सरकारको भविष्यबारे सशङ्कित ओलीलाई देउवाको राहत

काठमाडौं । सरकारको निरन्तरता र भविष्यबारे एमाले नै सशङ्कित भइरहेको बेलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले समीकरण फेरबदल नहुने प्रष्ट पारेका छन् । बैङ्कक भ्रमणमा देउवा निस्किएसँगै सरकार परिवर्तन हुने हल्ला बढिरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले बिहीबार संसदीय दलको बैठक राखेर देउवा फर्किएपछि समीकरण फेरबदलबारे छलफल गर्ने ब्रिफिङसमेत गरेका थिए । बिहीबार […]

Apr 25, 2025 - 10:37
 0
सरकारको भविष्यबारे सशङ्कित ओलीलाई देउवाको राहत

काठमाडौं । सरकारको निरन्तरता र भविष्यबारे एमाले नै सशङ्कित भइरहेको बेलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले समीकरण फेरबदल नहुने प्रष्ट पारेका छन् ।

बैङ्कक भ्रमणमा देउवा निस्किएसँगै सरकार परिवर्तन हुने हल्ला बढिरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले बिहीबार संसदीय दलको बैठक राखेर देउवा फर्किएपछि समीकरण फेरबदलबारे छलफल गर्ने ब्रिफिङसमेत गरेका थिए ।

बिहीबार नै प्रधानमन्त्री ओली, प्रचण्ड र काङ्ग्रेस महामन्त्री गगन थापाले सरकारको निरन्तरताबारे सशङ्कित हुने अभिव्यक्ति दिएका थिए ।  प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाधीनताबारे एमालेले स्पष्ट अडान लिएका विदेशका दलाल तत्वहरू एमालेविरूद्ध खनिएको दाबी गरेका थिए । आफ्नो नेतृत्वमा काङ्ग्रेस-एमाले गठबन्धन सरकार बनेपछि पहिलो पटक विदेशका दलला तत्वहरू एमालेविरूद्ध लागेको उनको अभिव्यक्ति थियो ।

ती तत्वहरूले नै सरकारबारे भ्रम सृजना गरिरहेको ओलीको टिप्पणी थियो । उनले भनेका थिए, “यत्तिकै होइन, हाम्रो राष्ट्रियताप्रतिको दृष्टिकोणले, अडानले र हाम्रो सङ्घर्षका कारणले, जनपक्षीयताको कारणले, लोकतान्त्रिक आचरण, अभ्यास, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभीत भएका छन् । दिनैपिच्छे अनेक प्रकार भ्रम फिँजाउन खोजिरहेका छन् ।”

ओलीले एमालले सरकार बचाउको नारा नलगाउने  पनि बताए । “एमालेले सरकार बनाऊ, सरकार बचाऊ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । हामीले २०७० को चुनाव भन्यौं । २०७४ को चुनाव भन्यौं । २०७९ को चुनाव भन्यौं । र अब ०८४ को चुनाव भनिरहेका छौं । ढुक्कले मिसन २०८४ मा लाग्नुस्,” उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय दलमा बिहीबार ब्रिफिङ गरेका थिए । उनले नयाँ समीकरणबारे देउवाको स्वदेश फिर्तीपछि संवाद गर्ने उल्लेख गरेका थिए ।  बैङ्कक जानुअघि पनि देउवासँग आफ्नो टेलिफोन संवाद भएको उनले बताएका थिए । “हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ । तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्छ भन्ने खालको प्रारम्भिक कुराकानी भएको छ । यो सरकार उनीहरूबीचको आन्तरिक अन्तविरोधकै कारणले ढल्ने देखिन्छ । हामीले ढाल्न खोजेर होइन । काङ्ग्रेस-एमालेभित्र अहिले अन्तर्विरोध चुलिएको छ । बजेटसम्म पुग्दा क्लाइमेक्समा पुग्छ । गभर्नर नियुक्ति पनि अड्किरहेको छ । त्यसैले उहाँहरूबीचको स्वार्थको कारणले सरकार ढल्ने देखिन्छ,” प्रचण्डले भनेका थिए ।

यता, बिहीबार नै काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवाको फिर्तीपछि परिस्थितिमा परिवर्तन आउने प्रतिक्रिया दिएका थिए । “सभापति फर्किएपछि परिस्थितिमा फेरबदल हुनेछ,” उनको भनाइ थियो ।

खड्काले फेरबदल हुने परिस्थितिबारे भने विस्तृत खुलाएका थिएनन् ।

काङ्ग्रेस महामन्त्री पनि आधारभूत विषयमा सम्झौता गरेर काङ्ग्रेस सरकारमा नबस्ने बताएका थिए । परिआए काङ्ग्रेस सरकारबाट बाहिरिने उनको चेतावनी थियो । “आधारभूत कुरामा हामी सम्झौता गर्दैनौं भनेर हामीले भन्न सक्नुपर्छ । पर्‍यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं । सरकारमा बस्ने वा नबस्ने, सरकार नै ठूलो कुरा थियो भने त ज्ञानेन्द्र शाहले सरकार बनाउँदै गर्दा हामी गएनौं त । महेन्द्र वा वीरेन्द्रले पनि सरकार बनाउँदै गर्दा हाम्रा नेताहरू जानुभएको थिएन,” उनको भनाइ थियो ।

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ, शिक्षकहरुको माग सम्बोधनमा भइरहेको ढिलासुस्ती र प्रधानमन्त्रीको कार्यशैलीका कारण काङ्ग्रेसभित्र असन्तुष्टि चुलिँदै गएको थियो । गभर्नरमा देउवाले राष्ट्र बैङ्कका निर्देशक गुणाकर भट्टको नाम दिइसकेका छन् । यता, सरकारले सिफारिस समितिको बैठक पनि राख्न सकेको छैन । यस्ता गतिविधिले काङ्ग्रेस प्रधानमन्त्रीसँग चिढिँदै गएको थियो । यसलाई नै आधार मानेर प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सरकार आफ्नो बोझले ढल्ने मात्रै नभनेर समीकरण परिवर्तनका लागि छलफल गर्ने नै बताएपछि एमालेमा सङ्शय थप बढ्यो ।

त्यसपछि बैङ्ककमै रहेका काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्री ओलीले फोन सम्पर्क गरे । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार बिहीबार साँझ दुई जनाबीच फोन सम्पर्क भएको थियो । “सरकार परिवर्तनको हल्लापछि प्रधानमन्त्री ओलीले फोन गर्नुभएको थियो,” राणाले भनेकी छिन् ।

शुक्रबार बैङ्कक फर्किएका काङ्ग्रेस सभापति देउवालाई सञ्चारकर्मीहरूले समीकरण फेरबदलको सम्भावनाबारे जिज्ञासा राखेका थिए । उनले वर्तमान समीकरण नै अघि बढ्ने बताएका छन् । सरकारमा कुनै पनि समस्या नरहेको उनको भनाइ थियो । “केही समस्या छैन । केही भएकै छैन । गठबन्धन जस्तो छ ठीक छ । केही भएको छैन,” उनको भनाइ थियो ।

समीकरण फेरबदलबारे प्रश्न गर्दा उनले आफूलाई त्यो विषयमा जानकारी नरहेको प्रतिक्रिया देउवाले दिएका छन् । “कसले भन्यो ? मलाई थाहा छैन,” देउवाले भने ।

देउवाको अभिव्यक्तिले सरकार परिवर्तनका लागि देउवा बैङ्कक गएको अफवाह चिरेको छ भने सरकारको भविष्यबारे सङ्शकित ओलीलाई समेत राहत मिलेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register