स्मार्ट चौतारो : स्वच्छ पिउने पानीदेखि निःशुल्क टेलिफोन, इन्टरनेट र स्मार्ट ट्याबलेटसम्म

May 21, 2023 - 04:11
 0
स्मार्ट चौतारो : स्वच्छ पिउने पानीदेखि निःशुल्क टेलिफोन, इन्टरनेट र स्मार्ट ट्याबलेटसम्म
स्मार्ट चौतारो : स्वच्छ पिउने पानीदेखि निःशुल्क टेलिफोन, इन्टरनेट र स्मार्ट ट्याबलेटसम्म

काठमाडौं । चौतारो नेपाली समाजको पुरानो र परिचित नाम हो । चौतारोमा गाउँका मान्छे जम्मा हुने, गर्मीमा शीतल ताप्ने, दुःख, सुखका कुरा गर्ने नेपाली ग्रामीण समाजको पुरानै प्रचलन हो । 

त्यही पुरानो चौतारोलाई अलिकति नयाँ नाम, अनि प्रविधिको प्रयोग–स्मार्ट चौतारो । आधुनिक प्रविधिको प्रयोग सहितको चौतारो । टोल छिमेकको कुरा मात्र होइन देश विदेशको कुरा पनि थाहा पाउने चौतारो । 

रामेछापको खाँडादेवी गाउँपालिकाले प्रविधि सहितको स्मार्ट चौतारोको अवधारणा ल्याएको छ । सोही अवधारणा अनुसार गाउँपालिकाको वडा नं ३ भिरपानीमा स्मार्ट चौतारो निर्माण गरिएको छ । 

प्रतीक्षालयका आकारमा बनाइएको स्मार्ट चौतारोमा अत्याधुनिक तरिकाले यूभी प्रोटेक्टीभ मेसिनबाट फिल्टर गरिएको स्वच्छ पिउने पानीको व्यवस्था गरिएको छ । यसै गरी फ्री वाई फाइ, टेलिफोन तथा स्मार्ट ट्याबलेट चौतारोमा राखिएको छ । मोबाइल चार्ज गर्ने व्यवस्था पनि चौतारोमा नै मिलाइएको छ । 

स्मार्ट चौतारो बनेपछि गाउँका मानिसहरू चौतारोमा भेला भएर, इन्टरेनट चलाउने, अत्यावश्यक काममा टेलिफोन गर्ने गर्दछन् । सो बाटो भएर हिँड्ने यात्री र चालकहरू पनि केही बेर रोकिएर पानी पिउने, मोबाइल चार्ज गर्ने, नेट चलाउने गर्न लागेका स्थानीय कृष्ण विकले बताउनुभयो । चौतारोको कारण मानीहरूको भेटघाट र जमघट समेत हुन लागेको उहाँले सुनाउनुभयो । 

आफूसँग मोबाइल नहुने विद्यार्थी र बुढापाकाले पनि चौतारोमा राखिएको स्मार्ट ट्याबलेट प्रयोग गरेर पढ्न तथा देश विदेशमा रहेका आफन्तसँग कुरा गर्न पाएका अर्का स्थानीय बुद्धिलाल श्रेष्ठले बताउनुभयो । स्मार्ट चौतारो बनेपछि सहरमा पाउने सेवा गाउँमा नै पाए जस्तो भएको उहाँले बताउनुभयो । 

अहिले सोझै विद्युतबाट जोडिएको चौतारोमा रहेका इन्टरनेट र पिउने पानी विद्युत लाइन कट्दा कट्ने भएकाले चौबिसै घण्टा सञ्चालनको लागि सोलार र ब्याट्रीको व्यवस्था मिलाउन स्थानीयले माग गरेका छन् । सो व्यवस्था मिलाउने हो भने जति बेला पनि चौतारोमा जानेले सेवा लिन पाउने उहाँहरूको भनाइ छ । 

बस्तीलाई केन्द्र विन्दु बनाएर मागको आधारमा टोल टोलमा स्मार्ट चौतारो बनाउने योजना गाउँपालिकाको रहेको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । सहर पस्ने होडले पातलिँदै गएको बस्ती र पातलिँदै गएको भेटघाटलाई बढाउन स्मार्ट चौतारो सहयोगी हुने उहाँको विश्वास छ । स्थानीयको माग अनुसार चौबिसै घण्टा पिउने पानी झर्ने र इन्टरनेट चल्ने व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1