चित्तबुझ्दो संगीतकार आभासजीलाई पाएपछि म सहकार्य गर्न उत्सुक भएको हुँ,’ गीतकार रिजाल भन्छन्, ‘पहिले पनि मेरो आत्मसंस्मरण काँडामा हाँसेको जिन्दगी लोकार्पणका बेला नेपालयसँग म जोडिएको थिएँ तर यसपटकको सहकार्य म आफैँलाई विशेष लागिरहेको छ ।’

वि.सं १९९६ मा धनकुटामा जन्मेका रिजाल कवि–लेखकहरुलाई भेट्ने लालसामा २०१३ सालमा कलेज पढ्न काठमाडौँ आए । ‘बालकृष्ण समसहितको निर्णायक मण्डलीबाट अन्तरकलेज प्रतियोगितामा मेरो कविता प्रथम भयो,’ रिजाल सम्झिन्छन्, ‘तर पछि मैले लेख्नै छोडेको थिएँ । एक दिन मेरो अफिसमा नारायणगोपाल आएर गीत लेख्नुहोस् भनेपछि मैले गीत लेख्न थालेँ ।’

यसरी गीतकार बनेका रिजालका केही मीठो बात गर, आँखा छोपी नरोऊ भनी, झरेको पातझैँ, झर्‍यो जिन्दगी, यसै गरी बिताइदिन्छु, माया गर्नेको चोखो माया जस्ता गीत नारायणगोपालको स्वर र संगीतमा सजिए । यी सदाबहार गीत पनि यसपालिको पलेँटीमा प्रस्तुत हुनेछन् । यसैगरी अम्बर गुरुङले संगीत गरेका दुई गीत कहीँ आफ्नै भुमरीमा र अर्को एक रमाइलो गीत पनि पलेँटीमा प्रस्तुत हुनेछ ।

२० वर्षदेखि पलेँटी संयोजन गर्दै आएका आभास यसपालि संगीतकार र गायकका रुपमा पलेँटीमा प्रस्तुत हुँदैछन् । रिजालका आठ नयाँ गीतमा उनले धून भरेका छन् । ‘गीति सृजनालाई कविताका रुपमा सम्मान गर्ने रिजाल जस्ता गीतकार जो अहिले पनि लेखिरहनुभएको छ तर संगीत भइरहेका छैनन् भने त्यो एकदम ननिको कुरा हो भन्ने मलाई लाग्यो,’ आभास भन्छन्, ‘अनि मैले उहाँका नयाँ गीतमा धून भर्ने प्रयास गरेँ ।’

नारायणगोपालको रोजाइका गीतकार रिजालसँग सहकार्य गर्न पाउँदा आफूलाई रमाइलो लागेको आभासले बताए । ‘काली दाइलाई संगीतको पनि ज्ञान छ, साहित्य त हुने नै भइहाल्यो,’ आभास भन्छन्, ‘साहित्य र संगीतबीच दूरी बढ्ने होइन, घट्ने हुनुपर्छ र सहकार्यबाट मात्र सार्थक संगीत सृजना हुन्छ ।’

पलेँटीकै क्रममा रिजालका नयाँ र पुराना गीत र कविताको संग्रह ‘केही मीठो बात गर’ पुस्तक पनि लोकार्पण हुनेछ । पुस्तकमा रिजालमा नयाँ र पुराना २० कविता संग्रहित छन् । यसैगरी उनका नयाँ र पुराना ६८ गीत पुस्तकमा समेटिएका छन् । ‘संगीतकर्मीहरुलाई पनि सजिलो हुने गरी रिजालका १० गीतको स्टाफ नोटेसन पनि पुस्तकमा प्रस्तुत गरेका छौँ,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘दिग्गज कवि तथा गीतकारको प्रतिनिधि रचनासहितको नयाँ पुस्तक छाप्न पाउनु नेपालयको गौरव हो ।’

रिजालका पुराना लोकप्रिय गीतहरु अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले गाउनेछन् । सम्पूर्ण पलेँटीमा सुनील सिंह, सुन्दरकुमार महर्जन, मिलन घिमिरे, कृपेश लोहनी, लक्ष्मीप्रसाद डंगोलले वाद्यवादनमा साथ दिनेछन् ।

दुई दिने पलेँटीको टिकेट www.paleti.com.np बाट लिन सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register