पोर्टो रिकोबारे एक ‘विवादास्पद मजाक’, जसले रोक्नसक्छ ट्रम्पको ह्वाइट हाउस यात्रा

काठमाडौं । पछिल्ला दुई दिनमा पोर्टो रिको अमेरिकी राष्ट्रपतिय चुनावमा अचानक बहसको केन्द्र बनेको छ । क्यारेबियन सागरमा रहेको क्युबा नजिकको यो सानो टापु यसपटक कुनै प्राकृतिक प्रकोपको चपेटामा परेको छैन, न त यसको कमजोर अर्थतन्त्रले अमेरिकीको ध्यान आकर्षित गरेको छ । पोर्टो रिकोमा रूचिको कारण हो, एक मजाक । गत आइतबार टोनी हिन्चक्लिफ नामक […]

Oct 30, 2024 - 08:08
 0
पोर्टो रिकोबारे एक ‘विवादास्पद मजाक’, जसले रोक्नसक्छ ट्रम्पको ह्वाइट हाउस यात्रा

काठमाडौं । पछिल्ला दुई दिनमा पोर्टो रिको अमेरिकी राष्ट्रपतिय चुनावमा अचानक बहसको केन्द्र बनेको छ ।

क्यारेबियन सागरमा रहेको क्युबा नजिकको यो सानो टापु यसपटक कुनै प्राकृतिक प्रकोपको चपेटामा परेको छैन, न त यसको कमजोर अर्थतन्त्रले अमेरिकीको ध्यान आकर्षित गरेको छ ।

पोर्टो रिकोमा रूचिको कारण हो, एक मजाक ।

गत आइतबार टोनी हिन्चक्लिफ नामक एक अमेरिकी हास्यकलाकारले न्यूओर्कमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको र्‍यालीमा एउटा ठट्टा भनेका थिए, जसले अमेरिकी राष्ट्रपतिय चुनावमा प्रभाव पार्न सक्छ ।

हास्यकलाकार हिन्चक्लिफले र्‍यालीमा पोर्टो रिकोलाई ‘समुद्रमा तैरिरहेको फोहोरको टापु’ भनेर टिप्पणी गरेका थिए । उनको मजाक इन्टरनेटमा भाइरल भएदेखि नै सामाजिक सञ्जालमा आक्रोश देखिएको छ ।

डेमोक्र्याट मात्र होइन रिपब्लिकन पार्टीका राजनीतिज्ञले पनि यो मजाकलाई लिएर कमेडियनको आलोचना गरिरहेका छन् ।

जब विवाद बढ्यो, हिन्चक्लिफले आफ्नो बचाव गरेका छन् । उनले एक्समा लेखेका छन्, “हास्यको कुनै भावना छैन । मलाई पोर्टो रिको मन पर्छ, मैले सबैको खिल्ली उडाएको थिएँ, तपाईं पूरै भाषण सुन्नुहोस् ।”

पोर्टो रिकोबाट आएका जेनिफर लोपेज र रिकी मार्टिन जस्ता सुपरस्टार पनि यी व्यक्तिहरूमा पर्छन् ।

पोर्टो रिको किन विशेष ?

पोर्टो रिको क्यारिबियन क्षेत्रको एक अमेरिकी स्वशासित राज्य हो । यो सन् १९९८ देखि अमेरिकाको एक हिस्सा रहेको छ ।

यस टापुमा जन्मेका प्रत्येक व्यक्ति अमेरिकी नागरिक हुन् र उनीहरूसँग अमेरिकी राहदानी छ । यद्यपि, त्यहाँका व्यक्तिले अमेरिकी चुनावमा मतदान गर्न भने पाउँदैनन्, जबसम्म उनीहरूले ५० अमेरिकी राज्यमध्ये एकमा मतदानका लागि दर्ता गर्दैनन् ।

पोर्टो रिकोको संस्कृति स्पेनी र अफ्रिकी प्रभावहरूको मिश्रण हो । यस टापुका अधिकांश नागरिक स्पेनी भाषा बोल्छन् ।

यस टापुमा वर्षेनी लाखौं पर्यटक पुग्छन् तर, पछिल्ला वर्ष बढ्दो ऋण, गरिबी र बेरोजगारीका कारण ठूलो संख्यामा मानिस अमेरिका जाने क्रम जारी छ ।

को हुन् जो टोनी हिन्चक्लिफ ?

हिन्चक्लिफ टेक्सासका एक स्ट्यान्ड-अप कमेडियन हुन्, जो आफ्नो पोडकास्ट ‘किल टोनी’ को लागि प्रसिद्ध छन् । उनको पोडकास्टको युट्युबमा करिब ११ लाख सब्सक्राइबर छन् ।

उनले जो रोगनसँग कमेडीमा काम गर्ने र कमेडी सेन्ट्रल रोस्टमा सेलिब्रेटीहरूका लागि चुटकिला लेख्ने कामको सुरुवात गरेका थिए ।

आफ्नो कमेन्ट र आक्रामक स्वभावका कारण उनी चर्चामा आएको यो पहिलो पटक भने होइन । सन् २०२१ मा उनले कमेडी सेटको क्रममा अमेरिकी-चिनियाँ हास्य कलाकार पेंग देङलाई उल्लेख गर्दै जातीय आक्षेप लगाए र पछि माफी माग्न अस्वीकार गरे ।

अमेरिकी पत्रिका भेराइटीले यो विवादबारे सोध्दा हिन्चक्लिफले भने, “मलाई थाहा थियो, मैले के गरेँ त्यो गलत थिएन ।”

ट्रम्पको क्षति नियन्त्रण

आलोचनापछि ट्रम्पले हिन्चक्लिफको भनाइबाट आफूलाई टाढै राखेका छन् । ट्रम्पका वरिष्ठ सल्लाहकार डेनियल अल्भारेजले भने, “यो मजाक थियो र ट्रम्पको विचारलाई प्रतिनिधित्व गर्दैन ।”

यो उल्लेखनीय छ कि ट्रम्प र ह्यारिस दुबै ल्याटिन अमेरिकी जनतालाई आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । यही नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनमा यी मतदाता निर्णायक साबित हुन सक्छन् ।

पोर्टो रिकोका ठूलो संख्यामा मानिस पेन्सिलभेनियाजस्ता ठूलो र महत्त्वपूर्ण राज्यमा बस्छन् । बीबीसी संवाददाता एन्थोनी जर्चर भन्छन्, ”आइतबारको ट्रम्पको र्‍याली आफ्नो शक्ति देखाउनको लागि थियो तर, अब उनले क्षति नियन्त्रण गर्नुपर्नेछ ।”

हिन्चक्लिफको मजाकले ट्रम्पको फेरि ह्वाइट हाउस जाने सपनालाई ध्वस्त पार्न सक्ने केही विज्ञले बताएका छन् ।

पोर्टो रिकोका मतदाताहरू कत्तिको प्रभावशाली छन् ?

पछिल्लो दशकमा पोर्टो रिकोबाट हजारौं मानिस अमेरिका पुगेका छन् । भयानक आँधीपछि आर्थिक संकटबाट भागेका मानिस धेरै राज्यमा बसोबास गर्छन् ।

पोर्टो रिकोबाट अमेरिका पुगेका जो कोहीलाई पनि अमेरिकी राज्यमा मतदाताको रूपमा दर्ता गरिएको भएमा निर्वाचनमा मतदान गर्ने अधिकार छ ।

एक अनुमानअनुसार पोर्टो रिकोबाट गएका ५८ लाख मतदाता छन् । अझ महत्त्वपूर्ण कुरा यी मध्ये धेरै नर्थ क्यारोलिना, जर्जिया, फ्लोरिडा र पेन्सिलभेनिया जस्ता महत्त्वपूर्ण राज्यमा केन्द्रित छन् ।

फ्लोरिडामा ११ लाख यस्ता मतदाता छन् । यो पक्कै पनि ट्रम्पको गढ हो तर, पोर्टो रिकोका जनताको क्रोध यहाँ महँगो साबित हुन सक्छ ।

फ्लोरिडाका पूर्व गभर्नर रिक स्कटले मजाकको बारेमा भने, “यो कुनै हास्यास्पद थिएन र पक्कै पनि सत्य थिएन । पोर्टो रिकोका मानिसहरू अद्भुत छन् र तिनीहरू महान अमेरिकी हुन् ।”

रिपब्लिकन पार्टीकी मारिया एल्भिरा सालाजारले एक्सको ‘नस्लवादी’ मजाकलाई अश्लील भनी व्याख्या गर्दै यसले उनको पार्टीको मूल्यमान्यतालाई प्रतिबिम्बित नगर्ने बताइन । पोर्टो रिकोबाट पुगेका करिब १० लाख मानिस न्यूओर्कमा बस्छन् ।

ह्वाइट हाउसको सिंहासन खतरामा

तर, सबैभन्दा महत्त्वपूर्ण पेन्सिलभेनियामा बस्ने ४ लाख ५० हजार पोर्टो रिको मतदाता हुन् । यी मानिसले रिपब्लिकन पार्टीको सपनालाई हानि पुर्‍याउन सक्छन् ।

सर्भेका अनुसार पेन्सिलभेनियाले डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच कसले बाजी मार्ने हो भन्ने तय गर्न लागेको छ ।

गत चुनावमा यहाँ जो बाइडेन विजयी भएका थिए । उनले जम्मा ८२ हजार मतले जितेका थिए । सन् २०१६ मा ट्रम्पले यहाँ ४४ हजार मतले मात्र जित हासिल गरेका थिए ।

हिन्चक्लिफको मजाक अघि कमला ह्यारिस पेन्सिलभेनियाको प्युर्टो रिकन रेस्टुरेन्टमा थिइन् । उनले सात वर्षअघि मारिया आँधीपछि टापुको अर्थतन्त्र र पुनर्निर्माणको बारेमा कुरा गरिरहेकी थिइन् ।

यसपछि उनले एक भिडिओ पनि जारी गरिन्, जसमा उनले त्यही सन्देश दोहोर्याइन र ट्रम्पले मारिया तूफानमा पोर्टो रिकोलाई पर्याप्त सहयोग नगरेको बताइन् । उक्त आँधीका कारण त्यहाँ ४ हजार मानिसको मृत्यु भएको थियो ।

फाइदा लिन खोजिरहेका छन् डेमोक्र्याट

डेमोक्र्याटिक पार्टीले ट्रम्पको न्यूओर्क र्‍यालीमा जे भयो, त्यसको पूरा फाइदा उठाउने प्रयास गरिरहेको छ ।

ह्यारिसले हिन्चक्लिफको मजाकको साथमा पोर्टो रिकोको बारेमा आफ्नो भिडिओ सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, ताकि जनताले दुबै पक्षको विचार जान्न सकून् ।

यसबाहेक डेमोक्र्याटिक पार्टीका उपराष्ट्रपति उम्मेदवार टिम वाल्जले सामाजिक सञ्जाल ट्विचमा कमेडियनको कडा आलोचना गरेका छन् ।

युनिभर्सिटी अफ नटिङ्घमका राजनीतिशास्त्रका प्रोफेसर टोड ल्यान्डम्यानले द कन्भर्सेसनमा प्रकाशित लेखमा भनेका छन्, ”यसपटकको चुनाव निकै थोरै अन्तरले जितिने वा हार्ने हो । यही कारणले गर्दा पोर्टो रिकोका जनताको मनोवृत्तिले कुनै पनि उम्मेदवारको लागि खेल बिगार्न सक्छ ।”

त्यही भएर अहिले दुबै दलले आ–आफ्नो भोट जित्ने प्रयास गरिरहेको ल्याण्डम्यान बताउँछन् । उनले लेखेका छन्, “यदि हिन्चक्लिफको टिप्पणीले मानिसहरूलाई आक्रोशित बनायो भने, यसले चुनावको नतिजामा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।”

पिट्सबर्ग विश्वविद्यालयका समाजशास्त्री फर्नान्डो टोर्मोस-अपोन्टेले टाइम पत्रिकालाई भने, “चुनाव एकदमै नजिक छ र त्यो मजाक यति चाँडै बिर्सिने छैनन् ।”

उनी विश्वास गर्छन् कि अन्य अल्पसंख्यक समूहहरूले पनि पोर्टो रिकोका जनतालाई समर्थन गर्न सक्छन् र यदि यो भयो भने नोभेम्बर ५ मा डेमोक्र्याटहरूको हात माथि हुन सक्छ ।

-बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register