बेच्न ग्राहक नपाएको कतारी विमान अमेरिकालाई उपहार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एयर फोर्स वानको समस्या तत्कालै समाधानको पक्षमा थिए । अमेरिकाले सन् २०१८ मा बोइङसँग ३.९ अर्ब डलर बराबरको सम्झौता गरेको थियो । उक्त रकममा बोइङले अमेरिकालाई दुई एयर फोर्स वान उपलब्ध गराउनुपर्ने थियो । सन् २०२४ भित्रको समय सीमा तोकिए पनि विमान बन्न सकेन । बोइङले समयमै विमान हस्तान्तरण […]

May 21, 2025 - 06:32
 0
बेच्न ग्राहक नपाएको कतारी विमान अमेरिकालाई उपहार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एयर फोर्स वानको समस्या तत्कालै समाधानको पक्षमा थिए । अमेरिकाले सन् २०१८ मा बोइङसँग ३.९ अर्ब डलर बराबरको सम्झौता गरेको थियो । उक्त रकममा बोइङले अमेरिकालाई दुई एयर फोर्स वान उपलब्ध गराउनुपर्ने थियो । सन् २०२४ भित्रको समय सीमा तोकिए पनि विमान बन्न सकेन ।

बोइङले समयमै विमान हस्तान्तरण गर्न नसकेपछि ट्रम्पले ३५ वर्षअघिकै एयर फोर्स वानमा सवार गर्नुपर्‍यो । उक्त विमानले जर्ज डब्लू बुसलाई पनि बोकेको थियो । विमान परिवर्तन रहरको विषय मात्रै थिएन । ३५ वर्षअघिको एयर फोर्स वान वृहत र निरन्तर मर्मत गर्नुपर्ने भएपछि त्यसको प्रतिस्थापनको माग पनि भइरहेको थियो ।

यो पृष्ठभूमिमा ट्रम्पले पनि नयाँ प्लेन चाहेका थिए । ‘संयुक्त राज्य अमेरिकासँग निकै आकर्षक विमान हुन जरुरी छ,’ उनी भन्थे ।

ट्रम्प प्रशासनले गत साता कतारले उपहार दिएको  सुविधायुक्त बोइङ ग्रहण गर्‍यो । उपहार ग्रहणअघि वासिङ्टन र दोहाका प्रतिनिधिबीच एक सातासम्म व्यापक छलफल भयो । दोहासँग बोइङ उपहार लिने वार्तामा मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टेभन विटकफको विशेष भूमिका थियो ।

दोस्रो कार्यकालका लागि ट्रम्पले पदभार ग्रहण गरेसँगै रक्षा मन्त्रालयका अधिकारीहरूले ट्रम्पले नयाँ बोइङ लिन सक्ने बताइरहेका थिए । बोइङले विमान उपलब्ध नगराउँदाका बखतसम्मको प्रयोगका लागि विमान खरिद गर्ने योजनामा ट्रम्प थिए । ११ मे मा ट्रम्पले सामाजिक सञ्जालबाट कतारले विमान उपहार दिन लागेको कुरा खुलाए । ‘एक उपहार, विना कुनै शुल्क,’ उनले लेखका थिए ।

ट्रम्पले कतारको उपहार ग्रहण गरेसँगै बोइङ र अमेरिकी सरकारबीचको सम्झौता अब के होला भन्ने अन्योल छ । ट्रम्पको दोस्रो कालको अन्त्य अगावै बोइङले विमान उपलब्ध गराउला वा नगराउला भन्ने संशय छ ।

जहाज ग्रहण गर्ने ट्रम्पको निर्णयको डेमोक्र्याट र रिपब्लिकन दुवैले नैतिक प्रश्न उठाइरहेका छन् । ट्रम्प स्वयं उपहार लिन चाहन्थे वा कतारीहरूले ट्रम्प प्रशासनलाई प्रभावमा पार्नका लागि उक्ति विमान दिए भन्ने प्रश्न अहिले उठिरहेको छ ।

विमान खरिद गर्ने बहस भइरहेको समयमै कतारले उपहारको प्रस्ताव गर्नु संयोग मात्रै नहुन सक्छ भन्ने संशय पनि बढेको छ । कतारले उक्त उपहारमा कुनै स्वार्थ नरहेको बताएको छ भने ट्रम्पले आफ्नो कार्यकाल समाप्तिपछि उक्त उपहार प्रयोग नगर्ने बताएका छन् ।  राष्ट्रपतिको भ्रमण ह्वाइट हाउसको सैन्य कार्यालयले हेर्छ । उक्त कार्यालयले रक्षा मन्त्रालयसँग बोइङ-७४७ को बजारमा उपलब्ध नयाँ मोडलको विषयमा छलफल गरेको थियो । यो सिरिजको आठवटा मात्रै नयाँ मोडल रहेको पाइयो । त्योमध्ये कतारसँग डबल डेकर आकर्षक जेट रहेको पाइयो ।

उक्त जेट बेच्नका लागि कतारले निकै बल गरेको खुलेको छ   । तर कतारले विमान खरिदका लागि ग्राहक नै पाइरहेको थिएन ।

उक्त विमानको विज्ञापन ब्रोसरमा विमान निकै आरामदायी मात्रै नभएर निकै कलात्मक र  सम्भ्रान्त डिजाइन प्रस्तुत गरिएको थियो । यही मोडलको विमान कतारी राजाले सन् २०१८ मा टर्कीका राष्ट्रपति रिसेप तइप एद्रोगानलाई उपहार दिएका थिए । तर यो दोस्रो मोडल विक्रीकै लागि राखेको थियो ।

विटकफ ट्रम्पका पुराना मित्र हुन् । कतारबारे उनको राम्रो दक्खल छ । त्यसैले, उक्त विमानबारे विटकफले कतारीहरूसँग जिज्ञासा राख्न थाले ।

पहिलो झलकमै विमानप्रति ट्रम्पको आकर्षण

यो विमानको अनुगमन ट्रम्पले गत फेब्रुअरीमै गरेको खुलेको छ । फ्लोरिडाको एक रिसोर्टमा उनले उक्त विमान हेरेका थिए । फेब्रुअरी १५ शनिबारका दिन उक्त विमान फ्लोरिडाको रिसोर्ट नजिकैको विमानस्थलमा अवतरण गरेको थियो । उनले बिहान १० बजे कुनै समय कतारी राजपरिवारले प्रयोग गरेको विमानको अवलकोन गरेका थिए । डबल डेकर रहेको प्लेनमा माथिल्लो डेकमा लाउन्ज र सञ्चार केन्द्र रहेको छ । यस्तै बेडरूमलाई आपतकालीन अवस्थामा मेडिकल युनिटमा परिवर्तन गर्नसक्ने सुविधा छ । स्टाफका लागि बिजनेस क्लासमा १२ वटा अति आरामदायी सिट छन् ।

एरोस्पेस इन्जिनियर मार्क फोल्करोडले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘यो निकै आकर्षक र आरामदायी विमान हो । बोइङको यो विशेष भीआइपी भर्सन हो । यो विमानका निकै कम खरिदकर्ता छन् ।’

विमान व्यापारिक प्रयोजनका लागि नभएकाले मुख्य एयरलाइन्स कम्पनीहरूले विमान खरिदका लागि इच्छा प्रकट गरेनन् । यो मोडलका विमान राज्य प्रमुखका प्रयोगका लागि पनि हाल त्यति लोकप्रिय छैनन् ।  यो विमानमा चार इन्जिन छन् । यसको सञ्चालन खर्च निकै महँगो छ भने पाटपुर्जा पाउन पनि उत्तिकै कठिन छ । यो मोडलको विमान उत्पादन नै हुन छोडेको छ ।

ट्रम्पलाई देखाउनै लागि दोहाबाट फ्लोरिडा पठाउँदा विमानको सञ्चालन खर्च प्रतिघण्टा २५ हजार डलर थियो । यो किसिमको विमान चार्टरको खर्च पनि प्रति घण्टा ३० हजार डलर छ । ३० घण्टा जहाज उड्दा मात्रै त्यसको खर्च १० लाख डलर हाराहारी हुन्छ । दोहाबाट विमान फ्लोरिडा ल्याएर ट्रम्पले बोइङलाई राष्ट्रपतिको भ्रमण प्रयोजनका लागि विमान छिटो बनाउन बोइङलाई दबाब दिएको बुझिएको थियो ।

जसै ट्रम्पले विमान नियाले, उनी एक झलकमै आकर्षित भए । वासिङ्टन फर्किँदा उनी एयर फोर्स वान ७४७ मै फर्किए । कतारी जहाजको भित्री आवरणमा उनी आकर्षित भए । यसमा पेन्ट गरेर केही परिमार्जन गरेपछि एक वर्षभित्र विमान ट्रम्प उड्ने गरी तयार हुनेछ । यो विमान उपहार ग्रहण गर्ने भएसँगै अमेरिकाका लागि बोइङसँग गरेको सम्झौता र खर्च दोस्रो प्राथमिकतामा परेको छ । एलोन मस्कलाई बोइङलाई विमान छिटो हस्तान्तरण गर्ने जिम्मेवारीका लागि खटाइएको छ । तर बोइङले २०२७ अघि विमान दिन नसक्ने प्रस्ट पारेको छ ।

कतारले यो विमान सन् २०२० देखि बेच्न खोजेको थियो । सन् २०१२ मा बोइङले कतारलाई हस्तान्तरण गरेको उक्त बोइङको मूल्य तत्कालीन अवस्थामा १८० करोड अमेरिकी डलर बराबरको थियो । कतारी अधिकारीहरूले उक्त बोइङ विक्री नै हुने अपेक्षा राखेका थिए । तर अन्तिममा उपहारमा दिनुपर्ने अवस्था आइलाग्यो ।

प्रश्नको घेरामा उपहार

फेब्रुअरी १५ मा ट्रम्पले विमान हेरेसँगै विमान कसरी लिने भन्ने विषयमा बहस भएको थियो । ट्रम्पले आफ्ना निकट सहयोगीहरूमार्फत  दानमा लिने गरी सरकार-सरकारबीच छलफल अघि बढाए । यसले एयर फोर्स अधिकारीहरू आश्चर्यमा परे । कसैले नैतिक प्रश्न उठाउँदै स्वीकार गर्न नहुने बताए । कसैले उपहार नै हो भने अस्वीकृत गर्नुपर्ने कारण नरहेको उल्लेख गरे ।

कतार र अमेरिकाबीच निकै घनिष्ठ सम्बन्ध पनि छ । मध्यपूर्वको ठूलो अमेरिकी हवाई अड्डा त्यहीँ छ । दुवै मुलुकले एकआपसबीच राम्रै कारोबार पनि गर्छन् । सन् २००३ मा कतारले अमेरिकी हवाई अड्डा निर्माणका लागि ८ अर्ब डलर लगानी गरेको थियो । गत जनवरीको अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी सैन्य अपरेसनका लागि कतारको सहयोग र लगानी समर्थनयोग्य  छ ।’

आफ्ना प्रतिद्वन्द्वीहरूलाई दबाबमा राख्न कतारले अमेरिकी सैन्य परियोजनामा लगानी गरिरहेको अमेरिकी सैन्य अधिकारीहरू बताउँछन् । ट्रम्पको कतार भ्रमणका बखत कतारमा रहेको अमेरिकी हवाई अड्डाका लागि थप १० अर्ब डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता कतारले व्यक्त गरेको छ । गल्फ राज्यसँग विटकफको पनि राम्रो सम्बन्ध छ । विटकफको छोराको विवाहमा कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलारहमान अल थानी पुगेका थिए । टकर कार्ल्सनसँगको अन्तर्वार्तामा विकटफले कतारका प्रधानमन्त्री  शेख मोहम्मदसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको खुलाएका थिए ।

नैतिक र व्यापारिक कठिनाइ

कतारले अमेरिकालाई विमान उपहार दिने विषयमा निकै विरोध भएको थियो । विशेष व्यक्तिको प्रयोगका लागि अमेरिकाले ग्रहण गर्न लागेको यो सबैभन्दा ठूलो उपहार थियो । संसदीय अनुमति बेगर उपहार ग्रहण गर्न लागेको भन्दै कडा विरोध पनि भयो ।  डेमोक्र्याटिक सांसदसँगै सुशासनको वकालत गर्नेहरूले नैतिक प्रश्न उठाए । ट्रम्पले भने उक्त उपहार रक्षा मन्त्रालयलाई दिएको र आफूलाई व्यक्तिगत नभएको भन्दै बचाउ गरिरहेका छन् । अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनले पुरानो एयर फोर्सको विमान अझै पनि डिस्प्लेमा रहेको भन्दै उनले आफ्नो कार्यकालपछि उक्ति उपहार पनि डिस्प्लेमा राख्न सकिने बताएका छन् ।

कतारी अधिकारीहरूका अनुसार उक्त विमान अमेरिका पुर्‍याउनेबारे दुवै पक्षका कानुनी अधिकारीहरूले काम गरिरहेका छन् । उपहारमा सर्त रहे/नरहेको केही खुलेको छैन । भविष्यमा उक्त उपहार ट्रम्पले व्यक्तिगत दाबी गरे भने के गर्ने भन्ने कुरा पनि प्रस्ट छैन । नैतिक विषयका कारणले मात्रै उपहार अमेरिका भित्र्याउन जटिलता निम्त्याएको होइन ।

यदि यो विमान भित्र्याए पनि यसको प्रयोग सहज नरहेको अधिकारीहरूको मत छ । हालको एयर फोर्स वान उत्पादनका निम्ति बोइङले पाँच वर्ष खर्चेको थियो । सञ्चार क्षमता, सुरक्षा प्रविधि र प्रतिरक्षा प्रणालीका हिसाबले हालको विमान निकै शक्तिशाली छ । एयर फोर्स वानमा देखा परेका स-साना समस्या पनि समाधान गरिएको छ । कतारी विमान विलासी त छ, सुरक्षाको दृष्टिकोणले बलियो छैन । हालको एयर फोर्स वानका सबै सुविधा त्यसमा राख्नका निम्ति निकै खर्चिलो छ । रेट्रोफिटका लागि पनि १ अर्ब डलर खर्च गर्नुपर्ने पेन्टागनका अधिकारीहरू बताउँछन् ।

एरोनेटिक्स इन्जिनियर फ्लकरोड भन्छन्-‘अर्को विमान उपहारका रूपमा लिएर राष्ट्रपति सवारीको विमान बनाउने कुरा नै हास्यास्पद छ । पुरानोलाई ल्याएर सुविधायुक्त बनाउनेभन्दा नयाँमा नै सुविधा थप गर्नु बुद्धिमानी हुन्छ,’ उनले भने ।

द टाइम्सका अनुसार कतारी विमान हाल टेक्ससस्थित सेन एन्टोनियोमा छ । त्यसको सञ्चालनका लागि  संसद्ले कुनै प्रस्ताव पारित गरेको छैन । संसद्ले कतारसँगको सम्झौता जाँचबुझ गरेर निर्णय लिनेछ । ह्वाइटहाउस अधिकारीहरूका अनुसार कतारले उपहार दिएको उक्त विमान मर्मतका लागि एल थ्री ह्यारिसलाई ठेक्का दिने तयारी गरिएको छ । त्यसको मर्मतको खर्च भने सार्वजनिक भएको छैन ।

ट्रम्पले त्यसमा केही केही सुरक्षा प्रणाली  नराख्ने प्रस्ताव गर्दा रक्षा अधिकारीहरूले अस्वीकार गरेका थिए । एयर फोर्स वान युद्धकालीन प्रतिरक्षाको दृष्टिकोणले तयार गरिएकाले सम्पूर्ण सुरक्षा प्रणाली त्यसमा राख्नुपर्ने रक्षा अधिकारीहरूको तर्क छ । कतारी प्रधानमन्त्री शेख मोहम्मदले मित्र राष्ट्रलाई दिएको उपहार अन्यथा नबुझ्न अनुरोध गरिरहेका छन् । ‘अमेरिकालाई प्रभाव पार्नुपर्ने हामीसँग कुनै कारण छैन । मित्रता दुवैको हितमा हुनुपर्छ,’ प्रधानमन्त्री शेखले भनेका छन् ।

एयर फोर्समा काम गरेका एन्ड्रु हन्टरका अनुसार उक्त विमान स्वीकार गरेको खण्डमा पनि मर्मतका लागि निकै खर्चिलो हुनेछ । सञ्चालनका लागि क्रु मा मात्रै प्रतिवर्ष ३७ लाख डलर खर्च हुनेछ । यसको वार्षिक सञ्चालन खर्च नै १३४ अर्ब डलर रहनेछ ।  ‘कुनै पनि राज्य वा एयरलाइन्स कम्पनीले यो विमान सञ्चालनको हिम्मत गर्नेछैन । यो विमानको सञ्चालन खर्च असाध्यै महँगो छ,’ उनले भने ।

न्युयोर्क टाइम्सबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register