यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

Jun 11, 2023 - 03:18
 0
यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली
यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

काठमाडौं। चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् । 

यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाले । सपना भिलेजले गाउँपालिकासँगको सहकार्यमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरेपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो । 

सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार परियोजनाले घर, विद्यालय, स्वास्थ्यकर्मी, कृषक र आमा समूहबीच प्रतिस्पर्धा गराएर छ–छ महिनामा पुरस्कार वितरण गर्दै आएको छ । 

आफ्नै घर सफा गर्दा, आफ्नैका लागि आयआर्जनका काम गर्दा पुरस्कृत हुने भएपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन गर्न सकिएको अध्यक्ष गिरिको भनाइ छ ।

“उनीहरू आफैँका लागि काम गर्ने हो, यसको घर सधैँ सफा हुन्छ, शौचालय छ आयआर्जनका लागि पशुपालन गर्छन्, तरकारी खेती गर्छन् बालबालिका नियमित विद्यालय पठाउँछन्, उनीहरूलाई पुरस्कृत गछौँ, आफैँका लागि काम गर्दा पुरस्कृत हुँदा उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउन सकिए हो”, उहाँले भन्नुभयो ।”

 वडा नं १ राजभोगका लक्ष्मी चेपाङले उक्त परियोजनाबाट आफ्नो परिवार र समुदायको जीवनशैलीमा परिवर्तन आएको बताउनुभयो । “परियोजना लागू भएसँगै यहाँका समुदायमा आर्थिक उपार्जन गर्ने भएका छन्, यहाँका घर सफा छन्, नानीबाबु नियमित विद्यालय जान्छन्”, उहाँले भन्नुभयो । 

प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुनुभएकी वडा नं १ कै थाप्राङकी सानु कान्छी चेपाङले पनि विगतका वर्षमा भन्दा यहाँका आफ्नो समुदायको जीवनशैली फेरिएको बताउनुभयो । खेती किसान पशुपालनमा रुचि नराख्नेहरू आजभोलि व्यावसायिक रूपमा तरकारी खेती गर्ने पशुपालन गर्ने सरसफाइमा ध्यान दिने गरेको उहाँले सुनाउनुभयो । 

हातिवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले पनि यो परियोजना लागू भएसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस परियोजनाले विद्यालयलाई सहयोग गरेको छ, विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएको छ, त्यति मात्र होइन, घर–घरमा–समुदायमा जनचेतना फैलाउने काम गरेका छन्, परियोजना सञ्चालनपछि विद्यालयमा बालबालिका नियमित आउने गरेका छन् ।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवनशैली परिवर्तन, जीविकोपार्जन, आर्थिक वृद्धिका लागि निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले चेपाङ समुदायको जीवनशैली परिवर्तनका लागि बाटो देखाएका हौँ, सधैँ यो परियोजना हुँदैन फेरिएको सकरात्कम जीवनशैलीलाई आफैँले निरन्तरता दिनुपर्छ ।” आवश्यकताका आधारमा यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।

गाउँपालिका पूर्व अध्यक्ष गीताकुमारी गुरुङले चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन ल्याउनका लागि यो परियोजना यहाँ सञ्चालन गर्न आवश्यक देखिएकाले आफूले तीन वर्षअघि सपना भिलेज सोसल इम्प्याक्टसँग गाउँपालिकाले सहकार्य गरी सुरु गरेको बताउनुभयो ।

इन्प्याक्टका अध्यक्ष गिरीले आगामी दिनमा पनि गाउँपालिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । साथै उहाँले गाउँपालिकासँगको सहकार्यमा भाराङ राष्ट्रिय आधारभूत विद्यालयको भवन बनाउने र वडा नं १ कै भराङस्थित स्वास्थ्य एकाइका लागि इम्प्याक्टले औषधि उपलब्ध गराइरहेको पनि बताउनुभयो ।

शनिवार पनि परियोजनाअन्तर्गत आयोजित अन्तर घर प्रतियोगिता, आमा समूह, उत्कृष्ट किसान र स्वयंसेविकालाई पुरस्कार प्रदान गरेका थिए । एकसट्ठी  र दुई आमा समूहलाई पुरस्कार वितरण गरिएको इम्प्याक्टका व्यवस्थापक सुजन बस्नेतले जानकारी दिनुभयो । एघार कलस्टरबाट पाँच–पाँच गरी ५५ पुरस्कृत भएका थिए ।

सानुकान्छी चेपाङ, सन्तमाया चेपाङ र कालिमाया चेपाङ सर्वोत्कृष्ट हुनुभयो । फलफूल खेतीतर्फ थाप्राङका विष्णुबहादुर चेपाङ र बाख्रा पालनतर्फ खैरेसका विष्णुमाया चेपाङ सर्वोत्कृष्ट हुनुभयो । स्वयंसेविकातर्फ भने शान्ता गुरुङ सर्वोत्कृष्ट हुनुभयो । 

आमा समूहतर्फ कोलभञ्ज्या र चौकीडाँडा आमा समूह सर्वोत्कृष्ट भएको म्यानेजर बस्नेतले बताउनुभयो । विजेतालाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । चेपाङ समुदायको सरसफाइ, घरको अवस्था, करेसाबारी, शौचालयको अवस्था, विद्यार्थीको पढाइलगायतका क्षेत्र कमजोर रहेको पाइएपछि  परियोजना सञ्चालन आएको जनाइएको छ । 

इम्प्याक्टले विसं २०७७ देखि वडा नं १ का राजभोग, थाप्राङ, खैरेस बाङगेङ, कोलभञ्ज्याङ, चौकीडाँडा, कालीनगायतका छ सय १५ घरधुरीमा परियोजना सञ्चालन गरेका छन् । यसअघि चितवनको कालिकामा पनि इम्प्याक्टले नगरपालिकासँगको सहकार्यमा उक्त परियोजना सञ्चालन गरेको थियो । रासस

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.