११ महिनामा ६२२ उद्योग दर्ता, २ खर्ब ३० अर्ब ४ करोड लगानी प्रस्ताव

काठमाडौं । जेठ महिनामा पाँच ठूला उद्योगहरू दर्ता भएका छन् । उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ५० करोडभन्दा बढी स्थिर पुँजी भएको ५६ वटा ठूला उद्योगहरू दर्ता भएका छन् । तीमध्ये पाँचवटा जेठमा दर्ता भएका हुन् । विभागका अनुसार जेठ महिनामा कुल ६८ उद्योग दर्ता भएका छन् भने चालु आवको ११ महिनामा कुल […]

Jun 25, 2025 - 05:56
 0
११ महिनामा ६२२ उद्योग दर्ता, २ खर्ब ३० अर्ब ४ करोड लगानी प्रस्ताव

काठमाडौं । जेठ महिनामा पाँच ठूला उद्योगहरू दर्ता भएका छन् । उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ५० करोडभन्दा बढी स्थिर पुँजी भएको ५६ वटा ठूला उद्योगहरू दर्ता भएका छन् । तीमध्ये पाँचवटा जेठमा दर्ता भएका हुन् ।

विभागका अनुसार जेठ महिनामा कुल ६८ उद्योग दर्ता भएका छन् भने चालु आवको ११ महिनामा कुल ६२२ उद्योग दर्ता भएका छन् । पछिल्लो ११ महिनामा ४४ मझौला उद्योग दर्ता भएका छन् भने ५२२ वटा साना उद्योगहरू दर्ता भएका छन् । जसमा जेठमा मात्रै चारवटा १५ करोड रुपैयाँभन्दा बढी ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका मझौला उद्योगहरू दर्ता भएका छन् । जेठमा दर्ता हुने लघु उद्यम र घरेलु उद्योग बाहेक १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका साना उद्योगहरूको संख्या ५९ रहेको छ ।

कृषि क्षेत्रका १०, ऊर्जाका २७, आईसीटीका १५७, इन्फ्रास्ट्रक्चरका १, निर्माणका ९२, मिनिरलका १०, सर्भिसका ९९ र टुरिजम क्षेत्रका २२६ उद्योग रहेका छन् । विभागका अनुसार यी उद्योगहरूले २ खर्ब ३० अर्ब ४ करोड ३ लाख ८३ हजार लगानी प्रस्ताव गरेका छन् । जेठमा मात्रै कुल प्रस्तावित लगानी २९ अर्ब, ९९ करोड ३९ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

उद्योग विभागका सूचना अधिकारी अर्जुनसेन ओली पछिल्लो समय पर्यटन र आईसीटीमा लगानीकर्ताले चासो देखाएको बताउँछन् । पर्यटन र आईसीटी क्षेत्रका कम्पनीहरू धेरै खुल्ने गरेको उनको भनाइ छ ।

‘आईसीटी र पर्यटन क्षेत्रका कम्पनीहरू धेरै दर्ता भइरहेका छन्, र विदेशी लगानी पनि यसैमा धेरै आइरहेको छ,’ उनले भने । विदेश जानका लागि बैंकिङ कारोबार देखाउनलाई नै भए पनि साना उद्योगहरू पनि धेरै खुल्ने गरेको सूचना अधिकारी ओली बताउँछन् ।

रोजगारी बढ्दै

उद्योग विभागले ११ महिनामा दर्ता भएका सबै खाले उद्योगहरूबाट ३१ हजार ५०१ जनाले रोजगारी पाउने जनाएको छ । विभागले दाबी गरेको रोजगारी उद्योग स्थापना भएर दिइएको रोजगारी भने होइन । विभागले रोजगारीको स्टिमेट तथ्यांक गणना गरेको हो । विभागका अनुसार दर्ता हुन आउने उद्योगले कतिजनालाई रोजगारी दिन सक्छ भनेर उल्लेख गर्नुपर्ने हुन्छ । त्यसैलाई आधार मानेर रोजगारी पाउनेको संख्या गणना गरिएको हो ।

विभागको दाबीअनुसार  सबैभन्दा बढी रोजगारी सिर्जना भनिएका क्षेत्र पर्यटन हो । पर्यटन क्षेत्रमा दर्ता भएका उद्योगले पछिल्ला ११ महिनामा १२ हजार ८०९ जनालाई रोजगारी दिने उल्लेख छ । कृषिमा ४३४, ऊर्जामा ९५६, आईसीटीमा ३ हजार २८५, इन्फ्रास्ट्रक्चरमा ३३, म्यानुफ्याक्चरिङमा ७ हजार १२९, मिनेरलमा ६०७ र सर्भिस क्षेत्रमा ६ हजार २४८ जनाले रोजगारी पाउने विभागको तथ्यांक छ ।

११ महिनामा ७१७ कम्पनीले पाए वैदेशिक लगानीको स्वीकृति

तथ्यांकअनुसार चालु आवको पछिल्लो ११ महिना अर्थात् जेठ मसान्तसम्ममा कुल ७१७ वटा उद्योग तथा कम्पनीहरूले वैदेशिक लगानीको स्वीकृति पाएका छन् । जसमा स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत ३७० वटा कम्पनीले वैदेशिक लगानीको स्वीकृति पाएका छन् भने अनुमोदन मार्ग (अप्रोभल रुट) बाट ३४७ वटा कम्पनीले स्वीकृति पाएका छन् ।

त्यस्तै, गत महिनाको तथ्यांक हेर्दा स्वचालित मार्गमार्फत ८८ र अनुमोदन मार्गमार्फत ५३ वटा कम्पनीले वैदेशिक लगानीको लागि स्वीकृति पाएको विभागको तथ्यांक छ । विभागका अनुसार ११ महिनामा कुल प्रस्तावित विदेशी लगानी ६० अर्ब ६० करोड ९४ लाख रुपैयाँ  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register