‘केपी ओली कप’को ‘कन्टेन्ट’ बनाइदेऊ भन्नेले सचेतना सामग्री बनाइदेऊ किन नभन्ने ?

काठमाडौं आउँदा मेरो सपना थियो, ‘नायिका बन्ने’ । २०७३ सालमा विराटनगरबाट काठमाडौं आएपछि यसैका लागि म थिएटरमा आबद्ध भएँ । थिएटरमा मैले ‘मकैको अर्कै खेती’ नामको नाटकमा काम गर्ने मौका पाएँ । नाटक गरेपछि म अलिकता ‘नोटिस’ भएँ । पत्रपत्रिकामा मेरो फोटो पनि छापियो, तर म ‘नायिका’ भने हुन सकिनँ । विभिन्न ठाउँमा काम माग्न […]

May 9, 2025 - 07:51
 0
‘केपी ओली कप’को ‘कन्टेन्ट’ बनाइदेऊ भन्नेले सचेतना सामग्री बनाइदेऊ किन नभन्ने ?

काठमाडौं आउँदा मेरो सपना थियो, ‘नायिका बन्ने’ । २०७३ सालमा विराटनगरबाट काठमाडौं आएपछि यसैका लागि म थिएटरमा आबद्ध भएँ । थिएटरमा मैले ‘मकैको अर्कै खेती’ नामको नाटकमा काम गर्ने मौका पाएँ । नाटक गरेपछि म अलिकता ‘नोटिस’ भएँ । पत्रपत्रिकामा मेरो फोटो पनि छापियो, तर म ‘नायिका’ भने हुन सकिनँ ।

विभिन्न ठाउँमा काम माग्न सुरु गरेँ मैले । ‘मेरी बास्सै’, ‘हल्का रमाइलो’ टीभी सिरियलमा पनि काम गरेँ । यही दौरान मैले ७/८ वटा नाटकमा पनि काम गरेँ । ‘साईंली’, ‘नागों गाउँ’ सिनेमामा पनि काम गरेँ । फेरि पनि म ‘नायिका’ भइनँ ।

सिनेमा, टेलिभिजन र नाटकमा म चर्चित नभए पनि यहाँबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । यही सिप र ज्ञान प्रयोग गरेर म अहिले ‘कन्टेन्ट क्रियटर’ भएकी छु । ‘कन्टेन्ट क्रियटर’ का रूपमा मैले छोटा भिडिओहरू बनाएँ । किनभने आजभोलि मान्छेलाई लामो समय लाग्ने भिडिओ हेरिबस्ने धैर्यता छैन ।

‘कन्टेन्ट क्रियटर’ भएपछि म आर्थिक रूपमा पनि सबल भएँ । सबैतिरबाट प्रशंसा पाउन थालेँ । ‘कन्टेन्ट क्रियटर’का रूपमा मैले बुझेसम्म सामाजिक सञ्जलाका राम्रा र नराम्रा दुवै पक्ष छन् । सामाजिक सञ्जालमा स–साना र अनावश्यक चिज भाइरल हुन्छन् । यस्ता अनावश्यक विषयसँग जोडेर व्यक्तिको नराम्रो प्रचार गरिनु सामाजिक सञ्जालको नराम्रो पक्ष हो ।

सामाजिक सञ्जालमा मान्छेलाई अभिव्यक्ति स्वतन्त्रता छ । र, यही कारण मान्छेहरू ‘कमेन्ट’का नाममा अश्लील, अभद्र कुराहरू पनि लेख्छन् । आफ्नो निजी जीवनको ‘फ्रस्टेशन’ पनि सामजिक सञ्जालमा पोख्छन् । आफूले पैसा कमाउन नसकेको, ‘इन्डिपेन्डेन्ट’ हुन नसकेको रिस/डाहा पनि सामाजिक सञ्जालमा पोख्छन् । मेरै पोष्ट/कन्टेन्टमा यस्ता प्रशस्तै कमेन्ट आउँछन् । जो असाध्यै गाली, अभद्र, अश्लील र अपाच्य हुन्छन् ।

यस्ता कमेन्टहरु देख्दा सुरुमा त तनाव हुन्थ्यो, तर आजभोलि बानी परिसक्यो । खासै असर गर्दैन । यस्ता कुराहरूलाई सहज रूपमा लिनुपर्छ भन्ने लाग्छ । नकारात्मक कुराहरूको प्रतिरक्षामा उत्रिएर आफ्नो ऊर्जा किन खर्च गर्नुजस्तो लाग्छ । यस्ता विषयको ‘डिफेन्ड’ गर्ने काम मेरो होइन ।

टिकटक, फेसबुक, इन्स्टाग्राममा मात्र नभई म आजभोलि युट्युबमा पनि सक्रिय छु । युट्युबमा म ‘ट्राभल भ्लग’ राख्न थालेकी छु । ‘कन्टेन्ट क्रियटर’का रूपमा मसँग सबै खालका कन्टेन्ट बनाउनुपर्ने प्रस्ताव आउँछन् । तर, सबै विषयमा कन्टेन्ट बनाउन सकिँदैन । कतिपय कानुनी र सामाजिक विषयको जानकारी हामीलाई हुँदैन ।

जस्तोः केही समय अगाडि मैले ‘रक्सी’को विज्ञापन गर्दै एउटा कन्टेन्ट बनाएँ । तर, मलाई थाह थिएन रक्सीको विज्ञापन गर्न पाइँदैन भन्ने कुरा । त्यसपछि विज्ञापन बोर्डले बोलाएर मलाई रक्सीको विज्ञापन गर्न पाइँदैन भनेर भन्यो । विज्ञापन बोर्डले मलाई कुन विषयको विज्ञापन गर्न पाइन्छ र कुन विषयको पाइँदैन भनेर बुझायो । त्यस उप्रान्त म जति पैसा आउने भएपनि रक्सीको विज्ञापन गर्दिनँ ।

अहिले सरकारकाले सामाजिक सञ्जालबारे कानुन ल्याउन खोजेको छ । नियमनका लागि कानुन चाहिन्छ । तर, कानुनका नाममा सामाजिक सञ्जाल चलाउनेहरूलाई सरकारले दबाउन खोज्नु भने ठीक होइन ।

सरकारले सबैभन्दा पहिला त सामाजिक सञ्जाल के हो, यसमा के गर्न पाइन्छ के गर्न पाइँदैन भनेर आम नागरिकलाई बुझाउनु पर्छ । आजको समयमा यो राज्यको दायित्व हो । यस्तो सचेतना कार्यक्रमका लागि सरकारका विभिन्न नियका छन् । ती सक्रिय हुनुपर्छ । यति धेरै कन्टेन्ट क्रियटरहरू छन् । सरकारले उनीहरूसँग सल्लाह, छलफल गरेर यस्तो सचेतना कार्यक्रम चलाउन सक्छ । सरकारले आग्रह गरेमा हामी कन्टेन्ट क्रियटरहरू यस्ता सचेतनामूलक भिडिओ सामग्री निःशुल्क पनि बनाउन तयार छौँ ।

सरकारले पहिला त आम नागरिकलाई सचेत बनाउने काम गर्नुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओली नै ‘कन्टेन्ट क्रियटर’हरूसँग भेटघाट गरिरहनुहुन्छ । उहाँले नै ‘कन्टेन्ट क्रियटर’लाई सामाजिक सञ्जालबारे सचेतना फैलाउन आग्रह गर्दा हुन्छ । केही समय अगाडि उहाँसँग मेरो पनि भेट भएको थियो । त्यो भेटमा उहाँले आफू जेल पर्दाका कुरा सुनाउनु भयो र केपी ओली कपको कन्टेन्ट बनाइदिन आग्रह गर्नुभयो । त्यसैगरी उहाँले वा सरकारी निकायले सामाजिक सञ्जालबारे चेतना जगाउने कन्टेन्ट बनाउन आग्रह गर्न सक्छन् । यस्ता कन्टेन्ट बनाउन कोही पनि कन्टेन्ट क्रियटरले नाइँ भन्दैनन् ।

म राजनीतिकभन्दा बढी व्यवसायीक र सामाजिक विषयमा कन्टेन्ट बनाउँछु । तर, राजनीतिक दलहरूलाई पनि सामाजिक सञ्जाल र कन्टेन्ट क्रियटरको शक्ति थाहा भइसकेको छ । २०७९ सालको चुनावमा मलाई राजनीतिक दलहरूले आफ्नो प्रचारप्रसारका कन्टेन्ट बनाइदिन आग्रह गरेका थिए । यस्ता कन्टेन्टका लागि उनीहरूले राम्रो पैसा पनि अफर गरेका थिए । मैले नाइँ भनेँ । त्यसपछि उनीहरूले प्रत्यक्ष नभएपनि ‘तपाईंको भिडिओमा देखिने गरी हाम्रो झण्डा, चुनाव चिह्न’ देखिए पनि हुन्छ भनेका थिए । तर, मैले कुनै पनि हालतमा राजनीतिक कन्टेन्ट बनाउँदिन भने ।

यीनै राजनीतिक दलहरूले पनि आ–आफ्नो तवरबाट सामाजिक सञ्जालको सही प्रयोगबारे चेतना फैलाउन सामग्री तयार गर्न सक्छन् । सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई तर्साउने, कस्ने गर्नुभन्दा पनि पहिला यसको बारेमा सबै जनतासम्म जानकारी पुर्‍याउनुपर्छ ।

आज म जस्ता धेरै ‘कन्टेन्ट क्रियटर’ छन्, जसको आम्दानीको मुख्य स्रोत सामाजिक सञ्जाल हो । धेरैले आज ‘कन्टेन्ट क्रियशन’लाई आफ्नो भविष्य बनाउन खोजिरहेका छन् । सामाजिक सञ्जालको ठूलो दुनियाँ छ । यसको आफ्नै ‘इको सिस्टम’ छ ।

धेरै कुरा त गर्दै जाँदा सिकिन्छन् । मैले केही समय अगाडि कन्सल्टेन्सीको प्रचार सामग्री बनाएँ । तर, विदेश जान प्रवर्द्धन गर्नु त राम्रो होइन भन्ने लाग्यो र आजभोलि कन्सल्टेन्सीको ‘कन्टेन्ट’ बनाउन छाडेँ ।

यस्ता कुराहरुहरु काम गर्दै जाँदा सिकिन्छन् । तर, सरकारले सामाजिक सञ्जाललाई रेस्ट्रिक्ट गर्न खोज्नु, बाँध्न खोज्नु ठीक होइन । यस्तो बन्धनले त क्रियटिभिटीमा असर गर्छ, कन्टेटलाई कमजोर बनाउँछ । बरु यसको सट्टा सुरुमा चेतना फैलाउने अनि खुला राखेर सरकारले नियमन गर्ने काम गर्नुपर्छ ।

सामाजिक सञ्जालमा नकारात्मकता फैलियो भन्ने गरिन्छ । तर, नेगिटिभिटी नफैलियोस् भनेर सरकारले के अप्रोच गरेको छ त ? केही पनि गरेको छैन । त्यसैले पहिला त सरकारले काम गर्नुपर्छ ।

सामाजिक सञ्जाललाई सरकारले नियन्त्रण गर्न खोजेपछि गणतन्त्र त अर्थै भएन नि ! नियन्त्रण गर्न खोज्नु त तानाशाही व्यवस्था भयो नि । गणतन्त्रमा पनि तानाशाही जस्तो व्यवस्था आयो भने त अर्थ नै रहेन । सबैभन्दा पहिला त सरकारले सचेतनाका लागि काम गर्नुपर्‍यो । त्यो गर्दा पनि भएन भने अनि कडा कानुन ल्याउनुपर्छ ।

सामाजिक सञ्जाल आज हामी सबैको समाचार, सूचना र ज्ञानको प्रमुख स्रोत हो । मेरो समाचार, सूचनाको स्रोत नै सामाजिक सञ्जाल हो । ‘रूटिन अफ नेपाल बन्द’देखि मुलधारका सञ्चारमाध्यम म सामाजिक सञ्जालमै हेर्ने गर्छु ।

सामाजिक सञ्जाल आजको पुस्ताको जीवनशैली हो । आजको सामाजिक जीवनको एक अभिन्न हिस्सा हो, सामाजिक सञ्जाल । धेरैले आज सामाजिक सञ्जालबाट आफ्नो व्यापार, व्यवसाय सञ्चालन गरेका छन् ।

‘कन्टेन्ट क्रियटर’का रूपमा मैले आफ्नो आम्दानी बढाउनेसँगै सामाजिक उत्तरदायित्वका काम पनि गरेकी छु । तर, सामाजिक उत्तरदायित्वका कुराहरु म धेरै सार्वजनिक गर्दिनँ । किनभने सामाजिक उत्तरदायित्व हरेक नागरिकको कर्तव्य हो । यो कर्तव्य पूरा गरेको प्रचार गरिरहनु पर्दैन ।

समाजमा विभिन्न मुद्दाहरू आइरहन्छन् । सामाजिक न्यायका सवालमा हरेक दिनजसो सामाजिक सञ्जालमा बहस भइरहन्छ । म सबै विषयमा बोल्दिनँ । किनभने सबै विषयको राम्रो जानकारी नभइकन बोल्दा ट्रोल भइन्छ । जुन विषयको मलाई पर्याप्त जानकारी छ र जुन विषयमा मैले बोल्नुपर्छ जस्तो लाग्छ त्यस्ता विषयमा मात्र बोल्छु । सबै विषयमा बोलिरहनुपर्छ जस्तो लाग्दैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register