सलमान खानलाई २६ वर्षदेखि लखेटिरहेको कालो हरिण काण्ड के हो ?

काठमाडौं । सलमान खान, कालो हरिण र लरेन्स बिश्नोई तीनवटै नाम अहिले चर्चामा छन् । मुम्बईमा एनसीपी नेता बाबा सिद्दिकीको हत्यापछि यी तीन नामको चर्चा चुलिएको हो । हत्याको जिम्मेवारी बिश्नोई गिरोहले लिइसकेको छ, जसको कमाण्ड लरेन्स बिश्नोईको हातमा छ । लरेन्स भारतको राजस्थानस्थित एक जेलमा छन् । बाबा सिद्दीकी र सलमान खान राम्रो साथी […]

Oct 25, 2024 - 11:19
 0
सलमान खानलाई २६ वर्षदेखि लखेटिरहेको कालो हरिण काण्ड के हो ?

काठमाडौं । सलमान खान, कालो हरिण र लरेन्स बिश्नोई तीनवटै नाम अहिले चर्चामा छन् । मुम्बईमा एनसीपी नेता बाबा सिद्दिकीको हत्यापछि यी तीन नामको चर्चा चुलिएको हो ।

हत्याको जिम्मेवारी बिश्नोई गिरोहले लिइसकेको छ, जसको कमाण्ड लरेन्स बिश्नोईको हातमा छ । लरेन्स भारतको राजस्थानस्थित एक जेलमा छन् ।

बाबा सिद्दीकी र सलमान खान राम्रो साथी भएकाले अहिले बाबाको बहानामा बिश्नोई गिरोहले सलमान खानलाई सिधा सन्देश दिएको चर्चा छ ।

गिरोहले यसअघि पनि सलमानमाथि आक्रमणको प्रयास गरिसकेको छ । उनका बुवा सलीम खानलाई पनि धम्की आइसकेको छ ।

के हो हरिण काण्ड ?

घटना २६ वर्ष पुरानो हो । कालो हरिणले कसरी सलमानलाई लरेन्स बिश्नोईको कट्टर शत्रू बनायो भन्ने थाहा पाउन यसबारे जान्न आवश्यक छ ।

कथा अक्टोबर १९९८ बाट सुरु हुन्छ । फिल्म ‘हम साथ साथ हैं’ को सुटिङका ​​लागि सलमान खान र अन्य कलाकार राजस्थानको जोधपुर पुगेका थिए ।

सलमान, सैफ अली खान र तब्बु जस्ता कलाकारले जोधपुरमा क्याम्प गरेका थिए । जोधपुरबाट करिब ४० किलोमिटर टाढा रहेको भावाद सहरका मानिस यो सुटिङको बारेमा अनभिज्ञ थिए ।

२७/२८ सेप्टेम्बर राति भवद नजिकैको कनकनी गाउँमा सेतो जिप्सी गाडीका बत्तीहरू चम्किए । सिकारीले चिंकारा वा कालो हरिण खोजिरहेका थिए भनेर गाउँलेले तुरून्तै अनुमान गरे । त्यसको केही समयमै गोली चलेको आवाज सुनियो ।

गाउँलेहरू आवाज आएको ठाउँतिर दौडिए । जब गाउँले घटनास्थलमा पुगे, त्यहाँबाट हतार-हतार जिप्सी भागिरहेको देखे । केही युवाले जिप्सीलाई पछ्याए तर, त्यो भाग्न सफल भयो ।

भोलिपल्ट एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पत्रिकामा यो घटनाको समाचार छापियो । प्रत्यक्षदर्शीले दौडिरहेको जिप्सीमा बसेका सलमान खानलाई चिनेको दाबी गरे । यसपछि हंगामा मच्चियो ।

यस विषयमा अनुसन्धान थालेपछि वन विभागको टोली घोडा फार्म पुग्यो, जहाँ सलमानसहित ‘हम साथ साथ हैं’ को टोली बसिरहेको थियो ।

त्यहाँ कालो हरिणको अवशेष भेटियो । यसपछि अक्टोबर २ मा ‘बिश्नोई समाज’ले सलमान खानविरूद्ध यस मामिलामा पहिलो एफआईआर दर्ता गर्‍यो ।

पछि थप ४ मुद्दा दर्ता भए । मुद्दामा सलमानबाहेक सैफ अली खान, अभिनेत्री सोनाली र तब्बुलाई पनि आरोपी बनाइएको थियो ।

१२ अक्टोबर १९९८ मा सलमान पहिलो पटक यस मामिलामा पक्राउ परेका थिए । पाँच दिन जेल बसेपछि उनी १७ अक्टोबर १९९८ मा जोधपुर जेलबाट धरौटीमा रिहा भएका थिए ।

अप्रिल ५, २०१८ मा सलमानलाई कालो हरिण शिकार मामिलामा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको थियो । तर, ७ अप्रिल २०१८ मा सलमानले ५० हजार रूपैयाँमा जमानत पाए र सोही दिन रिहा भए ।

बिश्नोई समुदायका लागि कालो हरिण किन खास ?

कालो हरिणलाई बिश्नोई समुदायले पुज्छ । यो समाज राजस्थानमा मात्र नभएर हरियाणा, उत्तर प्रदेश, पञ्जाब र मध्य प्रदेशमा पनि फैलिएको छ ।

बीबीसीको रिपोर्टमा जोधपुरका पूर्व सांसद जसवंत सिंह बिश्नोईले भनेका छन्, ”जम्भेश्वर जी हाम्रा संस्थापक हुन् । उनले हामीलाई जीवित प्राणीप्रति दयालु हुने पाठ सिकाएका छन् । जीवित प्राणीको संरक्षण र रूखको संरक्षण गर्नाले मानिसले वैकुण्ठ प्राप्त गर्दछ ।”

बिश्नोई समुदायका मानिसले कालो हरिणलाई भगवान कृष्णको अवतार मान्छन् र त्यसको रक्षाका लागि आफ्नो ज्यान पनि बलिदान दिन तयार हुन्छन् । कालो हरिणलाई बिश्नोई समाजले यति धेरै सम्मान दिन्छ कि पूज्य व्यक्तिभन्दा कम हुन्न । राजस्थानमा कर्णी मातालाई कालो हरिणको रक्षक मानिन्छ ।

कालो हरिण कहाँ पाइन्छ ?

ब्ल्याक बक भनिने कालो हरिणलाई इन्डियन एन्टेलोप पनि भनिन्छ । भारतबाहेक नेपाल र पाकिस्तानमा पनि पाइन्छ । तीव्र गतिमा घट्दै गएको वनका कारण उनीहरूको संख्यामा समेत नकारात्मक असर परिरहेको छ । तर, उनीहरूमा परिवेश अनुसार आफूलाई परिवर्तन गर्ने कला छ ।

कुनै समय राजस्थानमा उनीहरूको ठूलो संख्यामा शिकार हुन्थ्यो तर, अहिले भारतमा यसको शिकारमा प्रतिबन्ध लगाइएको छ । यसलाई सुरक्षित राख्न कानूनको सहारा पनि लिइन्छ ।

सामान्यतया यसको रंग कालो हुन्छ । सबैभन्दा कडा भिन्नता सिङको आधारमा बनाइएको छ । भालेको लामा सिङ हुन्छन् भने पोथीको हुँदैन । यो हरिणको बारेमा एउटा चाखलाग्दो कुरा छ कि भालेको रंग परिवर्तन हुन्छ ।

मनसुनसम्म यिनीहरूको रङ कालो देखिन्छ तर, हिउँदमा रंग हल्का हुन थाल्छ । गर्मी बढ्दै जाँदा यिनीहरूको रंग गाढा हुन थाल्छ ।

कालो हरिणले कसरी बढ्यो दुश्मनी ?

कालो हरिणको शिकार गरेको आरोपमा सलमानमाथि मुद्दा चलाइएको थियो । जेल जानुपर्‍यो तर, बिश्नोई समुदायले सलमानलाई कहिल्यै माफ गरेन । मृगको शिकार गर्दा उनलाई चोट लागेको थियो ।

बिकानेरको मुक्तिधाम स्थानमा रहेको अकार बिश्नोई समुदायका बडा बृद्धबृद्धाका अगाडि यस विषयमा माफी माग्नुपर्ने र आफ्नो गल्ती स्वीकार गर्न समाजले सलमानसमक्ष शर्त राख्यो । त्यसपछि मात्र क्षमा गर्ने विचार हुने यो समुदायको अडान थियो ।

मुक्तिधाम मुकाम बिश्नोई समुदायको मुख्य मन्दिर हो । न सलमानले उनको माग स्वीकार गरे न त समुदायले माफ गर्यो ।

लरेन्स बिश्नोईको प्रवेश

यो सम्पूर्ण मामिलामा सन् २०१८ मा लरेन्स बिश्नोईको प्रवेश भयो । अपराधको संसारमा कुख्यात भइरहेका लरेन्सले सलमानसँग कालो हरिण शिकारको बदला लिने घोषणा गरेका छन् ।

सलमानमाथि समय समयमा उनबाट ज्यान मार्ने धम्की आइरहेको छ । सलमानबाहेक सन् २०२२ मा गायक सिद्धु मूसेवाला हत्या प्रकरणमा पनि बिश्नोईको नाम आएको थियो । त्यसबेलादेखि उनी जेलमा छन् तर, उनको मनमा सलमानप्रतिको क्रोध भने कायमै छ ।

लरेन्सले सलमान मात्रै होइन उनका बुवा सलीम खानलाई पनि धम्की दिएका छन् । अहिले बाबा सिद्दिकीको हत्यापछि यो गिरोह र दुश्मनीको कथा चर्चामा छ ।

सलमानलाई कति पटक धम्की आयो ?

जनवरी २०२४ : दुई अज्ञात व्यक्तिले तार तोडेर सलमान खानको फार्म हाउसमा प्रवेश गर्ने प्रयास गरेका थिए । प्रहरीले पक्राउ गरेपछि दुवैले आफूलाई सलमानका फ्यान घोषणा गरेका थिए । उनीहरूको साथबाट नक्कली आधार कार्ड बरामद भएको छ । उनीहरूलाई सलमानमाथि आक्रमण गर्न लरेन्सले पठाएको भन्ने आशंका छ ।

अप्रिल २०२३: एक १६ वर्षीया नाबालिगले मुम्बई प्रहरीलाई फोन गरेर मार्ने धम्की दिएका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनले मुम्बई प्रहरीलाई आफ्नो नाम रकी भाइ रहेको बताएका थिए । उनले आफू जोधपुरको बासिन्दा भएको र ३० अप्रिल २०२३ मा सलमानको हत्या गर्ने बताएका थिए ।

मार्च २०२३: जोधपुर निवासी ढाकद्रमले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए । यसमा लेखिएको थियो – सलमान खान तिमी अर्को नम्बर हौ, तिमी जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै मारिनेछौ ।

जुन २०२२: जब सलमानका बुबा सलीम खान बिहान पैदल यात्राबाट घर फर्कदैँ थिए, उनलाई स्कुटीमा आएका दुई अज्ञात व्यक्तिले पत्र दिए । जसमा उनलाई र सलमानलाई ज्यान मार्ने धम्की दिइएको थियो । चिठ्ठीमा लेखिएको थियो- ‘सलमान खान तिम्रो हालत मूसेवालाको जस्तो हुनेछ ।’

यसपछि सलीमले आफ्ना सुरक्षाकर्मीको सहयोगमा प्रहरीलाई सम्पर्क गरे र यस सम्बन्धमा मुम्बईको बान्द्रा पुलिस स्टेशनमा मुद्दा दर्ता गरियो ।

अप्रिल १४: सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चल्यो । लरेन्स समूहले आक्रमणको जिम्मेवारी लियो । घटनाको दुई महिनापछि सलमानले मुम्बई प्रहरीलाई बयान दिएका थिए ।

उनले भनेका थिए- ‘मलाई बारम्बार विभिन्न व्यक्तिले निशाना बनाइराखेका छन् । यसअघि पनि पटकपटक धम्की आएका छन् । म यो मामिलामा अल्झिएको छु ।’

हरिण नमारेको सलमानको दाबी

सलमानले आफूले कालो हरिणको शिकार नगरेको दाबी गरेका थिए ।

सन् २००९ मा एनडीटीभीसँग कुरा गर्दै सलमानले भनेका थिए, ‘प्याकअपको एक दिन हामी सबै कार चलाइरहेका थियौं । त्यहाँ मसँग, सैफ, तब्बु, नीलम, अमृता र सोनाली पनि थिए ।’

‘त्यसपछि हामीले झाडीमा फसेको बच्चा हरिण देख्यौं । पूरै बथान त्यहीँ थियो । हामीले कार रोक्यौं र उनीहरू धेरै डराए ।’

सलमानले अगाडि भने, ‘हामीले झाडीबाट निकालेर पानी पिउन दियौँ । त्यहाँ अरू धेरै हरिण थिए । त्यसपछि त्यो बच्चा बिस्कुट खायो र आफ्नो बथानमा फर्कियो । त्यो दिन यतिमात्रै भएको हो । यसपछि हामी आफ्ना सामान  प्याक गरेर त्यहाँबाट निस्कियौं । मलाई लाग्छ कि हामीलाई सँगै देखेपछि अफवाह फैलियो ।’

सम्बन्धित सामग्री-

मुम्बईमा दुई दशकपछि ‘डन’ आतंक फर्कियो, यस्तो छ लरेन्स बिश्नोईको विगत

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register