६५५ पालिकामा छैन दमकल

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले विपद् व्यवस्थापनका लागि अतिआवश्यक उपकरण दमकल सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएको छ ।

Feb 15, 2022 - 06:11
 0
६५५ पालिकामा छैन दमकल

राष्ट्रिय विपद् व्यवस्थापन तथा प्राधिकरण ऐन, २०७४ ले पनि दमकल लगायतका उपकरण तयारी हालतमा राख्ने जिम्मा स्थानीय तहलाई नै सुम्पिएको छ । तर, ७५३ स्थानीय तहमध्ये ६५५ नगरपालिका र गाउँपालिका अझै पनि दमकलविहीन छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ६ महानगरसँग २१ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ वटा दमकल छन् ।

मन्त्रालयका अनुसार, काठमाडौंमा छ, ललितपुरमा तीन, पोखरामा तीन, भरतपुरमा दुई, वीरगञ्जमा तीन र विराटनगर महानगरपालिकामा चार वटा दमकल छन् । तर, ती सबै चालू अवस्थामा छैनन् ।
झापाको कमल, मोरङको कानेपोखरी, सुनसरीको कोशी, तेह्रथुमको आठराई, भोजपुरको हतुवागडी, खोटाङको खोटेहाङ, उदयपुरको रौतामाई र बाँकेको नरैनापुर गाउँपालिकाले दमकल खरिद गरेका छन् । त्यसबाहेक ४५२ वटा गाउँपालिका अहिले पनि दमकलविहीन छन् ।

सरकारले अहिले हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि एउटा दमकल राख्ने नीति अघि सारेको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा पनि ७५३ वटै स्थानीय तहमा दमकल राख्ने योजना समेटिएको थियो । तर, मन्त्रालयको विपद व्यवस्थापन शाखाका उपसचिव ऋषि आचार्यका अनुसार दमकलविहीन २०३ नगरपालिकाले खरिदको प्रयास त गरेका छन् । तर, कसैले बजेट अभाव त कसैले जनशक्ति व्यवस्थापनमा समस्या देखाउने गरेका छन् ।

‘करोडको स्कर्पियो चढेर हिँड्ने जनप्रतिनिधिलाई जनताको घर, धन सम्पती जल्दा अलिकति पनि छुँदैन’– अग्नि नियन्त्रणविद् किशोर भट्टराई भन्छन्– ‘नभए हरेक स्थानीय तहले एउटा दमकल राख्न त्यति अप्ठ्यारो थिएन ।’

भएका पनि चल्दैनन्

भट्टराईका अनुसार दमकल शहरी क्षेत्रको आगलागी नियन्त्रणमा प्रयोग हुने सबैभन्दा उपयोगी साधन हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले पनि शहरी क्षेत्रका घरमा हुने आगलागीका ९५ प्रतिशत घटना दमकलको सहयोगमा नियन्त्रणमा आएको देखाउँछ ।

‘विपद्मा प्रत्येक सेकेण्ड पनि महत्वपूर्ण हुन्छ, समयमै गएर गरिएको उद्धार कार्यले क्षति कम गराउँछ’– भट्टराई भन्छन्– ‘त्यसैले यो साधन एकदम जरुरी छ र दमकल आफैं महत्व प्रमाणित भएको एक साधन हो ।’

नेपालकै पुरानो जुद्ध बारुण यन्त्र कार्यालयका पूर्वप्रमुख समेत रहेका भट्टराईका अनुसार यदि दमकल समयमा आगलागी भएको स्थानमा पुग्न सकेन भने यसले उद्देश्य अनुसारको काम गर्न सक्दैन । ‘तर अहिले अधिकांश घटनामा समयमा दमकल पुग्न नसक्दा ठूलो क्षति भइरहेको छ’– भट्टराई भन्छन्– ‘दमकलले शुरुमै इन्टरभेन्ट गर्न सकेन भने आगो फैलिसक्छ र नियन्त्रणमा लिन समस्या हुन्छ ।’

स्थानीय तहसँग भएका दमकल पनि विग्रिएर थन्किँदा अहिले यस्तै समस्या देखिइरहेको भट्टराई बताउँछन् । उनले भनेजस्तै देखियो झापाको मेचीनगर–६, बर्मेली टोलको एसएस फुट्वेयरमा २० माघ २०७८मा आगलागी हुँदा नजिकै रहेको नगरपालिकाको दमकल आगो निभाउन जान सकेन ।

बिहान साढे ११ बजे धुँवाको मुस्लो देख्ने वित्तिकै स्थानीयले मेचीनगर नगरपालिकाको दमकललाई खबर गरेका थिए । तर, बिग्रिएपछि मर्मतका लागि १८ दिनदेखि बिर्तामोडको ग्यारेजमा दमकल थन्किएको चालक कृष्ण चिमरिया बताउँछन् ।

आगलागी भएको स्थानबाट करिब ३ किलोमिटरको दूरिमा रहेको दमकल आउन नसकेपछि २५ किलोमिटर टाढा रहेको बिर्तामोड र भद्रपुरको दमकललाई बोलाउनुप¥यो । त्यतिञ्जेल आगो नियन्त्रणबाहिर गइसकेको थियो । त्यसैले मोरङ, इलाम र सुनसरीबाट पुगेका दमकल पनि प्रभावकारी भएनन् । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भारतीय समकक्षीसँग पनि छलफल गरेर भारतको नक्सल र मतिगडाबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिए ।

‘आगलागीको तीन चरण हुन्छ– शुरुवाती, चरम र अन्तिम । शुरुवाती अवस्थामा दमकल परिचालन भए मात्र क्षति न्यूनीकरण हुन्छ’– भट्टराईले भने– ‘मेचीनगरमा दमकल नै चरम अवस्थातिर पुगेको देखिन्छ, यस्तो अवस्थामा क्षति न्यूनीकरण सम्भव हुँदैन ।’

मेचीनगरका स्थानीयवासी रुद्र अधिकारी पनि नजिकै रहेको मेचीनगर नगरपालिकाको दमकल नआउँदा एसएस फुट्वेयरसहित नजिकै रहेको थप दुई घर समेत जलेर नष्ट भएको बताउँछन् । यो घटनाको १० दिनपछि आइतबार काँकरभिट्टामा आगलागी हुँदा पनि नगरपालिकाको दमकलले काम गरेन ।

भानुटोलका नारायण तिम्सिना र पासाङ तामाङको घर जलेर नष्ट भइसकेपछि मात्रै विर्तामोड नगरपालिकाको दमकल पुग्यो । आक्रोशित स्थानीयवासीले नगरपालिकाले दमकल मर्मत नगरेको भन्दै सडक अबरुद्ध गरे, नगरपालिकाविरुद्ध नारावाजी पनि गरे ।

बाग्लुङ सदरमुकाम छेऊमै १६ मंसीर २०७७ मा आगलागी हुँदा पनि नजिकै रहेको दमकल अग्नि नियन्त्रणमा आउन नसक्दा स्थानीय आक्रोशित बनेका थिए । बागलुङ–४, उपल्लोचौरको कपास उद्योगमा आगलागी शुरु हुनासाथ दमकललाई खबर गरिएको थियो । तर चालक सम्पर्कमा नरहेको जवाफ आयो । उद्योगमा झण्डै १५ लाख रुपैयाको क्षति पुग्यो ।

तुलसीपुर उपमहानगरपालिका–५, दाङमा २८ माघ २०७८ मा दुई परिवारका ५ जनाको ज्यान जाने गरी भएको आगलागीमा पनि दमकल समयमा पुग्न सकेको थिएन । दमकल अघि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र स्थानीयले बाल्टीबाट पानी खन्याएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

स्थानीय शेषकान्त ढकालका अनुसार आगलागी भएको झण्डै २ घण्टापछि मात्रै दमकल पुगेको थियो । तर, आगो फैलिसकेपछिको अवस्थामा तीन सय लिटर पानी लिएर गएको दमकलको फोहोराले आगो नियन्त्रणमा आउन सकेन । पानी सकिएपछि भर्ने ठाउँ खोज्न गएको दमकललाई फर्किँनै ४५ मिनेट लाग्यो । ‘त्यही भएर पनि दमकललाई आगो नियन्त्रणको अन्तिम विकल्प सोच्नु हुँदैन’– राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल भन्छन्– ‘यो पनि एउटा विधि हो तर सँगै फायर एस्टिङ्ग्विसर (अग्नि नियन्त्रक उपकरण, होज रिल (पानी फाल्ने पाइप), फायर हाइड्रेन्टहरु राख्ने कुरामा पहिल्यै ध्यान पु¥याउनुपर्छ ।’

अग्नि नियन्त्रणविद् भट्टराई ८ घन्टासम्म दमकल देखाएर आगो नियन्त्रण गरिरहेका छौं भन्नु जनतालाई भुलाउने विषय मात्रै भएको बताउँछन् । ‘८/९ घण्टामा सबै नष्ट भएपछि आगो आफैं पनि निभ्छ, समयमा रेस्पोन्स नहुनुको अर्थ छैन’– उनी भन्छन् ।

नेपाल प्रहरीको तथ्यांकले पछिल्लो पाँच वर्षमा आगलागीका १० हजार घटना भएको देखाउँछ । ती घटनामा ३०५ जनाको मृत्यु र एक हजार ५७७ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार यो अवधिमा ५ हजार ६७० घर, ६ हजार ९१ चौपाया र १ हजार ७५१ गोठमा क्षति पुगेको छ ।

केसीका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा मात्रै एक हजार ५४१, आर्थिक वर्ष ०७४/०७५ मा एक हजार ७९२, ०७५/०७६ मा दुई हजार ३३९ र ०७६/०७७ मा २ हजार ८५३ आगलागीका घटना भए । आर्थिक वर्ष २०७७/०७८ मा देशभर २ हजार ८५३ आगलागीका घटना भएका छन् ।

दमकल भएकाले पनि चलाउन सकेनन्

सरकारले २०७१ सालमा दमकल खरीदका लागि स्थानीय विकास मन्त्रालयमार्फत विभिन्न स्थानीय तहलाई ६०÷६० लाख रुपैयाँको दरले बजेट दिएको थियो । तर, २८ वटा स्थानीय तहले मात्रै दमकल खरीद गरेका थिए, अन्यले खरिद गर्न सकेनन् । दमकल खरीद गरेका कतिपय स्थानीय तहहरुले पनि यसको सञ्चालन गर्न सकेका छैनन् ।

काठमाडौंको चन्द्रागिरि र कागेश्वरी मनोहरा नगरपालिकाले दमकल खरिद गरे पनि जनशक्ति अभावमा सञ्चालन गरेका छैनन् । चन्द्रागिरिका मेयर घनश्याम गिरी दक्ष जनशक्ति नभएकाले दमकल थन्किएको बताउँदै भन्छन्– ‘काठमाडौं महानगरपालिकालाई सञ्चालन गर्न दिने तयारीमा छौं ।’

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकालाई पनि सरकारले दमकल दिएको थियो तर जनशक्ति अभावमा चलाउन नसकेको भनेर भक्तपुर नगरपालिकालाई हस्तान्तरण ग¥यो । गोरखा नगरपालिकाले पनि अनुदानमा एउटा दमकल पाएको थियो । तर ५ महिनादेखि थन्किएको छ । गोरखाका मेयर राजनराज पन्त भन्छन्– ‘बनाउनलाई पोखरा पठाएका थियौं, अहिलेसम्म बनिएको छैन ।’

काठमाडौं महानगरपालिकासँग ६ वटा दमकल छन् । तीमध्ये तीन वटा मात्रै चालू अवस्थामा छन् । बेलायत सरकारले २०६९ सालमा दिएको भोल्भो, इटालीले १९९२ मा दिएको मर्सिडिज र भारतबाट सात वर्षअघि खरीद गरिएको आइचर कम्पनीको दमकल सञ्चालनमा छन् । यी तीनवटा दमकलले काठमाडौंलाई धान्न धौ–धौ पर्छ ।

२०७३ असार पहिलो साता कीर्तिपुर नगरपालिकाले दमकल चलाउने खर्च धान्न नसकिने भनेर आफूसँग भएको दमकल जुद्ध बारुण यन्त्रलाई दिएको थियो । त्यो दमकललाई महानगरपालिकाले अहिले बौद्धमा राखेको छ । ललितपुरमा तीन वटा दमकल रहेकोमा एउटा मात्र सञ्चालनमा छ । भक्तपुरमा ६ वटा दमकलमध्ये दुईवटा मात्रै चालु अवस्थामा छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव डिजन भट्टराई भन्छन्–‘ ‘उपत्यकामै तत्कालै अत्याधुनिक दमकल खरीद गर्नुपर्ने आवश्यकता छ ।’

जानकारहरुका अनुसार सामान्यतयाः एउटा दमकलको मूल्य ७० लाख रुपैयाँभन्दा बढी पर्छ । यसका लागि कम्तिमा पनि तीन जना कर्मचारी २४ सै घन्टा खटिनुपर्छ । दुई सिफ्टमा कर्मचारी राख्नुपर्ने र दमकल विग्रिरहने हुँदा स्थानीय तहले दमकल राख्न झञ्झट मान्ने गरेका छन् ।

नवलपरासी पूर्वको कावासोती नगरपालिकाका अीग्न नियन्त्रक तुलसी गिरी भन्छन्– ‘खासमा स्थानीय तहले विपद् व्यवस्थापनलाई प्राथमिकता नदिएका हुन्, वर्षेनि आगलागीबाट हुने क्षतिलाई गम्भीरतापूर्वक लिने हो भने जनप्रतिनिधिले दमकल पाल्न झञ्झट मान्ने थिएनन् ।’ तर, कतिपय जनप्रतिनिधि चाहिँ स्थानीय तहसंग दमकल सञ्चालन सम्बन्धी कार्यविधि नभएको बताएर पन्छिरहेका छन् ।

छैन तालिम

पर्वतको कुस्मा नगरपालिकाका अग्नि नियन्त्रक चिरञ्जीवी शर्माले दमकलमा काम गरेको चार वर्ष भयो । तर अहिलेसम्म आगो कसरी नियन्त्रण गर्ने भन्ने तालिम लिएका छैनन् । ‘पहिले यसमा काम गर्ने एक जना दाइ हुनुहुन्थ्यो, उहाँले नै सिकाएर काम गर्न थालेको हुँ’– शर्माले भने– ‘त्यसबाहेक अहिलेसम्म तालिम लिएको छैन ।’ पानी भर्ने, फ्याँक्ने र अन्य सामान्य कुरा जाँच गर्नेबाहेक आफूलाई धेरै ज्ञान नभएको उनी बताउँछन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाले चलाएको दमकलमा अग्नी नियन्त्रकका रुपमा काम गरिरहेका तुल्सीराम तिम्सिना चाहिँ ६ वर्षअघि आफूले एकपटक तालिम लिएको बताउँछन् । ‘अहिलेसम्म तालिम लिएकै त्यति हो, त्यसमा पानीको फोहोरा हान्दा कसरी हान्ने, आफूलाई कसरी जोगाउने र कम क्षतिमा कसरी आगो नियन्त्रणमा लिने भन्ने सिकाइएको थियो’– उनी भन्छन्– ‘धनगढी नगरपालिकामा एकपटक तालिम भएको थियो, त्यसयता केही पनि भएको छैन ।’

सुरक्षागार्डका रुपमा दुबई जाँदा अग्नि नियन्त्रण सम्बन्धी तालिमसमेत लिएका कावासोती नगरपालिकाका अग्नि नियन्त्रक गणेश गिरी चाहिँ आगो नियन्त्रण सम्बन्धी जानकारीविना हुने परिचालनले झन् क्षति बढाउने बताउँछन् ।

‘अहिले धेरैतिर अन्धाधुन्द पानी हालिरहेको देख्छु, खासमा पानी हाल्ने पनि प्रक्रिया हुन्छ’– गिरीले भने– ‘हावाको वेग, आगलागी भएको मुख्य भाग, आगोको प्रकार जस्ता कुरामा ध्यान दिएर परिचालन हुन सके मात्र क्षति कम हुने हो र आगो पनि चाँडै नियन्त्रणमा आउने हो ।’

अहिलेका दमकलले प्रयोग गर्ने गरेको विधिले क्षति घटाउने नभइ बढाउने काम गरिरहेको उनको बुझाइ छ । ‘कस्तो अवस्थामा केमिकल प्रयोग गर्ने भन्ने पनि धेरैलाई थाहा हुँदैन’– उनी भन्छन्– ‘कतिपयमा त मुख्य आगो लागेको ठाउँ छोडेर अर्कोतिर पानी हाल्दा बच्न सक्ने चिजहरुमा पनि क्षति पुगिरहेको हुन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register