‘भाटभटेनी’को बम्पर सेलमा एमालेको ‘इज्जत’ लिलाम

द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नेहरू हरेक ‘चिज’लाई वस्तुवादी कोणबाटै हेर्छन् । एमाले अध्यक्ष ओलीको ‘सोच’ले पार्टीको साख, इज्जत, प्रतिष्ठा या लोकलज्जालाई पनि वस्तुमै परिणत गरिदिएको छ । एमालेको ‘इज्जत’ यतिबेला १० रोपनी १४ आना जग्गामा लिलाम भएको छ ।

Oct 16, 2024 - 12:29
 0
‘भाटभटेनी’को बम्पर सेलमा एमालेको ‘इज्जत’ लिलाम

‘कम्युनिष्ट’ शब्द कति पवित्र थियो, एमालेले बदनाम गर्‍यो । ‘कमरेड’ सम्बोधन कति महान् थियो, एमालेले यसलाई पनि निम्छरो बनाइदियो । कमरेड भन्नासाथ नाक खुम्च्याउनुपर्ने अवस्था आयो ।

अहो ! ‘बा’ सम्बोधनमै कति आत्मीयता, सम्मान र आदरको वर्षा हुन्थ्यो । अहिले ‘बा’को पनि बदनाम गरियो । ‘बा’ शब्द सुन्नासाथ नागरिकको मानसपटलमा एमाले अध्यक्ष केपी ओलीको बदनाम अनुहार घुम्न थाल्छ । ‘बा’को बदनामीसँगै ‘भाउजू’ नाताको राष्ट्रिय बदनामी गरिएको पनि जगजाहेरै छ ।

हुँदा-हुँदा एमालेले अहिले आएर हिन्दु धार्मिक मान्यताअनुसार पवित्र कर्म मानिने ‘दान धर्म’कै उपहास गरेको छ । स्वार्थको लेनदेनलाई ‘दान’ र भ्रष्ट व्यापारीलाई ‘दानवीर’ उपाधिबाट सुशोभित गरेर एमालेले दान धर्मकै मर्म र गरिमामाथि प्रहार गरेको छ । के दान दिने र लिने यस्तै भ्रष्टहरूले हो त ? भन्ने यक्ष प्रश्न खडा भएको छ ।

दान धर्मको तेजोबध गर्ने काम नवरात्रिमै गरियो । सिङ्गो देश दशैंको रमझममा व्यस्त थियो । अष्टमीका दिन कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले भूमिपूजाका साथ एमाले मुख्यालय भवनको शिलान्यास गरे ।

पत्नीसहित उभिएर केपी र मीनबहादुरले सो भवन शिलान्यास गरिरहँदा भान हुन्थ्यो— त्यो सम्पत्ति उनीहरूको निजी हो, एमालेका लाखौं नेता र कार्यकर्ताको त्यसमा कुनै भावनात्मक अपनत्व छैन । कुनै कर्पोरेट प्रोपर्टीको शिलान्यास गरेजस्तै ।

देशका सच्चा कम्युनिष्ट पङ्क्तिलाई लाग्यो, एमालेले कम्युनिष्ट आदर्श र इमानलाई फेरि एकपटक बलिवेदीमा होम्यो । दलाल पुँजीपति वर्गको चङ्गुलमा फसेको एमालेले आफ्नो त्यो कुरूप अनुहार हाकाहाकी प्रदर्शन गर्‍यो, यसपटक । ‘मीनबहादुर फ्याक्टर’को प्रभावले एमालेको ‘मिसन ८४’लाई बुमर्‍याङ बनाइदिने खतरा बढेपछि पार्टी पङ्क्तिमा अहिले चिन्ता बढेको छ ।

एमाले मुख्यालयको शिलान्यास भइरहँदा प्रधानमन्त्री ओलीको बायाँ नाडीमा करिब तीन करोड मूल्य पर्ने ‘पाटिक फिलिप’ ब्राण्डको घडी चम्किरहेको देखिन्थ्यो । नाडीको घडी र शिलान्यासको घडी (क्षण) दुवै कुनै कम्युनिष्ट पार्टीका नेताका लागि सुहाउँदो थिएन ।

लोकलज्जा र प्रतिष्ठालाई हनुमन्तेमा बगाइसकेका अध्यक्ष ओलीले जुन हर्कत गरे, त्यसबाट पार्टीका इमानदार नेता/कार्यकर्तालाई समाजमा मुख देखाउनै सकस हुन थालेको छ । तर, आफ्ना अध्यक्षका यस्ता गतिविधिबारे उनीहरू बोल्न सकिरहेका छैनन् । विरोध गरौँ, ओली गुटको पेलानमा परिने डर, समर्थन गरौँ मनले मान्दैन ।

एमाले मुख्यालयको शिलान्यास भइरहँदा प्रधानमन्त्री ओलीको बायाँ नाडीमा करिब तीन करोड मूल्य पर्ने ‘पाटिक फिलिप’ ब्राण्डको घडी चम्किरहेको देखिन्थ्यो । नाडीको घडी र शिलान्यासको घडी (क्षण) दुवै कुनै कम्युनिष्ट पार्टीका नेताका लागि सुहाउँदो थिएन । एमालेका कयौं नेता/कार्यकर्ताका आँखा त्यो दृश्यले बिझाइरहेको थियो ।

अझ, लाखौँ मूल्य पर्ने ‘सेतो सुन’को फ्रेमवाला चस्मा अनि उत्तिकै महङ्गो जुत्ता । ‘सर्वहारा वर्गको पार्टी’ भन्न किञ्चित् शरम नमान्ने एमाले गणका यस्ता ‘रवाफी’ अध्यक्षको छेउमै गमक्क पर्दै उभिएका श्वेत कुर्ताधारी मीनबहादुर । दृश्य उदेकलाग्दो थियो, जसलाई टुलुटुलु हेर्न विवश भयो, लामो समयदेखि हाबी गैरसरकारी संस्थाका अनेक बन्धन र ‘दलीय दास मनोवृत्ति’मा जकडिएको एमाले पङ्क्ति । ‘ओली बा’को बरद बाहुलीबाट भएकाले त्यो ‘घटिया कदम’ पनि एमाले पङ्क्तिका दृष्टिमा ‘क्रान्तिकारी’ ठहरियो ।

अब मीनबहादुर एमालेका ‘भूमिदाता’ र ‘दानवीर’ कहलिएका छन् । एमाले नामक दल अस्तित्वमा रहुन्जेल मीनबहादुर पनि अमर भइरहनेछन् । वर्षौँसम्म ‘मीनबहादुरले दिएको जग्गा’ भन्ने तथ्य स्थापित हुनेछ । नयाँ पुस्ताका एमालेहरूले बरु मदन र मनमोहनलाई बिर्सलान् तर, मीनबहादुर सदा स्मरणमा रहनेछन् ।

ललिता निवास जग्गा काण्डमा मुछिएर पक्राउसमेत परिसकेका मीनबहादुरले दिएको १० रोपनी १४ आना जग्गामा एमाले मुख्यालय भवनको शिलान्यास भएपछि एमालेको वर्गीय पक्षधरता यस्तै भ्रष्ट दलाल पुँजीपतिहरूकै हकमा हुने स्पष्ट छ । अब मीनबहादुर एमालेका ‘भूमिदाता’ र ‘दानवीर’ कहलिएका छन् । एमाले नामक दल अस्तित्वमा रहुन्जेल मीनबहादुर पनि अमर भइरहनेछन् । वर्षौँसम्म ‘मीनबहादुरले दिएको जग्गा’ भन्ने तथ्य स्थापित हुनेछ । नयाँ पुस्ताका एमालेहरूले बरु मदन र मनमोहनलाई बिर्सलान् तर, मीनबहादुर सदा स्मरणमा रहनेछन् ।

मीनबहादुरले नै बनाइदिने आधुनिक सुविधासहितको एमाले मुख्यालय भवनमा सायद उनको पनि एउटा तस्वीर झुन्डिएला—मार्क्स, लेनिन, एङ्गेल्स, पुष्पलाल र मदनको तस्वीर छेउमै । हालको मूल्यअनुसार जग्गा र भवनसमेत गरेर करिब डेढ अर्ब रुपैयाँ बराबर दान गरिसकेपछि मीनबहादुरको तस्वीर आफ्नो मुख्यालयमा झुन्ड्याउन एमालेले कन्जुस्याइँ पनि नगर्ला, सायद ।

लिलाममा एमालेको साख

द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नेहरू हरेक ‘चिज’लाई वस्तुवादी कोणबाटै हेर्छन् । एमाले अध्यक्ष ओलीको ‘वस्तुवादी सोच’ले पार्टीको साख, इज्जत, प्रतिष्ठा या लोकलज्जालाई पनि वस्तुमै परिणत गरिदिएको छ । वस्तु विनियमको सिद्धान्तबमोजिम वस्तुको खरिद-बिक्री हुन्छ र त्यसको निश्चित मूल्य हुन्छ । एमालेको ‘इज्जत’ यतिबेला १० रोपनी १४ आना जग्गामा लिलाम भएको छ ।

परिकल्पना गर्न सकिन्छ, यस्तै रवैया कायम रहने हो भने एमाले पार्टी कुनै ‘करप्ट कर्पोरेट कम्पनी’मा परिणत हुनेछ अनि कीर्तिपुरमा निर्माण हुने मुख्यालयचाँहि ठ्याक्कै भाटभटेनी सुपरमार्केटजस्तै । भाटभटेनी अर्थात् कर छल्ने र म्याद नाघेका सामान बेच्न माहिर बजार । एमाले मुख्यालय पनि यस्तै सुपरमार्केट हुनेछ, जहाँ एमालेको ट्याग चढाएर जे पनि बिक्रीमा राखिनेछ ।

जस्तै, जनताको बहुदलीय जनवाद ब्राण्डको चामल र समाजवाद ब्राण्डको दाल मात्र हैन, एमाले सुपरमार्केटमा दलाल पुँजीपति कम्पनीबाट उत्पादित मदिरा र डेट एक्सपायर ‘सपना’समेत बेच्न राखिनेछ ।

‘पानीजहाज मिनरल वाटर’, ‘रेल भुजिया’, ‘हावाबाट ग्यास चाउचाउ’देखि ‘उखान टुक्का मोजा’ र ‘अरिङ्गाल मह’सम्म एमाले सुपरमार्केटका बिकाउ वस्तुहरू हुन् । एमालेले अहिलेसम्म के बेचेन ? राष्ट्रियता बेच्यो, कम्युनिष्ट सिद्धान्त बेच्यो । पुष्पलाल र मदनका सपना बेचेर एमाले नेताहरूले काठमाडौंमा आलिशान महल खडा गरे ।

एमालेले सिङ्गो पार्टी पङ्क्तिलाई नै हाट बजारमा परिणत गरिदिएको छ, जहाँ जे पनि बिकाउ छ । नैतिकता, इमान, आदर्श, कम्युनिष्ट आचरण, विचार, सिद्धान्त, क्रान्ति, जनताको विश्वास, कार्यकर्ताको भरोसा अनि पुष्पलाल र मदनको सपना सबै सबै लिलाममा राखेर एमाले ‘करप्ट कर्पोरेट कल्चर’मा नराम्ररी फसेको छ । यस्तोमा एमालेको मुख्यालय कुनै भ्रष्ट व्यापारीले बनाइदिनु कुन अनौठो कुरा भयो ?

एमालेको मुहारमा ‘मोसो’

अष्टमीको शिलान्यासमा सहभागी भइरहँदा एमाले महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको मुहारमा कुनै लज्जाभाव देखिँदैनथ्यो । बरु, उनीहरू गर्व महसुस गरिरहेका थिए । रिमाल र पोखरेलले मीनबहादुरसँग सेल्फी खिचाएनन् मात्र, त्यो तस्वीर सामाजिक सञ्जालमा सगर्व पोष्ट गरेर आफूहरू ओलीको ‘महान् कदम’को पक्षमा रहेको सन्देश दिए । अर्थात् एमालेको इज्जतलाई भाटभटेनीको ‘बम्पर सेल अफर’मा लिलाममा राख्ने हर्कतको उनीहरूले हाकाहाकी पक्षपोषण गरे । यस्तो पो पारदर्शीता, चाहे बदनामी नै किन नहोस् ?

अख्तियारमा मुद्दा खेपिरहेका मीनबहादुरले दिएको जग्गामा भवन शिलान्यास गरिरहँदा ओली र उनका सहयोगी रिमाल र पोखरेललाई लज्जाबोध नभए पनि विन्दा पाण्डे र उषाकिरण तिम्सिनालगायत एमालेका कयौं नेता/कार्यकर्ता स्तब्ध भएका छन् । अध्यक्ष ओली र उनका अनुचरहरूको व्यवहारका कारण लाखौं कार्यकर्ता र सङ्गठित सदस्यलाई यतिबेला ‘म एमाले हुँ’ भन्नसमेत लाज मान्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

यति समूह, ओम्नी, वाइड बडी, गिरीबन्धु टी-स्टेटलगायत भ्रष्टाचारका अनेक काण्डबाट कुरूप भइसकेको एमालेको मुहारमा अध्यक्ष ओलीले फेरी अर्को महाकलङ्कको मोसो दलिदिएकाले यत्रतत्र सर्वत्र ओलीको विरोध भइरहेको छ । यो विरोधको स्वर एमालेभित्र व्यापक छ, तर ‘हाई साउण्ड’मा छैन ।

प्रधानमन्त्री ओली र उनका अनुचरहरूको व्यवहारले केही समययता एमाले पार्टीको बचे/खुचेको साख नराम्ररी गिराइसकेको छ । फेसबूक पेजमा अनफलो बढनु, अमेरिकामा नेपाली समुदायको कार्यक्रममा सहभागिता जनाउन नसक्नु, जहाँ गए पनि कालो झण्डा, जुत्ता प्रहार र हुटिङको खतरा बढनु आदि दृश्यले प्रधानमन्त्री ओलीको अलोकप्रियता स्पष्ट गर्छ । मीनबहादुरले दिएको जग्गामा मुख्यालय शिलान्यासको घटनापछि ओलीको अलोकप्रियताले झापा, दमकमा निर्माणाधीन टावरकै उचाइ नाघेको छ ।

ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री रहेसम्म एमालेको यसैगरी बदनामी भइरहने र ओलीकै भूमिकाका कारण आगामी निर्वाचनमा पार्टीको पत्तासाफ हुनसक्ने चिन्ताले एमालेभित्र नमिठो तरङ्ग उत्पन्न गरेको छ । ओलीसँगै सिङ्गो पार्टी ‘सती’ जाने त ? भन्ने यक्ष प्रश्न पूर्वराष्ट्रपति विद्या भण्डारीदेखि एमालेका अन्य पुराना र जिम्मेवार नेता पङ्क्तिबाट भित्रभित्रै व्यक्त हुन थालेको छ । ओली र उनका अनुचरको हर्कतले सिङ्गो पार्टी पङ्क्तिलाई लाजमर्दो बनाएकाले आगामी महाधिवेशनमा ओलीकै विकल्प खोज्नेसम्मको सोच घनिभूत हुँदैछ ।

दलाल पुँजीपतिसँग लसपस

प्रधानमन्त्री ओलीको बाँया हातको नाडीमा करीब तीन करोड मूल्य पर्ने ‘पाटिक फिलिप’ ब्राण्डको घडी देखिन्छ । चस्माको फ्रेम ‘सेतो सुन’ भनिने धातुबाट बनेको छ, जसको मूल्य सुनभन्दा चर्को छ । दोश्रोपटक मिर्गौला फेरिसकेका, जीवनको उत्तरार्ध टेकिसकेका र आफूलाई सर्वहारा वर्गको नेता भन्न अझै शरम नमान्ने ओलीमा अहिले आएर एकाएक मौलाएको सुविधाभोगी शैलीको रहस्य के हो ?

कुनै पनि कम्युनिष्ट बिग्रियो भने ऊ ‘कुहिएको कुराउनी’जस्तै हुन्छ । कुराउनी ताजा हुँदा त मीठो र पौष्टिक हुन्छ, कुहियो भने त्योजस्तो गन्हाउने अर्थोक हुँदैन । यसबारेमा मार्क्स र लेनिनले नै धेरै स्पष्ट पारिसकेका छन् । एमालेमा संशोधनवादी पतन त देखा परेकै हो, अब चारित्रिक पतनले पनि सीमा नाघेको हो । अध्यक्ष ओलीमा निम्न पुँजीवादी र पेटी बुर्जुवा चरित्र देखा परेको हो, जुन बिग्रेका कम्युनिष्टका हकमा स्वाभाविकै हो ।

निम्न पुँजीवादी र सुविधाभोगी सोच, संस्कार र शैली विकसीत भएपछि कम्युनिष्ट नेताको हिमचिम दलाल पुँजीपति वर्गसँग हुन थाल्छ र उसको जीवनशैली पनि बुर्जुवा खालको हुन जान्छ । अध्यक्ष ओली सोच, विचार र सिद्धान्तले मात्र हैन, आचरण र शैलीका हिसाबले समेत पुँजीवादी भइसकेका हुन् र उनमा सर्वहारा वर्गीय चरित्र र संस्कार एकरति छैन भन्ने प्रमाण हो, उनको नाडीमा टल्कीएको करोडौंको घडी ।

प्रधानमन्त्री ओली झापाका जमिनदार वर्गमा पर्दैनन् । १४ वर्ष जेल बसेका र कमाउने इलम कुनै नगरेका ओलीले करोडौंको घडी लगाउनसक्ने आर्थिक हैसियत कसरी बनाए ? कसैले उपहार दिएको हो भने कसले दियो ? करोडौं मूल्यको घडी उपचार दिनेको स्वार्थ के हो ?

हैन भने भोका, नाङ्गा, बेरोजगार, भूकम्प, बाढी र पहिरोपीडित अनि केही उपाय नलागेर विदेसिन बाध्य दुखी नेपालीको देशका प्रधानमन्त्री तथा सर्वहारा वर्गको पार्टी दाबी गर्ने एमालेका अध्यक्षमा यस्तो भड्किलो निम्न पुँजीवादी ताउरमाउर स्वाभाविक हैन । तर, सङ्गतले मानिसको व्यवहार यसैगरी अस्वाभाविक र उदेकलाग्दो बनाइदिन्छ । प्रधानमन्त्री ओली र उनका सहयोगीहरूको हिमचिम सभ्रान्त र धनी वर्गसँग भएकाले लवाइखवाई र शान सौकत फेरिएको हो । र, निम्न पुँजीवादी स्खलनको सिलसिला एमाले मुख्यालयसम्म आइपुग्यो, जुन भ्रष्ट व्यापारीको ‘दान’मा बन्दैछ ।

प्रधानमन्त्री ओली झापाका जमिनदार वर्गमा पर्दैनन् । १४ वर्ष जेल बसेका र कमाउने इलम कुनै नगरेका ओलीले करोडौंको घडी लगाउनसक्ने आर्थिक हैसियत कसरी बनाए ? कसैले उपहार दिएको हो भने कसले दियो ? करोडौं मूल्यको घडी उपचार दिनेको स्वार्थ के हो ? मितव्ययीता र सादगीपूर्ण जीवनको आदर्श छाँट्न पछि नपर्ने गरिब देशका प्रधानमन्त्रीले करोडौं मूल्यको घडी लगाएर के सन्देश दिन खोजेका हुन् ? प्रश्नहरू अनेक छन् ।

२०४७ को परिवर्तनलगत्तै देखा परेको वैचारिक, नैतिक र चारित्रिक पतनको पराकाष्ठा नाघ्दै एमाले अहिले भाटभटेनीको दलदलमा नराम्ररी भासिएको हो । यती, ओम्नी, बतास समूह र अनेक स्वार्थ समूहको चङ्गुलमा फसिसकेको एमाले केही समय यता विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने असफल षड्यन्त्र र काठमाडौंका मेयर बालेन शाहविरुद्धको निम्छरो व्यवहारका कारण बदनाम त थियो नै, मीनबहादुर जग्गा प्रकरणले बदनामीमाथि महाकलङ्क थपेको छ । एमाले कलङ्कको चास्नीमा चुर्लुम्मै डुबेको छ ।

भ्रष्ट व्यापारीसँगको हिमचिम र भ्रष्टीकरणले एमालेलाई ‘माफिया’को पार्टी बनाइसकेको छ । इमानदार र असल नेता/कार्यकर्ताको एमालेमा कुनै प्रभुत्व वा सम्मान छैन । अध्यक्ष ओलीको इर्द गिर्द वर्चस्व जमाएका विष्णु पौडेल, शंकर पोखरेल, महेश बस्नेत या विष्णु रिमालहरूकै रजगज छ, एमालेमा । यो पार्टीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, भीम रावलहरूको केही चल्दैन । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम आदिले एमाले छाडिसकेका छन् ।

एमालेका देशभरका नेता/कार्यकर्ता ‘दलीय दासत्व’को जञ्जिरमा यसरी बाँधिएका छन्, जोसँग अध्यक्ष ओली र उनका अनुचरका हर्कतमाथि लगाम लगाउनसक्ने साहस र ल्याकत छैन । नेतृत्व गुटमा रहेकाहरूको ‘आदेश’ मान्न विवश एमालेको सङ्गठित पङ्क्तिले सार्थक विद्रोह नगर्दासम्म ओली प्रवृत्तिले पार्टीलाई बदनाम गराइरहनेछ । ‘बा’को बबण्डरले एमालेलाई घात गरिरहनेछ भन्ने कोणबाट एमालेलाई माया गर्ने पङ्क्तिले कहिले सोच्ने ?

स्वार्थी समूहहरूको दबदबा भएकै कारण एमाले यसरी मीनबहादुर जग्गा प्रकरणमा सहजै फस्न पुग्यो । यदि इमानदार र सच्चा नेता र सल्लाहकारको अधिनमा एमाले नेतृत्व गण हुन्थ्यो भने पार्टीकै साख गिराउने र नेता/कार्यकर्ताको शीर निहुराउने यस्तो ‘घटिया कदम’ सहजै सम्भव हुँदैनथ्यो । इमानदार दरिलो पङ्क्तिले अध्यक्ष ओलीलाई त्यसो नगर्न दबाब दिन्थ्यो र गर्न दिँदैनथ्यो । तर, सल्लाह दिनेहरूकै नियत सफा नभएपछि र भूमिका ‘सन्दिग्ध’ भएपछि ओलीकै आडमा रजगज गर्न पल्किएकाहरूले जे पनि गर्ने भए, चाहे ओली या एमालेकै साख धरापमा किन नपरोस् ।

१५ वर्षसम्म एमालेको नेतृत्व गरिसकेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदनमा ‘एमालेले दलाल पुँजीपति वर्गसँग लसपस गरेको’ उल्लेख छ । अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, “एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी अवसरवादमा डुब्दै गएको छ ।”

डेढ दशकसम्म एमालेको नेतृत्व गरेका नेता नेपालले एमालेकै बारेमा यस्तो विश्लेषण गरिरहँदा हेक्का राख्नुपर्ने कुरा के हो भने यो पार्टी र भ्रष्ट व्यापारीविचको साँठगाँठ आजको भने होइन । कुनैबेला एमालेको हिमचिम मोहन गोपाल खेतानलगायतका व्यापारीसँग पनि उत्तिकै थियो । भ्रष्ट व्यापारीले दिएको बोराका बोरा पैसा बल्खुस्थित केन्द्रीय कार्यालयमा थुपारेर सत्ता समीकरणको घिनलाग्दो खेल खेल्ने पार्टी एमाले नै हो ।

यसो गरेबापत् एमाले नेताहरूले खेतानसँग दुई करोड रुपैयाँ ‘घुस’ लिएको तथ्य एमाले विभाजनताका प्रकाशित ‘एमाले गुटका ५१ अपराध’ शीर्षकको पुस्तिकामा उल्लेख छ । यो पुस्तिका तत्कालीन एमाले नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले लेखेका थिए र यसबाट भ्रष्ट व्यापारीसँग एमाले नेताहरूको कनेक्सन उतिबेलादेखिकै हो भन्ने स्पष्ट हुन्छ ।

व्यापारी मोहन गोपाल खेतान (हाल दिवंगत)ले हङकङको इन्डोस्वेज बैंकमा जम्मा गरेको अमेरिकी डलरबाट १९ करोड ३९ लाख ७ हजार रुपैयाँ अपचलन गरेका थिए, जुन विदेशी मुद्रा विनियमविपरीत थियो । यस्तो वित्तीय अपराध गरेबापत् खेतानलाई तीन वर्ष कैद र अपचलति रकम राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन एमाले सरकारले खेतानको मुद्दा फिर्ता गरायो ।

यसो गरेबापत् एमाले नेताहरूले खेतानसँग दुई करोड रुपैयाँ ‘घुस’ लिएको तथ्य एमाले विभाजनताका प्रकाशित ‘एमाले गुटका ५१ अपराध’ शीर्षकको पुस्तिकामा उल्लेख छ । यो पुस्तिका तत्कालीन एमाले नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले लेखेका थिए र यसबाट भ्रष्ट व्यापारीसँग एमाले नेताहरूको कनेक्सन उतिबेलादेखिकै हो भन्ने स्पष्ट हुन्छ ।

एमाले नेता विष्णु पौडेल पनि ललिता निवास प्रकरणमा मुछिएका नेता हुन्, जसले जग्गा फिर्ता गरे । उनको हिमचिम व्यापारी र मारवाडी समुदायका मानिससँग पहिलदेखिकै हो । मारवाडी व्यापारीसँगको हिमचिमकै कारण पार्टीभित्रै उनलाई ‘माडसाब’ भन्ने गरिएको चर्चा नसुनीएको हैन । ओलीको इर्दगिर्द आर्थिक लेनदेनमा माहिर खेलाडी हाबी भएकाले पनि एमाले यतिबेला ‘माफियाको चङ्गुलमै फसेको’ आरोप कतिपय विश्लेषकहरूको छ ।

सत्ता समीकरणको खेलमा उतिबेला एमालेले साँसद खरिद-बिक्रीका लागि व्यापारीहरूसँग चन्दा नउठाएको हैन । एमालेले अमेरिकादेखि भारतसँगसमेत आर्थिक सहयोग लिएको दाबी एमालेकै पूर्वसांसद कमल कोइरालाले एक टिभी अन्तर्वार्तामा गरेका थिए । कोइरालाले २०७४ को निर्वाचनताका भनेका थिए, “एमालेले अमेरिकाबाट मात्र हैन, जहाँसुकैबाट चुनाव खर्च उठाउँछ, व्यापारीहरूसँग त पत्र पठाएरै चन्दा उठाउँछ । जसले पैसा दिन्छ, एमाले उसैको हुन्छ ।”

प्रचण्डलाई ‘क्लीन चीट’

पहिलो संविधानसभा निर्वाचनलगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेपछि एउटा हल्ला निकै चलाइएको थियो । तत्कालीन प्रतिपक्षी दल एमाले समर्थित मिडियाले ‘प्रचण्ड डेढ लाखको पलङमा सुत्छन्’ भन्ने खुबै प्रोपोगान्डा मच्चाए ।

‘डेढ लाखको पलङ’को प्रचारबाजी सेलाएपछि भाटभटेनी समूहका मालिक मीनबहादुर गुरुङसँग प्रचण्डको साँठगाँठ रहेको हल्ला चलाइयो । ‘प्रचण्डको पैसा मीनबहादुरले चलाएको’ हल्लाले पनि केही समय बजार तात्यो ।

तर, ‘सत्य डग्दैन, झुटो टिक्दैन’ भनेझैँ अहिले आएर सुविधाभोगी को हो ? र मीनबहादुरसँग कसको कनेक्सन रहेछ भन्ने छर्लङ्ग भएको छ । प्रचण्डमाथि लागेका आरोपहरू फजुल साबित भएका छन् भने कम्युनिष्टको नाममा कसले दलाल पुँजीपति वर्गसँग चोचोमोचो मिलाइरहेको रहेछ भन्ने स्पष्ट भएको छ ।

प्रचण्डलाई आर्थिक मामिलामा आक्षेप लगाउनेहरू यतिबेला आफैँ नाङ्गो रूपमा भ्रष्टाचारको साम्राज्य खडा गर्न उद्यत भएका प्रमाण एकपछि अर्को उदाङ्गो भइरहेका छन् । खेतान समूहदेखि यति, ओम्नी, बतास समूह, गिरीबन्धु हुँदै भाटभटेनीसम्म आइपुग्दा एमाले पार्टी यस्तै भ्रष्ट व्यापारीको इशारामा चल्दै आएको छर्लङ्ग भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register