उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएपछि हर्क साम्पाङ आलोचित

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ ।

Oct 16, 2024 - 08:53
 0
उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएपछि हर्क साम्पाङ आलोचित

धरान । धरान उपमहानगरपालिकाका प्रमुख/मेयर हर्कराज राई (हर्क साम्पाङ) गत असोज २३ गते उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएर बेलायतका लागि हिँडे ।

उपप्रमुख हुँदाहुँदै कार्यवाहक वडाध्यक्षलाई दिने हर्कको कदमको अहिले व्यापक आलोचना भइरहेको छ ।

अहिले धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा हुन्, जो नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुन् । बेघा-हर्क सम्बन्ध हार्दिकता छैन । उनीहरूबीच पटक-पटक कार्यपालिका बैठकमा भनाभन हुने गर्छ ।

सम्बन्ध बिग्रिएकै कारण हुनुपर्छ, हर्कले कार्यवाहक उनलाई नदिइकन ११ नं. का वडाध्यक्ष लोकेन्द्र कुमार फागुलाई दिए ।

त्यसो त कानूनत: प्रमुख र उपप्रमुख दुबै पालिकाबाहिर रहेको अवस्थामा मात्रै वडाध्यक्षले कार्यवाहक पाउँछ । तर, हर्कले भने उपप्रमुख धरानमै हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएका हुन् ।

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ ।

तर, हर्कले कार्यवाहक दिनेबेला यो प्रावधानको धज्जी उडाएका छन् । अर्थात् उनले उपप्रमुख बेघालाई बाइपास गर्दै कार्यवाहक वडाध्यक्षलाई दिए ।

आलोचना बढेपछि हर्कले आफूले ११ नं. का वडाध्यक्ष लोकेन्द्र कुमार फागुलाई नै कार्यवाहक दिएको दोहोर्‍याएका छन् । “मैले तोकेको आधिकारिक कार्यवाहक वडा नं. ११ का अध्यक्ष लोकेन्द्र कुमार फागु हुन् । अरु फजुलको गीत नगाउनुहोला,” उनले भनेका छन् ।

यसपछि धरानका पूर्वप्रमुख/मेयरहरूले पनि उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएको तर्क गरिन थालेको छ । तर, पूर्वमेयर तिलक राईले यसको विरोध गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भनेका छन्, “मैले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक तोक्ने काम गरिनँ । यो झुट हो । प्रमुख बाहिर जाने तर, उपप्रमुख पालिकामै रहने अवस्थामा स्वत: कार्यवाहकको जिम्मेवारी उपप्रमुखले पाउनुपर्छ । यो कानूनी प्रावधान हो ।”

यता उपप्रमुख बेघाले पनि हर्कको कदमको आलोचना गरेका छन् । कार्यवाहक तोक्ने काम तजबिजी अधिकार नभई कानूनी कुरा रहेको उनले बताए । “कार्यवाहक तोक्ने कुरा तजबिजीको अधिकार होइन, यसबारे कानूनले स्पष्ट रूपमा बोलेको छ,” उनले भने ।

उनले कार्यवाहक कानूनसम्मत आफूले पाउनुपर्ने बताएका छन् । “मैले कानूनको कुरा गरेको हुँ । मैले नै पाउनुपर्छ भन्ने कुरा एउटा हो तर, कानूनअनुसार चल्नुपर्छ,” उनले भनेका छन् ।

कार्यवाहक पाएका ११ नं. का वडाध्यक्ष लोकेन्द्र कुमार फागुले भने प्रमुख राईले कार्यालय नै बोलाएर कार्यवाहकको पत्र थमाएको बताएका छन् । “उहाँले मलाई कार्यालय नै बोलाएर कार्यवाहको पत्र दिनुभयो । उहाँले ऐन नहेरीकन कार्यवाहक तोक्नुभयो कि !,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register