थाई एयर एसियाको सबै उडानमा रोक, एजेन्सीलाई टिकट काट्न प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको सबै उडानमा रोक लगाएको छ । अनुमति बिना नेपाली आकाशमा प्रवेश गरेको भन्दै प्राधिकरणले उडानमै रोक लगाएको हो । अनुमति नलिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थाई एयर एशियाको जहाज भने कप्तान (पाइलट इन कमान्ड)ले माफी मागेपछि ४ घण्टा नियन्त्रणमा लिएपछि छाडिएको छ । प्राधिकरणको नियम अनुसार […]

Oct 28, 2024 - 02:19
 0
थाई एयर एसियाको सबै उडानमा रोक, एजेन्सीलाई टिकट काट्न प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको सबै उडानमा रोक लगाएको छ । अनुमति बिना नेपाली आकाशमा प्रवेश गरेको भन्दै प्राधिकरणले उडानमै रोक लगाएको हो ।

अनुमति नलिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थाई एयर एशियाको जहाज भने कप्तान (पाइलट इन कमान्ड)ले माफी मागेपछि ४ घण्टा नियन्त्रणमा लिएपछि छाडिएको छ ।

प्राधिकरणको नियम अनुसार आइतबार (अक्टोबर २७) देखि विन्टर सिजन सुरु भएको छ । नेपाल आउने जहाजहरूले प्रत्येक सिजनका लागि अनुमति लिनुपर्छ । शनिबारसम्मको लागि अनुमति पाएको एयरले आइतबार समेत उडान गरेपछि यस्तो कारबाही गर्नुपरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । अनुमति नै नभई विदेशी एयरलाइन्सको विमान अर्को देशको आकाशमा प्रवेश गर्ने कार्यलाई ज्यादै संवेदनशील मानिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाई एयर एशियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साँझ ६ः५७ बजे बैंककका लागि छाडिएको हो ।

‘नेपाली एजेन्ट कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल्सले उडान अनुमति रहेको भनेकाले काठमाडौं आएका हौँ भनेर कमान्डर पाइलटले लिखित माफी मागेपछि जहाज छाडिदियौँ,’ महाप्रबन्धक निरौलाले भने ।

थाइ एसिया एयरवेजले भैरहवा उडानको समेत अनुमति मागेको थियो । तर, पाएको अनुमति अनुसार भैरहवा उडाउन तयार नभएपछि नयाँ सिजनका लागि प्राधिकरणले अनुमति दिएको थिएन । तर, अनुमति नै नभएको उडान गरेपछि उक्त एयरवेजमाथि कारबाही गर्नुपरेको भूलले बताए ।

योसँगै उक्त एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए)को काम गर्दै आएको युनिभर्सल टुर्स एन्ड ट्राभल्सलाई टिकट काट्न रोक लगाएको हो । थाइले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी सातामा चार उडान गर्दै आइरहेको थियो ।

अनुमतिविना जहाज आएको विमानलाई आइतबार दिउँसो ४५ मिनेट सिमराको १४ हजार फिटभन्दा माथि आकाशमाथि होल्ड (फन्को लगाउँदै उडिरहनु) मा राखिएको थियो ।

उक्त जहाजका कप्तानले होल्डका लागि ३० मिनेटलाई मात्रै पुग्ने जहाजमा इन्धन रहेको जनाउँदै अनुरोध गरेपछि काठमाडौं विमानस्थलमा अवतरण अनुमति दिइएको थियो । त्यो जहाजमा बैंककबाट १ सय ७६ यात्रु आएका थिए । काठमाडौंबाट फर्किने १ सय ६० जना थिए ।

युर्निभर्सलका सञ्चालक परासर प्रसाईँ हुन् । यिनले उच्च राजनीतिक भनसुन र दबाबका आधारमा थाई एयर एशियाको काठमाडौं उडान भैरहवा गर्ने सर्तमा असोज १६ गतेदेखि (अक्टोबर २) बाट अनुमति लिएको पर्यटन मन्त्रालयको उच्च स्रोतले बतायो ।

कोभिडअघि २७ करोड बक्यौता नतिरेर भागेको यसैको मूल संस्था एयर एशियाको बक्यौता तिर्ने बैंक ग्यारेन्टी प्रसाईंले प्राधिकरणलाई बुझाएपछि यो वायुसेवालाई प्राधिकरणले भैरहवामा उडान गर्ने सर्तमा काठमाडौंमा उडान अनुमति दिएको थियो । यसले एक महिनाभित्र भैरहवाको अध्ययन गरेर उड्ने सर्त पेस गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register