केआई सिंहले भैरव रिसाललाई जासुस भनेपछि…

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार राति ९७ वर्षको उमेरमा निधन भयो । वयोवृद्ध उमेरमा पनि सक्रिय रहेका रिसालले विसं २०१३ देखि २०१७ सम्म हालखबर पत्रिकामा काम गरे भने विसं २०२० देखि २०४२ सम्म राष्ट्रिय समाचार समिति (रासस)मा काम गरे । राससमा काम गर्दाका अनुभव समेटेर रिसाल र घननाथ ओझाले ‘त्यति बेलाको पत्रकारिता’ शिर्षकमा […]

Apr 7, 2025 - 08:40
 0
केआई सिंहले भैरव रिसाललाई जासुस भनेपछि…

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार राति ९७ वर्षको उमेरमा निधन भयो । वयोवृद्ध उमेरमा पनि सक्रिय रहेका रिसालले विसं २०१३ देखि २०१७ सम्म हालखबर पत्रिकामा काम गरे भने विसं २०२० देखि २०४२ सम्म राष्ट्रिय समाचार समिति (रासस)मा काम गरे ।

राससमा काम गर्दाका अनुभव समेटेर रिसाल र घननाथ ओझाले ‘त्यति बेलाको पत्रकारिता’ शिर्षकमा किताब लेखेका छन् । यो किताबमा उनले डा. के आई सिंहसँग अन्तवार्ता लिन जाँदाको रोचक अनुभव लेखेका छन् । विद्रोही स्वभावका सिंहले २००८ सालमा सिंहदरबार कब्जाको प्रयास गरेका थिए । सिंहदरबार कब्जाको असफल प्रयासपछि उनी चीन गएर बसे । तत्कालीन राजा महेन्द्रले चीनबाट फिर्ता बोलाएर सिंहलाई प्रधानमन्त्री बनाए ।

प्रधानमन्त्री भइसके पनि सिंहको स्वभाव भने खरो थियो ।

२०२१ मा सिंहलाई राजसभा स्थायी समिति (आजको राष्ट्रियसभा जस्तो)को सभापति नियुक्त गरियो । तर, उनी शपथ ग्रहण गर्न गएनन् । राजाले दिएको पद नै अस्वीकार गरेपछि राससले रिसाल र ओझालाई सिंहको अन्तर्वार्ता लिन खटायो । सिंहको अन्तवार्ता लिन भनेर रिसाल र ओझा पुगे, पुतलीसडक ।

त्यतिखेर डा. सिंह पुतलीसडकमा डेरा गरेर बस्थे । पत्रकारद्वय रिसाल र ओझालाई देख्ने बित्तिकै सिंहले सोधे, “तपाईंहरू त सरकारी मान्छे के जासुसी गर्न आउनुभयो ?”

यसपछि रिसाल र ओझाले जासुसी नभई अन्तर्वार्ता लिन आएको भने । सिंहको स्वभाव कस्तो थियो भने उनी हरदम आक्रोशित भइरहन्थे । आफूलाई अध्यक्ष बनाइएको राजसभाबारे उनले रिसालसँग भनेका थिए, “यो राजसभा भनेको मिर्जापुरी लोटा जस्तो हो । यसको फेदमा जग छैन, जता होचो उतै ढल्कन्छ, यो त राजाले आफूलाई शासन गर्न सजिलोको लागि बनाएको अङ्ग मात्र हो, यो केही होइन, यो हावा हो ।”

राजसभाकै बारेमा सिंहले आलोचना गरेपछि रिसाल र ओझाले पञ्चायती व्यवस्थाका बारेमा पनि प्रश्न गरे । सिंह पनि के कम उनले भने, “यो कुनै प्रणाली होइन, यो त राजाले Design गरेको शासन सञ्चालन गर्न सजिलो पार्ने उपाय मात्र हो । मैले आँटे भने एकै तोपले उडाइ दिनसक्छु ।”

यसो भनिरहँदा सिंहले आफ्नो टेबलमा राखिएको सानो तोपतिर देखाए । ‘पञ्चायत उडाउँछु’ भनेर सिंहले देखाएको तोप पाकिस्तानका राष्ट्रपति अयुब खाँले उपहार दिएका थिए । रिसाल लेख्छन्, “उनको कोठामा एउटा टेबुल थियो, त्यसमा एउटा पित्तलको तोप थियो । पाकिस्तानका राष्ट्रपति अयुब खाँ नेपाल आउँदा उनलाई त्यो तोप उपहार दिएको रहेछ । त्यो तोपलाई देखाउँदै डा. सिंहले भने मैले चाहेँ भने पञ्चायती व्यवस्थालाई त्यो तोपको एकै गोलाले खत्तम गर्न सक्छु ।”

रेकर्ड अन्तर्वार्तामै पूर्वप्रधानमन्त्रीले पञ्चायती व्यवस्थाकै आलोचना गर्नु रिसाल र ओझाका लागि चानचुन विषय थिएन । नेताहरुले आफ्नो बोली फेरिरहनु कुनै नौलो कुरा होइन ।

नेताहरुको यस्तो बानी थाहा पाएका रिसाल र ओझाले सिंहलाई उनले बोलेका कुराहरू जस्ताको तस्तै लेखेर सही गरिदिन आग्रह गरे । सिंहले सही पनि गरिदिए, डराउने त सिंहको स्वभावै थिएन ।

तर, पछि राससको समाचार भने उनले पञ्चायत, राजसभाविरुद्ध बोलेका कुरा छापिएनन् । “पछि समाचार प्रवाह हुँदा सभापति पदमा जान इच्छा नगरेको भन्नेसम्म गयो, अरू कुरा प्रवाह हुन सकेन,” रिसाल र ओझाले आफ्नो किताबमा लेखेका छन् ।

मित्रताबीच आक्रोश

यद्यपि, रिसाल र सिंहबीच गहिरो दोस्ती थियो । सिंह चीनबाट फर्केदेखि नै रिसाल उनको विषयको रिर्पोटिङ गर्थे । २०१५ सालको चुनावको विषयमा सिंहले सर्वोच्च अदालतमा मुद्दा हाले । उनले मुद्दा हालेको विषयको विस्तृत रिर्पोटिङ गर्ने पनि रिसाल नै थिए । यही कारणले सिंह रिसालसँग प्रभावित थिए ।

सन् १९७१ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर पाकिस्तानबाट चीन पुगे । तर, यो खबर नेपालका धेरै उच्च पदस्थलाई थाहा थिएन । रिसालले यो खबर सुनाए सिंहलाई र सिंहले ‘साँच्चै तपाईं मेरा परममित्र हुनुहुन्छ,’ भन्दै प्रशंसा गरे ।

यो मित्रताबीच पनि सिंहले एकपटक रिसाललाई झपारेका छन् । २०१४ साल कार्तिक २८ मा सिंहले प्रधानमन्त्री पदबाट राजनीमा दिए । तर, पछिल्लो दिन राजदरबारले विज्ञप्ति जारी गरेर सिंह नेतृत्वका सरकार विघटन भयो भनेर भन्यो ।

पत्रपत्रिकाले पनि सिंह नेतृत्वको सकार विघटन भयो भनेर समाचार छापे । यतिखेर रिसाल हालखबर नामको पत्रिकामा काम गर्थे, उनले पनि सिंह नेतृत्वको मन्त्रीमण्डल विघटन भनेर समाचार छापे । तर, विघटन भनेकोमा सिंह भने रिसाएका थिए । सरकार विघटन भएको पछिल्लो दिन सिंहसँग रिसालको भेट भयो । भेट्ने बित्तिकै सिंह गर्जिए, “यही हो पत्रकारिता ? राजीनामा स्वीकृत भएको भन्नु पर्नेमा किन विघटन ?”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register