कामपामा मेयर बालेन्द्रका स्वकीय भूपदेवको रजगज

–बजेट बैठक नबस्नुको कारक सचिवालय–प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको पत्र नआएसम्म बैठक हुँदैन काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहकै कारण महानगर अस्तव्यस्त भएको छ । शाहकै अस्वाभाविक चलखेलको कारण बजेट लक्षित कुनै पनि बैठक बस्न सकेको छैन । स्रोतका अनुसार हिजो बुधबार बिहान ११ बजे स्रोत निर्धारण समितिको बैठक बस्ने […]

Jun 19, 2025 - 02:09
 0
कामपामा मेयर बालेन्द्रका स्वकीय भूपदेवको रजगज

–बजेट बैठक नबस्नुको कारक सचिवालय
–प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको पत्र नआएसम्म बैठक हुँदैन

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहकै कारण महानगर अस्तव्यस्त भएको छ । शाहकै अस्वाभाविक चलखेलको कारण बजेट लक्षित कुनै पनि बैठक बस्न सकेको छैन । स्रोतका अनुसार हिजो बुधबार बिहान ११ बजे स्रोत निर्धारण समितिको बैठक बस्ने तय भएको थियो । मेयर साहको तोकआदेशमा प्रशासन विभागले पत्र बनाएपछि समितिका सदस्यलाई पत्र नदिएको कारण रोकिएको थियो ।

पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको नाम समावेश थिएन । पद उल्लेख भए पनि नाम नभएको कारण समितिका सदस्य एवं उपप्रमुख सुनिता डंगोल र प्रवक्ता नवीन मानन्धरलगायत सबैले बैठक नबस्ने निर्णय गरेका थिए । ‘समितिको सदस्यसचिव प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था छ । तर, मेयर साहको तोक आदेशमा प्रशासन विभागले पत्र तयार गरी केही समयमै लुकाएपछि हंगामा मच्चिएको थियो । समितिका सबै सदस्यले बैठकको सदस्यसचिव प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेको पत्र हात नपरेसम्म बैठक नबस्ने अडान राखेका छन् ।

मेयर साहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको अधिकार प्रयोग गरी पत्र तयार गरी प्रशासन विभागलाई हस्ताक्षर गर्ने अधिकार दिनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै बैठक राख्ने सोच अघि बढाएपछि समितिका सबैले बैठकमा नआउने निर्णय गरेका थिए । हिजो बैठक स्थगित भएपछि मेयरका स्वकीय सचिव शाहले सचिवालयका कर्मचारीमार्फत समितिको बैठकको दिन सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न आग्रह गरेका थिए ।

तर, स्रोतको भनाइ छ, कर्मचारी होइन स्वकीय सचिव शाहले नै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भेटेर बैठकको दिन बिदा बस्न आग्रह गर्नुभएको थियो । स्वकीय सचिव शाहको कारण कामपामा सबै कर्मचारी हैरान भएका छन् । कहिले फोहोरको टेन्डर खुलाउनुपर्‍यो भन्छन् त कहिले सडकबत्तीको टुङ्गो लगाइदिनुपर्‍यो भन्दै दबाब दिन्छन् । यतिमात्र होइन रोकिएका हरेक टेन्डर प्रक्रिया अघि बढाउन दबाब दिने गरेका छन् ।

स्वकीय सचिव शाह र सल्लाहकारकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ विभागीय प्रमुखसहित ७ जनामाथि मुद्दा दायर गरेको छ । आफ्नो इन्टेस्टको काम गर्न दबाब दिएर सबै कर्मचारी फसेका छन् । अब सल्लाहकार होइन स्वकीय सचिव साह चलखेल शुरू गरेका छन् । अब त नबुझिकन कुनै पनि आर्थिक र प्रशासनिक कामको हस्ताक्षर नगर्ने तयारीमा कर्मचारी छन् । आर्थिक चलखेल गर्न स्वकीय सचिव शाहले प्रमुख प्रशासकीय अधिकृललगायत अधिकांश विभागीय प्रमुखलाई फेरि दबाब दिन शुरू गरेका छन् ।

यसअघि मेयरका सल्लाहकार सुनील लम्साल, शिक्षा सल्लाहकार शैलेन्द्र झालगायतले दबाब दिने गरेका थिए । दबाब दिएर टेन्डर स्वीकृत भएका हरेक विषयमा आयोगमा मुद्दा चलिरहेको छ । तैपनि अझै स्वकीय सचिवको लगातार कर्मचारीमाथि हावी भएको छ ।




मेयरलाई पठाएको पत्रमा स्वकीयको तोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहले तोक लगाएर कार्यादेश दिएको कागजात धमाधम बाहिरिएको छ । निर्दोष कर्मचारीलाई फसाएको आरोप लागेपछि कर्मचारीले नै अनधिकृत पत्र बाहिर ल्याएका हुन् ।
विशेष गरी स्वकीय सचिव साह आफैंले मेयर साहको नाममा फेक पत्र बनाउन र आफंैले तोक लगाएर आवश्यक कार्यान्वयन गर्नु भन्दै पत्र पठाएको पाइएको छ ।

नेपाल समाचारपत्रले प्राप्त गरेको एउटा पत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई फसाउन स्थानीयवासीको नाममा पत्र काटेर स्वकीय सचिव शाहले निर्देशानुसार आवश्यक कार्यान्वयन (आका) गर्न अनुरोध गर्दछौं भनिएको छ । सो पत्र सार्वजनिक निजी साझेदारी (पीपीपी) इकाइलाई पठाइएको छ ।

पत्रमा भनिएको छ– ‘उपरोक्त सम्बन्धमा काठमाडौं महानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत पुरानो बसपार्कमा बन्दै गरेको टावर लामो समयदेखि के कारणले रोकिएको हो र नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि सामाजिक तथा वातावरणीय अध्ययन मूल्यांकनबिना नक्सापास स्वीकृति पाएको जानकारी आएको छ । यस विषयमा थप छानबिन गरी हामी काठमाडौंवासी स्थानीयलाई जानकारी गराइदिनुहुन हजुरसँग विनम्र निवेदन गर्दछु ।’ निवेदन दिनेमा वडा नम्बर २८ का स्थानीय उल्लेख छ । स्वकीय सचिव साहले गत वर्ष पुस ९ गते प्रमुखको सचिवालयमा स्वकीय सचिवका रूपमा हस्ताक्षर गरी कार्यान्वयन गर्न तोक लगाएका छन् ।

पुराना बसपार्कको सो भवन नक्सा स्वीकृत गर्नुअघि मेयर साहकै आदेशमा ५ लाख रुपियाँ जरिवाना तोकिएको थियो । जरिवाना तिरेपछि थप प्रक्रिया अघि बढेको थियो ।त्यस्तै, स्वकीय सचिव साहले ३२ वडाले तयार गरेको पत्रमा वडासँग समन्वय गरी आवश्यक कार्यान्वयन गर्न महानगर प्रहरीलाई अनुरोध गरिएको छ । सो पत्रमा टहरा हटाउन आग्रह गरिएको छ । वडाले कारबाही गर्न नसकेपछि मेयरलाई पत्र पठाउने र मेयरको जिम्मा आफूले लिएर स्वकीय सचिव साहले तोक लगाउने गरेको फेला परेको छ ।

पत्रमा गत वर्ष फागुन १३ गते तयार भएको पत्रमा बहादुरकृष्ण ताम्राकारले काठमाडौं इन्टरनेसनल हस्पिटललाई बिक्री गरेको जग्गामा महेन्द्र नाम गरेको व्यक्ति अनधिकृत रूपमा बसिरहेको हुँदा हटाइपाऊँ भनी बहादुरकृष्ण ताम्राकार र अस्पतालले संयुक्त निवेदन आवश्यक कारबाहीको लागि पठाएको उल्लेख गरेको छ ।

उच्च स्रोतका अनुसार वडा कार्यालयले गर्न नसकेको काम वडाले मेयर सचिवालयमा पठाउने र मेयरको अधिकार हस्तक्षेप गरी स्वकीय सचिवले तोक लगाउने गरेको फेला परेको छ । कानुनविपरीत तोक लगाएको विषयमा छानबिन गर्नुपर्ने माग बढेको छ । तत्कालीन महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले स्वकीय सचिव साहकै तोक आदेशको भरमा काम गर्ने गरेको स्रोतको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register