दुई दिनदेखि अवरुद्ध संसद् बैठक बस्दै, यस्तो छ दुवै सदनको सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज (शुक्रबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ तथा राष्ट्रियसभा दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा आज ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर […]

Mar 28, 2025 - 04:37
 0
दुई दिनदेखि अवरुद्ध संसद् बैठक बस्दै, यस्तो छ दुवै सदनको सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज (शुक्रबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ तथा राष्ट्रियसभा दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा आज ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।

यसअघि बुधबार र बिहीबार लगातार दुई दिन प्रतिनिधिसभाको बैठक कुनै बिजनेस नगरी स्थगित भएको थियो ।

बिहीबार तीन पटक स्थगित भएर प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।

बिहीबार ११ बजे डाकिएको बैठकमा दलहरुबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । २ बजे पनि बस्ने नसकेपछि अपराह्न ४ बजेका लागि बैठक बस्ने तय भएको थियो ।

४ बजेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर आज बिहानका लागि डाकिएको हो ।

नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले चार महिना मात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटको पेसी आजलाई नै तोकिएको छ ।

यसअघि संसद् सचिवालयले आजका लागि प्रतिनिधिसभाको कुनै सम्भावित कार्यसूची सार्वजनिक गरेको थिएन । ढिलोगरी कार्यसूची सार्वजनिक भएको छ ।

त्यसैगरी दिउँसो १ः१५ मिनेटमा बस्ने राष्ट्रियसभाको आजको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । मन्त्री अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उपप्रधानमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी राष्ट्रियसभाको बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तु गर्नुका साथै सोही विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यतालिका छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register