यसरी खेल्नुहोस् देउसी–भैलो, के-के भनेर भट्याइन्छ जान्नुहोस्

देउसी टोलीको मुख्यले भन्छ – ‘आहै झिलिमिली झिलिमिली’ । मण्डली समूह भन्छन् : देउसिरे !

Nov 1, 2024 - 13:51
 0
यसरी खेल्नुहोस् देउसी–भैलो, के-के भनेर भट्याइन्छ जान्नुहोस्

काठमाडौं । तिहार लक्ष्मी पूजा गरिसकेपछि भैलो खेल्ने गर्छन् । गोरु–गोवर्धन पूजा गरेपछि देउसी खेल्ने देउसीहरू देउसी गीत गाएर रमाइलो गर्ने परम्परा छ ।

बुढापाकाहरू पुरानो भाकाले देउसी भट्याउँछन् भने युवायुवतीहरू पुरानो र नयाँ भाका मिश्रित गरी आ–आफ्नै भाकाले देउसी खेल्छन् ।

भैलो

भैलो गाउँदा साधारणतः एक जना मुख्य भैलिनी हुन्छन् र समूहका अरू व्यक्तिहरू मुख्य व्यक्तिको भैलिनी भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन् ।

भैलो खेलेको घरबाट दान, सिधा र दक्षिणा दिन्छन् । त्यसपछि मुख्य व्यक्तिले भैलो गीतको अन्तमा घरका सबै जनालाई शुभकामना र आशिष् दिन्छ र समूहका मान्छेहरू भैलो भन्दै गर्छन् ।

भैलो गीतको एउटा नमुना यस्तो छः

भैलिनी आईन् आँगन, बढारीकुडारी राखन
हे ! औँसी को बारो,गाई तिहारो भैलो
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औँसीको बारो, गाई तिहारो भैलो
भैलिनी आईन आँगन, गुनिया चोलो माँगन
हे ! औँसीको बारो, गाई तिहारो भैलो
हामी त्यसै आएनौँ, बलि राजाले पठाको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
अरुदिन आउने जोगिनी, आज आउने भैलिनी
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औँसीको बारो, गाई तिहारो भैलो
भैलिनी आईन आगन, गुनिया चोलो मागन
हे ! औँसीको बारो, गाई तिहारो भैलो

घरबेटी आमा बोल्दै छिन्, सुनको दैलो खोल्दै छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
छाना माथि घिराैँला, के – के दिन्छिन हेरौँला
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

लक्ष्मी पूजाको राती भैलीका मुखमा सन्तोषी
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
यो घरकी आमा कस्ती छिन्, लक्ष्मी माता जस्ती छिन् ।
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

कति दिऊ के दिऊ भन्दैछिन, रुपैयाँ पैसा गन्दै छिन
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
धमीराको ताती, हामीलाई भो राती
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

घोडा बान्ने तबेला, हामीलाई भयो अबेला
हे ! औँसीको बारो, गाई तिहारो भैलो।
दिने भए सिधा देऊ, नदिने भए बिदा देऊ
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

जसले दिन्छ मानो, उसको सुनको छानो
जसले दिन्छ पाथी, उसको सुनको छात्ती
जसले दिन्छ मूरी, उसको सुनको धुरी ।

आशिष् यसरी दिन्छन्

आहै, भन मेरा संगी हो– भैलिनी
आहै भट्याउनेको– भैलिनी
आहै, सोरैमा ढाकी– भैलिनी
आहै राम्ररी भन– भैलिनी
आहै, आशिष् दिनु– भैलिनी
आहै, यसैमा घरको –भैलिनी
आहै, भँडारमा– भैलिनी
आहै लक्ष्मीले – भैलिनी
आहै, बासै गरून् भैलिनी
आहै ढुङ्गामा छुँदा– भैलिनी
आहै, द्रव्य होस– भैलिनी
आहै, माटोमा छुँदा – भैलिनी
आहै अन्न बनोस्– भैलिनी
आहै, पानीमा छुँदा– भैलिनी
आहै तेलमा बनोस् – भैलिनी
आहै, यसैमा घरका – भैलिनी
आहै घरबेटी बाबा – भैलिनी
घरबेटी आमा – भैलिनी
लाला र बाला – भैलिनी
केटा र केटी – भैलिनी
आहै, वरपीपल जस्तै– भैलिनी
आहै, तपि रहुन् – भैलिनी
आहै, दुवोमा जस्तो – भैलिनी
आहै, मौलाइ रहुन्– भैलिनी
आहै, नाम र किर्ति – भैलिनी
आहै, फैलिमा रहोस्– भैलिनी
आहै, यसै घरमा– भैलेनि
आहै, सुख र शान्ति– भैलिनी
आहै, सधैमा रहोस्– भैलिनी
आहै, लेकको काने– भैलिनी
आहै औलाको माने– भैलिनी
आहै, आशिष् दिन– भैलिनी
आहै, यतिकै जाने– भैलिनी ।

देउसी गीत

देउसी टोलीको मुख्यले भन्छ – आहै झिलिमिली झिलिमिली
मण्डली समूहः देउसिरे !

भट्ट्याउन आहै के को झिलिमिली
मण्डली समूह – देउसिरे !
भट्याउने – आहै फूलको झिलिमिली
समूह – देउसिरे !
भट्ट्याउन आहै बत्तीको झिलिमिली“
समूह – देउसिरे!
भट्ट्याउन आहै, भन मेरा भाइ हो
समूह – देउसिरे !
भट्याउने – हे राम्ररी भन
समूह – देउसिरे !
भट्याउने – “आहै,स्वर मिलाई भन“
समूह – देउसिरे!
भट्याउने – आहै, भन न भन
समूह – देउसिरे !
भट्याउने – आहै देउसीरे खेल्न
समूहः देउसिरे !
भट्याउने – आहै आएका हामी
समूहः देउसिरे !
भट्ट्याउन आहै, वर्षमा दिनको
समूह – देउसिरे !
भट्याउने – आहै,चाड र वाड
समूह – देउसिरे !
भट्ट्याउन आहै,मनाउन भनी
समूह – देउसिरे !
भट्ट्याउन आहै आएका हामी
समूह – देउसिरे !
भट्ट्याउन आहै रातो माटो
समूह – देउसिरे !
भट्ट्याउन आहै, चिप्लो बाटो
समूह – देउसिरे !
भट्ट्याउन आहै, लड्दैमा पढ्दै
समूह – देउसिरे !
भट्ट्याउन आहै, आएका हामी
समूह – देउसिरे !
भट्ट्याउन आहै, भनभन भाइ हो
समूह – देउसिरे !
भट्ट्याउन आहै, राम्ररी भन
समूह – देउसिरे !
भट्ट्याउन आहै, तीन दिन तिहार
समूह – देउसिरे !
भट्ट्याउन ए, पाँच दिन पञ्चक
समूह – देउसिरे !
भट्ट्याउन मनाउनैं पर्छ
समूह – देउसिरे !
भट्ट्याउन आहै, हामी त्यसै
समूह – देउसिरे !
भट्ट्याउन आहै, आएका हैनौ
समूह – देउसिरे !
भट्ट्याउन बलिराजाले पठाएको
समूह – देउसिरे !
भट्ट्याउन आहै, भन मेरा भाइ हो
समूह – देउसिरे !
भट्ट्याउन हे राम्ररी भन
समूह – देउसिरे !
भट्ट्याउन आहै, आखुम बाखुम
समूह – देउसिरे !
भट्ट्याउन सेलरोटि चाखम
समूह – देउसिरे !
भट्ट्याउन आहै, भन मेरा भाइ हो
समूह – देउसिरे !

यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल्न गएको घरबाट नाङ्लोमा दियो, कलश, फूल, अगरबत्ती, चामल, रुपैयाँ पैसा, सेलरोटी, फलफूल आदि विभिन्न प्रकारका चीजहरू ल्याएर आँगन वा कौसीमा राखी दिन्छन् ।

मुख्य व्यक्तिलगायत देउसे त्यसैको वरिपरि घुम्दै देउसी खेल्दै नाच्छन् । देउसीको मुख्य व्यक्ति भट्याउनेले गएको घरका सबै जनालाई देउसी गीतबाटै शुभकामना र आशिस दिन्छ र समूहका अरू मान्छेहरू देउसिरे देउसिरे भन्दै गर्छन् । र दक्षिणा फलफूल सेलरोटी आदि लिएर देउसे अर्को घरतिर लाग्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register