नेपाल र नेदरल्यान्ड्सबीचको खेललाई रोमाञ्चक बनाएको सुपर ओभर के हो ?

काठमाडौं । स्कटल्यान्ड टी–२० आई क्रिकेट त्रिकोणीय सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्यो । स्कटल्याण्डको ग्लासगोस्थित टिटवूडमा सोमबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ऐतिहासिक तेस्रो सुपर ओभरमा पराजित भयो । नेपाल पराजित भए पनि नेपाली खेलाडीले जित्नका लागि देखाएको प्यासनले भने सबैको मन जित्यो । उता, नेदरल्यान्ड्सले जितका लागि गरेको मिहिनेतले पनि खेललाई थप रोमाञ्चक […]

Jun 17, 2025 - 12:49
 0
नेपाल र नेदरल्यान्ड्सबीचको खेललाई रोमाञ्चक बनाएको सुपर ओभर के हो ?

काठमाडौं । स्कटल्यान्ड टी–२० आई क्रिकेट त्रिकोणीय सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्यो । स्कटल्याण्डको ग्लासगोस्थित टिटवूडमा सोमबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ऐतिहासिक तेस्रो सुपर ओभरमा पराजित भयो । नेपाल पराजित भए पनि नेपाली खेलाडीले जित्नका लागि देखाएको प्यासनले भने सबैको मन जित्यो । उता, नेदरल्यान्ड्सले जितका लागि गरेको मिहिनेतले पनि खेललाई थप रोमाञ्चक बनायो । यो खेलभन्दा कुनै थ्रिलर सिनेमाजस्तो थियो ।

नेदरल्यान्ड्स र नेपालबीचको रोमाञ्चक सुपर ओभरहरू

टस जितेर नेपालले बलिङ रोज्यो । यससँगै पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १५२ रन बनायो ।

१५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै खेलेर ८ विकेटको क्षतिमा १५२ रन बनाएपछि खेल टाई भयो । अन्तिम बलमा नन्दन यादवले चौका प्रहारी गरी खेल टाई गराएका थिए ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा ६ बलमा १६ रनको आवश्यकता थियो । क्रिजमा थिए सन्दीप र नन्दन यादव । नेपालले अन्तिम ओभरको पहिलो बलमा २, दोस्रो बलमा १, तेस्रोमा ४, चौथो र पाँचौं बलमा २–२ रन जोड्यो । अन्तिम बलमा नेपाललाई जितको लागि ५ रन चाहिएको थियो । तर, काइली क्लेनको बलिङमा नन्दनले चौका प्रहार गर्दै खेललाई सुपर ओभरमा पुर्‍याइदिए ।

अब विजेताका लागि टाई खेलले सुपर ओभरमा प्रवेश गर्‍यो । पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेलले ब्याटिङ गरे । नेपालले पहिलो ५ बलमा १९ रन बनायो । अन्तिम बलमा कुशलले चौका हान्न प्रयास गरे । तर, उनी क्याच आउट भए ।

२० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ बलमा कुनै विकेट नगुमाई १९ रन जोडेपछि सुपर ओभर फेरि टाई भयो । यसपछि, नतिजाका लागि दोस्रो सुपर ओभर विकल्प रह्यो ।

दोस्रो सुपर ओभरमा पहिले नेदरल्यान्ड्सले ब्याटिङ गर्‍यो । नेदरल्यान्ड्सले ६ बलमा १ विकेटको क्षतिमा १७ रन बनायो । अन्तिम बलमा ललित राजवंशीले स्कट एडवर्ड्सको विकेट लिए ।

१८ रनको लक्ष्य पछ्याउन नेपालका लागि दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल मैदान प्रवेश गरे । नेपालले पहिलो बलमा छक्का, दोस्रोमा १ र तेस्रोमा ४ बनायो । चौथौ र पाँचौँ बल डट गयो । अन्तिम बलमा ऐरीले छक्का प्रहार गरेपछि खेल फेरि टाई भयो ।

जति रोमाञ्चक पहिलो २ ओभर भयो तर तेस्रो ओभर भने नेपालको हकमा सम्झना नपरे पनि हुन्थ्यो जस्तो भयो । तेस्रो सुपर ओभरमा नेपालले पहिला ब्याटिङ गर्दा पहिलो बलमै रोहित आउट भए । दोस्रो र तेस्रो बल डट खेलेका रुपेश सिंह चौथो बलमा आउट हुँदा नेदरल्यान्ड्सले मात्र एक रनको लक्ष्य पायो । सन्दीप लामिछानेको पहिलो बलमै छक्का प्रहार गरी नेदरल्यान्ड्सले जित निकाल्यो ।

तर, नेपालले आफ्नो सयौं टी–२० खेलमा खेलेको ३ सुपर ओभर ऐतिहासिक बन्यो । किनभने टी–२० फम्र्याटमा नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नै भएको ३ सुपर ओभरले यसलाई ऐतिहासिक बनायो । यो अन्तर्राष्ट्रिय क्रिकेटमा तीन सुपर ओभर भएको पहिलो खेल हो ।

के हो सुपर ओभर ?

सीमित ओभरको क्रिकेट खेलमा बराबरी भएको अवस्थामा विजेता टुंग्याउन प्रयोग गरिने विधिलाई सुपर ओभर भनिन्छ । सुपर ओभरलाई एक ओभर एलिमिनेटर पनि भनिन्छ ।

यो २००८ मा प्रारम्भ गरिएको हो, जसले पहिला प्रयोग हुने बल–आउट विधिलाई प्रतिस्थापन गरेको थियो । बल आउट विधि पहिलोे टी–२० विश्वक २००७ पमा भारत र पाकिस्तानबीचको खेलमा भएको थियो । जसमा भारत विजयी भएको थियो ।

सुपर ओभरमा एक टिमले एक ओभर ब्याटिङ र बलिङ गर्छ । र, यसमा दुई ब्याटर आउट हुँदा अलआउट मानिन्छ । जुन सोमबार राति रुपेश सिंह आउट हुँदा नेपाल तेस्रो सुपर ओभरमा शून्यमा अलआउट हुन पुगेको थियो ।

पहिलोपटक कहिले सुपर ओभरको प्रयोग भयो ?

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक सुपर ओभर खेलाइएको मिति २००८ डिसेम्बर २६ हो । इडन पार्क, अकल्याण्डमा न्यूजिल्यान्ड र वेस्टइन्डिजबीच भएको टी–२० आई खेलमा सुपर ओभर प्रयोग गरिएको थियो ।

खेल बराबरीमा टुंगिएको थियो, जहाँ दुवै टिमले १५५ रन बनाएका थिए ।सुपर ओभरमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै २५ रन बनायो । जवाफमा न्युजिल्यान्डले १५ रन मात्रै बनाउन सक्यो । नतिजा स्वरूप, वेस्ट इन्डिजले सुपर ओभरमार्फत खेल जित्यो ।

यो खेलले अन्तर्राष्ट्रिय क्रिकेटमा सुपर ओभरको सुरुवात जनायो, जसले अघिल्लो बल–आउट विधिलाई प्रतिस्थापन गरेको हो ।

बल–आउट र बाउन्ड्री काउन्टको प्रतिस्थापन

अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००७ मा १४ सेप्टेम्बरको आईसीसी टी २० विश्वकपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेलमा अन्तिमपटक बल–आउट विधिको प्रयोग गरिएको थियो ।

दुवै टिमले १४१ रन बनाएपछि खेल टाई भएको थियो । डरबनको किङ्समेडमा भएको खेलमा भारतले तीनै बल स्टम्पमा हानेर ३–० ले जित्यो, जबकि पाकिस्तानले तीन प्रयासमा पनि एकपटक पनि स्टम्प हिट गर्न सकेन ।

यस प्रतियोगितापछि आईसीसीले बल–आउटको प्रभावकारिता र मनोरञ्जन मूल्यको पुनरावलोकन गर्‍यो र सन् २००८ देखि सुपर ओभरलाई सबै सीमित ओभरका बराबरी खेलहरूको निर्णयका लागि बल–आउटको विकल्पको रूपमा अपनाउने निर्णय गर्‍यो ।

यस्तै, सुपर ओभरहरूले सधैँ खेलमा थप रोमाञ्च र रस प्रदान गर्छन् । सुपर ओभरको सबैभन्दा सम्झनलायक उदाहरण भनेको २०१९ को एकदिवसीय विश्वकप फाइनल हो, जहाँ इंगल्यान्ड र न्युजिल्यान्डबीचको खेल बराबरी भएपछि सुपर ओभर पनि बराबरी भयो र अन्ततः बाउन्ड्री काउन्ट नियमको आधारमा विजेता टुंग्याइयो । जसमा इंगल्यान्ड विश्वविजेता बनेको थियो ।

त्यो नाटकीय अन्त्यपछि नियममा परिवर्तन गरियो, जसअनुसार अब यदि सुपर ओभर पनि बराबरी भएमा अर्को सुपर ओभर खेलाइने व्यवस्था गरिएको छ । तर, सोमबार इतिहास रचियो, जब नेदरल्यान्ड्सले नेपाललाई हराउँदै पुरुष टी–२० आई र लिस्ट ए क्रिकेटको पहिलो खेल बनायो जुन तेस्रो सुपर ओभरसम्म पुगेको हो ।

सुपर ओभरका नियम के के छन् ?

यदि कुनै खेल बराबरीमा समाप्त हुन्छ भने, दुबै टिमले तीन ब्याटर र एक बलर छनोट गर्छन् । प्रत्येक टिमले एक–एक ओभर खेल्छन् । यी दुई ओभरहरू समाप्त भएपछि सबैभन्दा धेरै रन बनाउने टिम विजेता घोषित हुन्छ ।

सुपर ओभरमा बनाएको रन, विकेट वा अन्य तथ्याङ्कहरू खेलाडीको व्यक्तिगत करियर तथ्याङ्कमा गणना गरिँदैन ।

त्यसैगरी, फिल्डिङ टिमका कप्तान (वा उनको प्रतिनिधि) ले सुपर ओभरमा प्रयोग गरिने बल चयन गर्न सक्छन् । दोस्रो ओभरमा फिल्डिङ गर्ने टिमले चाहेको खण्डमा उही बल अथवा त्यही बाकसबाट अर्को बल चयन गर्न पाउँछ ।

त्यसैगरी, फिल्डिङ टिमले कुन छेउबाट बलिङ गर्ने हो, त्यसको निर्णय पनि उनीहरूले गर्छन् । दुवै ओभरहरूबीचको अन्तराल पाँच मिनेटको हुन्छ ।

सुपर ओभरमा पहिले ब्याटिङ कसले गर्छ ?

मुख्य खेलमा दोस्रो ब्याटिङ गर्ने टिमले सुपर ओभरमा पहिले ब्याटिङ गर्छ । फिल्डिङ गर्ने टिमले कुन छेउबाट बलिङ गर्ने हो, त्यो निर्णय गर्न सक्छ ।

सुपर ओभरमा कति विकेट हुन्छन् ?

प्रत्येक टिमले तीन जना ब्याटर मनोनयन गर्न सक्छन् । यसले गर्दा प्रत्येक ब्याटिङ टिमलाई दुई विकेटसम्मको छुट हुन्छ । यदि दुई विकेट चाँडै गुमेमा उनीहरूको पारी तुरुन्त समाप्त हुन्छ । जुन सोमबारको खेलको तेस्रो ओभरमा भएको थियो ।

यदि सुपर ओभर पनि बराबरी भयो भने के हुन्छ ?

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का नियमअनुसार, यदि सुपर ओभर पनि बराबरीमा समाप्त भयो भने, केही समयसम्म थप सुपर ओभरहरू खेलाइन्छन्, जबसम्म विजेता टुंग्याइँदैन ।

पछिल्लो सुपर ओभरमा दोस्रो ब्याटिङ गर्ने टिमले अर्को सुपर ओभरमा पहिले ब्याटिङ गर्छ । उही बलरले लगातार दुई ओभर बलिङ गर्न पाउँदैनन्, र पहिलो सुपर ओभरमा आउट भएका ब्याटरहरूले फेरि ब्याटिङ गर्न पाउँदैनन् ।

यदि कुनै ब्याटर रिटायर्ड हर्ट (चोटका कारण ब्याटिङ रोकिएको) छन् भने, उनीहरूले अर्को सुपर ओभरमा फेरि ब्याटिङ गर्न सक्छन् । तर रिटायर्ड आउट वा आउट भएका ब्याटर दोहोरिएर ब्याटिङ गर्न अयोग्य हुन्छन् ।

यदि कुनै कारणले सुपर ओभरहरू खेल्न सम्भव भएन भने, खेल बराबरी भएको घोषणा गरिन्छ ।

यसअघि, सुपर ओभर पनि बराबरी भएमा ‘बाउन्ड्री काउन्टब्याक नियम’ लागू गरिन्थ्यो, जसमा सबैभन्दा धेरै चौका÷छक्का हानेको टिमलाई विजेता घोषित गरिन्थ्यो । तर, यो नियम २०१९ को इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको विश्वकप फाइनलमा लागू हुँदा व्यापक आलोचना भयो । र, पछि हटाइयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register