बेलायत आउने विदेशी विद्यार्थी घटे, नेपालबाट भने बढेको बढ्यै

लन्डन- अहिले बेलायतको शैक्षिक आकर्षण कम हुन थालेको तथ्यांकहरुले देखाएका छन् । सरकारले सन् २०२४ जनवरीदेखि ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने गरि ल्याएको अध्यागमन नियम परिवर्तनले पनि विद्यार्थी संख्या घटेको हो । गृह मन्त्रालय (होम अफिस) को तथ्यांक अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा अध्ययन भिसा ३१ प्रतिशतले घटेको छ ।  २०२४ को सुरुमा लागू […]

Apr 4, 2025 - 16:14
 0
बेलायत आउने विदेशी विद्यार्थी घटे, नेपालबाट भने बढेको बढ्यै

लन्डन- अहिले बेलायतको शैक्षिक आकर्षण कम हुन थालेको तथ्यांकहरुले देखाएका छन् । सरकारले सन् २०२४ जनवरीदेखि ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने गरि ल्याएको अध्यागमन नियम परिवर्तनले पनि विद्यार्थी संख्या घटेको हो ।

गृह मन्त्रालय (होम अफिस) को तथ्यांक अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा अध्ययन भिसा ३१ प्रतिशतले घटेको छ । 

२०२४ को सुरुमा लागू गरिएको प्रतिवन्धले रिसर्च कोर्ष बाहेक अरु पढ्ने विद्यार्थीलाई आफ्ना परिवार बेलायत ल्याउनबाट रोकेको छ ।

सन् २०२३ मा ६ लाख २४ विद्यार्थी भिसा स्वीकृत भएकामा सन् २०२४ मा यो संख्या ४ लाख १५ हजार १०३ मा झरेको छ । यससँगै अन्तर्राष्ट्रिय विद्यार्थीको फिमा निर्भर धेरै विश्वविद्यालय संकट उन्मुख भइरहेका जनाइएको छ ।

१४१ शैक्षिक संस्थाहरूको प्रतिनिधित्व गर्ने युनिभर्सिटीज यूकेले खुद आप्रवासन (नेट माइग्रेसन) घटाउने सरकारको नीतिले बेलायतमा अध्ययनपछिको काम (पोष्ट स्टडी वर्क) मा अनिश्चितता सिर्जना गर्दा विद्यार्थी संख्या घटेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

सरकारले एकातिर अन्तर्राष्ट्रिय विद्यार्थीलाई यूके सधैं स्वागतयोग्य हुने बताएपनि हालका वर्षहरुमा देखिएको नेट माइग्रेसन वृद्धि उल्लेखनीय रुपमा घटाउन प्रतिवद्ध देखिन्छ । 

बेलायतको लिंकन विश्वविद्यालयले देशभरका अन्य विश्वविद्यालय जस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि भिसा प्रतिबन्ध लगाउने निर्णयमा पुनर्विचार गर्न सरकारसमक्ष आह्वान गरिरहेको छ।

उक्त विश्वविद्यालयले नियम परिवर्तन भएदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरु आउन ५१ प्रतिशत गिरावट आएको बताएको छ ।

नेपालबाट आउने विद्यार्थी संख्या भने झन् बढ्यो


तर एउटा आश्चर्य, संसारभरबाट बेलायत आउने विद्यार्थीको संख्यामा भारी गिरावट भइरहंदा नेपालबाट आउने विद्यार्थी संख्या भने झन् बढेको तथ्यांकले देखाएको छ । 

सन् २०२४ मा नेपालबाट कुल १३ हजार ६ सय ९४ जनाले आवेदन गरेकोमा त्यसको ९६ प्रतिशत अर्थात् १२ हजार ६ सय ६५ ले भिजा प्राप्त गरेका छन्।

त्यसको एक वर्षअघि सन् २०२३ मा नेपालबाट ११ हजार ३ सय ६३ जनाले आवेदन गरेकोमा करिब ११ हजारले भिसा पाएका थिए ।

अधिकांश कोर्समा बेलायत आउने विद्यार्थीले डिपेन्डेन्ट ल्याउन नपाउने भएपछि नेपालबाट आवेदन गर्ने डिपेन्डेन्टहरुको संख्या उल्लेख्य रुपमा घटेको छ । सन् २०२३ मा नेपालबाट ३ हजार १ सय २० जना विद्यार्थी डिपेन्डेन्टले आवेदन गरेकोमा सन् २०२४ मा त्यो संख्या घटेर जम्मा ४ सय ३६ मा झरेको थियो ।

शैक्षिक परामर्शदाता कम्पनी युनिगाइडका निर्देशक गणेश दाहालले नेपालबाट बेलायत आउने विद्यार्थीको संख्या बढ्नुमा विविध कारण जिम्मेवार रहेको बताउँछन् ।

डिपेन्डेन्ट ल्याउन नपाइने भएपछि दम्पत्ति दुवैले विद्यार्थी रुटमै आवेदन गर्नु, पहिलो रोजाइका अन्य शैक्षिक गन्तव्य मुलुकको तुलनामा बेलायतको भिसा स्वीकृतिको दर उच्च हुनु र आम युवामाझ नेपालमा बसेर केही हुंदैन भन्ने भावना बढ्दै जानु जस्ता कारणले बेलायत आउने नेपाली विद्यार्थीहरुको संख्या बढेको दाहालको अनुभव छ ।

उता, बेलायतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीमाथि विभिन्न व्यक्तिमार्फत् ठगी भइरहेको छ । 

७ मार्च, २०२५ मा लन्डनस्थित नेपाली दूतावासले एक प्रेस विज्ञप्ति निकाल्दै बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्भावित ठगीको शिकार हुनबाट जोगिन सचेत रहन आव्हान समेत गरेको थियो ।

दूतावासले चासो राखे जस्तै विद्यार्थीहरु ठगिने, जागिर, कोठा नपाएर दुःख पाइरहेको दयनीय अवस्था छ अहिले । 

बेलायत अध्ययन गर्न चाहने विद्यार्थीलाई आफू इच्छुक विश्वविद्यालय र कलेजहरू मान्यता प्राप्त छन् छैनन् सुनिश्चित गर्न र शुल्क संरचना, भर्ना प्रक्रिया एवं अन्य सम्बन्धित विषयहरूबारे पर्याप्त जानकारी लिन आवश्यक देखिन्छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register