भाइरल हुन नोट धोएर आइरन लगाउँदा हुनसक्छ जरिबानादेखि जेल सजाय

नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा लाग्ने खर्चको व्यवस्थापन गर्न र खुद्रा मुद्रा व्यवस्थापन गर्न यस वर्ष नयाँ नोट सहटी नखुलाएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले यस वर्ष नयाँ नोट सहटी नभएको हो ।

Oct 16, 2024 - 04:35
 0
भाइरल हुन नोट धोएर आइरन लगाउँदा हुनसक्छ जरिबानादेखि जेल सजाय

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्वलाई लक्षित गरेर कुनै नयाँ नोट सटही दिएन । नयाँ नोटको साटो केन्द्रीय बैंकले सर्वसाधारणका लागि सुकिला नोट सटही गरी दिएको थियो । सोही विषयलाई कारण बनाउँदै सामाजिक सञ्जालमा केही मानिसहरूले नोट साबुन-पानीले धुने र सुकाउने गरेको भिडिओ सार्वजनिक भएका छन् ।

यति मात्र नभएर उनीहरूले धोएर सुकाएको नोटलाई आइरनसमेत लगाएर सोझ्याएको भिडिओमा देख्न सकिन्छ । यस विषयमा मानिसहरूले केन्द्रीय बैंकले नयाँ नोट नदिएको कारणलाई औँलाए पनि भिडिओ हेर्दा उनीहरूको व्यक्तिगत मनोरञ्जन र भाइरल हुने लाचल देखिन्छ ।

बाटामा फिँजाएर साबुन पानी वा सरप पानीले मिचिमिची नोट धोएको भिडिओ भाइरल भएपछि अन्य व्यक्तिले पनि सिको गरेको देखिन्छ । यतिबेला नोट धोएको भिडिओ फेसबूक, टिकटक, रिल्सलगायतका विभिन्न प्लेटफर्ममा भेटिन्छ ।

किन साबुन पानीले नोट धोएर आइरन लगाए 

सामाजिक सञ्जालमा सार्वजनिक भएका नोट धोएको प्राय: भिडिओ हेर्दा मानिसहरूले राष्ट्र बैंकले दशैंमा नयाँ नोट नदिएको कारणले भनेका छन् । टिकटकमा सुदीक्षा मान्देन्ज नामको अकाउन्टमा ६ दिन अगाडि एउटा भिडिओ राखिएको छ ।

त्यहाँ भनिएको छ, “बैंकले नयाँ नोट नदिएपछि ।” उक्त अकाउन्टबाट सार्वजनिक भएको भिडिओमा बाटामा साबुन पानीले पाँच, दश, बीस, पचास र सयको नोटहरू धोएर लुगा सुकाएको देख्न सकिन्छ । यति मात्र नभएर सुकेका नोटमा आइरन लगाएको समेत देखिन्छ ।

त्यस्तै, मन्जिला२१८ नामक टिकटक प्रयोगकर्ताले पनि ६ दिन अगाडि यस्तै एउटा भिडिओ राखेका छन् । जसको क्याप्सन छ, “बैंकले नयाँ नोट नदिएपछि नयाँ नोट बनाउने आइडिया ।”

सामाजिक सञ्जालमा भेटिएका नोट धोइरहेका भिडिओहरू।

सो भिडिओमा पनि नोटहरू साबुन पानीले मिचिमिची धोएको देख्न सकिन्छ ।

एक हप्ता अगाडि आर्टिस्ट गौतम नामको अकाउन्टबाट पैसामा विद्युतीय आइरन लगाइरहेको भिडिओ सार्वजनिक भएको छ । जुन भिडियोको क्याप्सन छ, “बैंकबाट नयाँ नोट निष्कासन नभएपछि आफैँ नयाँ नोट बनाउँदै ।”

त्यसैगरी ६ दिन अगाडि नारायण गुरुङ९९ नामको अकाउन्टबाट टिकटकमा एउटा भिडियो सार्वजनिक भयो । ‘कमेडी भिडिओ’ क्याप्सन लेखिएको उक्त भिडिओमा धाराको छेउमा बसी पैसा फिँजाएर भाँडा मस्काउने स्टील झुसले एक हजारको नोट धोएको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा भेटिएका नोट धोइरहेका भिडिओहरू ।

मूलत: यस्तो भिडिओ रमाइलोको लागि र भाइरल हुनको लागि बनाएको देखिन्छ । यस्ता भिडिओमा कमेन्ट गर्ने कमेन्टरहरू करिक ७५/८० प्रतिशत रमाइरहेका देखिन्छन् । जसका कारण अन्य व्यक्ति पनि नोट धोएको भिडिओ बनाउन र पोस्ट गर्न ललायित देखिन्छन् ।

सोही ट्रेन्ड फलो गर्दा अहिले नोट धोएका धेरै भिडिओहरू सामाजिक सञ्जालमा भेटिएको छ ।

हुनसक्छ जरिबानादेखि जेल सजायसम्म 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २२, मुद्रासम्बन्धी कसुरअन्तर्गतको दफा २६३ को उपदफा (२) मा कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन भन्ने व्यवस्था गरिएको छ । साथै, उक्त ऐनमा नोट वा सिक्का जलाउन, गाल्न र च्यात्न नहुने जनाएको छ ।

सोही दफाको उपदफा (३) मा उपदफा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । राष्ट्र बैंकले पनि यस्ता कार्य नगर्न र नगराउन पटक-पटक निर्देशन जारी गरिसकेको छ ।

तर, यस्ता हर्कतहरू दोहोरिँदा राष्ट्र बैंकले कारबाहीको चेतावनी दिएको छ । साथै उसले त्यस्ता कार्यहरू पुन: नगर्न ध्यानाकर्षण गराएको छ ।

राष्ट्र बैंकले यो वर्ष किन दिएन नयाँ नोट ? 

नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्दा लाग्ने खर्चको व्यवस्थापन गर्न र खुद्रा मुद्रा व्यवस्थापन गर्न यस वर्ष नयाँ नोट सहटी नखुलाएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले यस वर्ष नयाँ नोट सहटी नभएको हो ।

सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थ्यमा हुने जोखिमसमेत न्यूनीकरण हुने राष्ट्र बैंकको भनाइ छ ।

नोटहरू जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुने बैंकले जनाएको छ ।

नोट धोएको विषयमा किन मौन छ राष्ट्र बैंक ? 

हुन त नेपाल राष्ट्र बैंकले बारम्बार नोटको जतन गर्न सबैलाई आग्रह गर्दै नै आइरहेको छ । नोट केरमेट गर्ने र जतन नगर्नेलाई हुन सक्ने कारबाहीको विषयमा केन्द्रीय बैंकले सावधान गराउँदै आइरहेको छ ।

यद्यपि, नयाँ नोट बनाउन साबुन-पानीले धोएको र आइरन लगाएको भिडियोहरू आइरहँदा भने राष्ट्र बैंक मौन देखिएको छ । किन ?

नेपाल राष्ट्र बैंकको सहायक सूचना अधिकारी डा. भागवत आचार्यको जवाफ छ, “हामीले पनि यस्तो भिडिओ सामाजिक सञ्जालमा देख्यौँ । यसमा अनुसन्धान गर्ने र कारबाही गर्ने अधिकार राष्ट्र बैंकसँग हुँदैन । त्यही पनि तपाईंले उठाउनुभएको विषय म सूचना महाशाखाको तर्फबाट र मेरो व्यक्तिगततर्फबाट पनि सम्बन्धित ठाउँमा राख्छु ।”

नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्य ।

नोट धोएको भिडियो कसले कहाँबाट बनाएको भन्ने स्रोत थाहा पाउन मुस्किल पर्ने डा. आचार्यको भनाइ छ । यद्यपि, सामाजिक सञ्जालमा उक्त भिडिओहरू रियल अकाउन्टबाटै सार्वजनिक गरिएको पनि भेटिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register