मधेसमा आफ्नै सरकार बनाउने कांग्रेस-एमालेको चाहना, मौका हेर्दै उपेन्द्र

त्यसो त के हल्ला पनि छ भने केन्द्रमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई गठबन्धनबाट हुत्याउने र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई काखी च्याप्ने योजना रहेको केन्द्रमा बन्दैछ ।

Oct 25, 2024 - 07:25
 0
मधेसमा आफ्नै सरकार बनाउने कांग्रेस-एमालेको चाहना, मौका हेर्दै उपेन्द्र

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) ले मधेस प्रदेशमा पनि आफ्नै सरकार बनाउने प्रयास थालेका छन् । गत असार ३१ गते केन्द्रीय सरकार गठन गरेका कांग्रेस-एमालेले अरु ६ प्रदेशमा बाँडीचुँडी आफ्नै सरकार बनाइसकेका छन् तर, मधेसमा भने डा. सीके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वको सरकार छ ।

तर, अब भने मधेसमा पनि आफ्नै सरकार बनाउने गरी कांग्रेस-एमाले आन्तरिक तयारीमा जुटेको बताइएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा तत्कालीन गठबन्धनअनुसार मधेस जनमतको भागमा परेको थिए । जसअनुसार जेठ २५ गते जनमतका सतीशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।

पछि असार ३१ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा पनि केन्द्रमा आफूलाई सघाउने गरी कांग्रेस-एमाले गठबन्धनले मधेसमा जनमतका सतीशकुमार सिंहलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।

यता केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएर जनमत गठबन्धनमा सहभागी भएको थियो । तर, पछिल्लो समय भने कांग्रेस-एमालेले आफैँले नेतृत्व गर्नेगरी मधेसमा सरकार परिवर्तन गर्न तयारी गरेको बताइन्छ ।

केपी शर्मा ओली र शेरबहादुर देउवा ।

यसबारे नेपालभ्युजले राखेको जिज्ञासामा गठबन्धनका एक नेता भन्छन्, “मधेसमा के गर्ने भनेर केही छलफल भएका हुन् । तर, यसै गरेर जाने भन्नेबारे कुनै निर्णय भइसकेको अवस्था होइन । र, यसबारे तिहार अगाडिसम्म केही हुँदैन पनि । त्यसपछि आवश्यकताअनुसार अगाडि बढ्ने हो ।”

उता मधेसमा पनि जनमतभित्र असहजता सिर्जना गरेर चन्दन सिंहको नेतृत्वमा सरकार गठन गर्ने हल्ला चलाइएको छ । खासगरी एमाले सांसदहरूले यस्तो हल्ला चलाइरहेका छन् । जनमतभित्र असजता उत्पन्न गर्नका लागि यसो गरिएको जनमतका प्रवक्ता शरदसिंह यादव बताउँछन् ।

“असहजता ल्याउन त्यस्तो हल्ला चलाइएको हुनसक्छ । त्यस्तो हल्ला गाइँगुइँ सुनिएको हो तर, मलाई लाग्दैन कि मधेसमा हामीले सरकार गुमाउनुपर्छ,” उनले भने, “हामी त केन्द्रीय गठबन्धनमै छौँ । अस्तिको बैठकमा पनि अध्यक्षज्यू स्वयम् सहभागी हुनुभयो ।”

जनमतका पार्टी महासचिवसमेत रहेका चन्दन सिंह मधेस प्रदेश सांसद हुन् । एमाले सांसदहरूले जनमतभित्रै असहजता पैदा गर्नका लागि उनको समर्थनमा सरकार बनाउने हल्ला चलाइरहेका छन् ।

यसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सघाइरहेको बताइन्छ । जनमतका एक नेता भन्छन्, “हल्ला चलाउने अनि मधेसमा सरकार लिने भन्ने तरिका सोचिएको हुनसक्छ । त्यसमा जसपा नेपालका साथीहरूले पनि सहयोग गर्नुभएको छ । हामी भने सबैको सहयोगमै, सबैकै मुद्दा समेटेर सरकार चलाउने भनेका छौँ । चलाइरहेका पनि छौँ ।”

त्यसो त जसपा नेपाल पनि मधेस सरकारको नेतृत्व हत्याउने सोचमा छ । मधेसमा लगातार ६ वर्ष शासन गरेको जसपा नेपाल पुन: मधेसमा सरकार गठन गर्न चाहन्छ । त्यसमा एमालेले ‘ग्रीन सिग्नल’ दिइसकेको जसपा नेपालका नेताहरू बताउँछन् ।

त्यसमा जसपा नेपालले मौका कुरिरहेको छ । यदि मधेसमा सरकार सुम्पिए केन्द्रीय सरकारमा पनि सहभागी जसपा नेपालका नेताहरूले बताउने गरेका छन् ।

यसबारे अध्यक्ष उपेन्द्र यादव भन्छन्, “सरकारमा सहभागी हने भन्नेबारे अहिलेसम्म कुनै प्रस्ताव आएको छैन । तर, प्रस्ताव आए सोच्छौँ, पार्टीमा छलफल गरेर अगाडि बढ्छौँ ।”

त्यसो त जसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको हो । असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते विश्वासको मत लिएका थिए । त्यसबेला विश्वासको मत दिनेमध्ये एउटा दल जसपा नेपाल पनि हो ।

एमाले नेताहरू सरकारलाई विश्वासको मत दिनेहरूले सरकारमा सहभागी हुने चाहना राख्नु स्वाभाविक रहेको बताउँछन् ।

एमाले प्रमुख सचेतकसमेत रहेका एमाले नेता महेशकुमार बर्तौला भन्छन्, “उहाँहरूले सरकारलाई विश्वासको मत दिनुभएकै हो, उहाँहरू सत्तारूढ दल नै हुनुहुन्छ । त्यस्तोमा सरकारमा सहभागी हुन्छु भन्नु, चाहना देखाउनु स्वाभाविक हो । यसबारे सरकारले अहिल्यै कुनै निर्णय लिइसकेको त छैन तर, छलफल गर्न सकिने कुरा हो ।”

त्यसो त के हल्ला पनि छ भने केन्द्रमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई गठबन्धनबाट हुत्याउने र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई काखी च्याप्ने योजना रहेको केन्द्रमा बन्दैछ ।

जसै मधेसमा उपेन्द्र यादव र सीके राउतबीच राजनीतिक द्वन्द्व छ । पछिल्लो संसदीय निर्वाचनमा मात्रै उदाएको जनमतका अध्यक्ष सीके राउतले सप्तरी २ मा उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए । त्यसयता यी दुई दलबीच प्रतिस्पर्धा छ ।

उपेन्द्र यादव र सीके राउत ।

यो प्रतिस्पर्धा तात्कालिक मात्रै नभएर दीर्घकालीन हो, अब मधेसमा को स्थापित हुने भन्ने विषयसँग सम्बन्धित छ । त्यसकारण वर्तमान हरेक राजनीतिक निर्णय र कदमहरू उनीहरूका लागि महत्त्वपूर्ण छन् ।

त्यसो त ६ वर्ष लगातार शासन चलाउँदा जसपा नेपालले ठूलो रूपमा आर्थिक अनियमितता तथा घोटाला गरेको आरोप छ । जनमत नयाँ दल भएकाले पनि उसलाई जनताले शङ्काको सुविधा दिएका छन् तर, यसबीचमा सरकार प्रमुखको रूपमा जनमतले मधेसमा जे गर्‍यो, त्यसलाई नियाल्ने हो भने जनमतले पनि धेरै गर्छ भन्न सकिँदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register