एमालेमा विद्या भण्डारी : ओली प्रवृत्तिको विकल्प कि उत्तराधिकारी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २९ गते बुटवलको पार्टी सभामा भने–‘केपी ओली बिनाको एमाले चाहिएको भए १०–१५ वर्ष पर्खिनुस् न त, केपी ओली सधैँ बाँच्दैन क्यारे ! अहिले एमाले बिनाको देश, ओली बिनाको एमाले भनिँदै छ, त्यो नातिको पालामा पनि सम्भव छैन ।’ ओलीको यो अभिव्यक्ति एमालेभित्र बढ्दो ध्रुवीकरण र पार्टी अन्तर सङ्घर्षलक्षित थियो । […]

Apr 15, 2025 - 09:10
 0
एमालेमा विद्या भण्डारी : ओली प्रवृत्तिको विकल्प कि उत्तराधिकारी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २९ गते बुटवलको पार्टी सभामा भने–‘केपी ओली बिनाको एमाले चाहिएको भए १०–१५ वर्ष पर्खिनुस् न त, केपी ओली सधैँ बाँच्दैन क्यारे ! अहिले एमाले बिनाको देश, ओली बिनाको एमाले भनिँदै छ, त्यो नातिको पालामा पनि सम्भव छैन ।’

ओलीको यो अभिव्यक्ति एमालेभित्र बढ्दो ध्रुवीकरण र पार्टी अन्तर सङ्घर्षलक्षित थियो । लगत्तै केही सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओलीका भनाइको ‘काउन्टर’ गरिन् । उनले भनिन्–‘मेरो ‘मदर पार्टी’ एमाले हो । महाधिवेशनमा पार्टीको नेतृत्व निर्माण गर्न प्रक्रिया हुन्छ । अहिलेको नेतृत्वको उमेर र स्वास्थ्य अवस्था देखेर उहाँका अनुयायी पनि चिन्तित छन् । एमाले नेतृत्वमा मेरो नाम पनि विभिन्न ढङ्गले बाहिर आइरहेको छ । समयमै महाधिवेशन हुनु राम्रो हुन्छ । कार्यकर्तामा मेरो माग छ । पार्टी र देशलाई आवश्यकता पर्दा बलिदान त दिनुपर्छ भने श्रमदान दिन नसक्ने कुरै हुँदैन ।’

दुई पटकको राष्ट्रपतीय कार्यकाल पूरा गरे लगत्तै भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गराएकी थिइन् । यो समाचार बाहिरिएसँगै पूर्वराष्ट्रपति सक्रिय दलीय राजनीतिमा फर्किनु उचित हो कि होइन भन्ने बहस चलेको थियो । प्रथम राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा कार्यकालको समाप्तिपछि सक्रिय दलीय राजनीतिमा फर्किएनन् ।

तर, दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन भने दुवै सक्रिय दलीय राजनीतिमा फर्किएका छन् । पुन मातृ पार्टी माओवादी केन्द्रको उपाध्यक्ष भइसकेका छन् भने भण्डारी आगामी महाधिवेशनमा पार्टी अध्यक्षको प्रत्याशी बन्ने तयारीमा लागेकी छन् ।

यसबारे गरिएको प्रश्नमा उनले भनेकी छन्–‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु हुँदैन भन्ने मैले सुनेको छैन, त्यसको कुरै नगरौँ ।’

एमालेको ११ औँ महाधिवेशन २०८३ मङ्सिरभित्र हुनु पर्नेछ । १० औँ महाधिवेशन २०७८ को मङ्सिरमा चितवनको सौराहामा भएको थियो । नियमित समयमै महाधिवेशन भए पार्टी अध्यक्ष परिवर्तन हुँदा आम निर्वाचन–२०८४ को राजनीतिक नेतृत्व र भावी प्रधानमन्त्रीको सम्भावना पनि परिवर्तन हुनेछ ।

भण्डारीले पार्टी नेतृत्व परिवर्तन सहज बनाउन वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै सल्लाह गर्नुपर्ने, त्यसो नभए समय र सन्दर्भ अनुसार प्रतिस्पर्धा हुने सङ्केत गरेकी छन् । यसबारे उनले भनेकी छन्– ‘नेकपा एमालेले जबजलाई क्रान्तिको कार्यक्रम मात्र होइन,मार्गदर्शक सिद्धान्त मानेर हिँडेको छ । मेरो मदन भण्डारीसँग पारिवारिक नाता र यसको विरासत पनि छ । तसर्थ, म ‘रेडी’ छु । समय र सन्दर्भले माग र आवश्यकता भयो भने त्यो जिम्मेवारी बन्छ । मैले सोच्नै पर्छ ।’

तर, अहिलेदेखि नै तयारी नगरे महाधिवेशनको छोटो अवधिमा मात्रै परिणाम ननिस्किने भएकाले यस्तो गृहकार्य प्रारम्भ गरिएको हो । दुई वर्ष अवधिलाई योजनाबद्ध उपयोग गर्ने र पार्टी महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन गर्न हर सम्भव सबै उपाय अवलम्बन गर्ने बताइएको छ ।

भण्डारीले आफ्ना पक्षधर कार्यकर्तालाई असुरक्षा सृजना नगर्न समेत सुझाएकी छन् । उनको भनाइ छ– ‘एमाले पङ्क्तिबाट मलाई नेतृत्वमा आउनु पर्छ भनेर इच्छा व्यक्त गर्नेलाई खतरा किन ? त्यस्तालाई त झन् थप जिम्मेवारी पो दिइनु पर्छ ।

भण्डारीले आफ्ना पक्षधर कार्यकर्तालाई असुरक्षा सृजना नगर्न समेत सुझाएकी छन् । उनको भनाइ छ– ‘एमाले पङ्क्तिबाट मलाई नेतृत्वमा आउनु पर्छ भनेर इच्छा व्यक्त गर्नेलाई खतरा किन ? त्यस्तालाई त झन् थप जिम्मेवारी पो दिइनु पर्छ ।

गत माघ १४ गते विराटनगरबाट भण्डारीले भनेकी थिइन् – ‘म खोपीको देउता भएर अँध्यारो कोठामा बस्दिन । मेरो अभियानले काठमाडौंमा भुईँचालो गएको छ ।’ त्यसपछिका दिनमा उनी पार्टी कार्यकर्तासँगको भेटघाटमा देशैभरि सक्रिय भएकी थिइन् ।

पदको मर्यादा, निष्पक्षता, तटस्थता, भावी प्रचलन र परम्परा स्थापनाका लागि पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई सक्रिय दलीय राजनीतिमा नफर्किनु उचित हुने जनमत बलियो थियो । तर, संविधान र कानुनले परिकल्पना नगरेको हुँदा यो नैतिक प्रश्न मात्र हो । नैतिक प्रश्नको निरूपण अन्ततः व्यक्तिको निर्णय र नैतिक स्तरमा भर पर्ने हो । भण्डारी सक्रिय राजनीतिमा फर्किने निश्चित भइसकेको छ ।

ओलीको तेहेरिने चाहनामाथि चुनौती

एमाले विधानमा सक्रिय पदका लागि ७० बर्षे उमेर हद र ‘दुई कार्यकाल’ अध्यक्षको प्रावधान थियो । यी दुवै प्रावधानले ओलीको तेस्रोपटक अध्यक्ष हुने चाहनामा अवरोध सृजना गर्थे । तीमध्ये ७० वर्षे उमेर हद हटिसकेको छ । विधान अधिवेशनबाट दुई कार्यकाल अध्यक्षको प्रावधान समेत हटाएर ओली अध्यक्षमा तेहरिन चाहन्छन् । बुटवल सभामा दिएको पछिल्लो अभिव्यक्तिले पनि त्यही प्रस्ट गर्दछ ।

विधान संशोधन गरेर भए पनि अध्यक्षमा तेहेरिने चाहनाको प्रतिरक्षा गर्दै ओली पक्षधरले ‘दुर्लभ नेतृत्व क्षमता भएको व्यक्तित्व’ लाई ‘सामान्य नियम’ लागू नहुने भाष्य निर्माण गर्दै छन् । चीनमा सी जिन फिङ संविधान नै संशोधन गरेर तेस्रोपटक पार्टी महासचिव तथा राष्ट्रपति भएको, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाजपामा प्रचलित ‘७५ बर्षे उमेर हद’ ले नछेकेको तर्क गरिँदै छ ।

ओलीको तेहेरिने इच्छासामु भण्डारीको अभियानले खासै ठूलो अर्थ नराख्ने एमाले वृत्तको बुझाइ थियो । तर, केही महिनायता यो बुझाइ खण्डित हुँदैछ । विशेषतः मोरङ जिल्ला अधिवेशनमा ओली पक्षधर प्यानलको करारी हारपछि पार्टीको आन्तरिक शक्ति संरचना फेरबदल हुन थालेको अनुमान गरिँदै छ ।

पार्टीभित्रै आलोचित हुँदै ओली

माधव नेपाल–झलनाथ खनाल नेतृत्वको पार्टी विभाजन, घनश्याम भुसालको बहिर्गमन, भीम रावलमाथिको पार्टी कारबाही र विद्रोह तथा बृन्दा पाण्डे–उषाकिरण तिम्सिनामाथिको कारबाहीसम्म पनि एमालेभित्र कार्यकर्ता ओली विरुद्ध बोल्न भयभीत हुन्थे । ओलीविरुद्ध बोले कारबाहीमा परिने र राजनीतिक भविष्य समाप्त हुने डरले तिनलाई पिरोल्ने गरेको थियो ।

तर, विद्या भण्डारीको आन्तरिक अभियान र मोरङमा इतर समूहको शानदार विजयपछि स्थिति बदलिएको छ । ओलीबाट कारबाही र राजनीतिक जोखिमको अनुभूति गरिरहेका कार्यकर्तालाई भेटेर विद्या भण्डारीले ढाडस दिने गरेकी छन् । यसरी ओली खेमा भित्रैबाट नयाँ गुटको जन्म सुदृढ भएको छ । मोरङमा संस्थापना इतर पक्षको नेतृत्व गर्ने विनोद ढकाल पहिलो ओली खेमाकै नेता थिए ।

एमालेका एक केन्द्रीय सदस्य भन्छन्–‘ ओलीप्रतिको असन्तुष्टि भित्रभित्रै व्यापक हुँदै गएको थियो । तर, त्यसको संरक्षण गर्ने कोही नभएको हुँदा केन्द्रिकरण हुन पाएको थिएन । विद्या भण्डारीले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने प्रस्ट गरेसँगै पार्टीभित्रको शक्ति संरचना दिनप्रतिदिन बदलिन थालेको छ ।’

बाजुराका कर्णबहादुर थापा पनि मोरङका ढकालजस्तै ओली निकट मानिन्थे । तर, अहिले उनले ओली प्रवृत्तिविरुद्ध आलोचना बढाएका छन् । ओली प्रवृत्तिकै कारण दुर्गा प्रसाईं, जगमान गुरुङ, कलम थापा, राजेन्द्र लिङ्देनजस्ता पात्र देशको राजनीतिमा हाबी भएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति चुनौती थपेको थापाले सार्वजनिक रूपमै बोल्न थालेका छन् । गोकुल बाँस्कोटाजस्ता अत्यन्त निकट केही पात्र समेत अहिले ओलीबाट टाढिँदै गएका छन् ।

पार्टीबाट माधव–झलनाथ समूहको बहिर्गमन र विभाजनपछि एमालेमा ओली गुट एकीकृत र मजबुतजस्तो देखिएको थियो । तर, अहिले त्यसभित्रै थुप्रै उपगुट जन्मिसकेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोख्रेलका गुट स्वार्थ टकराउन थालेका छन् । गुट स्वार्थ व्यवस्थापन गर्न ओलीलाई हम्मेहम्मे पर्न थालेको छ ।

पार्टीबाट माधव–झलनाथ समूहको बहिर्गमन र विभाजनपछि एमालेमा ओली गुट एकीकृत र मजबुतजस्तो देखिएको थियो । तर, अहिले त्यसभित्रै थुप्रै उपगुट जन्मिसकेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोख्रेलका गुट स्वार्थ टकराउन थालेका छन् । गुट स्वार्थ व्यवस्थापन गर्न ओलीलाई हम्मेहम्मे पर्न थालेको छ ।

विशेषतः महासचिव पोख्रेलप्रति अविश्वास र गुनासो बढ्दै गएको बताइन्छ । पोख्रेल ओलीलाई अध्यक्षमा तेहेर्याएर अन्य नेताको अध्यक्ष हुने सम्भावनालाई अन्त्य गर्न र अर्को एक महाधिवेशनपछि कठोर प्रतिस्पर्धाविहीन सहज अध्यक्ष हुन चाहन्छन् ।

तर, ओलीनिकट भनिएका कर्णबहादुर थापा, दयालबहादुर शाहीलगायतले महासचिव पोख्रेलका कतिपय दृष्टिकोण र कार्यशैलीको आलोचना गरिरहेका छन् ।

‘१० भाइ समूह’ को समर्थन पनि भण्डारीलाई

माधव – झलनाथ नेतृत्वको पार्टी विभाजनको समयमा ओलीको पक्षमा खुलेका नेपाल– खनाल पक्षका नेतालाई ‘१० भाइ समूह’ भन्ने गरिन्छ । यसमध्ये घनश्याम भुसाल र भीम रावल एमालेबाट बाहिर भइसकेका छन्, तर अन्य भने एमालेमै छन् ।

यीमध्ये कतिपय सीमित भूमिकामा खुम्चिएका छन् । जस्तो कि अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्टलगायतले गतिलो भूमिका पाएका छैनन् । योगेश भट्टराई र रघुजी पन्तजस्ता केही ओलीको प्रशंसा गरिरहे पनि महाधिवेशनको नजिक पुगेर कोल्टे फेर्न सक्ने सम्भावना छ । यो समूहको एकमुष्ट समर्थन पाएमा विद्या भण्डारीको गुट झन् छिटो बलियो हुनसक्ने छ ।

१० भाइ समूहका एक नेताका भनाइमा– ‘यो समूहभित्र हृदयबाट ओलीसँग सन्तुष्ट र खुसी कहिल्यै थिएन र हुन पनि सक्दैन । पार्टी विभाजनको बेला ओली पक्षमै बस्नु एक प्रकारको राजनीतिक बाध्यता थियो । फुटेर बलियो पार्टी बनाउन सम्भव नदेखिएको हुँदा एमालेमै बस्नु परेको हो । अहिले यो समूह एमालेभित्र भिन्नै गुट सञ्चालन गर्ने र जित्ने स्थितिमा छैन । तर, विद्या भण्डारीले नयाँ गुट बनाएमा ओलीसँग बदला लिने राम्रो अवसर सृजना हुन्छ ।’

‘एन्टि–इन्कम्बेन्सी’ को भय

२०८४ को आम निर्वाचन केपी शर्मा ओलीकै नेतृत्वमा जानुपर्ने अवस्था भयो भने एमाले ‘एन्टि–इन्कम्बेन्सी’ को सिकार हुनसक्ने भय पार्टी पङ्क्तिभित्र बढ्दो छ । हिजो ‘केपी बा आइ लभ यु’ को नारा लगाउने  समूह देखिन्थ्यो, आज स्थिति त्यस्तो छैन ।

मङ्सिरको स्थानीय तह उपनिर्वाचन र भरखरै सम्पन्न स्ववियू निर्वाचनको नतिजाले ओलीको नेतृत्वमा मतदाता ध्रुवीकृत हुने सम्भावना क्षीण देखाउँछ । गत केन्द्रीय समिति बैठकमा यही प्रवृत्तिलाई औँल्याउँदै केही केन्द्रीय सदस्यले ‘यही ताल हो भने मिसन–२०८४’ कतै २०६४ जस्तो हुने त होइन’ भन्दै ओलीको नेतृत्वप्रति आशङ्का व्यक्त गरेका थिए ।

देशको राजनीतिक स्थिति झनझन छिरलिएको, ओली नेतृत्वको गठबन्धन सरकारप्रति जनअसन्तुष्टि बढ्दै गएको, युवा मतदाता ओलीप्रति हिजोजस्तो आकर्षित नरहेको हुँदा ओली पार्टीभित्र अब २०७० को दशकमा जस्तो लोकप्रिय रहेनन् । ओलीको व्यक्तित्व र लोकप्रियता ह्रासोन्मुख रहेको अवस्थामा पार्टी विधान विपरीत उनैलाई तेहेर्याएर चुनावमा जाँदा एमाले अपेक्षित परिणाम प्राप्त नगर्न सक्छ ।

अर्कोतिर प्रतिस्पर्धी दल नेपाली कांग्रेसबाट नयाँ नेतृत्व आउने सम्भावना छ । माओवादीलाई प्रमुख प्रतिपक्षी भूमिकाको फाइदा हुन सक्दछ । ओलीको नेतृत्वमा वामपन्थी गठबन्धन र कम्युनिस्ट एकताको सम्भावना पनि छैन । यी कारणले पनि एमाले कार्यकर्ता पङ्क्तिमा नेतृत्व परिवर्तन गर्नुपर्ने सोच बलियो हुँदै गएको छ ।

विद्याको नेतृत्वमा कम्युनिस्ट एकता कति सम्भव ?

२०८४ को चुनावमा फेरि एकपटक वाम गठबन्धन सबै कम्युनिस्ट घटकको व्यवहारिक आवश्यकता बन्न सक्दछ । आफ्ना कतिपय मतभेद थाँती राखेर ती अस्तित्व रक्षाका लागि एक हुनसक्ने छन् । यतिका धेरै कम्युनिस्ट समूहले भिन्नाभिन्नै चुनाव लडेर सम्मानजनक मत प्राप्त गर्न, थ्रेसहोल्ड भेट्न वा पार्टी अस्तित्वको रक्षा गर्न सम्भव नहुन सक्दछ । सबै कम्युनिस्ट समूह धेरथोर अस्तित्व भयको चिन्तामा छन् ।

गत केन्द्रीय समिति बैठकबाट नेकपा ( एकीकृत समाजवादी) ले ‘कम्युनिस्ट एकता सैद्धान्तिक तथा वस्तुगत आवश्यकता हो, तर मनोगत र व्यवहारिक कारण अहिले त्यो सम्भव छैन’ भन्ने निष्कर्ष निकालेको थियो ।

यो यथार्थले ओली विरुद्धको नेतृत्व प्रतिस्पर्धामा विद्या भण्डारीलाई थप बलियो बनाउने छ  । किनकि, उनले फेरि कम्युनिस्ट एकता र वामपन्थी गठबन्धनको मुद्दा उठाउन सक्छन् । ओलीको नेतृत्वमा यो काम सम्भव नहुने ठहर अन्य कम्युनिस्ट समूहले बनाइसकेका छन् ।

यो यथार्थले ओली विरुद्धको नेतृत्व प्रतिस्पर्धामा विद्या भण्डारीलाई थप बलियो बनाउने छ  । किनकि, उनले फेरि कम्युनिस्ट एकता र वामपन्थी गठबन्धनको मुद्दा उठाउन सक्छन् । ओलीको नेतृत्वमा यो काम सम्भव नहुने ठहर अन्य कम्युनिस्ट समूहले बनाइसकेका छन् ।

तसर्थ, भण्डारीले एकता र गठबन्धन पक्षधर अन्य कम्युनिस्ट समूहको समेत सद्भाव प्राप्त गर्न सक्नेछन् ।

विद्याका तीन अनुकूलता, तीन प्रतिकूलता

भण्डारीलाई एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार हुन र जित्न मदन भण्डारीको विरासत, पहिलो महिला अध्यक्ष र देशकै पहिलो महिला प्रधानमन्त्री हुनसक्ने सम्भावना र राष्ट्रपति भइसकेको व्यक्तित्वको उचाइले अनुकूलता सृजना गर्दछ ।

एमाले पङ्क्तिमा अहिले पनि मदन भण्डारीको ‘क्रेज’ बाँकी छ । दक्षिण एसियाली समाजमा पारिवारिक विरासतले राजनीतिमा राम्रै फाइदा गरेका उदाहरणहरू बाँकी नै छन् । भण्डारीले दह्रो अडान लिएमा एउटा उल्लेखनीय तप्का ओलीलाई छोडेर भण्डारीको वरिपरि गोलबन्द हुनसक्ने छ ।

महाधिवेशनका महिला प्रतिनिधिको सहानुभूति प्राप्त हुन सक्ने, ठूलो कम्युनिस्ट घटकमा पहिलोपटक कार्यकारी पार्टी अध्यक्ष हुने र अध्यक्ष निर्वाचित हुन सके संसदीय दलको नेता तथा देशकै पहिलो महिला प्रधानमन्त्रीको समेत बाटो खुल्ने हुँदा भण्डारीको राजनीतिक महत्त्वाकाङ्क्षाका लागि यी कडी कम आकर्षक छैनन् ।

दुई राष्ट्रपतीय कार्यकाल पूरा गरिसक्दा पनि भण्डारी अहिले उनी ६४ वर्षकी मात्रै छन् ।

भण्डारीको छवि पनि ओलीको जस्तै एक अनुदारवादी, जातीय वर्चस्ववादी र शास्त्रीय एमाले नेताको छ । आजसम्म उनी ओली प्रवृत्तिकै मतियार रहँदै आएकी हुन् । ओली प्रवृत्तिको उत्तराधिकार कसरी ओलीको विकल्प बन्न सक्छिन् ?

भण्डारी निकट स्रोत भन्छ, ‘यी सबै सम्भावना विश्लेषण गरेरै उनले मन बनाएकी हुन् । ओलीजीको सामान्य कार्यकर्ता भएर बस्न मात्र त पूर्वराष्ट्रपति किन सक्रिय पार्टी राजनीतिमा फर्किन पर्‍यो ?’
तर, भण्डारीका चुनौती र नैतिक सङ्कट पनि कम हुने छैनन् । दुई कार्यकाल संवैधानिक राष्ट्रपति भइसकेको व्यक्ति फेरि सक्रिय पार्टीगत राजनीतिमा फर्किनु राम्रो मानिने छैन । राष्ट्रिय जनमत र कार्यकर्ताको एउटा पङ्क्तिले मन नपराउन सक्छन् ।

दोस्रो कुरा– राष्ट्रपति हुँदा भण्डारी आफै विवादित र अलोकप्रिय थिइन् । विशेषतः ओलीद्वारा गरिएको दुई पटकको संसद् विघटनको अवधिमा अनैतिक, गैरकानुनी र गैरसंवैधानिक तवरले ओलीलाई सहयोग गरेको, नागरिकता विधेयक प्रमाणीकरणका बेला गैरजिम्मवार चरित्र देखाएको आरोप उनीमाथि छ । नागरिकता विधेयक प्रमाणीकरण प्रकरणमा उनी जन्मसिद्धका सन्तानप्रति पूर्वाग्रही देखिएकी थिइन् र विशेषतः मधेसमा विरोधको तारो बनेकी थिइन् ।

तेस्रो– भण्डारीको छवि पनि ओलीको जस्तै एक अनुदारवादी, जातीय वर्चस्ववादी र शास्त्रीय एमाले नेताको छ । आजसम्म उनी ओली प्रवृत्तिकै मतियार रहँदै आएकी हुन् । ओली प्रवृत्तिको उत्तराधिकार कसरी ओलीको विकल्प बन्न सक्छिन् ?

यो प्रश्न उत्तिकै अहम् छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register