प्रिन्टिङ मेसिन खरिदमा विकल पौडेल र अकबर हुसेनले भ्रष्टाचार गरेको ठहर
काठमाडौं । प्रिन्टिङ प्रेस खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सिईओ अकबर हुसेनलाई दोषी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको अध्यक्षतामा तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले बुधवार पौडेललाई २ वर्ष (१ वर्ष ६ महिना र पदीय हैसियतका […]

काठमाडौं । प्रिन्टिङ प्रेस खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सिईओ अकबर हुसेनलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश टेकनारायण कुँवरको अध्यक्षतामा तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले बुधवार पौडेललाई २ वर्ष (१ वर्ष ६ महिना र पदीय हैसियतका कारण थप ६ महिना) कैद तोकेको छ । भने, म्याक्स इन्टरनेसनल प्रालिका सिईओ अकबर हुसेनलाई १ वर्ष ६ महिना कैद तोकेको छ ।
दोषी ठहर भएको म्याक्स इन्टरनेसनल प्रालि भने कानुनी व्यक्ति मात्र भएकाले अदालतले कैद तोकेन । तर, कम्पनीबाट बिगो असुल गर्न भने आदेश दिएको छ ।
अदालतले बदनियत पूर्वक खरिद प्रक्रियामा संलग्न भई नेपाल सरकारलाई रु. ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ हानि नोक्सानी पुर्याएको ठहर गरेको छ । त्यही अनुसार दोषी ठहर भएका तीनै पक्षलाई बिगो दामासाहीले तोकेको छ । अदालतको आदेश अनुसार अब पौडेल, हुसेन र म्याक्स इन्टरनेसनलले जनही रु. १३ करोड ५८ लाख ५२ हजार ५८० जरिवाना र सोही बराबरको बिगो तिर्नुपर्ने छ ।
त्यस्तै विशेषले पौडेल, हुसेन र म्याक्स इन्टरनेशनल प्रालिलाई जनही रु. ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ ।
भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपक्षी बनाएकाहरू सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापालाई भने विशेष अदालतले सफाइ दिएको छ । कार्यकारी निर्देशक पौडेलको निर्देशअनुसार खरिद प्रक्रियामा सहभागी भएकाले उनीहरूको बदनियतपूर्ण संलग्नता नरहेको पाइएको फैसलामा भनिएको छ ।
पौडेल यसअघि पनि सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भई हाल कारागारमा रहेका छन्। विशेष अदालतले २०८१ जेठ ८ गते उनलाई २५ करोड ४७ लाख बिगो असुल र त्यति नै रकम जरिवाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो।
What's Your Reaction?






