संगठनात्मक अराजकता पराजितको नारालाई चुनौती दिइरहेका एमाले कार्यकर्ता

एमालेले प्रमुख चुनौती ठानेको सङ्गठनात्मक अराजकता पराजित नभएर थप प्रकट हुन थालेका छन् । बहसबाट विवादको छिनोफानो हुनुपर्ने मान्यता राख्ने एमालेभित्र बबन्डरका दृश्य बढ्न थालेका हुन्। यसको ताजा दृश्य ताप्लेजुङ,जनकपुर हुँदै पर्वतसम्म देखिएको छ।

May 7, 2025 - 16:57
 0
संगठनात्मक अराजकता पराजितको नारालाई चुनौती दिइरहेका एमाले कार्यकर्ता

काठमाडौं । २०७८ असोज ५ मा ईश्वर पोखरेलले माओवादीसँग एकताका कारण एमालेमा सङ्गठनात्मक अराजकता झाँगिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । माधव नेपालले नयाँ दल बनाए पनि सङ्गठनात्मक अराजकताको समस्या अन्त्य नभएको उनको ठहर थियो ।  २०७८ असोज १५ देखि १७ सम्मको विधान अधिवेशनमा एमालेको नारै थियो-‘सङ्गठनात्मक अराजकता पराजित गरौँ ।’

एमाले अध्यक्ष केपी ओलीले विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै सङ्गठनात्मक अराजकता पार्टीको प्रमुख चुनौती मानेका थिए । ‘हाम्रा सामु दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गर्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अघि बढाउने दायित्व छ ।’

एमालेले प्रमुख चुनौती ठानेको सङ्गठनात्मक अराजकता पराजित नभएर थप प्रकट हुन थालेका छन् । अधिवेशनका क्रममा विवाद अस्वाभाविक होइन । बहसबाट विवादको छिनोफानो हुनुपर्ने मान्यता राख्ने एमालेभित्र बबन्डरका दृश्य बढ्न थालेका छन् । हालसालै, त्यसको प्रस्फुटन ताप्लेजुङ, जनकपुर हुँदै पोखरासम्म पुगेको छ ।

वैशाख १८ मा  राष्ट्रिय युवासंघका ताप्लेजुङको जिल्ला अधिवेशन थियो । केन्द्रीय अध्यक्ष क्षितिज थेवेको गृह जिल्लामा भएको अधिवेशनमा दुई समूहबीच झडप हुनपुग्यो । सचिव पदमा कुरा नमिल्दा झडपको परिस्थिति सिर्जना भयो । अध्यक्ष मण्डलले एकलौटी नाम घोषणा गरेपछि त्यहाँ कुर्सी हानाहान गरेर बबन्डर भएको थियो । २०८० सालमा भएको अधिवेशनमा पनि डम्बरध्वज तुम्बाहाम्फेलाई निर्वाचन मण्डलले अरूको असहमतिकाबीच अध्यक्ष तोकिदिएको थियो ।

यस पटक पनि उनैलाई अध्यक्ष तोक्ने तयारी गरेपछि  पूर्व जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले शर्त अघि सारेका थिए । आफ्नो समूहलाई उपाध्यक्ष र सचिव दिनुपर्ने माग उनको थियो । उपाध्यक्षमा दिलकुमार सुनुवार र सचिवमा प्रकाश एभेङ हुनुपर्ने साम्सोहाङ समूहको माग सुनुवाइ नभएपछि त्यहाँ झडप हुनु पुग्यो । घटनाका लागि उक्साएको भन्दै साम्सोहाङलाई कोसी प्रदेश कमिटीले जिम्मेवारीबाट मुक्त गरेको छ ।

वैशाख २३ मा एमालेको धनुषा जिल्ला अधिवेशनमा दुई समूहबिच कुटपिट हुँदा पाँच जना घाइते भए । एमाले धनुषामा सचिव रघुवीर महासेठ र एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवको समूह छ । रघुवीर इतर एमाले धनुषाका निवर्तमान अध्यक्ष राजकिशोर यादवले विवाद झिक्दा त्यहाँ झडपको परिस्थिति बन्यो ।

धनुषामा कुटाकुटका कारण घाइते कार्यकर्ता ।

उपसचिवका उम्मेदवार सुरेश ठाकुरले उम्मेदवारी फिर्ता नभएको भन्दै निवर्तमान यादव समूहले विवाद गरे । उनीहरूको समूहले निर्वाचन प्रमुख विजय सुब्बालाई गालीगलौज गर्दै तोडफोड गरेका थिए । त्यसपछि त्यहाँ निर्वाचनको परिस्थिति नै बिथोलियो । ‘निर्वाचन समितिले तयार गरेको मतपत्र, मतपेटिका, लगायतका निर्वाचन सामाग्री तोडफोड सहित प्रतिनिधिहरूमाथि हातपात भएपछि अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगित भएको छ । अध्यक्ष मण्डलको बैठक राखेर मतदानको अर्को मिति तय गर्छौँ,’ मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले भने ।

धनुषामा एमाले कार्यकर्ताबीचको झडप नियन्त्रणका लागि परिचालित प्रहरी ।

युवा सङ्घ पर्वतको अधिवेशन विवादले पनि झडपको परिस्थिति निम्त्याएको छ । उक्त झडपमा दुई जना घाइते भएका छन् । अधिवेशन विवादका कारण दुई समूहबिच हानाहान हुँदा एमाले गण्डकी प्रदेश सदस्य अर्जुन पौडेल ध्रुव श्रेष्ठ घाइते भएका हुन् । राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिनाको समूह अधिवेशन सार्ने पक्षमा थियो भने पूर्व स्वास्थ्य मन्त्री  समेत रहेका सांसद पदम गिरीको समूह अधिवेशन गर्ने पक्षमा थियो । एमाले केन्द्रीय सदस्य विकास लम्सालले जबरजस्ती अधिवेशन गराउन खोज्दा अप्रिय घटना भएको जानकारी दिए । ‘अहसमतिकाबीच अधिवेशन गराउने प्रयासका कारण झडपकै परिस्थिति निम्तिएको पाइयो ,’ उनले भने ।

युवासंघ पर्वतका अध्यक्ष विनोद थापालाई बाइपास गरेर अधिवेशन कार्यक्रम अघि बढ्दा त्यहाँ विवाद भएको थियो । जिल्लामै रहेका थापाको सहभागिता विनै अधिवेशन अघि बढ्दा झडप भएको थियो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली विधान अधिवेशनदेखि १० औँ महाधिवेशनले पनि सङ्गठनात्मक अराजकतालाई पराजित गर्ने भने पनि कुनै न कुनै स्वरूपमा पार्टीभित्र प्रकट भइरहेको बताउँछन् । ‘सङ्गठनात्मक अराजकतालाई हामीले चुनौती मान्दै त्यसलाई पराजित गर्नुपर्ने आवश्यकता औँल्याएका थियौँ । तर यस्ता प्रवृत्ति कुनै न कुनै स्वरूपमा अहिले प्रकट भइरहेका छन् । कब्जै गरेर भए पनि अधिवेशनमा विजयी हुनुपर्ने मनोविज्ञानका देखिएको छ,’ ज्ञवालीले भने ।

अराजकता एमालेको मान्यता र आदर्शसँग मेल नखाने भएकाले यस्ता गतिविधि निम्तिन नदिन उनी कार्यकर्तालाई सचेत गराउँछन् । ‘विवादित विषयको बहसबाट निरूपण र मर्यादित प्रतिस्पर्धा एमालेको आदर्श हो । कुनै पनि अराजकता पार्टीले स्वीकार गर्दैन त्यो विषय क्षम्य हुँदैन,’ उनले भने ।

एमाले सचिव गोकर्ण विष्ट बहसबाट विवादको निरूपण गर्नुपर्नेमा बबन्डर मच्चाउने परिपाटी विकसित हुँदै जानु दुःखद रहेको बताउँछन् ।  समाज बदल्ने सङ्कल्प गरेको पार्टीभित्र अराजकताको अवस्थाले गलत सन्देश प्रवाह भइरहेको उनको भनाइ छ ।कार्यकर्ताहरूलाई  मर्यादित हुन उनले  आग्रह गरेका छन् । ‘लोकतान्त्रिक अभ्यास गर्दा स्वस्थ र मर्यादित ढङ्गले अघि बढ्नुपर्छ । विवादित विषयमा बबन्डर गरेर होइन बहसबाटै निरूपण गर्नुपर्छ । समाज बदल्ने सङ्कल्प गरेको पार्टीले स्वस्थ र मर्यादित लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्ने हो  तोडफोड  र हानाहान हाम्रो आदर्श होइन,’उनले भने ।

अधिवेशनका क्रममा भएका अराजक गतिविधिप्रति गम्भीरतापूर्वक छानबिन गरेर सम्बद्ध पक्षलाई कारबाहीको दायरामा ल्याउने नेताहरूको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register