सबै नेपाली स्वदेशका लागि राजदूत : राजदूत रेग्मी

अमेरिका। नेपाली अमेरिकन कम्युनिटी सेन्टर (न्याक) को छैठौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नयाँ कार्यसमिति गठनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको जानकारी दिइएको छ भने आगामी तीन महिनाभित्र निर्माणाधीन मन्दिर र व्यावसायिक भवन सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ। कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरेका अमेरिकास्थित नेपाली राजदूत लोक दर्शन रेग्मीले आप्रवासी नेपालीहरू […]

Jun 9, 2025 - 07:54
 0
सबै नेपाली स्वदेशका लागि राजदूत : राजदूत रेग्मी

अमेरिका।

नेपाली अमेरिकन कम्युनिटी सेन्टर (न्याक) को छैठौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नयाँ कार्यसमिति गठनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको जानकारी दिइएको छ भने आगामी तीन महिनाभित्र निर्माणाधीन मन्दिर र व्यावसायिक भवन सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ।

कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरेका अमेरिकास्थित नेपाली राजदूत लोक दर्शन रेग्मीले आप्रवासी नेपालीहरू पनि नेपालको प्रतिनिधि भएको उल्लेख गर्दै, “सवै नेपाली स्वदेशका लागि राजदूत हुन्,” भन्ने भाव व्यक्त गरे। उनले न्याकजस्ता संस्थाहरूले गरिरहेका कामहरूले नेपालको छवि प्रवासमा उजागर गर्न सहयोग पुग्ने बताए।

राजदूत रेग्मीले सभापछि न्याक परिसरमा निर्माणाधीन मन्दिर तथा व्यावसायिक भवनको अवलोकनसमेत गरेका थिए। राजदूतको टोलीमा इकोनोमिक कन्सुलर युगराज पाण्डे, श्रीमती रेग्मी र श्रीमती पाण्डे पनि सहभागी थिए।

साधारण सभा न्याक बोर्ड अफ ट्रस्टिका अध्यक्ष अरुण रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष डा. मदन उप्रेती र कोषाध्यक्ष केशव बरालले भवन निर्माण परियोजनाको विस्तृत आर्थिक विवरण प्रस्तुत गरेका थिए। यदि अतिरिक्त बजेट आवश्यक नपरेमा र काउन्टीबाट समयमै प्रमाणीकरण प्राप्त भएमा निर्माण कार्य आगामी तीन महिनामा सम्पन्न हुने जानकारी गराइयो।

मन्दिरका लागि नेपालमा भगवानका शीला मूर्तिहरू तयार पारिँदै छन् भने नेपाली परम्पराका टुडालहरू पनि नेपालमै निर्माण भई अमेरिका ल्याइने तयारी भइरहेको छ।

यसै अवसरमा नयाँ कार्यकालको लागि कार्यसमिति चयन प्रक्रिया सुरु गरिएको र निर्वाचन आयोग गठनको तयारी भइरहेको जानकारी गराइएको छ। आयोग छिट्टै आफ्नो काम सुरु गर्ने बताइएको छ।

कार्यक्रमको खेलकुद पक्षमा संयोजक चन्द्र लामाले खेलाडीहरूको परिचय गराउँदै विजयी खेलाडीहरूलाई पदक र ट्रफी वितरण गरे। प्रमुख अतिथि राजदूत रेग्मीले पदक र प्रमाणपत्र प्रदान गरे। साथै, उपाध्यक्ष विना खड्कालामाले बालबालिकाको आकर्षक नृत्य प्रस्तुति संयोजन गरिन्। कार्यक्रमको सञ्चालन महासचिव लेखनाथ अधिकारीले गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register