सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

Jun 16, 2023 - 04:28
 0
सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन
सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरसफाइ तथा फोहर मैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमको बुँदा नं ८८ मा तीनै तहका सरकारको समन्वयमा सरसफाइ स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरिने भन्ने उल्लेख भएबमोजिम सरसफाइ तथा फोहर मैला व्यवस्थापनका लागि सबै स्थानीय तहलाई मन्त्रालयले बिहीबार सो पत्राचार गरेको हो ।

मन्त्रालयले सचिव स्तरको निर्णयबाट सरसफाइ तथा फोहर मैला व्यवस्थापनका लागि सबै स्थानीय तहलाई १८ बुँदे नीतिअनुसार काम गर्न  पत्र पठाएको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको वातावरणमैत्री स्थानीय शासनको प्रारूप, २०७८ को कार्यान्वयन सुनिश्चित गर्न सो पत्रमा निर्देशन दिइएको छ ।

स्थानीय तहले आगामी आवभित्र हालसम्म विभिन्न निकायबाट निर्माण भएका सरसफाइ, जनस्वास्थ्य, खानेपानी तथा वातावरणसम्बन्धी निर्देशिका, प्रारूप (फ्रेम वर्क), मापदण्ड आदिलाई समेटी सङ्घीय तथा प्रादेशिक मापदण्डसँग नबाझिने गरी आ–आफ्ना पालिकाको प्रारूप तयार गरी कार्यान्वयन गर्न सोही पत्रमार्फत निर्देशन दिइएको छ ।

त्यसैगरी, पशु वधशाला र मासु जाँच ऐन २०५५, पशु ढुवानी मापदण्ड २०६४, खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुराँ स्तरीकरण गर्नेसम्बन्धी  निर्देशिका २०७४, दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि २०७४ अनुसार कानुन कार्यान्वयनको अवस्था विश्लेषण गरी प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

सो पत्राचारमा सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन, २०६८ बमोजिम सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाउन र आ–आफ्नो पालिका र अन्तर्गतका निकायमा सरसफाइ तथा फोहोर मैला व्यवस्थापनसम्बन्धी फोकल पर्सन तोक्न पनि भनिएको छ ।

सम्पूर्ण सरसफाइ कर्मचारीको काम, कर्तव्य स्पष्ट पार्दै त्यस्ता कर्मचारीको सेवा, सर्त र सुविधा स्पष्ट उल्लेख गर्नुका साथै सरसफाइ क्षेत्रमा काम गर्ने कामदार तथा कर्मचारीलाई प्रचलित कानुनबमोजिम उचित पारिश्रमिक प्रदान गर्न र स्थानीय तहबाट वार्षिक रूपमा सम्मान गरिने कर्मचारीमध्ये कम्तीमा एक प्रतिशत सरसफाइ क्षेत्रका कर्मचारीलाई समावेश गर्न भनिएको छ ।

आगामी आवभित्र सरसफाइ तथा फोहर मैला व्यवस्थापनको काममा खटिने सम्पूर्ण कामदार तथा कर्मचारीलाई सरसफाइसम्बन्धी तालिम दिने, सरसफाइको काममा उचित रसायन प्रयोग गर्ने, सुरक्षासहितको पोसाक प्रयोग गर्ने र सरसफाइ क्षेत्रको पनि अडिट गर्ने व्यवस्था मिलाउन र क्षमता विकासका कार्यक्रममा सरसफाइसम्बन्धी विषय अनिवार्य समावेश गर्न पनि सो पत्राचारमा भनिएको छ ।

त्यसैगरी विद्यालयको स्थानीय पाठ्यक्रममा स्वास्थ्य तथा सरसफाइसम्बन्धी दार्शनिक, प्राज्ञिक, एवं आधुनिक मूल्यमान्यता र विषय समावेश गरी सचेतनामूलक पठनपाठनको उचित व्यवस्था मिलाउन तथा यस विषयमा नागरिक शिक्षाको प्रबन्ध मिलाउनसमेत सबै स्थानीय तहलाई निर्देशन दिइएको छ ।

सङ्घ र प्रदेशका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सांस्कृतिक सम्पदा, हिमाल, ताल, नदी, जङ्गल, बगैँचा तथा पर्यटक पदमार्गको सरसफाइलाई निरन्तरता दिन र सार्वजनिक भवन तथा संरचना निर्माणको स्वीकृति प्रदान गर्दा स्वास्थ्य, सरसफाइ तथा निर्माण मजदुरको सुरक्षा संवेदनशीलतालाई ध्यान दिन पनि सो पत्राचारमा भनिएको छ ।

मन्त्रालयको पत्राचारपछि अब स्थानीय तहअन्तर्गत पर्ने राजमार्ग वरिपरि, पर्यटकको आवागमन हुने स्थान तथा सेवाग्राहीको अत्यधिक चाप हुने ठाउँमा सुविधा सम्पन्न शौचालय र विश्राम स्थलको आवश्यक व्यवस्था मिलाउनुपर्ने छ भने वार्षिक बजेट बनाउँदा पालिका र अन्तर्गतका निकायको पूर्ण सरसफाइका लागि बजेट व्यवस्था गर्नुपर्नेछ ।

त्यसैगरी आर्थिक वर्षको सुरुदेखि नै आ–आफ्नो स्थानीय तह र मातहतका सार्वजनिक स्थलमा प्रचलनमा रहेको विद्युतीय माध्यम ‘क्यु आर कोड’ मार्फत सरसफाइसम्बन्धी सेवाग्राहीको गुनासो लिने र सम्बोधन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

विश्व सरसफाइ दिवसका अवसरमा स्थानीय तहमा साप्ताहिक सरसफाइ कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन र आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत पालिकाभित्र र बाहिर भएका सबै सरसफाइ अभियन्तालाई जोड्ने व्यवस्था मिलाउन पनि मन्त्रालयको पत्राचारमा उल्लेख छ । 

त्यसैगरी आवश्यकताअनुसार सरसफाइ एम्बुलेन्सको व्यवस्था मिलाउन पनि सो पत्रमा उल्लेख गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’  अभियानअन्तर्गत यसअघि नै नेपाल सरकारको नीति तथा कार्यक्रममा सरसफाइसम्बन्धी नीति निर्माण गरिएको र सोही नीतिबमोजिम यी विषयवस्तुलाई समावेश गरिएको हो ।

प्रधानमन्त्री दाहालले अघि सार्नुभएको उक्त नीतिबमोजिम नेपाल सरकारका विभिन्न निकायले यससम्बन्धी निर्देशिका निर्माण गरिरहेका र पछिल्लो समय सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले जारी गरेको यस सरसफाइ तथा फोहर मैला व्यवस्थापन योजना सबै स्थानीय तहमा अक्षरशः लागू भएमा ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियान सफल हुने प्रधानमन्त्री दाहालका जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले बताउनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1