भारत-पाकिस्तान युद्धविरामका लागि कसरी तयार भए ?

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव चर्किंदै जाँदा अमेरीकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘यो (भारत-पाकिस्तान युद्ध) हाम्रो मुख्य चासोको विषय होइन ।’ अमेरिका दुवै पक्षलाई पछाडि हट्न सुझाव दिन सक्ने भएपनि यो सङ्घर्षमा प्रत्यक्ष संलग्न हुन उपयुक्त नहुने उनले प्रष्ट पारेका थिए । तर, यसो भनेको २४ घण्टा नबित्दै […]

May 11, 2025 - 11:52
 0
भारत-पाकिस्तान युद्धविरामका लागि कसरी तयार भए ?

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव चर्किंदै जाँदा अमेरीकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘यो (भारत-पाकिस्तान युद्ध) हाम्रो मुख्य चासोको विषय होइन ।’

अमेरिका दुवै पक्षलाई पछाडि हट्न सुझाव दिन सक्ने भएपनि यो सङ्घर्षमा प्रत्यक्ष संलग्न हुन उपयुक्त नहुने उनले प्रष्ट पारेका थिए । तर, यसो भनेको २४ घण्टा नबित्दै उपराष्ट्रपति भान्स र विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियो भारत-पाकिस्तान युद्ध रोक्न प्रत्यक्ष रुपमै सामेल हुन बाध्य भए ।

भारतीय र पाकिस्तानी वायु सेनाबीच गम्भीर हवाई झडप भइसकेको थियो । पाकिस्तानले भारतीय भूमिमा ३०० देखि ४०० ड्रोन पठाएर भारतको हवाई सुरक्षा प्रणालीको परीक्षण गरेको जानकारी सार्वजनिक भएपछि अमेरिकी उच्च अधिकारीहरू थप सतर्क बने ।

तर, सबैभन्दा ठूलो चिन्ता भने शुक्रबार पाकिस्तानको रावलपिण्डीस्थित नुर खान एअर बेसमा भएको विस्फोटले उत्पन्न गरायो । नुर खान एअर बेस पाकिस्तानको सैन्य परिवहनको केन्द्रीय स्थल हो । यही एअरबेसबाट पाकिस्तानी लडाकु विमानहरूलाई इन्धन आपूर्ति गरिन्छ । यो एअर बेस पाकिस्तानको आणविक हतियारको सुरक्षा र व्यवस्थापन सम्हाल्ने स्ट्राटेजिक प्लान्स डिभिजनको मुख्यालय नजिकै छ । अहिले पाकिस्तानसँग करिब १७० वा सोभन्दा बढी आणविक हतियार रहेको अनुमान गरिएको छ ।

पाकिस्तानको आणविक कार्यक्रमका विषयमा लामो समयदेखि जानकारी राख्ने एक पूर्व अमेरिकी अधिकारीका अनुसार पाकिस्तानको सबैभन्दा ठूलो चिन्ता भनेकै उसको आणविक कमान्ड संरचना (nuclear command authority) को विनाश हुन्छ कि भन्ने हो । उनका अनुसार नुर खान एअर बेसमा भएको मिसाइल आक्रमणलाई पाकिस्तानले भारतले दिएको चेतावनीको रूपमा लियो । यो आक्रमणपछि पाकिस्तानले आफ्नो आणविक संरचना नै भारतको निशानामा परेको महसुस गर्‍यो ।

अहिलेसम्म अमेरिकी गुप्तचर संयन्त्रहरूसँग भारत पाकिस्तानको द्वन्द्व आणविक हतियार प्रयोगको तहमा पुग्न सक्थ्यो भनेर कुनै ठोस प्रमाण छ कि छैन भनेर सार्वजनिक भएको छैन् ।

तर, सार्वजनिक रूपमा भने पाकिस्तानका तर्फबाट मात्र आणविक हतियार प्रयोग गर्न सकिने सङ्केत देखिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअुनसार प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रिय कमान्ड प्राधिकरणको आकस्मिक बैठक बोलाएका थिए । राष्ट्रिय कमान्ड प्राधिकरणले आणविक हतियारको निर्णय गर्दछ ।

सन् २००० मा स्थापित राष्ट्रिय कमान्ड प्राधिकरणको औपचारिक अध्यक्ष प्रधानमन्त्री हुने भएपनि व्यवहारमा यसको नेतृत्व सेनाध्यक्ष जनरल सैयद आसिम मुनीरले गर्छन् । यसमा वरिष्ठ मन्त्रीहरू र सैनिक प्रमुखहरू सहभागी छन् ।

तर ,पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले उक्त बैठक बसेको भन्ने खबर अस्वीकार गरे । शनिबार युद्धविराम घोषणा हुनु अघि उनले एक टेलिभिजन अन्तर्वार्तामा आणविक हतियार प्रयोग गर्न सकिने विकल्प स्वीकार गरे तापनि भने, ‘हामीले यसलाई निकै टाढाको सम्भावना ठान्नुपर्छ, यसको चर्चासमेत गर्नुहुँदैन ।’

यसबीच, पेन्टागनमा भारत-पाकिस्तान द्वन्द्वको स्थितिबारे गम्भीर छलफल भैरहेको थियो । शुक्रबार बिहानसम्म ह्वाइट हाउसले सार्वजनिक वक्तव्य र केही फोन कलहरूले मात्र यो सङ्कट समाधान नहुने ठहर गरिसकेको थियो । साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको पहलले पनि भारत-पाकिस्तान द्वन्द्व मत्थर पार्न खासै प्रभाव पार्न सकिरहेका थिएनन् ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा भान्सले भनेका थिए, ‘जब आणविक शक्तिहरूबीच ठूला सङ्घर्ष हुन्छन्, हामीलाई निकै चिन्ता लाग्छ ।’ उनले थपे, ‘हामी यी पक्षहरूलाई तनाव घटाउन प्रेरित गर्न सक्छौं ।’

घटनासँग निकट रूपमा परिचित एक व्यक्तिका अनुसार सो अन्तर्वार्तापछि अमेरिकी प्रशासनमा भारत-पाकिस्तान द्वन्द्व नियन्त्रण बाहिर जानसक्छ गम्भीर चिन्ता उत्पन्न भयो ।

दुवै देशबीच आक्रमण र प्रतिआक्रमणको गति तीव्र भइरहेको थियो । सुरुमा भारतले लश्कर–ए–तैयबासँग सम्बन्धित आतङ्कवादी शिविरहरूमा मात्र आक्रमण केन्द्रित गरेको भएपनि पछि पाकिस्तानका सैनिक बेसहरू समेत निशानामा पर्न थाले ।

तनाव घटाउन पठाइएका अमेरिकी सन्देशहरू दुबै देशका शीर्ष नेतासम्म प्रभावकारी रूपमा पुगेका छैनन् भनेर ट्रम्प प्रशासनलाई डर थियो ।
त्यसैले अमेरिकी अधिकारीहरूले उपराष्ट्रपति भान्सलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै सिधा फोन गर्न निर्देशन दिए ।

भान्स (केही हप्ता अघि मात्र भारत भ्रमणबाट फर्किएका थिए । उनकी श्रीमती उषाका आमा–बुबा भारतीय आप्रवासी हुन्)ले मोदीलाई भारत-पाकिस्तान तनावबारे अमेरिकी मूल्याङ्कन सुनाए, ‘दुवै देशबीचको हिंसाले पूर्ण युद्धमा रुपान्तरण हुने सम्भावना उच्च छ ।’

अमेरिकी विवरणअनुसार भान्सले मोदीलाई थप आक्रमण नगरी वैकल्पिक उपायहरू अपनाउन आग्रह गरे । उनले यस्तो ‘अफ–र्‍याम्प’ (exit route) प्रस्ताव गरे, जुन अमेरिकी अधिकारीका अनुसार पाकिस्तानले पनि स्वीकार्न सक्ने सम्भावना थियो । यद्यपि, मोदीले भान्सको कुरा ध्यानपूर्वक सुने तर कुनै प्रतिबद्धता जनाएनन् ।

यसैबीच, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले पनि पाकिस्तानी सेनाध्यक्ष जनरल मुनीरसँग प्रत्यक्ष कुरा गरे । विगत २५ वर्षमा अमेरिकी राष्ट्रपतिले प्रायः चुपचाप पाकिस्तानी सेनासँग प्रत्यक्ष संवाद कायम राख्दै आएका छन्, किनभने पाकिस्तानको सबैभन्दा शक्तिशाली संस्था सेना हो ।

रुबियोले पाकिस्तानका विदेश मन्त्री इसहाक डार र भारतका विदेशमन्त्री एस. जयशंकरसँग पनि संवाद गरे । उनले यसअघि जनवरी २२ मा जयशंकरसँग वाशिङ्टनमा भेटेका थिए ।

यद्यपि, प्रारम्भिक रूपमा यी संवादहरूले कति प्रभाव पारे भन्ने कुरा स्पष्ट छैन । शनिबार राज्य विभागले ती संवादहरूको बारेमा विस्तृत रूपमा बताउने प्रेस ब्रिफिङ गरेन, केवल अत्यन्त संक्षिप्त विवरण मात्र सार्वजनिक गर्‍यो । तर, शुक्रबार बेलुकादेखि शनिबार बिहानसम्म भएको तीव्र संवादले युद्धविरामको आधार तयार गरेको देखिन्छ ।

एक वरिष्ठ पाकिस्तानी गुप्तचर अधिकारीकाअनुसार पछिल्ला ४८ घण्टामा अमेरिकाको सक्रियता, विशेषतः रुबियोको पहल, युद्ध टुङ्ग्याउन निर्णायक रह्यो । तर, शनिबार रातिसम्म पनि सीमामा गोलीबारी भइरहेको खबर आएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले एक्समा अमेरिकी राष्ट्रपतिको सक्रिय भूमिकाको खुलेर प्रशंसा गरे, ‘हामी राष्ट्रपति ट्रम्पको नेतृत्व र सक्रियताका लागि आभारी छौं । पाकिस्तानले यस शान्ति प्रयासमा अमेरिकाको भूमिका कदर गर्दछ ।’

तर, भारतले भने अमेरिकाको कुनै भूमिका रहेको औपचारिक रूपमा स्वीकार गरेको छैन ।

युद्धविराम स्थायी रहन्छ कि रहँदैन भन्ने कुरा अझै निश्चित छैन । दुवैतर्फ भएको क्षतिको कारण थप प्रतिशोध हुने खतरा बाँकी छ । केही रिपोर्टअनुसार पाकिस्तानले भारतका पाँच विमान खसालेको दाबी गरेको छ। (भारतले आफ्नो क्षतिको बारेमा औपचारिक टिप्पणी गरेको छैन ।)

वरिष्ठ पाकिस्तानी गुप्तचर अधिकारीका अनुसार भारत पाकिस्तानलाई उत्तेजित पारेर पाकिस्तानका एफ–१६ लडाकु विमानहरू प्रयोग गराउन चाहन्थ्यो, ताकि त्यसलाई खसालेर पाकिस्तानमाथि थप दबाब सृजना गर्न सकियोस् ।

पाकिस्तानले एफ–१६ विमानहरू अमेरिकाबाट खरिद गरेको हो । पाकिस्तान अझै पनि ‘प्रमुख गैर–नाटो साझेदार’ Major Non–NATO Ally) को हैसियतमा छ । पाकिस्तानलाई यो दर्जा सन् २००१ को सेप्टेम्बर ११ पछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुसले दिएका थिए ।

भारत-पाकिस्तान तनावलाई नजिकबाट नियालीरहेका अमेरिकी वरिष्ठ अधिकारीले निष्कर्ष निकाले, ‘अन्तिम क्षणमा राष्ट्रपतिबाट गरिएको पहलले दुवै देशलाई युद्धको डिलबाट फर्काउन सफल भयो ।’

बीबीसीका अुनसार भारत–पाकिस्तानबीच अमेरिकी मध्यस्थताले तनाव कम गराएको पहिलो घटना भने होइन । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो आत्मकथामा उल्लेख गरेअुनसार सन् २०१९ मा भएको भारत–पाकिस्तान तनाव पनि अमेरिकाकै मध्यस्थतामा रोकिएको थियो । उनका अनुसार त्यतिखेर पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेको थियो ।

यस पटकको द्वन्द्व रोक्ने प्रयास सफल हुनुमा वाशिङ्टन र दिल्लीबीच गहिरिँदो सम्बन्ध पनि प्रमुख कारण हो । मोदी र ट्रम्पबीचको व्यक्तिगत सम्बन्धसँगै अमेरिकाको रणनीतिक आर्थिक चासोले पनि आणविक शक्तिसम्म्पन्न दुई शक्तिको तनाव कम गर्न मद्धत गर्‍यो ।

-न्यूओर्क टाइम्स र बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register