हमास र हिज्बुल्लाहलाई तहसनहस पारेपछि इजरायलको ध्यान अब इरानमाथि

इरानको आणविक हतियार केन्द्र मध्य-क्षेत्रको नातान शहरमा छ । यदि इरानले आणविक हतियार प्रयोग गर्यो भने धेरै ठूलो क्षति हुन सक्ने भय विश्व समुदायमा देखिन्छ । सम्भवत: यही कारणले इजरायलले इरानमाथि धेरै ठूलो क्षति नहुने गरी जवाफी हमला गरेको हुन सक्छ ।

Oct 27, 2024 - 11:13
 0
हमास र हिज्बुल्लाहलाई तहसनहस पारेपछि इजरायलको ध्यान अब इरानमाथि

काठमाडौं । शनिबार बिहान इजरायलले इरानमाथि शृङ्खलाबद्ध आक्रमण गरेपछि गाजा युद्ध अझ ठूलो आकारमा विस्तारित भएको छ । अहिलेसम्म इजरायल हमास र हिज्जबुल्लाहमाथि केन्द्रित थियो ।

हमास-इजरायल युद्ध अहिले दोस्रो वर्षमा छ । अब इजरायलले आफ्नो ध्यान इरानतिर लगाएको छ । हमास, हिज्बुल्लाह र इरान अरब जगतमा साझेदार ‘त्रिगुट’ मानिन्छन् ।

हमासले प्यालेस्टाइनको गाजा क्षेत्रमा नियन्त्रण जमाएको थियो । हिज्जबुल्लाहले दक्षिणी लेबनानमा नियन्त्रण तथा प्रभाव कायम गरेको छ । यो समूहको चौथो ठूलो घटक यमनको हुथी विद्रोही हो ।

यीमध्ये हमासबाहेक सबै धार्मिक रूपमा शिया इस्लामको विस्तार चाहन्छन् । हमास धार्मिक रूपमा अलग भए पनि इजरायलसँगको दुश्मनीका कारण यही समूहमा आएको छ र इरानले सहयोग गरिरहेको छ ।

सिरिया अर्को ठूला सिया मुस्लिम शक्ति हो । तर, त्यहाँ भिन्नै विचारको बाथ पार्टी सरकार छ । सिरिया यो विवादमा सिधै संलग्न हुन चाहँदैन । अरबका समाजवादी दललाई बाथ पार्टी भन्ने गरिन्छ । बाथ आन्दोलन सन् १९७० को दशकमा अरब जगतको एक शक्तिशाली राजनीतिक आन्दोलन थियो ।

सद्दाम हुसेन इराकी बाथ आन्दोलनको नेताका रूपमा सन् १९७९ मा इराकको सत्तामा आएका थिए । त्यही वर्ष इरानमा भने इस्लामिक क्रान्ति भएको थियो । सिया जिहादी इस्लामिक क्रान्ति र बाथ आन्दोलनको विचारमा भिन्नता हुन्छ ।

हमास, हिज्जबुल्लाह र हुथी समूहले आ-आफ्नो देशको निश्चित भूभाग मात्र नियन्त्रण गर्दछन् । तर, इरानमा भने सिङ्गो देशमै सन् १९७९ को इस्लामिक क्रान्तिबाट स्थापित सियावादी सरकार छ । इस्लामिक क्रान्तिका नेता आयोतुल्लाह रोहल्लाह खुमेनीको उत्तराधिकारका रूपमा अली खुमेनी सर्वोच्च नेता छन् ।

हमासका दुई मुख्य नेता इस्माइल हानिया र याह्या सिनवरलाई इजरायलले मारिसकेको छ । हानिया कतारमा बस्थे । उनी जुलाईमा इरानी सरकारको अतिथिका रूपमा तेहरानमा रहेको बेला हत्या भएको थियो ।

केही दिनअघि हमासले अर्का मुख्य नेता याह्या सिनवरको मृत्यु भएको पुष्टि गरेको छ । यी मुख्य दुई नेता मारिएपछि अहिले हमासको औपचारिक नेतृत्व र शक्तिको अवस्थाबारे अनेक विश्लेषण गरिँदैछ । तर, गाजा युद्ध अन्त्य भएको घोषणा गर्न भने हतारो हुन्छ । मुख्य दुई नेता युद्धमा मारिएपछि हमास अवश्य कमजोर भएको हुनु पर्दछ । तर, गाजामा अहिले पनि प्यालेस्टाइनी प्राधिकारको नियन्त्रण कायम भएको छैन । तसर्थ, गाजा क्षेत्रको राजनीति र शासन प्रशासन कुनै निश्चयमा पुगेको छैन ।

गत वर्ष अक्टोबर ७ मा भड्किएको युद्धपछि गाजामा करिब ४३ हजारभन्दा धेरै प्यालेस्टाइनी मारिएका छन् भने इजरायलतर्फ करिब १५०० मारिएका छन् ।

हमास-इजरायल युद्ध विस्तारित हुँदै जाँदा लेबनानको हिज्जबुल्लाह समूह सामेल भएको थियो । यो युद्धमा लेबनानमा पनि करिब २७ सयको मृत्यु भइसकेको छ । इजरायलतर्फ करिब १०० मारिएका छन् ।

सेप्टेम्बर २७ मा हिज्बुल्लाह नेता हसन नसरल्लाह इजरायली हवाई आक्रमणमा मारिएका थिए । नसरल्लाह र याह्या सिनवरको मृत्युपछि इजरायलले आफ्नो निसानामा इरानी सर्वोच्च नेता अली खुमेनीलाई राखेको हुन सक्ने ठानिएको छ । खुमेनी गोप्य सुरुङमा बसेर इरानको नेतृत्व गरिरहेका छन् ।

अक्टोबर १ मा इरानले इजरायलमाथि लगातार २०० मिसाइल दागेको थियो । तर, इजरायलको क्षेप्यास्त्र प्रणालीको कारणले धेरै ठूलो क्षति भने भएको थिएन । इजरायलले उपयुक्त समयमा इरानसँग बदला लिने अनुमान गरिएको थियो ।

त्यतिखेर इजरायलको ध्यान हमास र हिज्बुल्लाहलाई कमजोर पार्नतिर केन्द्रित थियो । तसर्थ, इरानतिर लक्षित भएन ।

शनिबारको आक्रमणलाई भने अब इजरायल इरानतिर मोडिएको सङ्केतका रूपमा लिन सकिन्छ । इजरायलले शनिबार बिहानको ३ घण्टाभित्रै इरानका महत्त्वपूर्ण २० सैन्य ठेगानामा आक्रमण गरेको थियो ।

यी आक्रमणमा इजरायलले १०० भन्दा बढी लडाकु विमान एक साथ प्रयोग गरेको समाचार छ । साथै सिरियाको राडर प्रतिरक्षा प्रणालीमाथि समेत आक्रमण गरेको छ । सिरिया इजरायल विरुद्धको युद्धमा प्रत्यक्ष सामेल हुन चाहिरहेको थिएन । तर, पनि सिरियामाथि आक्रमण गरेर इजरायले उसलाई अगाडि नै रोक्न खोजेको भान हुन्छ ।

इजरायली सुरक्षा वलका प्रवक्ता डेनियल हगारीका अनुसार शनिबार बिहान इराजयलले ७ ठूला मोर्चामा एक साथ आक्रमण गरेको थियो । इरानले तेहरान, कुजेस्तान र ईलाम क्षेत्रमा आक्रमण भएको तर, प्रतिरक्षा प्रणालीका कारणले धेरै क्षति भने नभएको जनाएको छ । इरानले यी आक्रमणबाट अहिलेसम्म आफ्ना ४ सैनिक मारिएको स्वीकार गरेको छ ।

हमास, हिज्बुल्लाह र हुथी समूहको शक्तिको स्रोत इरान नै हो । यी समूहलाई इरानले हतियार र अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ । जबसम्म इरानले यस मामिलामा पुर्नविचार गर्दैन, तबसम्म यी समूह निश्चित समयका लागि कमजोर भए पनि पुनर्संगठित हुने सम्भावना बाँकी नै रहन्छ ।

जस्तो कि हमास नेता याह्या सिनवर मारिएको पुष्टि भएपछि इरानी सर्वोच्च नेता अली खुमेनीले पनि यसबाट हमास समाप्त नहुने प्रतिक्रिया दिएका थिए ।

अमेरिकाले इरानमाथि इजरायली आक्रमणलाई समर्थन गरे पनि आणविक हतियार केन्द्र र तेल भण्डार क्षेत्रमा प्रहार नगर्न चेतावनी दिएको छ ।

अमेरिका यो युद्धमा इरानी आणविक हतियार प्रयोग नहोस् भन्ने चाहन्छ । इजरायल इरानबाट १ हजार माइल टाढा छ । इरानसँग इजरायलमाथि मार हान्न सक्ने लामो दूरीका मिसाइल भएको विश्वास गरिन्छ ।

इरानको आणविक हतियार केन्द्र मध्य-क्षेत्रको नातान शहरमा छ । यदि इरानले आणविक हतियार प्रयोग गर्‍यो भने धेरै ठूलो क्षति हुन सक्ने भय विश्व समुदायमा देखिन्छ । सम्भवत: यही कारणले इजरायलले इरानमाथि धेरै ठूलो क्षति नहुने गरी जवाफी हमला मात्र गरेको हुन सक्दछ ।

इजरायल विश्वको एक मात्र यहुदी राज्य हो । यसको वरिपरि इस्लामिक राज्य छन् । ती इजरायललाई समाप्त गर्न चाहन्छन् ।

यद्यपि, साउदी अरेबिया भने फरक राजनीतिक लाइनमा छ । साउदी अरेबिया गाजामा पश्चिमी किनाराको प्यालेस्टाइनी प्राधिकारको नियन्त्रण र शासन प्रशासन कायम हुने गरी ‘दुई राज्य समाधान’ मान्न तयार देखिन्छ ।

दुई राज्यको अर्थ इजरायल र प्यालेस्टाइनको शान्तिपूर्ण सहअस्तित्व हो ।

मध्यपूर्व विवाद हल गर्ने अन्तर्राष्ट्रिय समुदायले दुई राज्य समाधानको प्रस्ताव गरे पनि हमासले यसलाई स्वीकार गरेको छैन । यसका दुबै मुख्य नेता हानिया र सिनवर यसका विरोधी थिए । पश्चिमी किनारामा नियन्त्रण कायम गरेको प्यालेस्टाइनी समूह फतहले भने यो विवादलाई संवाद र शान्ति सम्झौतामार्फत हल गर्न चाहेको छ ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि यो क्षेत्र पुन: तनावग्रस्त भएको हो । युद्ध दोस्रो वर्षमा प्रवेश गर्दा पनि अहिलेसम्म कुनै समाधान फेला परेको छैन । युद्ध विश्लेषक भन्दछन् कि हमास, हिज्बुल्लाह र हुथीजस्ता समूहले इरानी सरकारको सहयोग र हतियार पाइरहुन्जेलसम्म यस क्षेत्रमा दीगो शान्ति स्थापना सम्भव हुने छैन ।

त्यसो भए इरानलाई त्यसो गर्नबाट कसरी रोक्ने यो अर्को महत्त्वपूर्ण पक्ष हो । इरान इस्लामिक क्रान्ति निर्यातका लागि प्रतिबद्ध समूह हो । तसर्थ, इरानले समर्थक समूहलाई गर्ने सहयोग रोक्ने अपेक्षा पूरा हुन गाह्रो छ ।

सम्भवत: इरानले थप प्रतिवादको योजना बनाउने छ । हमास र हिज्बुल्लाह तत्काल इजरायलको सामना गर्न सक्ने अवस्थामा नभए पनि दीर्घकालमा युद्ध अन्त्यको सम्भावना अझै राम्ररी देखिएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register