तिहार-तिथि : कुकुर तिहार र लक्ष्मीपूजा कसरी पर्‍यो एकै दिन ?

कुकुर तिहारकै दिन बेलुका औँसी पर्ने तर, भोलिपल्ट बेलुकासम्म औँसी नभएकाले कुकुर तिहारै साँझ लक्ष्मीपूजा गर्नुपर्ने छ । त्यसकारण रातमा गरिने लक्ष्मीपूजाका लागि अघिल्लै दिन कुकुर तिहारै दिन उपयुक्त भएको बताइएको छ ।

Oct 31, 2024 - 01:02
 0
तिहार-तिथि : कुकुर तिहार र लक्ष्मीपूजा कसरी पर्‍यो एकै दिन ?

काठमाडौं । यो वर्ष लक्ष्मी पूजासहित तिहारका विभिन्न दिन कहिले पर्छन् भन्ने विषयमा धर्मशास्त्री र ज्योतिषीहरूबीच भिन्नाभिन्नै मत देखिएको छ ।

खासगरी कुकुर तिहारकै दिन लक्ष्मीपूजा कसरी पर्‍यो ? र भोलिपल्ट एक दिन खाली दिन कसरी रह्यो भन्ने चासो छ ।

विगत केही वर्षहरूमा विशेष गरी दशैं र तिहारका बेलामा दुई तिथि एकैदिन पर्ने वा एउटै तिथि दुई दिन पर्ने अवस्थाप्रति धेरैले प्रश्न उठाइरहेका छन् ।

यसपालि बिहीबार एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा छ । शुक्रबार एकदिन कुनै तिहार परेको छैन । शनिबार गोवर्द्धन पूजा र आइतबार भाइटीका छ ।

यसरी एकदिनमा एक पर्व नपरेर कुनै दिन दुई पर्‍यो पर्व एकैदिन र कुनै दिन खाली रहेपछि जनमानसमा अन्योल छ ।

यसरी अन्योल उत्पन्न भएका बेला पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारदेखि छठसम्म सम्बन्धित पर्वका दिन र मुहूर्त सार्वजनिक गर्‍यो ।

संस्कृति मन्त्रालयअन्तर्गत पर्ने उक्त समितिको निर्णय चाडपर्वसँग सम्बन्धित विषयमा त्यसलाई आधिकारिक मानिन्छ । समितिले यसपालि कुकुरतिहार, नरकचतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा बिहीबार एकैदिन पर्ने जनाएको छ ।

यो निर्णयसँगै लक्ष्मीपूजा ‘औँसीका दिनमा नभई चतुर्दशीकै दिनमा परेको’ भन्दै कतिपयले त्यसबारे चासो राखेको पाइएको छ ।

कुकुर तिहारकै दिन लक्ष्मीपूजा परेको भने यो पहिलो पटक होइन । अघिल्ला वर्षहरूमा पनि हुने गर्थ्यो । खासगरी रातको समयमा टीका लगाउने परम्परा भएका समुदायका लागि उपयुक्त नहुने गरी साँझमै द्वितीया तिथि सकिने दिनमा भाइटीका तोकिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

समितिका पदाधिकारीहरूले चलनचल्तीको पात्रो, धार्मिक र परम्परागत मान्यता र व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर मुहूर्तहरू सार्वजनिक गरिएको बताएका छन् ।

यसअघि २०७७ मा चार दिन मात्रै तिहार थियो । त्यो बेलामा यम पञ्चक पाँच दिन हुनुपर्नेमा छोटो भएको भन्दै कतिपयले विवाद गरेका थिए ।

खण्डग्रास सूर्यग्रहण भएको बेला तिहार परेको दुई वर्षअघि पनि यस्तै खालको विवाद आएको थियो ।

त्यसबेला केही मानिसहरूले समितिले तोकेकोभन्दा एक दिनअगाडि नै भाइटीका मनाएका थिए । यसपालि दशैंमा महाष्टमी र महानवमीबारे विवाद देखिएको थियो ।

कुन दिन कुन तिहार

पञ्चाङ्ग निर्णय समितिले सार्वजनिक गरेको विवरणअनुसार यसवर्षको तिहारका मुहूर्तहरू-

कार्तिक १४ गते बुधबा – कागतिहार, यम दीपदान, धन्वन्तरि जयन्ती
कार्तिक १५ गते बिहीबार – कुकुरतिहार, नरकचर्तुदशी, दीपमालिका, लक्ष्मीपूजा
कार्तिक १६ गते शुक्रवार – औँसी
कार्तिक १७ गते शनिवार – गाईगोरुपूजा, गोवर्धनपूजा, बलिपूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ
कार्तिक १८ गते आइतबार – यमद्वितीया, भाइटीका, किजापूजा, (भाइटीकाको शुभसाइत बिहान ११ः३७ बजे पश्चिम मोहडा)

किन कुकुर तिहारकै दिन लक्ष्मीपूजा

लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीका दिन गर्ने परम्परा हो । तर, यसपालि कुकुरतिहारका रूपमा मनाइने चतुर्दशीकै दिन लक्ष्मीपूजा पनि तोकिएको छ ।

भोलिपल्ट मात्रै औँसी छ । त्यसको कारणबारे समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले दुई दिन एकै तिथि परेको बताउँछन् ।

कुकुरतिहारकै दिन बेलुका औँसी पर्ने तर, भोलिपल्ट बेलुकासम्म औँसी नभएकाले कुकुर तिहारै साँझ लक्ष्मीपूजा गर्नुपर्ने उनले बताए ।

त्यसकारण रातमा गरिने लक्ष्मीपूजाका लागि अघिल्लै दिन कुकुर तिहारै दिन उपयुक्त रहेको अधिकारीले बताए । उनका अनुसार तिथिगणना गर्दा धार्मिक मान्यताका आधारमा शास्त्रसम्मत निर्णय गरिएको हो ।

बिहीबार चतुर्दशीका दिन दिउँसो ३ः१४ सम्म मात्र चतुर्दशी तिथि पर्छ । त्यसपछि औँसी सुरु हुन्छ । त्यस दिन सूर्यास्त अपराह्ण साँझ ५ः१५ मा हुन्छ । भोलिपल्ट शुक्रबार साँझ ५ः१५ सम्ममा औँसी तिथि छ । त्यस दिन सूर्यास्त ५ः१८ मा मात्र हुन्छ ।

भाइटीकाको साइतबारे

समितिले तोकेको भाइटीकाको शुभसाइतबारे पनि प्रश्न उठेको छ । त्यसको कारण पनि औँसी र लक्ष्मीपूजाको जस्तै रहेको देखिन्छ । शनिबार द्वितीया तिथि सुरु हुन्छ ।

भोलिपल्ट मात्र उक्त तिथि लामो समय रहने अवस्था रहेको अधिकारी बताउँछन् । टीका लगाउने काम मध्याह्नकालव्यापी हुनुपर्ने भएकाले आइतबार साइत निकालिएको जनाइएको छ ।

कसैको परम्पराअनुसार साँझमा र रातमा लगाउनुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा उहाँहरूले आफ्नो परम्पराअनुसार लगाउन हुने बताइएको छ ।

यद्यपि, आइतबार बेलुका ८ः३० बजेआसपास नै द्वितीया तिथि सकिन्छ । त्योअघि नै रातको समयमा टीका लगाउनेहरूलाई समस्या हुने कतिपयको धारणा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register