‘आमाले द्वन्द्वकालमा मारिएका बुबाको डायरी दिनुभयो, मैले उहाँको अभियान अगाडि बढाएँ’

द्वन्द्वकालमा  मारिएका बुबा, हजुरबुबा र काकाको सपना पूरा गर्न लागिपरेको बताउने इन्दु थारुले थारु समुदायको संस्कृति र परिवेशमा आधारित अनुवादित पुस्तक ‘बुढनी’ सार्वजनिक गरेकी छिन् । थारुसँग नेपालभ्युजका लागि पुजा माझीले बुढनी पुस्तकलगायतबारे गरेको कुराकानीको सम्पादित अंश :

Jun 21, 2025 - 02:43
 0
‘आमाले द्वन्द्वकालमा मारिएका बुबाको डायरी दिनुभयो, मैले उहाँको अभियान अगाडि बढाएँ’

काठमाडौं । सामाजिक मुद्दामा बोलिरहने आफ्नै घरका तीन सदस्य द्वन्द्वकालमा गुमाएकी कैलालीकी इन्दु थारु पनि सामाजिक मुद्दामा मुखरित हुन्छिन् । द्वन्द्वकालमा उनका बुबा, हजुरबुबा र काका मारिए । तर, बुबाको द्वन्द्वकालीन  डायरी भेटेपछि उनको जीवनले नयाँ मोड पाएको छ ।

मारिएका तीन सदस्यकै पथप्रदर्शनमा हिँडिरहेकी इन्दु सामाजिक अभियन्ता हुन् । उनी कविता, गजल र आर्टिकलहरूमार्फत विकृति विसंगतीविरुद्ध लेखिरहन्छिन्, बोलिरहन्छिन्, राज्यलाई प्रश्न पनि गर्छिन् । सीमान्तकृत समुदायकी इन्दु आदिवासी जनजाति महिला महासंघकी पूर्वकार्यकारी निर्देशक हुन् ।

कमैया, कमलरीजस्ता प्रथाकी साक्षी हुन् उनी । जसले कमैया र कमलरीसँग सङ्गत गरेकी छिन् । हालै, उनले थारु समुदायको संस्कृति र परिवेशमा आधारित अनुवादित पुस्तक ‘बुढनी’ सार्वजनिक गरेकी छिन् । द्वन्द्वकालमा  मारिएका बुबा, हजुरबुबा र काकाको सपना पूरा गर्न लागिपरेको बताउने इन्दु थारुसँग नेपालभ्युजका लागि पुजा माझीले बुढनी पुस्तकलगायत विषयमा गरेको कुराकानीको सम्पादित अंश :

हामी त तपाईंलाई सामाजिक अभियन्ता, कवि, लेखक भनेर चिन्छौँ । तर, तपाईं आफूले आफैँलाई कसरी चिनाउन चाहनुहुन्छ ? 

अहो ! यो अलि गाह्रो प्रश्न नै हो । सर्वप्रथम त, बाबा-आमाले मेरो नाम इन्दु राख्नुभयो त्यही भएर मलाई इन्दु भनेर चिन्दा हुन्छ । अलिअलि लेख्ने भएकाले कतिपय साथीहरूले लेखक पनि जोडिदिनुहुन्छ । अलिअलि कविता पनि लेख्ने र वाचन गर्ने भएकाले कवि पनि भन्नुहुन्छ । तर, मेरो परिवेशले चाहिँ मलाई अलि विद्रोही खालको बनाएको जस्तो लाग्छ ।

म जुन गाउँमा, जुन परिवारमा, जुन माहौलमा जन्मिएँ । मेरो बाबा मेरो काकाहरूको काम उहाँहरूको लेखन पढ्दै आएकोले म आदिवासी जनजाति थारु समुदायको अधिकारका लागि लड्ने अभियन्ता जस्तो पनि भएँ ।

तपाईंमा समुदायका लागि लड्नुपर्छ, बोल्नुपर्छ, समाजमा हुने विकृति विसङ्गतिको विरुद्धमा मैले आवाज उठाउनुपर्छ भन्ने सोच त्यहीबाट पलाएको हो ?  

हो हो ।  सानैदेखि यो सोच पलायो । म बाबा, काकाहरूको आर्टिकल लेख पढ्दै हुर्किएँ । जुन लेखले मेरो समाज कस्तो छ भनेर चित्रण गरेको हुन्थ्यो । म जन्मिएको गाउँमा मेरै घर नजिकै जमिनदारको दुई-तीन तले पक्की घर थियो ।

गाउँका अरू थारुहरूको चाहिँ स–सानो माटोको कच्ची घर । त्यो जमिनदारको सयौँ बिघाको जमिन हुने बसिबसी खान पुग्ने । उसको घरमा थारुहरू कमैया बसिदिनुपर्ने । थारु महिलाहरू कमलरी बसिदिनुपर्ने । यो सबै मैले सानैदेखि मेरै आँखा अगाडि देखेँ । मेरो काका, बाबाहरूले लेखेको कविता गजलमा पनि यस्ता विषयमा लड्नुपर्छ, यो सही होइन, हामीले यसको विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने नै भेटेँ । त्यहीँबाट ममा चेतना आयो ।

सानोमा त्यति धेरै कुरा त थाहा हुँदैन के गर्ने, कसरी विरोध गर्ने भन्ने  । तर, विरोध गर्नुपर्छ भन्ने चेत चाहिँ थियो ममा । र, म औपचारिक रूपमा रोडमा निस्किएर विरोध गर्न थालेको भनेको २०६२-०६३ को जनआन्दोलनदेखि हो । त्यो बेला नेपाल सङ्घीयतामा जाने कुरा पनि चलिरहेको थियो ।

त्यसपछि निरन्तर आन्दोलनहरू भए— नेपाल आदिवासी जनजाति महासंघले गरेको आन्दोलन, थारुवान संघर्ष समितिले गरेको आन्दोलन । त्यी सबै आन्दोलनहरूमा म सरिक भएँ । त्यहाँ नारा लगाउने, भाषण गर्ने, त्यो आन्दोलनको अग्र मोर्चामा रहेर मैले काम गर्ने अवसर पाएँ ।

जनयुद्धमा घरका तीन जना अग्रज व्यक्तित्वहरू गुमाएको एउटा बच्चामा कस्तो असर पर्दो रहेछ ? 

हाम्रो समाजमा पुरुषलाई नै घरको मूल खम्बा मानिन्छ । मैले पनि मेरो घरको तीनवटा बलियो जगलाई गुमाएँ । जनयुद्धकै कारण ११ वर्षको हुँदा मैले हजुरबुबा गुमाएँ, १३ वर्षको हुँदा बाबा र १४ वर्षको हुँदा काकाले शहादत प्राप्त गर्नुभयो । परिवारमा पहिलेको जस्तो भएन ।

पढाइ लेखाइमा नै ठूलो समस्या पर्‍यो । फी कहाँबाट तिर्ने ?, कपडाहरू लगाउने र खाने कुरा सबैमा समस्या आइपर्‍यो । किनकि घरको मूल खम्बाहरू नै गुमेपछिको अवस्था कसरी सहज हुन सक्ला र ? मेरो काका र बाबाको शहादत घर बाहिर भएको थियो । हामीले उहाँहरूलाई देख्न पाएनौँ ।

फोन आएको थियो तपाईंँहरूको मान्छे शहीद हुनुभयो भनेर । उहाँहरू बितिसकेपछि धेरै ढिला नै हामीले खबर पाएका हौँ । म त सानै थिएँ, मृत्युको अर्थ पनि धेरै थाहा थिएन । आमा र हजुरआमालाई रोएको देख्दा म पनि रोइदिन्थेँ । उहाँहरूको मृत्यु भएको मैले देखिन त्यसैले पनि उहाँहरूको मृत्युको कुरा पत्याउन, स्वीकार्न मलाई समय लाग्यो ।

उहाँहरू यतै कतै हुनुहुन्छ भन्ने लाग्थ्यो । सपनामा पनि मेरो बाबा आउनुहुन्थ्यो । म यतै कतै थिएँ, सहरतिर थिएँ, बाहिर थिएँ, इन्डिया थिएँ, भन्दै आउनुहुन्थ्यो । बुबा बितिसक्नु भएपछि मैले आफूभन्दा माथिका दाइ दिदीको किताब मागेर पढ्ने गर्थेँ । मेरो पढाइ राम्रो छ भनेर स्कुलले स्कलरसिप दिएको थियो ।

त्यसैले पनि मैले एड्मिसन गर्दा पैसा दिनु पर्दैन थियो । तर. पनि परीक्षा फीलगायतको कुराहरूमा समस्या पर्थ्यो । तर, मेरो आमाले अर्काको घरमा धान रोपेर, चामल केलाइदिएर भए पनि हाम्रो पालन पोषण गर्नुभयो ।

द्वन्द्वपीडितका परिवारलाई सहयोग गर्ने संस्थाहरू तपाईंहरू समक्ष आइपुगेनन् त्यति बेला ? 

त्यस्तो कुनै सहयोग आएको मलाई सम्झना छैन । कुनै कुनै द्वन्द्वपीडितमा काम गर्दै आइरहेका एनजीओहरूले चाहिँ घरमा आएर द्वन्द्वपीडितहरूलाई सहयोग गर्थे । कापी, किताब, पेनहरू दिन्थे । त्यो पनि मेरा भाइहरूले चाहिँ पाए, मैले पाएको चाहिँ सम्झना छैन ।

भर्खरै ‘बुढनी ’ पुस्तक सार्वजनिक गर्नुभएको छ, यसको बारेमा भनिदिनुस् न ।

बुढनी भनेको थारु समुदायको एक महिला/छोरीको परम्परागत नाम हो । यो थारु समुदायमा चल्दै गरेको हामीले ‘बटकोही’ भन्छौँ, पहिलेदेखि चल्दै आएको कथा ‘बटकोही’ हो, त्यसैमा आधारित छ । प्रवीण अधिकारी भन्ने एक जना लेखक हुनुहुन्छ जो मेरो साथी पनि हो ।

उहाँले यो कथा कतै सुन्नुभयो सायद दाङतिर र यसलाई चाहिँ उहाँले अङ्ग्रेजीमा लेख्नुभयो । पछि उहाँले यो थारु समुदायको भएको कारण पनि थारु भाषामा नै आउनुपर्छ भनेर किताब पब्लिस गर्नुभएन ।

हामीले यो कुरा थाहा पाएपछि कुरा गर्‍यौँ, उहाँले यसको थारु भाषामा अनुवाद गर्ने त्यो पनि हुबहु अनुवाद भन्ने हुँदैन लेखकलाई स्वतन्त्र रूपमा आफ्नै तरिकाले अनुवाद गर्न पाउने भनिसकेपछि मैले गरेकी हुँ । त्यसपछि अङ्ग्रेजी र थारु भाषामा एकैपटक सार्वजनिक भयो त्यही भएर यो बुढनीमा म लेखक कम अनुवादक बढी छु ।

छोरी मान्छेले समाजको मुद्दामा बोल्न घरबाटै संघर्ष गर्नुपर्छ भन्छन्, तपाईं पनि सामाजिक अभियन्ता हुनुहुन्छ, तपाईंँसँग त्यस्तो केही भोगाइ छ ? 

छोरी मान्छे अझ सीमान्तकृत समुदायकी छोरीलाई अगाडी बढ्नका लागि दोहोरो तेहेरो अप्ठ्याराहरू झेल्नुपर्छ, त्यो मैले पनि भोगेँ । यसमा दुई मत नै छैन । तर, परिवारमा आमा र हजुरआमाबाट मैले राम्रो सर्पोट पाएँ । उहाँहरू कहिले पनि स्कुल जान पाउनु भएन ।

उहाँहरूलाई नेपाली पनि बोल्न आउँदैन, मातृभाषा मात्रै बोल्नुहुन्छ त्यो हुँदा पनि उहाँहरूमा छोरीलाई पढाउनुपर्छ भन्ने थियो । आफूले जति दुःख गरे पनि मेरी छोरीले पढ्नुपर्छ र केही गर्नुपर्छ भन्ने सपना र सोच थियो, मेरो आमाको । उहाँले सधैँ भन्ने गर्नुहुन्थ्यो ‘हाम्रे त लाटाबंग्रा बट्टी, तिमीहरू यस्तो नहुनू ।’

तपाईंले विभिन्न ठाउँमा घरीघरी बाबाको डायरी भनिरहनुहुन्छ, तपाईंले भनिरहने त्यो बाबाको डायरी कस्तो छ, बताइदिनुस् न ! 

मेरो बाबाको डायरी चाहिँ उहाँले युद्धको बेला लेख्नुभएको थियो । द्वन्द्वकालमा मेरो बाबाले धेरै किताब लेख्नुभएको थियो । तर, त्यो त्यति बेला हाम्रो घरमा हामीले पढ्ने विद्यालयको किताब बाहेक सबै खाल्डो खनेर गाड्नुपर्ने अवस्था आएको थियो, त्रासले ।

सेना, प्रहरी आउँथ्यो, अरेस्ट गर्न सक्थ्यो । गोली ठोक्न सक्थ्यो । हाम्रो घर घेरेको हुन्थ्यो । जति बेला पनि तिमीहरूको घरलाई बमले उडाइदिन सक्छौँ, परिवारलाई मारिदिन सक्छौँ भन्थे । अहिले बाबाको केही पनि सामान छैन हामीसँग, फोटो पनि छैन उहाँको । त्यो सबै गाड्नुभयो आमाहरूले ।

तर, त्यस्तो अवस्थामा पनि मेरो आमाले बाबाको त्यो डायरी कसरी लुकाउन सक्नुभयो, त्यो उहाँलाई नै थाहा छ । अनि पछि जब म बुझ्ने भएँ त्यो बेला मलाई आमाले बाबाको डायरी दिनुभयो । डायरीमा कैलालीमा भएको सेती महाकाली भन्ने ठाउँमा घटेका धेरै घटनाहरूको बारेमा मेरो बाबाले डकुमेन्टेसन गर्नुभएको रहेछ ।

कुन ठाउँमा, कति गते, को–को व्यक्तिको हत्या गरिएको छ,  जमिनदारहरूलाई कुन डेटमा कारबाही गरियो, ककसले शहादत गर्नुभयो, उहाँहरूको नाम र परिवारको नाम ठेगानासहित त्यहाँ छ । जुन कुरा हामीले बाहिर पढ्न लेख्न पाउँदैनौँ, त्यो इतिहास चाहिँ बाबाको डायरीमा लेखिएको छ । पछि मैले मुकटिकटकर भन्ने पत्रिका निकाल्दा त्यो डायरीले मलाई सहयोग गर्‍यो । त्यहाँ लेखिएको ठेगानामा पुगेर मैले त्यो समयमा शहादत प्राप्त गर्नुभएकाहरूको परिवारलाई भेटेँ ।

मेरो बाबाले बाचुन्जेल ७ वटा अंकमा मुक्तिक डगर निकाल्नुभयो । जसको नेपाली अर्थ मुक्तिको बाटो  हुन्छ । पहिलो प्रकाशन २०४९ सालमा भएको थियो । पिछडिएका थारुहरू, हेपिएको थारुहरूले मुक्ति कसरी पाउने भन्ने खालका कथा कविता गजललाई संग्रहित गरेर मुक्तिक डगर निकालिन्थ्यो । त्यो कुरा त्यो बेलाका जमिनदारहरूलाई सह्य हुने त कुरै भएन ।

त्यसैले त्यो पत्रिकामाथि प्रतिबन्ध लगाइयो । तर, पनि इन्डियाबाट प्रकाशन गर्ने, नेपालमा लुकाएर राख्नुपर्ने अवस्था आयो । पछि युद्धको बर्बरता बढ्दै गएपछि त्यो पत्रिका हराउन थाल्यो । कञ्चनपुर, कैलाली बाँके बर्दिया दाङसम्म त्यो पत्रिका पुग्थ्यो । तर, त्यो कसैले पनि बचाउन सक्नुभएन । मैले मेरो मुक्तिक डगर प्रकाशन गर्दा खेरी गाउँ गाउँ पुगेको छु त्यो खोज्न । त्यति बेला उहाँहरूले भन्नुहुन्थ्यो, ‘हामीसँग थियो भुसमा, परालमा गोठमा लुकाएर राख्दा पनि बचाउन सकेनौँ ।’

त्यो किताब पाए भने पनि प्रहरीले माओवादी आतंककारी भनेर पक्राउ गर्ने गोली ठोक्ने गर्थे, त्यसैले पनि कसैले जोगाउन सक्नुभएन रहेछ । तर, काठमाडौं बस्ने साहित्यकार नै हुनुहुन्छ कृष्णराज सर्वाहारी, उहाँ काठमाडौं बस्ने भएकाले जोगाउन सक्नुभएको छ । उहाँसँग पनि पाँच अंक मात्रै रहेछ दुईवटा अङ्क अझै पनि कोहीसँग छ कि भनेर म खोजीमा छु । उहाँ सरसँग भएको मेरो बाबाको मुक्तिक डगर फोटो खिचेर स्क्यान गरेर राखेको छु ।

तपाईं आदिवासी जनजाति महिला महासंघको पूर्वकार्यकारी निर्देशकसमेत हुनुहुन्छ ? थारु समुदायको वर्तमान अवस्था चाहिँ कस्तो पाउनुभयो ? अहिले त, कमैया प्रथा पनि हटिसक्यो । 

अहो ! कमैया, कमलरी मुक्त भए भनिन्छ । तर, कुन अवस्थामा ‘फ्री’ भए भन्ने क्या ! अझै पनि हेर्ने हो भने थारु समुदायका कमैया कमलरीहरूको अवस्था उस्तै छ, दयनीय नै छ । सरकारले जुन तरिकाले उहाँहरूलाई पुनः स्थापन गर्नुपर्थ्यो  त्यो छैन । हुन त समय बदलिएको छ ।

समय फेरिएसँगै केही न केही फरकपन त हुन्छ नै  । हिजोको भन्दा अलि धेरै थारुहरूले पढ्न थालेका छन् । जागिर खान थालेका छन् । राजनीतिमा आउन थालेका छन् । तर, राजनीतिमा लाग्नुभएका थारुहरूले आफ्नो समुदायका लागि कति बोल्न सक्नुभएको छ त  ? आफ्नो पार्टीका लागि मात्रै बोल्ने हो । थारुको जनप्रतिनिधिहरू समुदायका लागि बोल्ने हो कि पार्टीका लागि बोल्ने हो ? यसमा ठूलो प्रश्न चिह्न खडा भएको छ, उहाँहरूका लागि ।

कमैया, कमलरीका लागि त काम गर्नुपर्ने धेरै छ । यो त एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण नहोला । अहिले तर पनि भित्र-भित्रै मैले धेरै सुन्छु ठूलठूला भनिने मान्छेहरूले, राजनीतिक दलका मान्छेहरूले, सरकारी ओहदाका मान्छेहरूले, अहिले पनि थारु छोरीहरूलाई कमलरी राखिरहेका छन् ।

हामीलाई पनि कतिपयले भन्छन् की घरमा काम गर्ने राख्नुपर्‍यो कोही थारु केटी छैन ? भनेपछि त, अझै पनि घरमा काम गर्नुपर्दा थारु केटीहरू खोजिन्छ । कमैया, कमलरी प्रथा फ्री भनेपछि यो सोच बाँचिरहनुले त्यो फ्री भएको छ भन्न मिल्छ र ? अझै पनि थारु केटी भनेको त घरमा काम गर्ने नै हो, बरु पढाइदिउँला भन्छन् ।

तपाईं थारु समुदायलाई प्रतिनिधित्व गरेर विभिन्न स्थानमा पुगिसक्नुभएको छ, थारुको संस्कार संस्कृतिको अवस्था चाहिँ कस्तो छ अहिले ? विशेष गरी, नयाँ पुस्ताहरूमा थारुको संस्कार, संस्कृतिको कस्तो छाप परेको पाउनुहुन्छ ?

थारु संस्कृति परिवर्तन त हुँदै नै गएको छ । थारु समुदायका धेरै व्यक्तिहरू यो बचाउनका लागि लागिपर्नु भएको छ, यो राम्रो पक्ष हो । तर, विकृति पनि भित्रिएको छ । विकृति कुन अर्थमा भने थारु गीत भन्यो त्यसमा हाम्रो पुर्खाहरूले थारु गीत भनेर निकाल्नु भएको गीतमा अहिले त्यो छैन । सबै भोजपुरी स्टाइलमा निकाल्न थालेका छन् ।

त्यसैलाई थारु गीत भनिरहेका छन् । हामीले लगाउने लेहेङगा चोलीहरू पनि फेरिएको छ । त्यो फेरिएकोलाई थारुबाट प्रभावित भएको भन्नुपर्‍यो । त्यसैलाई नै थारु पोसाक भन्ने गरिएको छ । त्यो संस्कृतिको नाममा हुने विकृति हो ।

तपाईं समुदायको मुद्दा उठाइरहनुहुन्छ, बोलिरहनुहुन्छ, अहिलेको जमानामा पनि किन जातीय मुद्दा उठाइरहेको भन्ने खालका आलोचनाहरू चाहिँ कत्तिको आउँछ यहाँलाई ? 

एकदम यो त सामान्य कुरा भइसक्यो । मैले थारुको कुरा उठाउँदा, तपाईंँले माझीको कुरा उठाउँदा, दलितले दलितको कुरा उठाउँदा, मगरले मगरका कुरा उठाउँदा आलोचना त गरिनै राख्छन् । पहिला त थारुको कुरा उठाइरहँदा आउने धेरै खालका आलोचनाहरूले चित्त पनि दुख्यो । तर, अहिले त बानी परिसक्यो ।

किनकि यो जात हामीले बनाएको होइन नि ! यो त नेपालका शासकहरूले नै गर्दिएको हो नि ! त्यति बेलाका शासकहरूले बनाइदिए अहिले आएर कानुनमै, मुलुकी ऐनमै लेखियो । को जनजाति, को दलित, को ब्रहामण भनेर । को पानी चल्ने, को नचल्ने, को मासिन्या, को नमासिन्या भनेर उनीहरूले नै बनाइदिएका हुन् ।

हामी त त्यसको अन्त्य गर्न हिँडेका हौँ । त्यसको विरुद्धमा उठिरहेका छौँ । त्यति गर्दा त्यसको विरुद्धमा बोलिरहँदा खेरी जातीयतावाद भन्छन् भने जातीय मुद्दा बढी उठायो भन्छन् भने हो, त्यही नै हो । हामी हेपिएका छौँ, पछि पारिएका छौँ त्यसैले हामी बोल्छौँ । किनकि हामी पनि यही देशका नागरिक हौँ ।

तपाईंले ‘नो केबलकार सडक आन्दोलन’मा कविता वाचन गर्दा बोल्दाबोल्दै कतै थारु टोन निस्कन्छ कि भनेर म डराउँछु भन्नुभएको थियो । थारु टोन निस्किए मजाकको पात्र बनाउँछन् भन्नुभएको थियो । बोल्दाबोल्दै आफ्नो मातृभाषाको टोन निस्किँदा मजाकको पात्र भइँदोरहेछ हो ?  

एकदमै यो मेरो भोगाइ नै हो । र मजस्ता कैयौँ साथीहरूको भोगाइ हो । मेरो गाउँमा पूरै मातृभाषा नै बोलिन्छ । मेरो आमालाई नेपाली बोल्न आउँदैन । हामीले पनि मातृभाषा नै बोल्न सिक्यौँ । नेपाली भाषा त स्कुलमा गइसकेपछि सरहरूले कुटिकुटी सिकाउनुभएको हो । ‘त’ र ‘ट’ कसरी लेख्ने, कसरी बोल्ने, ‘द’ र ‘ड’ कसरी लेख्ने यस्तो कुराहरू हाम्रो जिब्रोमा चाहिँ ‘ट’ मात्र हुन्छ के ।

साथीहरूले त मजाक नै बनाउँथे । मेरो कतिपय साथीहरू जसले राम्रोसँग बोल्न सकेनन्, नेपाली लेख्न जानेनन् उनीहरूले स्कुल छोडे त्यो मैले नै देखेको हुँ । अहिले त मलाई मेरो थारु टोन फुस्किदा डर लाग्दैन, पहिला त डर लाग्थ्यो कहिले निस्की पो हाल्ने हो कि भनेर मजाकको पात्र बनाइन्छ कि भनेर निकै डर लाग्थ्यो ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमा काम गर्दाको अनुभवहरू सुनाइदिनुस् न, नेपालको आदिवासी जनजाति महिलाहरूको अवस्था कस्तो पाउनुभयो तपाईंँले ? 

आदिवासी जनजाति महिला महासंघमा काम गरिरहँदा मैले धेरै सिक्ने मौका पाएँ । मेरो पढाई लेखाइ धनगढीबाट नै भएको हो । त्यहाँ थारुहरूको बाहुल्यता रहे पनि जनजाति अन्य समुदायहरू पनि हुनुहुन्छ । तर, जब म यसमा आबद्ध भए यहाँ ४९ आदिवासी जनजाति महिला हुनुहुन्छ ।

उहाँहरूसँग कुराकानी गर्न पाएँ, कतिपय ठाउँमा म आफैँ पनि फिल्डमा पुगेँ । हामी आदिवासीहरू को धेरै कुराहरू मिल्दोजुल्दो पनि छ धेरै फरक पनि छ । सामाजिक पहुँचको हिसाबमा सबै पछाडि नै परेका छन् तर आदिवासीमा पनि क्याटागोराइज त गरेको छ । को धेरै पछि परेको, को कति पछि परेको भनेर तर राज्यले आदिवासीलाई हेर्ने दृष्टिकोण त लगभग उस्तै उस्तै नै हो ।

राज्यले सबै आदिवासीलाई हेर्ने नजर उस्तै उस्तै छ त भन्नुभयो त्यो नजर चाहिँ कस्तो हुँदो रहेछ ? 

राज्यको नजर विभेदकारी छ । हाम्रो भाषाले मान्यता पाउँदैन । हामीले हाम्रो परम्परागत कपडा लगाउँदा नाच्न हिँडेकी केटी भनेर मात्र बुझ्छन् । सांस्कृतिक पोसाक लगाएर हिँड्दा क्लब जान लागेको ? रोधी जान लागेको ? महोत्सवमा जान लागेको भनेर भन्छन् । तर, हाम्रो सांस्कृतिक पोसाकको अर्थ त्यति मात्र हैन नि त !

राज्यको नजरबाट ओझेलमा परेका समुदायलाई राज्यको पहुँचमा ल्याउन के के गर्नुपर्छ सरकारले ? 

सबै कुरा सरकारले गर्न सक्छ भन्ने मलाई लाग्छ, तर गर्दैन । राज्यसँग अड्डा, अदालत, पुलिस प्रशासन सबै ‘रिसोर्स’ छ । तर, सरकारले गर्दैन, हाम्रो माग सुन्दैन बरु कसरी हामीलाई टुक्राउने भन्नेतिर लाग्छ सरकार ।

जातीय सीपको कुरा पनि आउँछ । यसलाई कसरी हेर्नुहुन्छ ?

आदिवासीहरू पछि परेको होइन, पारिएको हो । आदिवासीहरूसँग अथाह  ज्ञान, कला र सीप छ जीवन बाँच्नका लागि, यो प्रकृतिलाई जोगाउनका लागि, माटोलाई जोगाउनका लागि, माटो खोला, नाला, जल, जङ्गल, जमिनसँगको जुन हाम्रो नाता छ, त्यो आदिवासीहरूको यस्तो आत्मीय नाता छ । तर, यो सबै जोगाउनका लागि राज्य त्यति तत्पर देखिँदैन ।

यदि यो प्रकृतिलाई जोगाउनु छ भने आदिवासीको ज्ञान सीप र कलाको सम्मान गर्नैपर्छ । हामीले मागेको त जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हो । तर, त्यो छ त छैन नि ! सदनमै छैन, क्याबिनेटमै छैन । ३३ प्रतिशत महिला भन्छ, तर त्यो कहाँ छ त ? संसद्‌मा चाहिँ बाध्यकारी छ, त्यही भएर पुर्‍याउँछ । तर, कुन महिला राखेर पुर्‍याएको छ हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register