माछापुच्छ्रे सहकारीमा ऋण नतिर्नेविरुद्ध समेत ठगी मुद्धा दायर

सहकारी ठगी प्रकरणमा ऋणीलाई पनि प्रतिवादी बनाइएको यो मुद्दा मोरङमा पहिलो हो ।  सञ्चालकले नै सर्वसाधारणको बचत अपचलन गरेका कारण सहकारी संकटमा परेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

Oct 18, 2024 - 11:23
 0
माछापुच्छ्रे सहकारीमा ऋण नतिर्नेविरुद्ध समेत ठगी मुद्धा दायर

विराटनगर  । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना आरोपमा सहकारीका सञ्चालक र ऋणीविरुद्ध मुद्दा दायर भएको छ ।

सहकारीको वर्तमान अध्यक्ष अमलेश कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषाध्यक्ष सोमी भगत, र सञ्चालक प्रभाकर थापालाई मिलाएर १०९ जनालाई प्रतिवादी बनाएर ‘सहकारीको रकम हिनामिना गरेको’ मुद्दा दायर गरिएको हो ।

मोरङ प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले यो मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएकामध्ये २१ जना सहकारीका वर्तमान र पूर्व सञ्चालक छन् भने अन्य सहकारीका ऋणी पनि छन् ।

२०६८ सालयतका सहकारीका पदाधिकारी तथा सदस्यलाई प्रतिवादी बनाइएको मुद्दामा अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन्, भने अन्य फरार छन् ।

प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा भने ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखाएको छ।

प्रहरीमा १०३ जना बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको मागसहित निवेदन दिएका छन् ।

सहकारी ठगी प्रकरणमा ऋणीलाई पनि प्रतिवादी बनाइएको यो मुद्दा मोरङमा पहिलो हो ।  सञ्चालकले नै सर्वसाधारणको बचत अपचलन गरेका कारण सहकारी संकटमा परेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register