भियतनाममा साम्यवादी शासनका ५० वर्ष

कवि भूपि शेरचनले लेखेर त होइन, तर साँच्चै भियतनाम युद्धमा अमेरिका पराजित भयो । उत्तरी भियतनाममा मात्रै कब्जा जमाएको भियतनाम कम्युनिस्ट पार्टी विजयी भयो । यो दोस्रो विश्वयुद्धपछिको विश्व परिवेशमा अमेरिकाको सबैभन्दा ठूलो हार थियो ।

May 31, 2025 - 06:06
 0
भियतनाममा साम्यवादी शासनका ५० वर्ष

सन् १९९० को दशकमा सोभियत संघ र पूर्वी युरोपको पतनपछि विश्वमा पाँचवटा मात्र साम्यवादी शासन प्रणाली भएका देश बाँकी छन्– चीन, उत्तर कोरिया, लाओस्, क्युबा र भियतनाम ।

भियतनामले यस वर्षको अप्रिलमा युद्ध–विजय र एकदलीय कम्युनिस्ट प्रणाली स्थापनाको ५० वर्ष पूरा गर्‍यो । भियतनाम क्षेत्रफलमा विश्वको ६६औँ र जनसङ्ख्यामा १६औँ ठूलो देश हो । यसको क्षेत्रफल ३ लाख ३१ हजार ३४५ वर्ग किमी र जनसङ्ख्या करिब १० करोड छ । अन्य दुई साम्यवादी देश चीन र लाओस्‌को बीचमा अवस्थित भियतनामसँग करिब ६ लाख राष्ट्रिय जनमुक्ति सेना छ ।

मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, किम इल सुङ, मार्सल टिटो र फिडेल क्यास्त्रोजस्तै भियतनामका हो–चि–मिन्ह पनि आफ्नो समयका विश्व चर्चित कम्युनिस्ट नेता थिए । उनको सोच र वैचारिकीलाई ‘होचिमिन्ह विचारधारा’ भनिन्छ । सन् १९६५–१९७५ को भियतनाम युद्ध ताका उनी ‘अंकल हो’ को नामले विश्वभरि लोकप्रिय थिए । नेपालका कवि भूपि शेरचनले ‘हो–चि–मिन्हलाई चिठ्ठी’ शीर्षकमा एक जोडदार कविता लेखेका छन् ।

भूपि लेख्छन्–

तिम्रो हनोईमाथिको बम वर्षाको छिर्का
मैले आफ्नो धरहरामाथि परेको अनुभव गरेको छु
यो हनोईमाथि हैन, मान्छेमाथि बम हो ।
मेरो कमरेड !
मेरो हिमाल !
मेरो ‘लेते खोला’ !
विश्वास गर
जित तिम्रो हुनेछ,
जित हाम्रो हुनेछ

कवि भूपि शेरचनले लेखेर त होइन, तर साँच्चै भियतनाम युद्धमा अमेरिका पराजित भयो । उत्तरी भियतनाममा मात्रै कब्जा जमाएको भियतनाम कम्युनिस्ट पार्टी विजयी भयो । यो दोस्रो विश्वयुद्धपछिको विश्व परिवेशमा अमेरिकाको सबैभन्दा ठूलो हार थियो ।

भियतनाम युद्धमा ५ लाख ८३ हजार ५८२ सेना र करिब २७ लाख अमेरिकी संलग्न भएका थिए । तीमध्ये ५८ हजार २२० मारिए । भियतनाम युद्धमा खटेकाहरूका नातेदारले अमेरिकाभित्रै लाखौँका युद्ध विरोधी जुलुस निकाल्ने गर्थे । भियतनाम युद्ध आफ्नो समयको सबैभन्दा ठूलो विश्व घटना थियो ।

अंकल हो– एक पेशेवर र आजीवन क्रान्तिकारी थिए । उनी फ्रान्सेली उपनिवेश शासनअन्तर्गतको भियतनाममा जन्मेका थिए । सन् १९११ मा उनी विद्यार्थी बनेर पेरिस गए । सन् १९२० मा फ्रान्सेली कम्युनिस्ट पार्टीको संस्थापकमध्ये एक बने ।

पेरिसबाट उनी चिनियाँ व्यापारीको नक्कली पासपोर्ट बनाएर मस्को पुगेका थिए । उनको उद्देश्य थियो– लेनिनको अन्त्येष्टिमा भाग लिनु र तत्कालीन तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलनमा सामेल हुनु ।

मस्कोबाट उनी चीन गए । त्यो समय चीनमा को मिन्ह ताङको शासन थियो । चेङ काई शेकले कम्युनिस्ट विरोधी नीति अपनाएका थिए । देश फर्किएर सन् १९२५ मा उत्तरी भियतनाममा उनले ‘क्रान्तिकारी युवा लिग’ बनाए । यसैलाई सन् १९३० हिन्द–चीन कम्युनिस्ट पार्टी ( इन्डोचाइना कम्युनिस्ट पार्टी ) बनाइयो ।

भियतनाम युद्धको प्रभाव कुनै एक देशमा सीमित नभएर तत्कालीन समयमा ‘हिन्द–चीन’ भनिने सम्पूर्ण दक्षिण पूर्वी एसियामा कुनै न कुनै रूपमा परेको थियो । भियतनाम, लाओस्, कम्बोडिया र मलाया युद्धबाट प्रत्यक्ष प्रभावित थिए । सिंगापुर, थाइल्यान्ड, फिलिपिन्स र इन्डोनेसियामा अप्रत्यक्ष प्रभाव परेको थियो ।

भियतनामी जनता त्यसअघिको बेलायती र फ्रान्सेली उपनिवेशबाट मुक्ति चाहन्थे । हिन्द–चीनमा साम्यवाद र राष्ट्रवादको भावना एकीकृत भएको थियो । चिनियाँ साम्यवादी क्रान्ति र माओ विचारधाराबाट ती प्रभावित थिए । अमेरिका सोभियत संघसँगको वैचारिक प्रतिस्पर्धा र शीत युद्धको कारण यस क्षेत्रमा साम्यवादको प्रभाव रोक्न चाहन्थ्यो ।

भियतनाम उत्तर भियतनाम र दक्षिण भियतनाम गरी दुई देशमा विभाजित भएको थियो । उत्तरी भियतनामको राजधानी थियो– हनोई । दक्षिण भियतनामको साइगोन जसलाई आज ‘होचिमिन्ह शहर’ भनिन्छ । उत्तरी भियतनामलाई सोभियत संघ र चीन अनि दक्षिण भियतनामलाई अमेरिकाको समर्थन थियो ।

सन् १९५४ मा भियतनामको विभाजन भएको थियो । भियतनामी देशको एकीकरण चाहन्थे । साथै, कम्युनिस्टहरू अमेरिकालाई फिर्ता पठाउन र भियतनाममा सोभियत संघ र चीनको जस्तै साम्यवादी शासन स्थापना गर्न चाहन्थे ।

सन् १९७५ मा अमेरिकी सेनाको फिर्तीपछि दक्षिणी भियतनामको पतन भयो । उत्तर र दक्षिण भियतनाम एउटै देश बने । एकीकृत देशसँगै कम्युनिस्ट शासन प्रणाली स्थापित भयो । सन् १९७५ अप्रिल ३० मा दक्षिण भियतनामको राजधानी साइगोन उत्तरी भियतनामको कम्युनिस्ट पार्टी समर्थक जनसेनाले कब्जा गरेसँगै भियतनाम साम्यवादी मुलुक बन्यो ।

तर, यसका मुख्य नेता हो–चि–मिन्हको भने युद्धबीच सन् १९६९ मै निधन भइसकेको थियो । सम्भवतः कवि भूपि शेरचनले उपरोक्त कविता त्यो बेला लेखेका थिए, जति बेला युद्ध जारी थियो र हो–चि–मिन्ह जीवित थिए ।

यो वर्ष सन् २०२५ को अप्रिलमा भियतनाममा साम्यवादी शासन स्थापनाको ५० वर्ष पूरा भएको छ । यस अवसरमा अप्रिल ३० मा होचिमिन्ह शहरमा भियतनामी सरकारले युद्ध विजयको ५०औँ वर्षगाँठ भव्यतापूर्वक मनायो । युद्धको सहविजेताका रूपमा चीन, कम्बोडिया र लाओस्‌को सेनाले समेत सैन्य परेडमा सहभागिता जनाए ।

५०औँ वर्षगाँठको सैन्य परेड र युद्ध विजय समारोहलाई सम्बोधन गर्दै सत्तारुढ भियतनामी कम्युनिस्ट पार्टीका महासचिव तो ल्यामले यसलाई ‘स्वतन्त्रता र समाजवादको अवधि’ भनेर सम्बोधन गरे । उनले हो–चि–मिन्हलाई ‘राष्ट्रिय एकता, स्वतन्त्रता, क्रान्ति र समाजवादका पिता’ को संज्ञा दिँदै स्मरण गरे ।

सन् १९७५ देखि सन् १९८६ सम्म भियतनाम शास्त्रीय साम्यवादी अर्थतन्त्रको अवधारणाअनुरूप चलेको थियो । भियतनाम संसारकै गरिब देशमध्ये एक मानिन्थ्यो । गरिबी, बेरोजगारी, अनिकाल र भोकमरीग्रस्त देश मानिन्थ्यो । आर्थिक सुधार र उदारीकरणअघि प्रतिव्यक्ति आय २३० डलर थियो । भियतनाम संसारकै अत्यन्त गरिब मुलुक मानिन्थ्यो ।

सन् १९८६ मा छैठौँ पार्टी महाधिवेशनले आर्थिक नीतिमा व्यापक परिवर्तन गर्दै ‘समाजवादमुखी बजार अर्थतन्त्र’ को नीति अघि सार्‍यो । यस्तो आर्थिक सुधारलाई ‘दोई–मोई’ नाम दिइएको थियो, जसको अर्थ नवाबिष्कार र नवीकरण हुन्छ ।

यो नीति सन् १९७८ को तेङ सिआयो पिङको चिनियाँ सुधार नीतिबाट प्रभावित थियो । यो नीतिसँगै उद्योग, व्यापार र कृषिको निजीकरण गरियो । सार्वजनिक संस्थान र राजकीय उद्योग निजीकरण भए । सामूहिक खेती प्रणालीको अन्त्य गर्दै किसानलाई जमिन लिजमा दिने प्रचलन सुरु गरियो ।

यी सुधारपछि भियतनामले इतिहासमा कहिल्यै हासिल गर्न नसकेको करिब ८ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न थाल्यो । सन् १९९४ मा अमेरिकाले युद्ध कालदेखि जारी भियतनाममाथिको आर्थिक नाकाबन्दी अन्त्यको घोषणा गर्‍यो । भियतनाम अब तीव्र गतिको भूमण्डलीकरणमा हिस्सेदार बन्न थाल्यो ।

आर्थिक सहकार्यमा भियतनाम चीनको साटो अमेरिकानिकट हुँदै गयो । सन् २००० देखि सन् २००५ बीच ५ वर्ष निरन्तर ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरी भियतनाम ‘संसारकै तीव्रत्तर अर्थतन्त्र’ मा गणना भएको थियो । सन् २००७ मा भियतनाम विश्व व्यापार संगठन ( डब्लूटीीओ ) को १५०औँ सदस्य बन्यो ।

यसरी एकदलीय कम्युनिस्ट शासन प्रणालीभित्रै भियतनामले निरन्तर आर्थिक उदारीकरण गर्दै गयो । भियतनामले शास्त्रीय साम्यवाद र सोभियत मोडेलको साटो ‘देङ सिआयो पिङ सिद्धान्त’ अवलम्बन गर्‍यो । आर्थिक उदारीकरणसँगै भियतनामको निरपेक्ष गरिबी घट्दै गएको छ ।

सन् २०११ मा भियतनामले पहिलो अरबपति जन्मायो– फाम न्हात भोउङ । फोर्ब्सका अनुसार भियतनामबाट विश्वका धनीहरूको सूचीमा अहिले ६ जना अरबपति छन् । तिनको सम्पत्ति १३.४ बिलियन अमेरिकी डलर बराबर हुन्छ ।

कुनै बेला कम्युनिस्ट क्रान्तिको उद्देश्य आर्थिक समानता हासिल गर्नु, धनी र गरिबबीचको दूरी अन्त्य गरी वर्गविहीन समाज निर्माण गर्नु थियो । तर, अहिले चीन, लाओस् र भियतनाम, तीनवटै कम्युनिस्ट देश यो लक्ष्य र उद्देश्यमा छैनन् । शास्त्रीय साम्यवादी आर्थिक नीति अपनाउने देश २ वटा मात्र बाँकी रहेका छन्– उत्तर कोरिया र क्युबा । चीन, लाओस् र भियतनाम भने निजी सम्पत्तिको अधिकार र बजार अर्थतन्त्रमा फर्किसकेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार भियतनामको प्रतिव्यक्ति आय यो वर्ष ४०८६ डलर छ । अर्थात्, आर्थिक उदारीकरण यताको करिब ३० वर्षमा भियतनाम अल्पविकसित र गरिब मुलुकबाट माथि उठेर निम्न मध्यम आय भएका देशहरूको वर्गमा पुगिसकेको छ । भियतनामको बेरोजगारी दर अब करिब २ प्रतिशत मात्र छ ।

भियतनाममा अहिले प्रतिवर्ष करिब २ करोड पर्यटक आउँछन् । जीडीपीमा पर्यटन क्षेत्रको योगदान ७.५ प्रतिशत छ । भियतनामी अर्थतन्त्रमा कृषिले करिब २० प्रतिशत योगदान गर्छ । आर्थिक सुधारअघि यो अनुपात ४२ प्रतिशत थियो । उद्योग क्षेत्रको योगदान करिब ३३ प्रतिशत छ । उदारीकरणअघि यो २७ प्रतिशत थियो ।

भियतनामले रेल र द्रुत गतिका राजमार्गसहित पूर्वाधार विकासमा पनि उल्लेखनीय प्रगति गरेको छ । हनोइदेखि होचिमिन्ह शहरसम्म १७२६ किमी लामो रेलमार्ग देशको यातायात प्रणालीको ‘लाइफ लाइन’ हो ।

कुनै समयका सत्रु देश भए पनि सन् १९९० पछि अमेरिकासँग व्यापार सम्बन्ध सुधार गर्दै भियतनामले आफूलाई बलियो बनाएको छ । भियतनाममा अहिले कम्तीमा ६५ वटा अमेरिकी लगानीका कम्पनी छन् । यसभित्र आईफोन निर्माता कम्पनी एप्पल पनि पर्छ । भियतनाममा उच्च आयस्तरको रोजगारका लागि एप्पलको ठूलो योगदान रहेको अर्थशास्त्रीहरू बताउँछन् ।

अमेरिका भियतनामको सबैभन्दा ठूलो आयातकर्ता देश हो । भियतनामी निर्यातमा अमेरिकाको योगदान ३० प्रतिशत छ । तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमन र शुल्क वृद्धिको प्रभाव भने भियतनामलाई समेत गरेको छ । ट्रम्पले भियतनाममाथि ४६ प्रतिशत शुल्क प्रस्तावित गरेका छन् । यो भियतनामजस्तो उदीयमान अर्थतन्त्रका लागि निक्कै उच्च हो ।

अमेरिकी कम्पनीको आगमनअघि भियतनाममा चिनियाँ कम्पनी, व्यापारी र उद्योगपतिहरूको वर्चस्व थियो । सन् २०१४ मा चिनियाँविरुद्ध भियतनाममा ठूलो विद्रोह भड्कियो । असन्तुष्ट भियतनामीले कम्तीमा १५ चिनियाँ स्वामित्वका कारखाना जलाएका थिए । यस्ता विद्रोह चिनियाँ कम्पनीमा काम गर्ने भियतनामी मजदुरले गरेका थिए ।

आज पनि भियतनाम राजनीतिक विचारधारा र प्रणालीको दृष्टिकोणले चीनसँगै नजिक छ । तर, आर्थिक अन्तरसम्बन्ध र व्यापार भने अमेरिकासँग सघन हुँदै गएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register