पोखरा विमानस्थल : दुई वर्षमा २२ वटा अन्तर्राष्ट्रिय चार्टड उडान, ६६३ यात्रु आवतजावत

एकातिर अपेक्षित हिसाबले अन्तर्राष्ट्रिय उडान नहुनु अर्कोतिर संसद्‌को सार्वजनिक लेखा समितिको प्रतिवेदनले ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको ठहर गर्नुले विमानस्थलको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

Jun 14, 2025 - 03:41
 0
पोखरा विमानस्थल : दुई वर्षमा २२ वटा अन्तर्राष्ट्रिय चार्टड उडान, ६६३ यात्रु आवतजावत

काठमाडौं । पर्यटकीय क्षेत्र पोखरामा नागरिक स्तरबाट निरन्तर दबाबपछि अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण त भयो, तर अपेक्षा अनुरूप अन्तर्राष्ट्रिय उडान भर्न र सञ्चालन हुन नसक्दा निराशाजनक अवस्थामा पुगेको छ । चिनियाँ कम्पनीले पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि व्यावसायिक हिसाबमा नियमित आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।

एकातिर अन्तर्राष्ट्रिय उडान भर्न नसकेर निराशाजनक अवस्थामा पुगेको विमानस्थल अर्कोतिर निर्माण प्रक्रियामा भएको भ्रष्टाचारको विषयलाई लिएर थप विवादमा तानिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले  राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदन अनुसार विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि नै व्यापक अनियमितता भएको छ । प्रारम्भिक लागत अनुमान १४ अर्ब नेपाली रुपैयाँ रहेकोमा चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङसँग सम्झौता गर्दा लागत २२ अर्ब पुर्‍याइएको थियो । यसरी लागत बढाउनु नै भ्रष्टाचारको सुरुवात भएको प्रतिवेदनको ठहर छ । समितिले अहिले प्रतिवेदनका आधारमा यसबारे अनुसन्धान गरी मुद्दा अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले निर्माण प्रक्रियामा नै समस्या देखिएकाले अन्तर्राष्ट्रिय उडान हुन नसकेको र यसले मुलुकलाई ऋणको भार मात्रै थपिने बताउँछन् । ‘विमानस्थलको निर्माणमै भ्रष्टाचार भएको र प्राविधिक रूपमा पनि राम्रो काम नगरिएको हुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन,’ पूर्वपर्यटनमन्त्री आले भन्छन्, ‘नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि त्यसको ऋण कसरी तिर्ने ? ऋण तिर्न नसकेपछि त्यो त त्यत्तिकै घाँडो हुन्छ ।’

आले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थलको भ्रष्टाचार सम्बन्धी छिटो अनुसन्धान गर्नुपर्ने बताउँछन् । विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै उनले भने, ‘त्यसको सुरुदेखि नै भ्रष्टाचार भएको छ । त्यस कारण कहाँ कहाँ भ्रष्टाचार भएको छ छानबिन गर्नुपर्छ । त्यसपछि मात्र यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ ।’

प्रतिवेदनले विमानस्थलमा ठूला विमानको सहज आवागमनका लागि भनेर छिनेडाँडा कटानमा ३२ करोड २ लाख छुट्टै भुक्तानी भएको र कर छुटको नाममा २ अर्ब २२ करोड ४० लाख अनियमितता भएको ठहर छ । चिनियाँ कम्पनीले २०७४ सालबाट निर्माण थालेर २०७८ को चैतमा नै विमानस्थल नेपाललाई हस्तान्तरण गरेको थियो । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको समयमा  तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा तत्कालीन परराष्ट्रमन्त्री  नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए । त्यति बेला विमानस्थलको निर्माण कार्य ९३ प्रतिशत मात्रै सम्पन्न भएको थियो । जबकि, औपचारिक उद्घाटन भने त्यसको करिब एक वर्षपछि २०७९ पुस १७ गते मात्रै गरिएको थियो ।

उद्घाटन भएको करिब ६ महिनापछि २०८० असार ६ गते पहिलो अन्तर्राष्ट्रिय उडान भएको थियो । त्यो पनि चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण टोलीसहित १३० जनालाई चीनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए ३१९ जहाजमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो । त्यसयता पनि केही चार्टड उडान भए पनि व्यावसायिक उडानको भने टुङ्गो लाग्न सकेको छैन ।

अन्तर्राष्ट्रिय उडानमा निराशाजनक अवस्था

२०७९ पुस १७ मा उद्घाटन भएर २०८० असार ६ गते पहिलो अन्तर्राष्ट्रिय उडान भरेको पोखरा विमानस्थलले त्यसयताका दुई वर्षमा जम्मा २२ वटा चार्टड अन्तर्राष्ट्रिय उडान मात्रै सञ्चालन गर्न सकेको छ ।  विमानस्थलले नेपालभ्युजलाई उपलब्ध गराएको विवरण अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा १४ र सन् २०२४ मा ८ वटा अन्तर्राष्ट्रिय चार्टड उडान भए । दुई वर्षमा भएका २२ वटा अन्तर्राष्ट्रिय चार्टड उडानबाट ६६३ जना यात्रुले आवतजावत गरेका छन् ।

पोखरा विमानस्थलले उपलब्ध गराएको तथ्याङ्क

विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ मा २ सय ९६ र सन् २०२४ मा ३६७ यात्रुले अन्तर्राष्ट्रिय उडान/अवतरणका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका थिए ।

यसको तुलनामा, आन्तरिक उडानमा यो विमानस्थल निकै व्यस्त छ । सन् २०२३ मा १५ हजार ८७२ वटा आन्तरिक उडानबाट ९ लाख ४ हजार ७७१ यात्रुले सेवा लिएका थिए । सन् २०२४ मा १६ हजार ६६२ वटा आन्तरिक उडानबाट ९ लाख ८८ हजार ९८१ यात्रुले आउजाउ गरेका थिए ।

तर गत वैशाख ३० गते निर्माण गर्ने चिनियाँ कम्पनीले आन्तरिक उडानलाई समेत देखाएर विमानस्थलले राम्रो व्यापार गरेको दाबी गरेको थियो । लिङ्देन नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नहुँदै उक्त कम्पनीले सरकारी राष्ट्रिय पत्रिका गोरखापत्रमा सूचना जारी गरी निर्माण प्रक्रियामा भ्रष्टाचार नभएको र नियमित उडान भइरहेको भनेको थियो । साथै, विमानस्थलको क्षमताभन्दा बढी उडान भरिसकेको पनि उक्त सूचनामा चिनियाँ निर्माण कम्पनी सीएएमसीले उल्लेख गरेको थियो ।

‘यसले लगातार २८ महिना स्थिर सञ्चालन कायम राखेको छ । २०२३ मा वार्षिक यात्रु सङ्ख्या ९ लाख ४ हजार ७७१ र २०२४ मा ९ लाख ८९ हजार ८५२ पुगेको छ । जुन यसको डिजाइन गरिएको वार्षिक क्षमता ८ लाख यात्रुभन्दा बढी हो,’ प्रकाशित सूचनामा उक्त कम्पनीले दाबी गरेको थियो ।

सुरक्षा र प्राविधिक चुनौती

लेखा समितिले विमानस्थलमा भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेपछि विमानस्थल निर्माण गर्ने चिनियाँ सरकारी कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले गोरखापत्रमा सूचना जारी गरेर प्रतिवेदन गलत भएको दाबी गरेको थियो । सूचनामा उसले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सबै तवरमा सुरक्षित भएको दाबी गरेको थियो । उसले सूचनामा लेखेको छ, ‘आजसम्म, यसको उद्घाटनपछि विमानस्थल निर्माणको कारण शून्य गुणस्तर वा सुरक्षा घटनाहरू रेकर्ड गरिएको छ ।’

तर, विमानस्थलको सुरक्षा प्रतिवेदन अनुसार सन् २०२४ मा मात्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एयरोड्रोम सुरक्षा सम्बन्धी कमजोरीका कारण ११ वटा घटना भए । एयरोड्रोम घटना भनेको ‘विमानस्थलको डिजाइन, सेवा, वा कार्यक्षमताको समस्याले निम्त्याउने घटना वा जोखिम हुन् । यस्ता घटनाहरूले विमानको सुरक्षित उडान, अवतरण, वा ग्राउन्ड अपरेसनमा असर पार्छ ।

विमानस्थलको सन् २०२४ को सुरक्षा प्रतिवेदनले एयरोड्रोमलाई मुख्य सुरक्षा चुनौतीका रूपमा औँल्याएको छ । विमानस्थलको सुरक्षा प्रतिवेदन अनुसार सन् २०२४ मा यो चराचुरुगींले गर्दा १३ वटा घटनाहरू भए । विमानकै प्राविधिक समस्याका कारण १४ वटा घटना भए । वातावरण, वन्यजन्तु र चराका कारणले ८३२ वटा घटना भए । विशेष गरी, धावनमार्गको लम्बाई कम भएकाले एयरबस ए–३२० जस्ता विमानले पूर्ण क्षमतामा उडान गर्न नसक्ने प्राविधिक विश्लेषण छ ।

ऋणको बोझ

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट करिब २२ अर्ब रुपैयाँ ऋण लिइएको छ । निर्माण सम्पन्न भएपछिको ७ वर्षसम्म यो ऋणको वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्छ । त्यसपछि त्यसपछि १३ वर्षसम्म २६ किस्तामा साँवा तिर्नुपर्ने सम्झौता छ । अन्तर्राष्ट्रिय उडानको अभावले गर्दा यो विमानस्थलको ऋण आर्थिक बोझ बन्ने जोखिम छ ।

विज्ञहरूका अनुसार, नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि भारतीय वायु क्षेत्र प्रयोगको सहमति, विमान कम्पनीहरूसँग समन्वय, र प्राविधिक सुधार आवश्यक छ ।

नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलका लागि लिइएको ऋण तिर्नै मुस्किल हुने देखिन्छ । २०८० को जेठमा तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीले पोखरामा पर्यटन व्यवसायीसँगको छलफलमा विमानस्थलको अन्तर्राष्ट्रिय सञ्चालन नहुँदा पर्यटन व्यवसायमा निराशा छाएको स्वीकार गर्दै भारत र चीनका विभिन्न सहरबाट उडान भर्न पहल गरिरहेको दाबी गरेका थिए । उनले त्यतिखेर भनेका थिए, ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा तपाईंहरूमा निराशा छाएको छ, मेरो स्तरबाट कूटनीतिक छलफल जारी राखेको छु । चीनको विभिन्न सहरबाट र भारतको विभिन्न सहरबाट पोखरा उडान गर्न सक्यौँ भने स्वाभाविक रूपमा पोखरा पर्यटनको केन्द्र बन्छ ।’

तर, अहिलेसम्म पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन । त्यतिखेर किरातीले पोखरा विमानस्थलमा नीतिगत भ्रष्टाचार भएको भनेका थिए । उनले भनेका थिए, ‘पोखरा विमानस्थलको निर्माणमा नीतिगत भ्रष्टाचार भएको छ । अब सरकारले अन्तर्राष्ट्रिय उडान बढाउन र ऋणको बोझ कम गर्न ठोस कदम चाल्नुपर्छ ।’

एकातिर अपेक्षित हिसाबले अन्तर्राष्ट्रिय उडान नहुनु अर्कोतिर संसद्‌को सार्वजनिक लेखा समितिको प्रतिवेदनले ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको ठहर गर्नुले विमानस्थलको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register