१९ दिनपछि भेटियो दलदलमा बेपत्ता बोलेरो

हेटौंडा उपमहानगरपालिका वडा–१६, गैरीगाउँमा बैशाख १९ गते शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीको च्यासिस मंगलबार १९ दिनपछि फेला पारिएको छ । भूगर्भविद्को सल्लाहअनुसार खोजी गर्ने क्रममा मंगलबार गाडीको पार्टपुर्जा भेटिएको हो । गाडी खोजी गर्ने क्रममा बैशाख २३ गते भुगर्भविद्को टोलीले अनुसन्धानसहित माटो परीक्षणका लागि लिएर फर्किएको थियो । सतर्कता अपनाइ उत्खनन् गरी सवारी खोजतलास […]

May 20, 2025 - 16:28
 0
१९ दिनपछि भेटियो दलदलमा बेपत्ता बोलेरो
हेटौंडा । 

हेटौंडा उपमहानगरपालिका वडा–१६, गैरीगाउँमा बैशाख १९ गते शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीको च्यासिस मंगलबार १९ दिनपछि फेला पारिएको छ ।

भूगर्भविद्को सल्लाहअनुसार खोजी गर्ने क्रममा मंगलबार गाडीको पार्टपुर्जा भेटिएको हो । गाडी खोजी गर्ने क्रममा बैशाख २३ गते भुगर्भविद्को टोलीले अनुसन्धानसहित माटो परीक्षणका लागि लिएर फर्किएको थियो । सतर्कता अपनाइ उत्खनन् गरी सवारी खोजतलास गर्न सकिने स्थानीय जनप्रतिनिधिलाई सल्लाह दिइएकोमा मंगलबार दिउँसो करिब सवा १२ बजे क्रेन र स्काभेटरको प्रयोगले गाडीका केही पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसबारे अध्ययन गर्न काठमाडौंबाट आएको भूगर्भविद्को टोली गाडीको अवस्थिति पत्ता नलगाई फर्किए पनि स्थानीयको प्रयासमा उत्खनन् गरी च्यासिस निकालिएको हो । गाडी हराएको छैटौं दिनसम्म पनि फेला नपरेपछि अध्ययन गर्न पुगेको भूगर्भविद् टोली सुरक्षाका कारण देखाउँदै नतिजाबिहीन फर्किएको थियो । भूगर्भशास्त्र केन्द्रीय विभाग काठमाडौंबाट खटिएका ५ सदस्यीय भूगर्भविद्को टोलीले अध्ययन गरेर गाडी खाल्टोमा दबिएको निष्कर्ष निकालेको थियो ।

गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना.४ च ४८३३ नम्बर माछा बोक्ने सिंगल क्याप बोलेरो दिउँसो करिब १ बजे जमिनमा भासिएर बेपत्ता भएको थियो । गुड्दागुड्दैको बोलेरोका चालक हरेराम राई र सहचालक मुक्तिनाथ सहनी भने भासिनुअघि नै निस्किएकाले दुर्घटनामा पर्नबाट जोगिनुभएको थियो ।

भूगर्भविद् नारायण अधिकारीसहित टोली आफूहरु नै असुरक्षित भएको भन्दै फर्किएको थियो । भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति भएको वस्तु प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै प्रारम्भिक अध्ययन भएको र गाडी कति तल र कहाँ छ भन्ने यकिन भइनसकेको बताएका थिए । ‘अध्ययन भएको छ । यसका आधारमा के नतिजा देखिन्छ, थाहा छैन । यसको वैज्ञानिक उत्तरका लागि थप अध्ययन आवश्यक छ,’ उनले अध्ययन रोकिने बताउँदै आफ्नो सुरक्षाका लागि पनि अध्ययन रोकिने बताएका थिए । उनले भएका अध्ययन विश्लेषण गरेर अगाडि बढ्ने भन्दै उक्त क्षेत्रमा पानीका मूल तीन स्थानबाट आएको पाइएको बताएका थिए ।

टोलीले चुम्बकीय वस्तु पत्ता लगाउन म्याग्नेटोमिटर प्रयोग अध्ययन गरेको थियो । भूगर्भविद् अधिकारीका अनुसार जमिनमुनि ठूलो र बलियो चुम्बकीय वस्तु रहेको अनुमान गरे पनि कति गहिराइमा छ भन्ने पत्ता लागेन । गाडी भासिएको स्थानमा माछापालनका लागि खनिएको बोरिङ र पानीको मूलको प्रभावले जमिन कमजोर बनेको अनुमान छ । गाडी भासिएको स्थलमा दह बनेको थियो तर खोजी कार्यलाई जारी राखिएको थियो ।

स्थानीयले उक्त क्षेत्र विगतदेखि दलदल रहेको र यसअघि पनि गोरु भासिएको घटना भएको बताएका छन् । वडा नम्बर–१६ का अध्यक्ष रामकृष्ण कोइरालाले १० वर्षअघि त्यही क्षेत्रनजिक गोरु दलदलमा भासिएको देखेको अनुभव सुनाएका छन् । हेटौंडा बजारबाट पूर्वस्थित वडा नम्बर–१६ र १७ को सिमानामा १६ नम्बर वडामा उक्त स्थान पर्दछ ।

चालक राईका अनुसार पुरिएको स्थानमा गाडी पुग्दा भुकम्प आएजस्तो अनुभव भयो । एक्कासि करिब ५ सेकेण्डबीच गाडी पुरिएको थियो । गाडीको ढोका पूरा लक नभएका कारण तत्काल खोलेर भाग्न सकिएको उनको अनुभव छ । बम विष्फोट हुँदाको अवस्थाजस्तै गाडी एकैचोटि भित्र पसेको उनले बताए । जमिनमुनिको पानीको अधिक दोहनका कारण उक्त घटना भएको स्थानीयको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register