वर्षाको प्रभाव : ठाउँ–ठाउँमा सडक अवरुद्ध, माईखोलाको बाढीले २२ घर डुबानमा

काठमाडौं । नेपालमा मनसुन भित्रिएलगत्तै भारी वर्षा र बाढीपहिरोको जोखिम सुरु भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार शनिबार बिहान परेको […]

May 31, 2025 - 07:21
 0
वर्षाको प्रभाव : ठाउँ–ठाउँमा सडक अवरुद्ध, माईखोलाको बाढीले २२ घर डुबानमा

काठमाडौं । नेपालमा मनसुन भित्रिएलगत्तै भारी वर्षा र बाढीपहिरोको जोखिम सुरु भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार शनिबार बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ ।

जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । शनिबार नै झापामा भारी वर्षा भएको थियो । मध्यान्हसम्म पानी घट्दो क्रममा रहेकाकाले मानवीय जोखिम रहेको बताइएको छ । स्थानीयहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको बताए ।

शनिबार बिहानदेखि परेको अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

नेपालमा मनसुन भित्रिने सरदरभन्दा १५ दिनअगावै बिहीबार रातिदेखि मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको पनि विभागले जानकारी दिएको छ । पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिनमार्फत जानकारी गराएको छ ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको र ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि सबैमा अनुरोध गरेको छ ।

महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप बर्षा हुनसक्ने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

वर्षा गराउने बादल पूर्वी नेपालबाट उत्तरतर्फ सरिरहेको पनि मौसम विज्ञान विभागले जानकारी दिएको छ । आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि बढ्दो हुने देखिएको जनाइएको छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register