इन्दुले निर्णायक क्षणमा पाएको फुल टस बलमा प्रहार गरेको चौका

काठमाडौं । यूएईलाई ५ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटबाट ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । अब विश्वकपमा पुग्न नेपाल मात्र एक कदम टाढा छ । थाइल्यान्डको बैंककमा सोमबार भएको विश्वकप महिला टी–२० एसिया छनोटको सुपर थ्रीको खेलमा यूएईमाथि ५ विकेटको रोमाञ्चक जित हासिल गर्दैै नेपालले ग्लोबल छनोटको यात्रा तय […]

May 19, 2025 - 08:51
 0
इन्दुले निर्णायक क्षणमा पाएको फुल टस बलमा प्रहार गरेको चौका

काठमाडौं । यूएईलाई ५ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटबाट ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । अब विश्वकपमा पुग्न नेपाल मात्र एक कदम टाढा छ ।
थाइल्यान्डको बैंककमा सोमबार भएको विश्वकप महिला टी–२० एसिया छनोटको सुपर थ्रीको खेलमा यूएईमाथि ५ विकेटको रोमाञ्चक जित हासिल गर्दैै नेपालले ग्लोबल छनोटको यात्रा तय गर्‍यो ।

यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । पावर प्लेमा नै पहिलोविकेट गुमाएपछि नेपालको ब्याटिङ केही दबाबमा आएको थियो ।

सुरुवाती ३ विकेट गुम्दा नेपालमाथि संकट मडारिएको थियो । ५.३ ओभरमा व्यक्तिगत ८ रनमा राजमती ऐरीमा आउट भएपछि ओपनिङ जोडी टुट्यो ।

लगत्तै ७.४ ओभरमा अर्की ओपनर सम्झना खड्का २१ रन बनाएर आउट भइन् ।  यसबेला स्कोर बोर्डमा नेपालले २८ रन जोडेको थियो । यसपछि ८.१ ओभरमा कविता कुँवर ५ रन बनाएर आउट भइन् ।

१२.३ ओभरमा पूजा महतो व्यक्तिगत १३ रनमा आउट भइन् । १७.५ ओभरमा पिचमा टिकिसकेकी रुबिना क्षेत्री २३ रनमा आउट हुँदा नेपालको जित र हार दाउमा लाग्यो । पाँचौं विकेटका रुपमा रुबिना आउट हुँदा नेपालले ९९ रन बनाइसकेको थियो । यसपछि नेपाललाई जितका लागि १३ बलमा १६ रन आवश्यक थियो ।
क्रिजमा थिइन् कप्तान इन्दु बर्मा र विकेट किपर ब्याटर रुबी पोद्दार । १८ औं ओभर सकिँदा इन्दु २० तथा रुबी २ रनमा अविजित थिए ।

१९ औं ओभरमा नेपाल १० रन जोड्न सफल भयो । सो ओभरको पाँचौं बलमा इन्दुले चौका प्रहार गरिन् । अन्तिम बलमा भने नेपालले कुनै रन जोड्न सकेन । १९ ओभर सकिँदा नेपालले ५ विकेट गुमाएर १११ रन जोडिसकेको थियो ।

जितका लागि आवश्यक थियो अब केवल ४ रन । तर, यूएई यो ४ रन सहजै दिने योजनामा भने पक्कै थिएन । बलिङमा आइन् यूईकी इशा ओजा र स्ट्राइकमा थिइन् नेपालकी पोद्दार ।

पहिलो बलमा पोद्दारले स्टेट ड्राइभमा एक रन लिइन् । स्ट्राइकमा आइन् इन्दु ।

दोस्रो बल इशाले फुल टस दिइन्, क्रिजमा जमिसकेकी इन्दुले लामो सर्ट प्रहार गरिन्  । तर, बलले बाउन्ड्री छुन सकेन । तर दुई रन भने लिइन् । स्कोर टाइ भयो । डगआउटमा बसेका नेपाली खेलाडीहरू विजयी रनको पर्खाइमा थिए । मैदानमा रहेका नेपाल समर्थक दर्शकमा पनि खुसीको माहौल बन्यो ।

अब नेपाललाई जितको लागि केवल १ रन चाहिएको थियो । इशाले तेस्रो बल पनि फुल टस दिइन् । इन्दु योपटक चुकिनन् । उनले चौका प्रहार गरिन् । उनको यो चौका केवल चौका मात्र थिएन, नेपाललाई ग्लोबल छनोटमा पुग्ने ढोकाको साँचो बन्यो । ।

संघर्षरत बलिङ पछि नेपालको कमब्याक

यसअघि यूएईले ब्याटिङ गर्दा नेपालले पहिलो विकेट लिन १० ओभरसम्म कुर्नुपरेको थियो । जुन नेपालका लागि चुनौतीपूर्ण लक्ष्य बन्ने अवस्था सिर्जना भएको थियो । त्यहाँसम्म पुग्दा यूएईले ४५ रन जोडिसकेको थियो । विकेट नलिए पनि नेपालले रन गतिमा भने यिन्त्रण गरेको थियो । १० औँ ओभरको अन्तिम बलमा नेपालले पहिलो विकेट लियो । अनि लगातार सफलता पायो । १२.४ मा दोस्रो, १४.१ मा तेस्रो विकेट नेपालको पोल्टामा पर्‍यो ।

यसपछि हरेक ओभरमा नेपालले १ विकेट लियो । नेपालले चौथो १७, पाँचौं १८.३ मा, छैंटौं १९.४ र सातौं विकेट २० ओभरमा लिन सफल भयो । नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिँदा कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।

सुपर थ्रीमा नेपालले अर्को खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register