कीर्ते गरी नक्कली कागजात बनाउने गिरोह पक्राउ
काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी तथा गैरसरकारी कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-९ फुसिंखेलमा सञ्चालन भइरहेको नक्कली कागजात बनाउने गिरोहको सूचनाको आधारमा काठमाडौं उपत्यकाको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले छापा मारी तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामा २६ वर्षीया अञ्जली बयलकोटी, २८ वर्षीय निर्मल खड्का र २३ […]

काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी तथा गैरसरकारी कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका-९ फुसिंखेलमा सञ्चालन भइरहेको नक्कली कागजात बनाउने गिरोहको सूचनाको आधारमा काठमाडौं उपत्यकाको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले छापा मारी तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामा २६ वर्षीया अञ्जली बयलकोटी, २८ वर्षीय निर्मल खड्का र २३ वर्षीया अञ्जु खत्री छन् ।
प्रहरी अनुसन्धानअनुसार उनीहरुले विगत ४ वर्षदेखि विभिन्न सरकारी तथा शैक्षिक संस्थाको नक्कली प्रमाणपत्र, नागरिकता, जन्मदर्ता, विवाह दर्ता, चरित्र प्रमाणपत्र, मेडिकल कार्डलगायतका कागजातहरू नक्कली रुपमा तयार गरी बिक्री गर्दै आएका थिए । उनीहरुले प्रति कागजात १ हजार रुपैयाँदेखि १५ हजारसम्म शुल्क लिने गरेको खुलेको छ ।
गिरोहको प्रयोगशालाबाट प्रहरीले थुप्रै प्रमाणसहितका सामाग्रीहरू बरामद गरेको छ । जसमा विभिन्न प्रमाणपत्रहरू, मोनिटर, प्रिन्टर, माउस, स्टाम्प मेशिन, डाइ कटिङ मेसिन, विभिन्न प्रकारका स्टाम्प र मेडिकल कार्ड बनाउने सामाग्रीहरू छन् ।
उनीहरुले विशेषगरी डिपेन्डेन्ट भिसा तथा स्टुडेन्ट भिसाका लागि आवश्यक पर्ने विवाह दर्ता प्रमाणपत्र, शैक्षिक संस्था सम्बन्धित स्टेटमेन्ट, बैंक लोनका लागि आवश्यक झुठा दस्तावेजहरू बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
What's Your Reaction?






