क्यानका प्रदेश समितिमा विवादः लुम्बिनीमा अध्यक्ष हटाइए, सुदूरपश्चिममा विशेष साधारणसभाको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का प्रदेश समितिहरूमा विवाद उत्कर्षमा पुगेको छ । लुम्बिनी प्रदेश समिति र सुदूरपश्चिम प्रदेश समितिमा विवाद बढेको हो । लुम्बिनीमा विवाद बढेपछि विशेष साधारणसभाबाट अध्यक्ष हटाइएका छन् । अध्यक्ष सञ्जय गुरुङविरुद्ध उपाध्यक्ष विनयराज भण्डारीको प्रस्तावमा ल्याइएको अविश्वास प्रस्ताव विशेष साधारणसभाबाट पारित भएसँगै उनी पदमुक्त भएका छन् । शनिबार कपिलवस्तुमा […]

May 18, 2025 - 06:39
 0
क्यानका प्रदेश समितिमा विवादः लुम्बिनीमा अध्यक्ष हटाइए, सुदूरपश्चिममा विशेष साधारणसभाको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का प्रदेश समितिहरूमा विवाद उत्कर्षमा पुगेको छ । लुम्बिनी प्रदेश समिति र सुदूरपश्चिम प्रदेश समितिमा विवाद बढेको हो । लुम्बिनीमा विवाद बढेपछि विशेष साधारणसभाबाट अध्यक्ष हटाइएका छन् । अध्यक्ष सञ्जय गुरुङविरुद्ध उपाध्यक्ष विनयराज भण्डारीको प्रस्तावमा ल्याइएको अविश्वास प्रस्ताव विशेष साधारणसभाबाट पारित भएसँगै उनी पदमुक्त भएका छन् ।

शनिबार कपिलवस्तुमा भएको लुम्बिनी प्रदेशको विशेष साधारणसभाबाट गुरुङ हटाइएपछि उपाध्यक्ष भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । साधारणसभामा ४० जना प्रतिनिधिमध्ये ३८ जना उपस्थित थिए । उनीहरू सबैले गुरुङविरुद्ध ल्याएको अविश्वास प्रस्तावको समर्थन गरेका थिए ।

यसरी लुम्बिनीमा विवादपछि अध्यक्ष हटाइँदा उता सुदूरपश्चिममा भने १३ सदस्यीय कार्यसमितिका ११ जनाले अध्यक्ष वासुदेव जोशीसँग काम गर्न नसकिने बताएका छन् । उनीहरूले क्यान केन्द्रीय समितिमा राजीनामासमेत बुझाएका थिए । तर, सो राजीनामा भने अस्वीकृत गरिएको क्यानका केन्द्रीय सदस्य विक्रम विष्टले बताए । उनलाई केन्द्रले प्रदेशको विवाद समाधानका लागि ४५ दिनको जिम्मेवारीसमेत दिएको छ ।

विष्टले प्रदेशमा देखिएको विवाद समाधानका लागि प्रयास भइरहेको बताए । उनले नेपाल भ्युजसँग भने, ‘विवाद समाधानको नजिक छौँ । एक दुई दिनभित्रै केन्द्रमा प्रतिवेदन बुझाउँछौँ ।’

विष्टले विवाद समाधाननजिक रहेको बताए पनि अध्यक्षसँग काम गर्न नसकिने भन्दै राजीनामा दिएका मध्ये एक सचिव लक्ष्मण भट्टले विशेष साधारणसभाको तयारी भइरहेको बताए । उनले भने, ‘हामी जोशीसँग अब काम गर्न सक्दैनौँ । विशेष साधारणसभाको तयारी भइरहेको छ । एक दुई दिनमै त्यसबारे निर्णय हुन्छ ।’

उता आफ्नो समितिका ११ जनाले राजीनामा दिएको विषयमा भने अध्यक्ष जोशीले असन्तुष्टि व्यक्त गरे । उनले आफूसँग कुनै कुरा नगरी सिधै केन्द्रमा राजीनामा बुझाइएको बताए । उनले भने, ‘हाम्रो समितिमा राजीनामा आएको छैन । सिधै केन्द्रमा बुझाउनु भएको रहेछ । त्यो पनि केन्द्रले स्वीकृत गरेन ।’

आफूसँग के कुरामा चित्त नबुझेको हो त्यो खुला रूपमा भन्न उनले चुनौती दिए । उनले भने, ‘उहाँहरूले मेरो के कुरामा चित्त बुझाउनु भएन, भन्न सक्नुपर्‍यो । त्यो उहाँहरूले भन्न सक्नु भएको छैन ।’  केन्द्रीय सदस्य विष्टले दुईपटक छलफल गरेको र सो छलफलका क्रममा पनि राजीनामा दिएकाहरूले के कुरामा विवाद हो भन्न नसकेको जोशीले बताए ।

तर राजीनामा दिएका भट्टले भने अध्यक्ष जोशी एकलौटी रूपमा अगाडि बढेको र आर्थिक पारदर्शिता पनि नदेखाएको आरोप लगाए । उनले भने, ‘उहाँको कार्यशैली नै ठीक भएन । कुनै पनि कुरा पारदर्शी भएन ।’

सुदूरपश्चिम प्रदेश समितिमा विवाद भने करिब डेढ वर्षअघि नै सुरु भएको थियो । पछिल्लोपटक प्रदेश समितिले प्रदेश टिम घोषणा गर्दा विवादले उग्र रूप लिएको हो । अध्यक्षले टिम घोषणामा एकलौटी गरेको अन्य पदाधिकारी तथा सदस्यहरूको आरोप छ । तर यो आरोप अध्यक्ष जोशीले भने स्वीकार गरेनन् । उनले सेलेक्सन कमिटीबाट आएको नाम नै टिममा समावेश गरिएको बताए ।

क्यानका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले प्रदेश समितिमा देखिएको विवाद क्यानको विधानअनुसार नै समाधान गरिने बताए । उनले क्रिकेटको विकासका लागि सबैले मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register