जासुसी उपन्यासका बादशाह डायलले शर्लक होम्सलाई मारेर फेरि किन ब्युँताए ?

पाठकबाट डायलले ठूलो विरोधको सामना गर्नु पर्यो । शर्लक होम्स मरेको स्वीकार गर्न उनीहरु राजी भएनन् । करिब १ दशकपछि सन् १९०१ मा प्रकाशित श्रृंखलाको तेस्रो उपन्यास ‘द हाउन्ड अफ द बास्करभिल्स’ मा शर्लक होम्स ब्यूँतियो ।

Oct 26, 2024 - 07:49
 0
जासुसी उपन्यासका बादशाह डायलले शर्लक होम्सलाई मारेर फेरि किन ब्युँताए ?

शर्लक होम्स (Sherlock Holmes) जासुसी साहित्यमा रुचि राख्ने पाठकले यो नाम नसुनेको संसारमै बिरलै होला । र, यसका सर्जक थिए– सर अर्थर कोनन डायल । डायलले शर्लक होम्स जन्माए, मारे र फेरि ब्युँताए ।

प्रारम्भमा मान्छेले डायलको कारणले शर्लक होम्सलाई चिन्थे, विस्तारै स्थिति यस्तो आयो– शर्लक होम्सको कारण मानिसले डायललाई चिन्न थाले ।

भनिनु पर्ने हुन्थ्यो– शर्लक होम्स अर्थर कोनन डायलले आफ्ना जासुसी उपन्यासमा सृजना गरेका एक प्रभावाशाली काल्पनिक पात्र हुन् । मानिसले भन्न थाले– डायल शर्लक होम्स श्रृंखलाका लेखक हुन् । स्वयं सर्जक डायलको व्यक्तित्व शर्लक होम्सको व्यक्तित्व सामु पुड्को हुँदै गयो ।

संसारभरिका पाठकलाई लाग्न थाल्यो– शर्लक होम्स कुनै जासुसी उपन्यासको काल्पनिक पात्र हैन, एक वास्तविक मान्छे थियो, जो जन्माइयो, मारियो, ब्युँताइयो र कहिल्यै मरेन ।

शर्लक होम्सको चरित्र चित्रण गरिएका सयौं नाटक र सिनेमा बनाइए । आज पनि शर्लक होम्सको नाम मान्छेले जति सजिलै सम्झिन्छन, सर अर्थर कोनन डायलको नाम त्यति सजिलै भन्न सक्दैनन् ।

होम्स लन्डनमा बस्ने एक जाजुस हो, जसको अनुसन्धान तरिका, तर्क प्रणाली, चतुरता र रहस्य खोजले पाठकलाई कायल पार्दछ । डायलका उपन्यास पढ्दापढ्दै पाठकलाई शर्लोक होम्सको बौद्धिक चार्तुयप्रति आकर्षण र ईर्ष्याको भाव पैदा गर्दिन्छ । पाठक स्वयं आफू शर्लक होम्सजस्तै बन्ने कल्पना गर्न थाल्दछन् ।

डायलको पहिलो प्रकाशित उपन्यास ‘ए स्टडी इन स्कार्लेट’ सन् १८८७ मा छापिएको थियो, जब लेखक २७ वर्षका थिए । डायलले यही उपन्यासबाट शर्लक होम्स जन्माएका थिए ।

डायलले लेखेको पहिलो उपन्यास भने ‘द न्यारेटिभ अफ जोन स्मिथ’ थियो, १८८३ मा लेखिएको यो उपन्यास अधुरो थियो र सन् २०११ मा मात्र प्रकाशित भयो ।

भनिन्छ– उपन्यासकार डायलले शर्लक होम्सको व्यक्तित्व एडिनवर्ग विश्वविद्यालयका एक प्राध्यापक जोसेफ बेलबाट प्रभावित भएर खिचेका थिए । बेल एक मेडिकल डाक्टर थिए, जो विश्वविद्यायलमा डायलका सबैभन्दा मन पर्ने शिक्षक थिए ।

डायलले यो ययार्थ लुकाएनन् । उनले स्वीकार गरेका छन् कि आफ्ना प्रिय शिक्षक बेलको उनको मष्तिष्कमा जुन प्रभाव पर्यो, त्यसलाई साहित्यिक चित्रण गरेर उनले शर्लक होम्स जन्माए ।

जोसेफ बेलमा ससाना घटना निरीक्षणबाट ठूल्ठूला निष्कर्ष निकाल्ने अद्भूत क्षमता थियो । उनको यो क्षमतालाई डायलले शर्लक होम्स नामको जासुसमा रुपान्तरण गरेका थिए ।

आफ्ना प्रिय शिक्षक बेललाई लेखेको एक पत्रमा डायलले भनेका थिए–‘शर्लक होम्सका लागि म मुख्य रुपमा तपाईंप्रति आभारी छु । तपाईंले सिकाएका अनुमान, अवलोकन र निष्कर्षका आधारमा मैले एक व्यक्ति निर्माण गर्ने प्रयास गरेको छु ।’

अर्थर कोनन डायलले शर्लक होम्सलाई मुख्य पात्र बनाएर ५६ कथा ४ उपन्यास लेखे । उनले लेखेका कुल पुस्तकको संख्या भने करिब ३ दर्जन हुन्छ ।

शर्लक होम्स श्रृंखलाको उनको दोस्रो उपन्यास ‘द साइन अफ फोर’ थियो । उनको यो उपन्यास सन् १८९० मा छापिएको थियो ।

सन् १८९३ मा डायलले एक कथा लेखे–‘द फाइनल प्रोब्लम’ । यो कथाको अन्तिम दृष्यमा शर्लक होम्स मरेको चित्रण थियो । कथाको एक पात्र प्रोफेसर मोरियार्टीले शर्लक होम्सलाई एक अग्लो ठाउँबाट धकेलेर झारेको र ऊ मरेको निष्कर्ष निकालिएको थियो ।

डायल त्यो बेला होम्स श्रृंखलाको कथा लेखन अन्त्य गर्ने, इतिहास र आध्यात्मको अध्ययनतिर लाग्ने सोचमा थिए । आमा मेरी डायललाई लेखेको एक पत्रमा उनले भनेका थिए–‘म शर्लक होम्सलाई मार्ने र उसको कथालाई अन्त्य गर्ने सोचमा छु ।’

तर, पाठकबाट डायलले ठूलो विरोधको सामना गर्नु पर्यो । शर्लक होम्स मरेको स्वीकार गर्न उनीहरु राजी भएनन् । करिब १ दशकपछि सन् १९०१ मा प्रकाशित श्रृंखलाको तेस्रो उपन्यास ‘द हाउन्ड अफ द बास्करभिल्स’ मा शर्लक होम्स ब्यूँतियो ।

डायलले कथालाई यसरी उठाए कि ‘द फाइनल प्रोब्लम’ मा मोरियार्टीबाट शर्लक होम्स मारिएकै थिएन । त्यो त शत्रुबाट जोगिने होम्सको चातुर्य थियो र उसले मरेको नाटक गरेको थियो ।

शर्लक होम्स श्रृंखलाको अन्तिम उपन्यास ‘द भ्याली अफ फियर’ सन् १९१४ मा छापियो ।

शर्लक होम्सको व्यक्तित्वमा डायलले जुन विचित्र बौद्धिकताको संयोजन गरेका थिए, स्वयं उनको जीवन उत्तिकै अनौठो र बहुआयामिक थियो । पढाई र पेशाले उनी मेडिकल डाक्टर थिए । खेलकुद र राजनीतिमा रुचि राख्थे । खेलकुदमा उनी क्रिकेट, फुटबल, बक्सिङ र बडि विल्डिङमा रुचि राख्थे । तर, समर्पित भावले निरन्तर लेखिरहन सक्ने विचित्र प्रतिभा र कल्पनाशक्ति भएका उपन्यास तथा कथाकार थिए ।

साहित्य उनको सहायक र शौखको विषय थियो । तर, अमरत्व अन्ततः उनलाई यही बिधाले दियो । उनी अंग्रेजी साहित्यको जासुसी कथा, उपन्यास विधाका एक अग्लो व्यक्तित्व बन्न पुगे ।

अंग्रेजी साहित्यको उपन्यास विधाका ‘रविन्सन क्रुसो’ का लेखक डेनियल डेफोई र ‘विदरिङ हाइट्स’ कि इमली ब्रन्टपछि डायल तेस्रा ‘ट्रेन्ड सेटर’ मानिन्छन् ।

डायल सन् १८५९ मा स्कटल्याण्डको एडिनवर्गमा आइरिस मातापिताका सन्तानका रुपमा जन्मिएका थिए । उनका पिता कला, साहित्यका ठूला पारखी थिए तर, नामुद जडियाँ निस्किए । तसर्थ, डायलको पारिवारिक अवस्था र बाल्यकाल कष्टपूर्ण थियो ।

डायलको पहिलो कथा ‘द मिस्ट्र अफ सासासा भ्याली’ सन् १८७९ मा प्रकाशित भएको थियो, जतिखेर उनी २० वर्षका मात्र थिए तर, यस कथामा शर्लक होम्स थिएन ।

डायलको जीवनको अर्को रोचक पक्ष उनी बेलायतमा भन्दा बढी अमेरिका, अष्ट्रेलिया र न्यूजील्याण्डका पाठकबीच लोकप्रिय थिए ।

डायलको शर्लक होम्स श्रृंखलामा एक अर्को पात्र पनि सँगसँगै हुन्छ, जसको नाम डा. जोन एच. वाटसन हुन्छ । डा. वाटसनको भूमिका भने शर्लक  होम्सको सहयोगी जासुसको जस्तो हुन्छ ।

डा.वाटसन अंग्रेज–अफगान युद्धबाट फर्किएका एक डाक्टर हुन्छन् । लण्डनमा उनलाई बस्ने ठाउँको आवश्यकता हुन्छ । यसै क्रममा उसले शर्लक होम्सलाई भेट्छन । र, संगै बस्छन् । होम्सका सहयोगी बन्न पुग्दछन । पछि डायलले होम्सका त्यस्ता थुप्रै कथा डा. वाटसनको मुखबाट भन्न लगाएर लेख्छन् ।

होम्सको ठेगाना लन्डनको टु हन्ड्रेड ट्वान्टी वान बी बेकर स्ट्रिट हो, जहाँ उसको एक निजी जासुसी परामर्श एजेन्सीको कार्यालय हुन्छ । होम्सको कार्यालयमा मानिस अनेक आपराधिक घटना लिएर आउँछन, जसको अनुसन्धान र छानबिन होम्सले रोचक तरिकाले गर्दछ र, अन्ततः घटनाको रहस्य वा दोषी पत्ता लगाउँदछ ।

शर्लक होम्सले गर्ने घटना अनुसन्धान विधिमा आगमनात्मक तर्क प्रणालीको प्रयोग हुन्छ । अर्थर कानन डोयल जासुसी साहित्यमा घटनाक्रमको सुक्ष्म पक्षबाट बृहत्त अर्थ निकाल्ने तर्क प्रणालीका बेजोड सर्जक हुन् ।

सम्भवत् यही कारण हो विश्वका धेरै देशमा प्रहरी अधिकृतको कोर्समा शर्लक होम्स श्रृंखलाका कथा, उपन्यास पढाइने गरिन्छ ।

जस्तो कि उनको एक कथा ‘द एड्भेन्चर अफ सिल्भर ब्लेज’ को छोटो चर्चा गरौं ।

सिल्भर ब्लेज एक दौडको घोडा हो । भोलीपल्ट एक महत्वपूर्ण घोडा दौड प्रतियोगिता हुन लाग्दा अघिल्लो रात तबेलाबाट घोडा चोरी सँगसँगै सइसको हत्या हुन्छ । जब घोडा चोरी हुन्छ, तबेलामा पालेको कुकर भने भुक्दैन ।

शर्लक होम्सले जब घोडा चोरीको अनुसन्धान गर्न थाल्छ उसले विचार गर्ने पहिलो प्रश्न यो हुन्छ कि कुकुर किन भुकेन ?

घोडा चोरी हुँदा कुकुर भुक्न पर्ने हो, भुकेन भने पक्कै चोर कुकुरले चिनेको मान्छे हुनु पर्दछ । यो सानो तर्कले छानबिन गर्नु पर्ने मान्छेको दायरा निक्कै साँघुरो हुन्छ । अब तीमध्ये कोही चोर हुनु पर्दछ, जो कुकुरले चिनेको छ ।

डायल साहित्य र शर्लक होम्स श्रृंखला आज पनि विश्वभरि उत्तिकै उत्सुकताका साथ पढिन्छ ।

जीवनको उत्तरार्धतिर डायल आध्यात्मिक लेखनतिर ढल्किए । सन् १९०६ मा पत्नी लुइसा हकिन्सको मृत्युपछि उनमा उदासी र बैराग्यको भावना प्रवल हुँदै गएको थियो । तर, उनले जीन एलिजाबेथसँग दोस्रो बिहे गरेर आफूलाई सम्हाल्न खोजे ।

सन् १९२६ मा उनको ‘हिस्ट्र अफ स्प्रिचुआलिज्म’ प्रकाशित भयो र त्यसको ४ वर्षपछि सन् १९३० मा उनको निधन भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register