विहार चुनावमा प्रशान्त किशोरको जबर्जस्त प्रवेश : त्रिकोणात्मक हुँदै चुनावी मैदान   

पछिल्ला कोही दिनयता प्रशान्त किशोर उपस्थित रहेका जनसुराज पार्टीका कार्यक्रममा हजारौँको भिड देखिन थालेपछि पुराना राजनीतिक दल र शक्तिले नयाँ चुनौतीको सामना गर्नुपर्ने संकेत देखिएको छ ।

Jul 29, 2025 - 03:30
 0
विहार चुनावमा प्रशान्त किशोरको जबर्जस्त प्रवेश : त्रिकोणात्मक हुँदै चुनावी मैदान   

नेपालसँग सीमाना जोडिएको भारतको उत्तरी राज्य विहारमा  आगामी विधानसभा निर्वाचनले करिब ३ दशक लामो राजनीतिक शक्ति सन्तुलन परिवर्तन गर्न सक्ने संकेत देखाएको छ । निर्वाचन मिति तोकिन बाँकी भए पनि राजनीतिक दलहरुले चुनावी योजना, रणनीति र क्रियाकलाप तीव्र पारेका छन् । यो वर्षको नोभेम्बरभित्र त्यहाँ नयाँ निर्वाचन हुनुपर्ने छ । 

विहार राजनीतिमा परिवर्तन प्रशान्त किशोरको जबर्जस्त प्रवेशले संकेत गरेको हो । प्रशान्त किशोर भारतमा राजनीतिक रणनीतिकारका रूपमा  चर्चित छन् । विहार राजनीतिमा प्रवेश गर्नुअघि नै उनले विभिन्न राजनीतिक दलका लागि चुनावी रणनीति बनाएका थिए । 

प्रशान्त किशोरले सन् २०१२ को गुजरात विधानसभा र सन् २०१४ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीका लागि काम गरेका थिए । सन् २०१५ मा उनले विहारमा नीतिश कुमार नेतृत्वको महागठबन्धनका लागि काम गरे । सन् २०१७ का उत्तर प्रदेश र पञ्जाव विधानसभा निर्वाचन भारतीय राष्ट्रिय कांग्रेसका लागि रणनीतिक सल्लाह दिएका थिए । 

प्रशान्त किशोरसँग भारतीय राजनीतिको शक्ति सन्तुलन र मतदाता मनोविज्ञानलाई बुझेर निर्वाचन राण्नीति निर्माण र अभियान गर्न सक्ने क्षमता रहेको विश्वास गरिन्छ । तर, यसअघि उनी अरुका लागि काम गर्दै थिए, भने यसपटक आफ्‌नै ‘जन सुराज पार्टी’ गठन गरेर विहार चुनावमा होमिएका छन् ।     

प्रशान्त किशोरले सन् २०२३ को अगस्टमा विहारको राजधानी पटनामा ‘जनसुराज पार्टी’ गठनको घोषणा गरेका थिए । पार्टी गठन गर्नुअघि ‘जनसुराज अभियान’  चलाएका थिए । तर, प्रशान्त किशोर  आफैँ पार्टी अध्यक्ष  भने बनेका छैनन्  । साथै,  भावी मुख्यमन्त्रीको दाबीसमेत गरेका छैनन् । उनले यस पहलकदमीलाई ‘विहारमा बद्लाब’ को प्रयास बताउने गरेका छन् । 

पछिल्ला कोही दिनयता प्रशान्त किशोर उपस्थित रहेका जनसुराज पार्टीका कार्यक्रममा हजारौँको भिड देखिन थालेपछि पुराना राजनीतिक दल र शक्तिले नयाँ चुनौतीको सामना गर्नुपर्ने संकेत देखिएको छ । जन सुराज पार्टीले गुणस्तरीय शिक्षा, रोजगार, प्रदेशको औद्योगिकीकरण र सुशासनको सवाललाई विशेष महत्त्व दिएर उठाउन थालेको छ । प्रशान्त किशोरको नयाँ पार्टीलाई विहारका जनताले कस्तो प्रतिक्रिया गर्लान्, त्यसको परीक्षण आगामी विधानसभा निर्वाचनमा हुनेछ । 

विहारमा सन् २००५ यता २० वर्षदेखि जनता दल युनाइटेड  ( जेडीयू ) का नेता नितिश कुमार निरन्तर मुख्यमन्त्री छन् । उनी फरकफरक प्रकारका गठबन्धन सरकारको नेतृत्व गर्दै ९ पटक मुख्यमन्त्री भइसके । गठबन्धन फेर्ने कलामा पोख्त मानिएका नितिश कुमारलाई भारतीय राजनीतिमा ‘पल्टु राम’ भन्ने गरिन्छ । 

अहिले उनी भाजपासहित ‘एनडीए’ गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन । जेडीयू  केन्द्रीय राजनीतिमा प्रधानमन्त्री नरेन्द्र मोदीको मुख्य सहयोगी दल हो । विहार राजनीतिको सत्ता समीकणमा फेरबदल भए केन्द्रीय सरकारसमेत धरापमा पर्ने हुँदा भारतीय जनता पार्टी यस्तो जोखिम उठाउन सक्ने अवस्थामा छैन । तसर्थ, आगामी विधानसभा निर्वाचनमा भाजपा, जेडीयू र  चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टीसहितको ‘एनडीए’ गठबन्धन एउटा ध्रुवका रूपमा कायमै रहनेछ । 

तर, नितिश कुमारको लामो शासनको कारण ‘एन्टी–इन्कम्बेन्सी’ को लहर चल्नसक्ने संभावनाको कारण उनलाई नेतृत्व छोड्न दबाब बढिरहेको छ । जेडीयूसँग जोडिएर चुनावी मैदानमा जानु भाजपाका लागि पनि प्रतिउत्पादक हुनसक्दछ । तर, जेडीयूको समर्थनमा केन्द्रीय सरकार जोगाउनुपर्ने बाध्यताको कारण भाजपासँग एक्लै चुनाव लड्ने वा जेडीयू बिनाको गठबन्धन बनाउने सुविधा छैन । 

नेतृत्व छाड्न बढ्दो दबाबबीच नितिश कुमारले छोरा निशान्त कुमारलाई अघि सार्ने संभावना छ । नितिश समर्थकले पार्टी कार्यक्रममा ‘विहारकी माग, सुनो निशान्त’ को नारा लगाउने गरेका छन् । नितिश कुमारका मुख्य राजनीतिक प्रतिस्पर्धी लालु यादवको राष्ट्रिय जनता दल (आरजेडी ) को नेतृत्व छोरा तेजस्वी यादवले गरिरहेको सन्दर्भमा नितिशले छोरा निशान्त सार्नु कुनै अनौठो हुने छैन ।     

नितिशका छोरा निशान्त सक्रिय राजनीतिमा  थिएनन् । यस निर्वाचनबाट उनी पार्टी र चुनावी राजनीतिमा सक्रिय हुने र भविष्यमा उत्तराधिकार सम्हाल्ने चर्चा छ । ४९ वर्षीय निशान्त मुख्यमन्त्री नितिश कुमारका एक्ला सन्तान हुन् ।

नितिश कुमारको जेडीयू भाजपा र आरजेडीपछि विहार राजनीतिको तेस्रो ठूलो दल हो ।  तेस्रो स्थानमा भएर पनि यो पार्टीले दुई दशक बढी समय सत्ताको नेतृत्व गर्ने अवसर पायो । दुई ठूला दलबीचको अन्तर्विरोधबीचमा खेलेर नितिशले आफ्‌नो शासनलाई दुई दशक बढी लम्ब्याउन सके ।  

केन्द्रीय सत्ता गठबन्धनबाट सिर्जित बाध्यताको कारण बारम्बार पहिलो ठूलो दल बनेर पनि भाजपाले विहारमा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको छैन । यस अर्थमा विहार राजनीतिमा भाजपालाई ‘श्रापित दल’ मानिन्छ । अरु कुनै पनि प्रदेशमा भाजपाले यस्तो स्थितिको सामना गर्नु परेको छैन ।    

केन्द्रको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस सन् १९९० यता ३५ वर्षदेखि निरन्तर विहारको सत्ताबाहिर छ । कांग्रेसलाई विहार राजनीतिमा उल्लेखनीय शक्ति मानिदैन ।  स्वतन्त्र भारतमा सन् १९९० सम्म कांग्रेस विहारको सबैभन्दा प्रमुख दलमध्ये एक थियो । कांग्रेसले बारम्बार विहार सरकारको नेतृत्व गरेको थियो ।  सन् १९९० को दशकमा लालु यादवको उदयसँगै कांग्रेस कमजोर भयो । कांग्रेसलाई विहारमा विपक्षी ‘इन्डिया गठबन्धन’ को कनिष्ठ दल मानिन्छ । 

केही चुनावयता कांग्रेस आरजेडीसँग मिलेर कनिष्ठ  साझेदारका रूपमा चुनाव लडिरहेको छ । गत विधानसभा चुनावमा गठबन्धनबाट ७० सिटको उम्मेदवारी पाएको कांग्रेसले १९ सिटमा मात्र विजय हासिल गर्न सकेको थियो । 

तर कांग्रेससँग यसपटक पप्पु यादव र कन्हैया कुमारजस्ता लोकप्रिय  र प्रदेश राजनीतिलाई प्रभावित गर्न सक्ने अनुहार छन् ।  लोकसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका पप्पु यादव कांग्रेस प्रवेश गरेका छन् । पप्पुको  प्रभाव र पार्टी प्रवेशले विहार राजनीतिमा कांग्रेसको हैसियत बृद्धि गरेको छ  । 

कन्हैया कुमार सन् २०१९ को लोकसभा चुनावमा भारतीय कम्युनिस्ट पार्टीको तर्फबाट बेगुसराय निर्वाचन क्षेत्रमा उम्मेदवार थिए । निर्वाचन जित्न नसके पनि उनी राम्रो मतसहित प्रतिस्पर्धी भएका थिए । त्यसपछिका दिनमा उनी कांग्रेस प्रवेश गरे । गत आमनिर्वाचनमा दिल्लीबाट लोकसभा  सदस्यको उम्मेदवार बनेका कन्हैया कुमारले यसपटक पनि जित हासिल गर्न भने सकेनन् । 

पप्पु यादव र कन्हैया कुमारको प्रभाव र प्रयासले विहार राजनीतिमा कांग्रेसले अस्तित्व रक्षा गर्ने अनुमान गरिएको छ । कांग्रेसले प्रदेश राजनीतिमा पुनर्स्थापित हुन संभव सबै प्रयत्न गरिरहेको  छ ।     

आरजेडी नेतृत्वको गठबन्धनमा कांग्रेसपछिको तेस्रो ठूलो शक्ति भारतीय कम्युनिस्ट समूह, त्यसमध्ये पनि भाकपा (माले–लिवरेसन ) हो । यो सन् १९७० को दशकको नक्सलवादी आन्दोलनको एक गुट हो, जो विनोद मिश्रको नेतृत्वमा सन् १९९० पछि शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो । भाकपा (माले)  १२ सिटसहित विधानसभामा पाँचौं ठूला दल छ, भने गत लोकसभा निर्वाचनमा २ सिट जितेको छ । एक्लै चुनावी परिणाम निकाल्न नसके पनि मालेको उपस्थितिले गठबन्धनमा उल्लेखनीय अर्थ राख्दछ । 

विहार राजनीति लामो समयदेखि भाजपा र आरजेडी नेतृत्वका दुई गठबन्धनबीच विभाजित हुने गरेको थियो । प्रशान्त किशोर र जनसुराज पार्टीले दुवै  गठबन्धनका दलमाथि आक्रमक प्रतिक्रिया गरिरहेका छन् । जनसुराज पार्टीले दुवै गठबन्धनलाई अस्वीकार गर्दै  विधानसभाका २४३ मध्ये संभव सबै सिटमा  उम्मेदवार खडा गर्ने घोषणा गरेको छ ।  

विहार भारतको सबैभन्दा गरिब र कम प्रतिव्यक्ति आय भएको प्रदेश हो । करिब १३ करोड जनसंख्या भएको विहारले भारतीय राजनीतिमा महत्त्वपूर्ण भूमिका गर्दछ ।

जातिवाद र परिवारवाद विहार राजनीतिको अर्को ठूलो रोग वा विशेषता हो । यहाँ राजनीतिक दलहरु जातीय आधारमा चुनावी समीकरण गर्ने र भोट बैंक कब्जा गर्ने रणनीति बनाउने गर्दछन् ।  ब्राह्मण, राजपूत, भूमिहार, कायस्थ र वैश्य समुदाय भाजपाको भोट बैंक मानिन्छन् । आरजेडीले यादव, मुस्लिम र अन्य पिछडावर्गका मतदातामा वर्चस्व राख्दछ । लोक जनशक्ति पार्टी पासवान र दलित समुदायमा बलियो छ । जेडीयूको भोट बैंक ‘अन्य समुदाय’ हुन् । 

यद्यपि भोट बैंकको राजनीतिमा हिजोजस्तो जातीय मात्र छैन । सबै  समुदायमा युवा पुस्ताका मतदाताले जातभन्दा विचार र एजेण्डालाई साथ दिन थालेका छन् । 

परिवारवादको कुरा गर्दा आरजेडी नेता तेजस्वी यादव  पूर्वमुख्यमन्त्रीद्वय लालु–रावडी देवी यादवका छोरा हुन् । लोक जनशक्ति पार्टीका चिराग पासवान रामविलास पासवानका छोरा हुन् । उमेरले बृद्ध र  शारीरिक, मानसिक रूपमा शिथिल हुँदै गएका नितिश कुमारले  छोरा निशान्त कुमारलाई अघि सारे त्यो पनि परिवारवादको थप उदाहरण बन्नेछ ।

कांग्रेसमा सोनिया–राहुल–प्रियंका गान्धी–नेहरु परिवारवादकै उदाहरण मानिन्छन् । भाजपा भने अहिलेसम्म परिवारवादबाट मुक्त छ । केन्द्रमा जस्तै विहारको प्रदेश राजनीतिमा पनि भाजपाले कुनै खानदानलाई हाबी हुन दिएको छैन । 

प्रशान्त किशोर र जनसुराज पार्टीले जातिवाद र परिवारवादभन्दा माथि उठेर एजेण्डा र भविष्यका लागि मतदान गर्न आह्वान गर्दै छ । जनसुराज पार्टीको नारा मुख्य नारा ‘ सन्तान र शिक्षाका लागि मतदान गरौं’  लोकप्रिय बन्दै छ । 

विहार राजनीतिमा प्रशान्त किशोर र जनसुराज पार्टीको जबर्जस्त प्रवेशले आगामी विधानसभाको चुनावी परिणामलाई के कति प्रभावित गर्ने हो, अहिल्यै अनुमान गर्न सकिँदैन । चुनावी परिणाम जेजस्तो आए पनि चुनावी मैदान भने त्रिकोणात्मक हुने निश्चितप्रायः देखिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register